रुसी सेनामा रहेका भारतीय फर्काउन पुटिन सहमत, नेपाली चाहिँ कति फर्किए

रुसी सेना

तस्बिर स्रोत, EPA

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर रुसी सेनामा कार्यरत आफ्नो देशका नागरिकलाई फर्काउन अनुरोध गरेको प्रसङ्गलाई मस्कोको सेनामा कार्यरत रहेका नेपालीले चासोपूर्वक हेरिरहेका छन्।

मोदी रुस पुगेर आफ्ना नागरिकको उद्धारका लागि गरेको प्रयत्न जस्तै नेपाल सरकारले पैरवी गर्न नसकेको भन्ने तुलना उनीहरूले गरेका छन्।

उनीहरूले भागेर मस्कोस्थित नेपाली दूतावास पुगेका नेपालीहरू स्वदेश फर्किएको तर अरू अहिलेपनि युद्धमोर्चामा रहेको वा घाइते भएर अस्पतालमा उपचार गरिरहेको बीबीसीलाई बताए।

भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा पुटिनले रुसी सेनामा कार्यरत भारतीयलाई स्वदेश फर्काइदिने वाचा गरेका भारतको विदेश मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

उक्त घटनाक्रमबाट कतिपय नेपाली अधिकारीहरू पनि केही उत्साहित सुनिन्छन्। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बीबीसीसँग कुरा गर्दै रुसी सेनामा कार्यरत नेपाली स्वदेश फर्काउन मस्को सैद्धान्तिक रूपमा सहमत रहेको र त्यसको ढाँचाबारे गृहकार्य गर्न उसले प्रस्ताव राखेको बीबीसीलाई बताए।

मोदीको रुस भ्रमणपछि किन उठ्यो यो प्रसङ्ग

भारतसँग निकट सम्बन्ध रहेको रुसमा प्रधानमन्त्री मोदीले गरेको पछिल्लो भ्रमणमा कैयौँ सहमतिहरू भएका विवरण आए पनि रुसी सेनामा रहेका भारतीय नागरिकहरूलाई फिर्ता गर्न क्रेम्लिन तयार भएको प्रसङ्गले निकै चर्चा पाइरहेको छ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राले बुधवार एउटा पत्रकार सम्मेलनमा रुसी सेनामा झुक्याएर भर्ना गरिएका भारतीयहरूलाई फिर्ता ल्याउने कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग दह्रोसँग राखेको बताएका थिए।

उनका अनुसार रुसी सेनामा ३५ देखि ४० जना भारतीय छन् जसमध्ये करिब १० जना फिर्ता भइसकेका छन् र बाँकी सबैलाई मुलुक फर्काइनुपर्ने पक्षमा दिल्ली छ।

मोदी पुटिन

तस्बिर स्रोत, Reuters

मस्कोमा भइरहेको यो वार्तालाई रुसी सेनामा अहिले पनि कार्यरत रहेका नेपालीदेखि नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले नजिकबाट हेरिरहेका छन्।

नेपालले रुसी सेनामा रहेका आफ्ना नागरिकलाई फिर्ता गराउन र ज्यान गुमाउन बाट जोगाइदिन गरेको अनुरोधलाई मस्कोले खासै प्राथमिकतामा नराखेको जस्तो देखिने प्रभावितका आफन्तले बताउने गरेका छन्।

सुरक्षाका कारण आफ्नो परिचय खुलाउन असमर्थ रहेका रुसी सेनामा कार्यरत एक नेपालीले बीबीसीसँग आक्रोश पोखे, “नेपाल सरकारले हाम्रा लागि माखो पनि मार्न सक्दैन। यिनीहरूले आफ्नै कुरा त मिलाउन सकेका छैनन् भने हाम्रा लागि के गरिदिन्छन्? भाग्न सक्ने मानिसहरूलाई नेपाली राजदूतावासले सहयोग गरेको छ र उहाँहरूमध्ये केही घर पनि फर्कनुभएको छ।”

आफूहरू रुसी सेनाको चेन अफ कमान्डमा रहेको उल्लेख गर्दै उनले बाहिर भनिएको कुरालाई रुसमा कसैले वास्ता नगर्ने बताए।

उनी भन्छन्, “हामी काँडेतारले बार लगाएको सैन्य बलको क्षेत्रभित्र छौँ। त्यहाँ कसैले भनेको कुरा यहाँ कसैले सुन्दैन। कमान्डरले दयामाया गरेर घर बिदा दिएर पठाए भने एउटा कुरा नत्र भने कसैको दबाव पनि यहाँ काम लाग्दैन।”

वाग्नर समूहको एउटा सैन्य टुकडीमा भाडाको सिपाहीको रूपमा भर्ती भएको बताउने उनले आफूहरूलाई युद्धको एकपछि अर्को अग्र मोर्चामा खटाइएको बताए।

नेपाल सरकारको आग्रह रुसले मान्ने सम्भावना कम देखेका उनले आफू स्वेच्छाले रुसी सेनामा काम गर्न गएको र करार अवधि सकेपछि फर्कने पनि उल्लेख गरे।

उनी थप्छन्, “नेपालको सरकारले मोदी यहाँ आएजस्तै गरेर मेरो मान्छेलाई फिर्ता गर भन्न सक्दैन। मोदी जस्तो यहाँ आएर तुरुन्तै कदम चाल्नुपर्‍यो भनेर या भन्न सक्नुपर्थ्यो। अहिलेसम्म गर्न नसकेको अब उसले गर्छ भन्ने मलाई लाग्दैन। यहाँ नआउनुपर्थ्‍यो। म आइहालेँ। अब मरे मरिन्छ, म मेरो करार अवधि सकेपछि मात्रै फर्कन्छु।”

रुसी सेनामा काम गर्न जाने नेपालीमध्ये कतिपय नेपालको राष्ट्रिय सेनासहितका सुरक्षा निकायमा काम गरेको अनुभव भएका व्यक्तिहरू पनि छन्।

१० वर्षे माओवादी द्वन्द्वका क्रममा विद्रोहीका पक्षबाट लडेका कतिपय पूर्व लडाकूहरू पनि रुसी सेनामा भर्ना भएका थिए।

नेपाली अधिकारी के भन्छन्?

रुस

तस्बिर स्रोत, Getty Images

नेपाली अधिकारीहरूसँग रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने आँकडा छैन। तर परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले हालसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको जनाएको छ।

विभागको कानुन परामर्श शाखाका अधिकृत कृष्णप्रसाद बस्यालले ३१९ जना नेपालीहरूलाई स्वदेश फर्काउन उनीहरूका आफन्तले सरकारलाई निवेदन दिएको बताए। उनका अनुसार अहिलेसम्म मस्कोस्थित नेपाली राजदूतावासको सहयोगमा ‘ट्राभल डक्युमेन्ट’ बनाएर रुसी सेनामा कार्यरत १३८ जना नेपाली स्वदेश फर्किएका छन्।

बस्यालले बीबीसीसँग भने, “त्यसरी निवेदन दिएकामध्ये ३४ जनाको मृत्यु नै भइसकेको छ। युक्रेनको सेनाले कब्जा गरेकाको सङ्ख्या ६ रहेको छ। हालसम्म २२ जनाको डीएनएजाँचका लागि अनुरोध भइआएको छ। क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको ६ जना पनि त्यसमै पर्छ।”

उनका अनुसार निवेदन दिएका ३१९मध्ये कतिपय स्वदेश फर्किएकाको समूहमा पर्छन्।

विगतमा रुसी सेनामा कार्यरत रहेका नेपालीहरूको एउटा समूहले आफूहरूलाई स्वदेश फर्काउन ‘छिमेकी देशका नाताले’ पहल गरिदिन भारतलाई अनुरोध गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

रुसी सेनामा रहेका भारतीयहरूलाई स्वदेश फर्काउन रुसका राष्ट्रपति सकारात्मक रहेका भारतीय भनाइपछि बीबीसीलाई प्रतिक्रिया दिँदै नेपालका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत रहेका नेपालीहरूको फिर्ती प्रक्रियामा पनि प्रगति हुने विश्वास व्यक्त गरे।

उनी भन्छन्, “यो हाम्रो सुरु देखिको प्रयत्न हो। उनीहरूले सैद्धान्तिक रूपमा तयार नै छौँ भन्दै आएका थिए। तर मोडालिटिमा गृहकार्य गरौँ भनिरहेका थिए। अहिले पनि त्यही कुरा दोहोर्‍याइरहेका छन्। हामीले प्रयास जारी राखेका छौँ र यसमा प्रगति हुने ठानेका छौँ।”

उपप्रधानमन्त्री श्रेष्ठले रुसबाट फर्किएर नेपाल आउनेहरूले बिचौलियाहरूले आफूहरूलाई रुसी सेनामा लड्न पठाएको र जम्मा ५/७ दिन तालिम गरेर युद्धमा खटाइएको बताएको जानकारी दिए।

उनका अनुसार फर्किएर आउने व्यक्तिहरूले आफूहरू भागेर र अरू ‘दलाल’ मार्फत् नेपाल फर्कन सम्भव भएको जनाएका छन्।

रुसी सेनामा कार्यरत नेपाली

तस्बिर स्रोत, EPA

को हुन् बिचौलिया?

रुसी सेनामा गएको कार्तिकमा काम गर्न गएका रोल्पाका नरु पुन विचौलियालाई काठमाण्डूमा ६ लाख रुपियाँ बुझाएर मस्को पुगेको बताउँछन्।

त्योभन्दा अघि ग्रील उद्योग सञ्चालन गर्दै आएको बताउने उनले रोल्पा र दाङका साथीहरूको सुझावमा आफू रुसी सेनामा भर्ना हुन पुगेको जनाए।

उनले भने, “एजेन्टको नाम थाहा छैन। बाहिर बाहिरबाटै हामी गएको हो। नेपाल सरकारको स्वीकृती बिना नै गयौँ। खासमा जान नहुने ठाउँ रहेछ।”

उनले काठमाण्डूलाई बिचौलियालाई रकम तिरेर मस्को पुगेको र केही हप्ताको तालिमपछि सेनामा भर्ना भएको उल्लेख गरे।

तर हातमा गोली लागेपछि रुसी अस्पतालमा उपचार हुँदा हुँदै भागेर निस्किएको उनले बताए।

उनी भन्छन्, “थेरापीको लागि मलाई गैरसैनिक अस्पतालमा भर्ना गरेको थियो। त्यहाँ आवतजावतको समस्या हुँदैनथ्यो, अनि म भागेर नेपाली राजदूतावास पुगे। उहाँहरूले यात्रा अनुमति पत्र बनाइदिएपछि मस्कोबाट नेपाल आएको हुँ।”

रुसी सेनाबाट भागेकाले आफूले कुनै क्षतिपूर्ति वा राहत रकम नपाएको उनको भनाइ छ।

“मैले पासपोर्ट र एटीएमकार्ड सबै छाडेर भागेर निस्किएको हुँ। त्यही भएर मैले कुनै पनि सुविधा पाएको छैन।”

रुसी सेनामा काम गर्न पुगेका नेपालीहरूका भनाइमा भारत, कतार, दुबई, साउदी अरेबिया जस्ता मुलुकबाट समेत नेपालीहरू भाडाको सैनिकका रूपमा काम गर्न रुस पुगिरहेका छन्।

गएको डिसेम्बरमा रुसी सेनामा नेपाली पठाउन सक्रिय रहेको भनिएको गिरोहमा आबद्ध रहेका १० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको थियो।

पुन भन्छन्, “मैले चाहिँ नेपालको मात्रै बिचौलिया भेटेँ तर मेरो बिचारमा नेपाली मात्रै संलग्न भएर मान्छेहरू रुसमा पुर्‍याउन सम्भव छैन।”

रुसी सेना

अभियानकर्ता के भन्छिन्?

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार तथा पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन अघि बढाइएको एउटा अभियानकी संयोजक कृतु भण्डारी अझै पनि सयौँको सङ्ख्यामा रुसी सेनामा रहेका नेपालीहरू सम्पर्कविहिन रहेको बताउँछिन्।

उनले पछिल्ला महिनाहरूमा रुसले नेपालमा आफन्त गुमाएका वा परिवारका सदस्य बिरामी रहेका जस्ता कारण देखाउँदै आवेदन दिने कतिपय सैनिकहरूलाई घर आउन दिएको बताइन्।

तर रुसी सेनामा भर्ना भएका नेपाली फर्काउन सरकारी प्रयास फितलो रहेको उनको ठम्याइ छ।

उनले अझै पनि बिचौलियाहरूले विभिन्न मार्ग प्रयोग गर्दै नेपालीहरूलाई रुस लैजाने क्रम नरोकिएको जनाइन्।

सिरानी घर्ती मगरले आफ्ना श्रीमान् रुसी सेनामा गएपछि सम्पर्कविहीन भएको बताइन्

तस्बिर स्रोत, COURTESY: KRITU BHANDARI

तस्बिरको क्याप्शन, सिरानी घर्ती मगरले आफ्ना श्रीमान् रुसी सेनामा गएपछि सम्पर्कविहीन भएको बताइन्

उनका अनुसार हालै करिब ५० जनाको समूह चीन हुँदै रुस पुगेको जानकारी रुसी सेनामा कार्यरत रहेका नेपालीहरूले उनलाई उपलब्ध गराएका छन्।

रुसबाट बीबीसीसँग कुरा गरेका एक नेपालीले पनि त्यसरी चीनको बाटो हुँदै नेपालीहरू सेनामा भर्ना हुन आएको आफूले पनि थाहा पाएको बीबीसीलाई बताए।

तर बीबीसीले यसको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

रुसी सेनामा कार्यरत ती नेपाली भन्छन्, “हामीले यहाँ नआउनु खतरा छ भनेर भनेको धेरै भइसक्यो। दलाललाई दोष लगाउनु बेकार छ। किनभने अझै पनि पठाइदेऊ भनेर पैसा दिने मानिसहरूको सङ्ख्या ठूलो छ। मलाई नै पनि कति नेपालीहरू मलाई जे सुकै होस तर पैसा कमाउन आउनै पर्‍यो भनेर सन्देश पठाइरहेका छन्।”

गएको मार्च महिनामा नेपालका परराष्ट्रमन्त्री श्रेष्ठले आफ्ना रुसी समकक्षी सर्गेइ लावरोवसँग टेलिफोन वार्ता गरी रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका थिए।

हालैका महिनाहरूमा नेपाल सरकारले रुसमा व्यापार व्यवसाय गरेर बसेका नेपाली, त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरू र भ्रमणका लागि सरकारी मनोनयनमा परेका व्यक्तिलाई मात्रै रुस जानका लागि अनुमति दिने नीति लिएको छ।

गएको डिसेम्बरमा बीबीसी नेपालीलाई पठाएको इमेल प्रतिक्रियामा रुसको राष्ट्रपति कार्यालयले नेपालीहरू रुसी सेनामा कार्यरत रहेकोबारे आफूलाई कुनै जानकारी नरहेको बताएको थियो।

उनले भनेको थियो, “विदेशीहरू रुसी सेनामा सेवा गर्न पाउँदैनन्।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।