रुसको १,००० वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको युक्रेनको दाबी, 'उचित जबाफ' दिने रुसी राष्ट्रपतिको चेतावनी

कुर्स्क क्षेत्रका बासिन्दा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसको सीमावर्ती कुर्स्क क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन चेतावनी जारी गरिएको छ

युक्रेनका एक जना उच्च कमान्डरले आफ्नो फौजले रुसको १,००० वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको बताएका छन्।

कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कारबाही जारी रहेको बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध पुगेको बताएका छन्।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई 'समुचित जबाफ दिने' चेतावनी दिएका छन्।

युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन्।

युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन्।

पुटिनले एउटा बैठकमा रुसी फौजले 'दुस्मनलाई लखेट्ने' बताएको समाचारहरूमा जनाइएको छ।

युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन्।

गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए।

बीबीसीका एकजना संवाददाता भन्छन्, "गभर्नरले जब युक्रेनी फौज रुसको कति भित्रसम्म पसेका छन् भन्नेबारे बोल्न थाले राष्ट्रपति पुटिनले उनलाई बीचमै रोके। र, मानिसहरूलाई कसरी सहयोग गरिँदै छ भन्नेमा केन्द्रित हुन आग्रह गरे।"

आक्रमणयताकै पहिलो घटना

पत्रकारहरूले युक्रेनको सुमी क्षेत्रबाट रुसतर्फ युक्रेनी सैनिकहरू अघि बढेको देखेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पत्रकारहरूले युक्रेनको सुमी क्षेत्रबाट रुसतर्फ युक्रेनी सैनिकहरू अघि बढेको देखेका थिए

गभर्नर स्मिरनोफका अनुसार एक लाख २१ हजार मानिसलाई उनीहरूको घरबाहिर पठाइएको छ। र, थप ५९ हजारलाई पठाउनुपर्नेछ।

आफ्ना १२ जना सर्वसाधारण मारिनुका साथै १२० भन्दा बढी घाइते भएका उनले जनाएका छन्।

रुसभित्र युक्रेनको प्रवेशले धेरैलाई आश्चर्यचकित बनाएको बताउँदै बीबीसीका अर्का संवाददाता भन्छन्, "यो एक ठूलो कदम हो। तर सम्भावित जोखिमपूर्ण पनि। तर किएभले यो वर्ष मस्कोको पक्षमा अघि बढिरहेको द्वन्द्वको गतिलाई यसले परिवर्तन गर्न सक्ने आशा गरेको देखिन्छ।"

रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट रुसी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्।

एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए।

"तोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जबाफ पाउँछन्," किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने।

एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

भवनहरू कब्जामा

सुमी क्षेत्रमा युक्रेनी ट्याङ्क

तस्बिर स्रोत, Reuters

युक्रेन समर्थित एउटा समूहले पनि छिटपुट आक्रमण गर्दै आएको कुर्स्क क्षेत्रमा किएभले सबैभन्दा ठूलो योजनाबद्ध आक्रमण गरेको हो। उनीहरूतर्फ सकेसम्म धेरै क्षति पुर्‍याएर अस्थिर अवस्था सिर्जना गर्दै रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने बनाउनु हो,” ती अधिकारीले भने।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ।

तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।

अनलाइनमा फैलिइरहेका र बीबीसीले पुष्टि गरेका भिडिओमा रुसी सेनाले युक्रेनसँगको सीमाभन्दा २५ किलोमिटर वरको गाउँमा आक्रमण गरिरहेको देखिएको छ।

युक्रेनी सेनाले कुर्स्क क्षेत्रका केही बस्तीहरू कब्जामा लिएको जनाएको छ। युक्रेनी सीमाभन्दा तीन किलोमिटरभित्र रुसको ग्वेभो गाउँमा सैनिकहरूले प्रशासकीय भवनहरूबाट रुसी झन्डा हटाइँदै गरेको भिडिओ खिचेका छन्।

कतिपय गाउँमा युक्रेनी फौजले प्रशासकीय भवनहरू कब्जामा लिएका र कुनै स्थानमा भीषण भिडन्त भइरहेका विवरण आएका छन्।

रक्षा पङ्क्ति तयार गर्दै रुस

रुसी सैनिक

तस्बिर स्रोत, HANDOUT/EPA-EFE/REX/Shutterstock

युक्रेनी फौजले सज्खास्थित रुसको प्रमुख मध्येको ग्यास उत्पादन केन्द्रबाहिर आफ्नो भिडिओ खिचेका छन्। यहाँबाट रुसको ग्यास युक्रेनको बाटो हुँदै युरोपेली देशहरूसम्म जाने गरेको छ। यो मार्गबाट युद्धका बीच पनि ग्यास आपूर्ति भइरहेको छ।

कुर्स्कको सीमावर्ती सुमे क्षेत्रमा बीबीसी संवाददाताहरूले बख्तरबन्द गाडीहरूको लस्कर रुसतर्फ अघि बढेको देखेका छन्।

यी गाडीहरूमा सेतो रङ्गको त्रिकोणात्मक प्रतीक छ जसले युक्रेनमा प्रयोग भएकाभन्दा यी उपकरणहरू फरक भएको देखाउँछन्। आकाशबाट लिइएका कतिपय तस्बिरहरूमा युक्रेनी ट्याङ्कहरू रुसी सीमाभित्रका क्षेत्रमा युद्धरत देखिएका छन्।

बीबीसीले पुष्टि गरेको एक तस्बिरमा रुसले कुर्स्कको आणविक ऊर्जा केन्द्र नजिकै आफ्नो रक्षा पङ्क्ति तयार गरिरहेको देखिएको छ। युक्रेनी सैनिकहरू यहाँभन्दा ५० किलोमिटर टाढा छन्।

केही दिनअघि लिइएका भू उपग्रह तस्बिरहरूमा नदेखिएका खाडलहरू पछिल्लो पटक लिइएका तस्बिरमा देखिएका छन्।

रुसले कुर्स्कको सीमा क्षेत्रबाट ७६,००० मानिसहरूलाई उद्धार गरिएको र उक्त क्षेत्रमा स्थानीय प्रशासनले सङ्कटकाल घोषणा गरेको जनाएको छ।

एक जना रुसी अधिकारीले खसालिएको युक्रेनी क्षेप्यास्त्रको भग्नावशेष शनिवार एउटा घरमा खस्दा १५ जना घाइते भएको बताएका छन्।

युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना अघि बढेर थप गाउँहरू कब्जामा लिएको केही सातापछि कुर्क्स क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।