लडाइँमा खुट्टा गुमाएका यी पुरुष अहिले युक्रेनमा सबैभन्दा धेरै रुचाइएका व्यक्ति हुन्

तस्बिर स्रोत, Warner/STB Channel
- Author, डायना कुरिस्को
- Role, बीबीसी युक्रेन
जब ओलेकसान्डर बुड्कोको नजिकै एउटा बम विस्फोटन भयो, २६ वर्षका यीनले जिउँदै पुरिएको अवस्थामा आफूलाई फेला परे। उक्त विस्फोटनले दिएको ‘गहिरो चोट’का कारण उनले दुवै खुट्टा गुमाउनुपर्यो।
यी युक्रेनी सैनिकले उत्तर पूर्वी खार्किभ क्षेत्रलाई आक्रमणकारी रुसी सैनिकहरूबाट जोगाउन मद्दत गरिरहेका थिए। उनको युनिट अगस्ट २०२२ मा आक्रमणमा परेको थियो।
अहिले आएर उनी एउटा टेलिभिजन रियालिटी सोका ‘स्टार’ बनेका छन् जहाँ कयौँ महिला उनको प्रेम पाउनका लागि प्रतिस्पर्धा गर्छन्।
अमेरिकामा लोकप्रिय सिरिज ‘द ब्यचलर’को उक्त युक्रेनी संस्करणमा आकर्षक पहिरनमा रहेका ओलेकसान्डरले उत्सुकताका साथ एउटा फूललाई हेरिरहेको देखाइएको छ।
अर्कोमा उनी सैनिक पोसाक लगाएर प्रश्नहरूको उत्तर दिन्छन् र त्यो भन्दा अघि व्यायामशालामा शारीरिक अभ्यास गर्छन्।
किएभस्थित रोज गार्डेनमा मसँग कुरा गर्दा पूर्व सैनिकहुँदै सेलिब्रेटी भएका ओलेकसान्डर व्यस्त सप्ताहका कारण थाकेको भए पनि प्रसन्न देखिए।
उनले गएको ज्यानुअरीमा आफ्नी प्रेमिकासँग विछोड भएको भन्दै उक्त सोबाट प्रेम पाउने आशा गरेको बताए। तर ‘दशौँ लाख मानिसहरूले हेरिरहेको अवस्थामा’ प्रेमिका छान्नु गाह्रो हुने उनलाई लागेको छ।
उनको उत्प्रेरणा प्रेमको कल्पनासँगमात्रै जोडिएको छैन। उनी उक्त सोमा आफ्नो उपस्थिति युक्रेनका अशक्त व्यक्तिहरूले भोगिरहेको चुनौतीबारे चेतना जगाउन पनि प्रयोग गरिरहेका छन्।
“यो कार्यक्रमलाई दशौँ लाख मानिसहरूले हेर्छन् र यसले उनीहरूको दृष्टिकोणलाई सकारात्मक ढङ्गले प्रभावित पार्ने ठूलो मौका दिएको छ।”

उनी घाइते भएका पूर्व सैनिकहरू ‘बाहिरिया नभई समाजका पूर्ण सदस्य रहेको र उनीहरूले राम्रो जीवन बिताइरहेको’ पनि देखाउन चाहन्छन्।
“मेरै घटनामा पनि जीवन युद्धको अवस्था भन्दा अघिको तुलनामा अहिले धेरै राम्रो भएको छ। घाइते हुनुभन्दा पहिलेको तुलनामा पनि राम्रो छ।”
अनि जीवनले नसोचेको मोड लियो
कुराकानीलाई निरन्तरता दिने क्रममा उनले अघिल्लो राति आफू एउटा म्युजिक भिडिओको छायाङ्कनमा व्यस्त भएको उनले सुनाए।
तर उनको जीवन सधैँ यस्तो थिएन। रुसले युक्रेनमाथि पूर्ण स्तरको युद्ध थाल्नुअघि उनी किएभस्थित एउटा रेस्टुराँमा बारिस्टाको रूपमा काम गर्थे। त्यो बेला उनी ग्राफिक्स डिजाइन पनि अध्ययन गरिरहेका थिए।
उनले आफ्नो सपना सामान्य खालको रहेका भन्दै यात्रा गर्न, संसारलाई हेर्न र पेसागत वृत्ति विकास भएको देख्न आफूले चाहेको बताए।
तर दुई वर्षअघि उनको जीवनले नसोचेको मोड लियो। उनी देशको सेनामा आबद्ध हुने लाखौँ युक्रेनीमध्ये एक बन्न पुगे।
सन् २०२२ को अगष्टमा उनलाई इजिम नजिकै खटाइएको थियो। उक्त अधीनस्थ सहर रुसी हमलाको अग्रमोर्चामा रहेको थियो। युद्धको सुरुवातमा नै कब्जामा लिएको सो सहरलाई रुसले पूर्वतर्फबाट बन्दोबस्तका सामान आपूर्ति गर्ने प्रमुख सैनिक केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो।

तस्बिर स्रोत, Warner/STB Channel
ओलेक्सान्डर गम्भीर घाइते भएको एक महिनाभित्रै किएभले उक्त सहरलाई रुसी कब्जाबाट मुक्त गराएको थियो।
“मैले पृथ्वी नै सरेको जस्तो महसुस गरे। मेरो खुट्टा बेस्सरी दुखेको थियो। मैले बुझे कि त्यसको अर्थ मेरो खुट्टा काट्नुपर्ने हुन्थ्यो,” उनी भन्छन्।
“उक्त त्रासदीपूर्ण पीडाका कारण म चिच्याए र मानिसहरूलाई मेरो कुरा सुन भन्दै कराए।”
उनलाई आफ्ना साथीहरू जीवितै रहेको थाहा थियो। उनीहरूले उनलाई जमिनबाट खनेर निकाले र प्राथमिक उपचार गरे। त्यो बेला उनले आफ्नो खुट्टामा नराम्रोसँग चोट लागेको थाहा पाए।
“मैले उक्त चोट लागेको क्षणमै, पीडा भोगको दुई वा तीन सेकेन्डपछि नै मेरो खुट्टाहरू गुमाएको बुझेको थिए।”

तस्बिर स्रोत, EPA
ओलेक्सान्डर बाँच्न सफल भए तर इजिमको अधिकांश हिस्सा भग्नावशेषमा परिणत भयो। त्यो बेला अधिकारीहरूले उनीहरूले ४०० भन्दा बढी शव नजिकैको चिहानस्थलमा फेला पारेको बताएका थिए।
चुनौतीपूर्ण पुनर्स्थापनापछि उनी कृत्रिम खुट्टाको मद्दतले ६ महिनाभित्रै हिँड्न थाले।
“जब मसँग कृत्रिम खुट्टा थिएन, मैलै ह्विल चेयरको सहायताले आवतजावत गर्नुपर्थ्यो। राजधानी भए पनि किएभ ह्विल चेयर प्रयोगकर्ताका लागि कति अनुपयोगी र अप्ठेरो रहेछ भन्ने मलाई थाहा भयो।”
“ऐतिहासिक पुरानो सहरमा तपाईँ कतै पनि जान सक्नुहुन्न। आफैँ सडक पार गर्न पनि सक्नुहुन्न। र सबैतिर सिँढी भएकाले तपाईँ कुनै पनि भवन भित्र जान सक्नुहुन्न।”
युद्धका घाइते ओलेक्सान्डर जस्तो अनुभव युक्रेनमा धेरैले गर्ने गर्छन्। युद्धका कारण घाइते भएका व्यक्तिको आधिकारिक तथ्याङ्क छैन् तर दशौँ हजारले हातखुट्टा गुमाएको ठानिन्छ।
'आशाका प्रतिक'

तस्बिर स्रोत, Getty Images
यसकै कारण एउटा अलग्गै रियालिटी सो जन्मिएको छ जसको प्रस्तोता ओलेक्सान्डर हुन्। उनले अपाङ्गता भएका व्यक्तिहरूले युक्रेनी सहरमा हिँडडुल गर्दा भोग्ने गरेका अप्ठेरा प्रस्तुत गर्छन्।
कार्यक्रम प्रस्तुत गर्नुबाहेक यी पूर्व सैनिकले पुस्तक लेखेका छन्। इन्भिक्ट्स खेलमा पदकहरू जितेका छन् र गीति नाटक प्रस्तुत गर्ने एउटा अमेरिकी समूहसँग प्रस्तुति दिएका छन्।
युक्रेनमा उनी यति लोकप्रिय छन् कि 'द ब्याचलर'मा सहभागीताका लागि उपलब्ध गराइएको एउटा पोर्टल ओलेक्सान्डरले आगामी सिजनमा प्रमुख भूमिका निभाउने घोषणा गरे लगत्तै ‘क्य्रास' भएको थियो।
उक्त कार्यक्रमका उत्पादकहरूले उनलाई आशाको प्रतिकका रूपमा प्रस्तुत गर्न लागेका छन्।
“खुट्टा गुमाए पनि, ओलेक्सान्डरले बाइक चलाउँछन्, कार चलाउँछन् र पहाडमा चढ्छन्। उनले पूर्ण ढङ्गले जीवन बाँचिरहेका छन्,” यसै वर्षको अन्त्यमा उक्त सो प्रसारण हुने नेटवर्क एसटीबीकी नतालिया फ्रानचुकले भनिन्।
“यदि टेलिभिजन वास्तविकतालाई देखाउनका लागि हो भने अहिलेको परिस्थितिमा द ब्याचलरको स्टारको लागि अन्य को उपयुक्त हुन्थ्यो? युद्धमा रहेको देशमा अन्य को नै अझ राम्रो पात्र हुनसक्छ र?”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








