चीनले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दा इन्डो-प्यासिफिक क्षेत्रमा 'चिन्ता'

तस्बिर स्रोत, Getty Images
- Author, केली एङ र फ्रान्सिस माओ
- Role, बीबीसी न्यूज
चीनले एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा परीक्षण गरेको छ। उक्त कदमको कैयौँ देशले विरोध गरेका छन्।
चीनका अनुसार ४० वर्षपछि पहिलो पटक सेप्टेम्बर २५ बुधवार एक महादेशबाट अर्को महादेशमा प्रहार गर्न सकिने क्षमता भएको क्षेप्यास्त्र परीक्षण गरिएको हो।
उक्त परीक्षणलाई "नियमित कार्य" भन्दै चीनले त्यो कुनै देश वा निसानाप्रति लक्षित नभएको जनाएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन सरकारले "सम्बन्धित देशहरू"लाई उक्त परीक्षणबारे पहिल्यै जानकारी दिएको थियो।
तर जापानले आफूले कुनै सूचना नपाएको दाबी गरेको छ।
जापान, अस्ट्रेलिया र न्यूजील्यान्डले चीनले गरेको उक्त क्षेप्यास्त्र परीक्षणको विषयमा चिन्ता व्यक्त गरेका छन्।

तस्बिर स्रोत, Reuters
चीनको कदम किन चिन्ताको विषय
आईसीबीएम परीक्षणका कारण इन्डो-प्यासिफिक क्षेत्र (हिन्द र प्रशान्त महासागरको क्षेत्र) मा तनाव बढेको छ। विश्लेषकहरूका अनुसार लामो दूरीमा पारमाणविक अस्त्र प्रहार गर्न सक्ने चीनको क्षमता बढेको देखिन्छ।
गत वर्ष संयुक्त राज्य अमेरिकाले चीनले आफ्नो प्रतिरक्षा सुधार योजनाअन्तर्गत परमाणुअस्त्रको भण्डारलाई सुदृढ पारेको जनाएको थियो।
चीनले परीक्षण गरेको आईसीबीएमले ५,५०० किलोमिटर टाढासम्म मार हान्न सक्छ। त्यो दूरीभित्र संयुक्त राज्य अमेरिकाको मुख्यभूमि र हवाई द्वीप पनि पर्छन्।
यद्यपि चीनको अस्त्रभण्डार अहिले पनि रुस र अमेरिकाको भन्दा झन्डै पाँच गुना सानो छ। चीनले आफ्नो परमाणुशक्तिको उद्देश्य अरूबाट हुन सक्ने सम्भावित आक्रमण रोक्नु भएको दाबी गर्दै आएको छ।
चीनले बुधवार स्थानीय समयानुसार बिहान ८:४४ बजे आईसीबीएम परीक्षण गरेको थियो। उक्त क्षेप्यास्त्रमा एउटा नक्कली युद्धशीर्ष पनि थियो। उक्त युद्धशीर्षले लक्ष्य भेदन गरेको थियो। उक्त लक्ष्य दक्षिण प्रशान्त महासागरमा भएको ठानिएको छ।
चीनको रक्षा मन्त्रालयले उक्त परीक्षण "नियमित" र आफ्नो "वार्षिक अभ्यास"को अङ्ग भएको जनाएको छ।
विज्ञहरू के भन्छन्
विश्लेषकहरूका अनुसार यसअघि चीनले थाहा हुने गरी सन् १८९० मा आईसीबीएम परीक्षण गरेको थियो।
चीनले त्यस्तो परीक्षण प्रायः आफ्नै देशभित्र कुनै ठाउँमा गर्थ्यो। विगतमा शिन्जियाङ प्रान्तको टाक्लमकान मरुभूमिमा परीक्षण भएको थियो।
परमाणुअस्त्रबारे विश्लेषण गर्दै आएका अङ्कित पान्डाले बीबीसीसँग भने, "यस प्रकारको परीक्षण अमेरिका जस्ता देशका लागि असामान्य होइन, तर चीनको मामिलामा यो सामान्य कुरा होइन।"
उनका अनुसार "परमाणु सामर्थ्य आधुनिकीकरण गर्ने" चीनको क्रममा धेरै परिवर्तन भइसकेको छ। अहिलेको परीक्षणबाट चीनको शैली पनि फेरिएको सङ्केत गर्छ।
अरू देशको प्रतिक्रिया कस्तो
चीनको यो परीक्षणबारे विभिन्न देशबाट प्रतिक्रिया प्राप्त भएको छ। जापानले गम्भीर चिन्ता व्यक्त गर्दै चीनले परीक्षणबारे कुनै जानकारी नदिएको बताएको छ।
अस्ट्रेलियाले चीनको कदमबाट क्षेत्रीय अस्थिरताको जोखिम बढेको टिप्पणी गरेको छ। अस्ट्रेलियाले यो विषयमा चीनसँग जबाफ मागेको छ।
न्यूजील्यान्डले चीनले गरेको परीक्षण "स्वागतयोग्य नभएको र चिन्ताको विषय" भएको जनाएको छ।
चीनको उद्देश्य के हो
अङ्कित पान्डा चीनले यो परीक्षणमार्फत् "कुनै राजनीतिक सन्देश" दिने उद्देश्य नराखेको ठान्छ। "तर निःसन्देह यो उक्त क्षेत्र र संयुक्त राज्य अमेरिकालाई एशियामा पारमाणविक क्षमताको वस्तुस्थिति चाँडै फेरिइरहेको छ भन्ने बलियो चेतावनी हो," उनले भने।
अरू विश्लेषकहरूले यो परीक्षण अमेरिका र उसका सहयोगी देशका लागि खतराको घण्टी भएको बताएका छन्।
दक्षिण कोरियाको एह्वा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध प्राध्यापन गर्ने लाइफ एरिक ईज्लीका अनुसार "ताइवान सङ्घर्षमा संलग्न भए अमेरिकाको भूमि पनि आक्रमणको जोखिमा पर्न सक्छ भन्ने सीधा सन्देश वाशिङ्टनलाई" दिइएको छ।

तस्बिर स्रोत, Reuters
"यो उत्तेजनाजनक परीक्षणले... एशियामा अमेरिका साझेदारलाई चीनले एकैपटक विभिन्न मोर्चामा लडाइँ गर्न सक्ने आफ्नो क्षमता देखाएको छ," उनले भने।
सिङ्गापुरस्थित एस. राजारत्नम स्कूल अफ इन्टरन्याश्नल स्टडीजका वरिष्ठ प्राज्ञ ड्रू टम्सनले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन् : समय नै सबै कुरा हो। चीनले परीक्षण कसैप्रति लक्षित थिएन भन्ने दाबी गरेको छ। तर चीन र जापान, फिलिपिन्स बढेको छ अनि ताइवानसँग पुरानो तनाव कायमै छ।
छिमेकी देशहरूको किन चीनको चिसो सम्बन्ध
गत वर्ष अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएको देखिएको थियो। तर इन्डो-प्यासिफिक क्षेत्रमा चीनको सक्रियता चासोको विषय बन्दै आएको छ।
विवादित जलक्षेत्रमा चीन र फिलिपिन्सका पानीजहाज बारम्बार ठोकिँदा दुई देशबीच तनाव चुलिएको छ।
गत महिना जापानी हवाई क्षेत्रमा जासुसी प्रयोजनका लागि चीनले प्रयोग गर्ने एउटा विमान प्रवेश गरेको भन्दै जापानले आफ्ना लडाकु विमानहरू परिचालन गरेको थियो। जापानले त्यस्तो कार्य "अस्वीकार्य" भएको टिप्पणी गरेको थियो।
चीनको र स्वशासित ताइवानको सम्बन्ध पनि तनावको अर्को कारण हो।

तस्बिर स्रोत, Japan Air Self-Defense Force
ताइवानको रक्षा मन्त्रालयले गत बुधवार "चीनले हालै सघन मात्रामा क्षेप्यास्त्र प्रहार तथा अन्य सैन्य अभ्यास गरेको" दाबी गरेको थियो। ताइवानले एउटा विज्ञप्तिमा त्यस क्रममा "२३ वटा चिनियाँ सैन्य विमान उडेका र ती लामो दूरीको लक्ष्यमा निस्किएका" जनाएको थियो।
बेइजिङले ताइवानको जल तथा हवाई क्षेत्रमा आफ्ना पानीजहाज र विमानहरू पठाइरहन्छ। त्यस्तो घुसपैठलाई सामान्य बनाउन चीनले त्यसलाई "ग्रे जोन वारफेअर" भन्ने गरेको छ।
गत जुलाईमा अमेरिकाले ताइवानलाई निरन्तर हतियार बिक्री गरिरहेको भन्दै चीनले अमेरिकासँग परमाणुअस्त्र नियन्त्रण गर्ने विषयमा हुन लागेको वार्ता स्थगित गरेको थियो।
गत वर्ष अमेरिकाले चीनको परमाणुशक्ति आधुनिकीकरणबारे चेतावनी दिएको थियो। पेन्टागनले चीनसँग झन्डै ३५० वटा आईसीबीएमसहित कम्तीमा ५०० वटा युद्धशीर्ष भएको अनुमान गरेको थियो। त्यति बेला सन् २०३० सम्म चीनसँग १,००० वटा युद्धशीर्ष हुने आकलन गरिएको थियो।
अमेरिका र रुसले चाहिँ आफूसँग ५,००० वटाभन्दा बढी युद्धशीर्ष रहेको छुट्टाछुट्टै दाबी गर्दै आएका छन्।
चीनको सैन्य 'रकेट फोर्स'बारे पनि एकमत छैन। उक्त निकायले परमाणुअस्त्रसँग सम्बन्धित विषय हेर्छ। भ्रष्टाचारविरोधी अभियानका क्रममा गत वर्ष उक्त निकायका दुई शीर्षस्थ पदाधिकारी पदमुक्त भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








