दक्षिण कोरियामा पारमाणविक हमलाको काल्पनिक परीक्षण गरेको उत्तर कोरियाको दाबी

हमलाको दृश्य

तस्बिर स्रोत, REUTERS

    • Author, जर्ज राइट
    • Role, बीबीसी न्यूज

उत्तर कोरियाले दक्षिण कोरियाको सैन्य अखडाहरू लक्षित परमाणु हमलाको काल्पनिक अभ्यास गर्दै दुई छोटा दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस्तो क्षेप्यास्त्र परीक्षण उक्त क्षेत्रमा अमेरिकाले रणनीतिक बमवर्षक विमान परिचालन गरेको गरेको घटनाविरुद्ध चेतावनी स्वरूप गरिएको हो।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूका अनुसार मध्यरातको समयमा दुई वटा क्षेप्यास्त्रहरू पूर्वी समुद्री तट पारी प्रहार गरिएको थियो।

दक्षिण कोरिया र अमेरिकाले वार्षिक रूपमा गर्ने संयुक्त सैन्य अभ्यास भैरहेका बेला उत्तरले त्यस्तो क्षेप्यास्त्र परीक्षण गरेको हो। यस्तो संयुक्त सैन्य अभ्यासले सँधै नै उत्तर कोरियालाई भड्काउने गरेको छ।

संयुक्त सैन्य अभ्यासलाई प्योङयाङले लामो समयदेखि नै अमेरिकाले युद्धको लागि गरेको पूर्वाभ्यास भन्दै निन्दा गर्दै आएको छ।

उत्तर कोरियाली सेनाले भनेको छ, क्षेप्यास्त्र बुधबार अबेर प्रहार गरिएको र त्यस्तो हमलाको काल्पनिक अभ्यास दक्षिण कोरियाका "विभिन्न प्रमुख सैन्य कमाण्ड केन्द्र र हवाई अखडाहरूमा रणनीतिक पारमाणविक हमला गर्दा कस्तो हुन्छ भन्ने थाहा पाउन गरिएको हो।"

“दुस्मनलाई स्पष्ट सन्देश दिने उद्देश्यले यो सैन्य अभ्यास गरिएको हो,” उत्तर कोरियाली सेनाले भनेको छ। "तिनीहरूले हाम्रो बारम्बारको चेतावनीका बावजुद रणनीतिक परमाणु उपकरणहरू परिचालन गर्दै सैन्य धम्कि दिएर हामीलाई बारम्बार चुनौती दिने गर्छन्।"

अमेरिका र दक्षिण कोरियाको एघार दिनसम्मको संयुक्त सैन्य अभ्यास समाप्त हुनुभन्दा एक दिनअघि त्यस्तो क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उक्त सैन्य प्रतिरक्षा अभ्यासमा कम्तीमा एउटा अमेरिकी बी–१बी रणनीतिक बमवर्षक विमान कोरियाली प्रायद्वीपमाथि उडेको बताइएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार मङ्गलवार उत्तर कोरियाका शीर्ष नेता किम जोङ- अनले आफ्ना प्रमुख कमान्डरहरूलाई दक्षिण कोरियासँगको युद्धका लागि तयार अवस्थामा राख्न भइरहेको अभ्यास अवलोकन गरेका थिए।

उक्त अभ्यासमा आकस्मिक हमलाको अवस्थामा प्रतिकार गर्ने कार्यको काल्पनिक अनुकरण गरिएको थियो र त्यसपश्चात् “सम्पूर्ण दक्षिणी भूभाग” कब्जा गर्ने गरी प्रत्याक्रमण गर्ने अभ्यास पनि गरिएको जनाइएको छ।

सर्वाधिक क्षेप्यास्त्र प्रक्षेपणको कीर्तिमान

यसअघि किम जङ-अनले अमेरिकाको शत्रुतापूर्ण नीतिविरुद्ध कसैले पराजित गर्न नसक्ने 'अजेय सेना' बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको थियो। उनले त्यस्तो गर्नुको मुख्य कारण युद्ध शुरू गर्नका लागि नभई आत्म सुरक्षाका लागि भएको बताएका थिए।

उत्तर कोरियाले पटक पटक क्षेप्यास्त्रहरू प्रक्षेपण गर्दै आएको छ।

उक्त देशले सन् २०२२ मा एक वर्षको अवधिमा अभूतपूर्व रूपमा सर्वाधिक क्षेप्यास्त्र प्रहार गरेको कीर्तिमान बनायो।

प्रक्षेपणको दृश्य

तस्बिर स्रोत, Reuters

त्यो वर्ष उत्तर कोरियाले आकाशमा प्रक्षेपण गरेका क्षेप्यास्त्रहरू उसले हालसम्म प्रक्षेपण गरेको कुल सङ्ख्याको एक चौथाइ हो। त्यही वर्ष किम जङ-अनले उत्तर कोरिया "परमाणुअस्त्रसम्पन्न राष्ट्र" बनेको घोषणा गरे।

उनले ती अस्त्र उत्तर कोरियामै रहने पनि बताए।

किमको घोषणाले कोरियाली प्रायःद्वीपको तनाव सन् २०१७ पछि उत्कर्षमा पुग्यो। सन् २०१७ मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई "अग्नि र प्रकोप" को धम्की दिँदा पनि तनाव चुलिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सम्झनामा फुकुशिमा: विश्व हल्लाएको त्यो पारमाणविक दुर्घटना

अमेरिका र दक्षिण कोरियाको सहकार्य

उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई सहयोग गर्दै आएको छ।

यसअघि सन् २०२३ को एप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी योन सुक-न्यलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका थिए।

यस किसिमका घटनाक्रमले कोरियाली प्रायःद्वीपमा अस्थिर अवस्था सिर्जना भइरहेको छ।

उत्तर कोरियाले "उकासेपछि" दक्षिण कोरिया र कहिलेकाहीँ अमेरिकाले प्रतिक्रिया जनाउँछ।

यो क्रम सन् २०२२ को मे महिनामा नयाँ दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियामाथि कडा प्रस्तुत हुने उद्घोष गरेसँगै सुरु भएको हो।

राष्ट्रपति यून सुक-योल उत्तरलाई रोक्ने सबैभन्दा राम्रो उपाय सैन्य शक्तिको प्रयोग हो भन्ने मान्यता राख्छन्।

उनले अमेरिकासँग संयुक्त सैन्य अभ्यास पुनः सुरु गरेपछि उत्तर कोरियाले त्यसप्रति आपत्ति जनाएको थियो र थप क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेको हो।

दुवै पक्षले सीमानजिकै युद्धक विमानहरू उडाउने र समुद्रमा तोप प्रहार गर्ने काम गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।