रुसी सेनामा भर्ना भएर सम्पर्कविहीन पूर्वमाओवादी लडाकुकी अनसनरत श्रीमती प्रचण्ड सरकारप्रति किन दुःखी?

रुस युक्रेन युद्ध

तस्बिर स्रोत, Courtesy: Kritu Bhandari

तस्बिरको क्याप्शन, सिरानी घर्ती मगरले आफ्ना श्रीमान् रुसी सेनामा गएपछि सम्पर्कविहीन भएको बताइन्

दश वर्षे सशस्त्र द्वन्द्वमा माओवादी शसस्त्र सेनामा रहेका रुकुमका माईतमान घर्ती मगरले शान्ति प्रक्रिया अन्तर्गत नेपाली सेनामा समायोजन रोजे।

अघिल्लो वर्ष सेनाबाट अवकाश पाएका उनी उक्त विद्रोहको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्डले तेस्रो पटक सत्ता सम्हालिरहँदा गएको कार्तिकमा रुसी सेनामा काम गर्न मस्को पुगेका थिए।

मंसिरको १२ गतेबाट माईतमान परिवारको सम्पर्कमा छैनन् र पछिल्लो डेढ महिना यता उनकी श्रीमती सिरानी घर्ती मगर आफ्नो श्रीमानको खोजीका लागि काठमाण्डूमा सरकार र सरोकारवाला निकायहरूसँग हारगुहार गरिरहेकी छन्।

सिरानी घर्ती मगरसहित रुसी सेनामा रहेका नेपालीहरूको फिर्तीका लागि ३ जनाले काठमाण्डूमा आमरण अनसन थालेको मंगलवार १२ दिन पुगेको छ।

आफू स्वयं सत्ताधारी माओवादी दलकी कार्यकर्ता रहेकी सिरानी आफ्ना मागलाई सरकारले बेवास्ता गरेकोमा दुखेसो पोख्छिन्।

उनले बीबीसीसँग भनिन्, “कोही दिदी बहिनीहरू काठमाण्डू आउनुभएको ३ महिना भयो। म आएको डेढ महिना भयो। जुनै निकायमा गए पनि सरकारले हाम्रो कुरा नसुनेपछि हामी अनसन बस्न बाध्य भयौँ।”

छटपटी र सङ्घर्ष

दश वर्षे माओवादी विद्रोह सन् २००६ मा शान्ति सम्झौता भएसँगै अन्त्य भएको थियो।

त्यसपछि नेपाली सेनासहितको सहमतिमा निर्धारण गरिएको भर्ती सम्बन्धी नयाँ मापदण्ड अन्तर्गत माईतमानसहित लगभग चौध सय नेपाली सेनामा छनौट भएका थिए।

अवकाश पाएपछि ३८ वर्षका आफ्ना श्रीमानले विदेश जाने कुरा गरेको तर रुस जान लागेको पूर्व सूचना आफूलाई नदिएको सिरानी बताउँछिन्।

अनसनस्थलबाट उनले बीबीसीसँग टेलिफोनमा भनिन्, “जाने बेला युरोप भ्रमण भिसामा जान लागेको छु भन्नुभएको थियो। यो देश जान लागेको भन्नु भएको थिएन। पछि उहाँ पुगेपछि मात्रै रुसी सेनामा हो भन्ने थाहा पायौँ।”

पीडित परिवार

तस्बिर स्रोत, Courtesy: Kritu Bhandari

उनका अनुसार कार्तिक ६ गते नेपालबाट गएका उनका श्रीमान् मङ्सिर १२ गतेसम्म अन्तिम पटक सम्पर्कमा थिए।

उनले थपिन्, “मैले सुरुमा फर्किनुस् भनेर भनेँ तर उहाँले अब आइसकेँ भन्नुभयो। तीन महिना तालिम हुन्छ त्यसपछि मात्रै युद्धमा लैजान्छ भन्नुहुन्थ्यो। तर त्यो तालिमलाई एक महिनामा सक्याएर युद्धमा लग्यो। मंसिर १२ गते कुरा हुँदा उहाँले फोन लैजान दिँदैन, फोन नलाग्ने ठाउँमा जाँदैछु, उताबाट फर्किएपछि फोन गर्छु भन्नुभएको थियो। तर आजसम्म केही पनि खबर आएको छैन।”

रुसी सेनामा आबद्ध नेपालीहरूको जिवनरक्षार्थ अभियानले माईतमानजस्ता ६५० भन्दा बढीको उद्धारको माग गर्दै सरकारलाई सूची बुझाएको जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले चाहिँ ३०० भन्दा बढीको उद्धारका लागि निवेदन आएको बताएको छ। अहिलेसम्म झन्डै दुई दर्जन नेपालीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

अझै पूरा नभएका प्रतिबद्धता

माईतमानको परिवार आबद्ध दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै रुसका विदेशमन्त्री सार्गेइ लाभ्रोभसँग टेलिफोन कुराकानी गरेका थिए।

श्रेष्ठका पूर्ववर्ती एनपी साउद पदमा बहाल रहँदा उक्त कुराकानीको चाँजोपाँजो मिलाइएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले पीडितका परिवारहरूसँग भेटवार्ता गरेर सरकार उनीहरूसँगै दृढ सङ्कल्पसित रूपमा उभिएको बताएका थिए।

अझ डेढ महिनाअघि प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सरकारले ज्यान गुमाएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति र बिमा बापतको रकम उपलब्ध गराउने सहमति भएको बताएका थिए।

उनले घर फर्कन चाहने नेपालीहरूका लागि पनि करार रद्द गर्न रुसी सरकारले सहयोग गर्ने ‘सैद्धान्तिक सहमति’ जनाएको उल्लेख गरेका थिए।

श्रेष्ठको भनाइ थियो, “तर त्यसको प्रक्रिया तय हुन बाँकी छ। यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर काम गरिरहेको छ।”

आफूहरूलाई सरकारले बेवास्ता गरेको पीडित परिवारले जनाएका छन्

तस्बिर स्रोत, Courtesy: Kritu Bhandari

तस्बिरको क्याप्शन, आफूहरूलाई सरकारले बेवास्ता गरेको पीडित परिवारले जनाएका छन्

रुसी सेनामा नेपालीलाई भर्ना नलिन, भर्ना लिएकाको करार रद्द गर्न, घाइते र अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति दिन अनि ज्यान गुमाएकाको अन्तिम संस्कार नेपालमा गर्न शव पठाइदिन सरकारले रुससँग माग गरेको छ।

यी मागका बारेमा बीबीसीले काठमाण्डूस्थित रुसी दूतावास र मस्कोस्थित रुसको विदेश मन्त्रालयलाई प्रश्नहरू पठाए पनि जवाफ प्राप्त भएको छैन।

पछिल्लो अनसनमा के के माग राखिएको छ?

रुसी सेनामा आबद्ध नेपालीहरूको जिवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी, रुसी सेनामा कार्यरत रहँदा श्रीमान् सम्पर्कविहीन रहेका सिरानी घर्ति मगर र हालै आफ्ना सालाले रुसी सेनामा काम गर्दा ज्यान गुमाएको खबर पाएका सुर्खेतका किसन थापा हाल अनसनरत छन्।

संयोजक भण्डारीले सरकारले उपप्रधानमन्त्री श्रेष्ठले ‘झुट्टो बोलेको’ र नागरिकहरूलाई ‘भ्रममा पार्न खोजेको’ बताइन्।

उनले भनिन्, “उहाँले करार सम्झौता रद्द गर्ने सैद्धान्तिक सहमति भएको कुरा गर्नुभयो। उहाँले साँच्चिकै गर्न चाहनुहुन्थ्यो भने उद्धारको पर्खाइमा बसेका मानिसहरूलाई ल्याउने कुरा प्रमुख थियो, त्यो उहाँले गर्नुभएन। करार सम्झौता रद्द भएका मानिसहरूलाई ३ महिनासम्म हामीले उद्धार गरेर ल्याउन नसक्दा उनीहरूलाई पुनः युद्ध मैदानमा लगिएको अवस्था छ।”

अनसन

तस्बिर स्रोत, Courtesy: Kritu Bhandari

रुसी सेनामा कार्यरत नेपालीको रिहाइ, बेपत्ताको खोजी, शव नेपाल ल्याउने र क्षतिपूर्ति एवं अन्य सेवा सुविधासहितको माग गर्दै उक्त अभियानकातर्फबाट रुसी राजदूतावास अघि गरिएको प्रदर्शनमा प्रहरीले सोमवार हस्तक्षेप गरी केहीलाई नियन्त्रणमा लिएको थियो।

सङ्घर्षरत परिवारहरूले प्रलोभनमा पारेर रुस पठाउने र नेपाल ल्याइदिन्छु भनि पैसा उठाउने बिचौलियाहरूलाई पनि कारबाहीको माग गरेका छन्।

भण्डारीका अनुसार सो अभियानले रुसी दूतावासमा पनि दुई पटक नेपालीहरूको विवरण बुझाएको छ।

उनले नागरिकको जीवन रक्षा गर्ने विषयमा कोही पनि जिम्मेवार भएको आफूहरूले नपाएको भन्दै दुखेसो व्यक्त गरिन्।

उनले थपिन्, “हाम्रो आमरण अनसन यतिका दिनसम्म चलिरहँदा समेत कुनै पनि पक्ष संवेदनशील नरहनु ज्यादै दुखद छ।”

सरकार के भन्छ?

सरकारले पछिल्लो समयमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागबाट नो अब्जेकसन लेटर लिएर मात्रै नेपालीहरूले रुसको भ्रमण गर्नसक्ने जनाएको छ।

रोजगारीमा रुस जान रोक लगाएका अधिकारीहरूले सरकारी कामकाज, रुसको सरकारी छात्रवृत्ति र व्यवसायमा जाने व्यक्तिहरूका लागि त्यस्तो कागजात आवश्यक नपर्ने जनाएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई रुसी सेनामा कार्यरत नेपालीहरूको फिर्तीबारे सरकार गम्भीर रहेको र यसका लागि रुससँग निरन्तर कुरा गरिरहेको बताउँछन्।

उनले भने, “स्वैच्छिक रूपमा करार रद्द गर्न सैद्धान्तिक रूपमा सहमत छौँ भन्ने धारणा रुसका तर्फबाट राखिएको थियो। काठमाण्डूस्थित रुसी दूतावास र मस्कोस्थित नेपाली दूतावासले पनि कुराकानी गरिरहेका छन्। हामी सम्पर्कमा नै छौँ तर यसले मूर्त रूप पाइसकेको छैन।”

रुस युक्रेन

तस्बिर स्रोत, EPA

उनले पीडितहरूसँग आफूहरूले कम्तीमा दूई पटक भेटेको भन्दै समन्वयमा नै काम गरिरहेको जनाए।

"विदेशमा बसिरहेका नेपालीहरूको हितको जिम्मा परराष्ट्र मन्त्रालयकै हो। उहाँहरू आफ्नै खुसीले जानुभएको भए पनि सरकारले त्यसो भन्दैन। उद्धार गरेर ल्याउनुपर्ने अवस्थामा सरकारले जिम्मेवारी महसुस गर्छ र गरिरहेकै हो।”

उनले रुससँग कुरा गर्न सोझै दुईपक्षीय कूटनीतिक संयन्त्रबाहेक अरू माध्यमहरू पनि सरकारले प्रयोग गरिरहेको खुलाए।

राई भन्छन्, “सरकारले सकेसम्म सबै पहलहरू गरिरहेको छ र विभिन्न अरू च्यानलहरू पनि प्रयोग गरिरहेको छ। सम्पूर्ण रूपले नै हामी लागिरहेकै हो।”

पछिल्लो समयमा ज्यान गुमाएकाहरूको क्षतिपूर्तिका लागि पाँच जना मृतकका परिवारबाट रुसले मागेका कागजपत्र सङ्कलन गरी मस्को पठाएको कन्सुलर विभागका अधिकारीहरू बताउँछन्।

श्रीमान् सम्पर्कविहीन भएसँगै आफ्नो जीवन असहज भएको बताउने सिरानी अनसन बस्नुलाई बाध्यता भन्छिन्।

उनले भनिन्, “पहिले हामी रुकुम बस्थ्यौँ। अहिले केटाकेटी पढाउनलाई दाङमा झरेका थियौँ। सासू ससुरा, देवर देउरानी सबै रुकुममा हुनुहुन्छ। अहिले दाङमा तीनवटा बच्चा मात्रै छन्। सबै विद्यालय पढ्दै छन्।”

“सरकारले हामीमाथि मानवीय व्यवहार पनि गरेको छैन। एकदम असहज बनाइदिएको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।