विभिन्न परिकार र स्वादसँग जेलिएको ताइवानको राजनीति

ताइवानको खाना

तस्बिर स्रोत, BBC

    • Author, ग्रेस सोई र जोइ चाङ
    • Role, बीबीसी विश्व सेवा, ताइवान

“खानेकुराको माध्यमबाट म आफू को हुँ भन्ने जान्न चाहन्थेँ” ताइवानी शेफ एलेसले सुँगुरको मासु कोदोको पिठोमा बेरेर बनाइएको डम्प्लिङलाई दुई प्रकारका रैथाने बिरुवाका पातमा बेरिन्।

दक्षिणपूर्वी ताइवानका पहाडी भेगमा पहिलादेखि नै बसोबास गर्दै आएको आदिवासी रुकाई समुदायका लागि 'अबई' पवित्र र विशेष दिनमा खाइने परिकार हो। एलेस पनि त्यही समुदायकी हुन्।

यी ६१ वर्षीया महिला आफू हुर्किँदै गर्दा ताइवानका आदिवासीहरूले खाने विभिन्न किसिमका परिकार बाहिर पाउन असम्भवप्राय: थियो।

तर ताइवानको पहिचानले आकार लिँदै जाँदा परिस्थिति फेरिँदै गएको छ। ताइवानमाथि चिनियाँ दाबीको प्रतिरोधका रूपमा प्रायः त्यसो भएको छ।

अनि एलेसजस्ता आदिवासी शेफहरू अरू पारखीका थालमा आफ्ना परिकारहरू पनि पुगून् भन्ने निश्चित गर्न चाहन्छन्।

चुनावनजिकै आइपुगेका बेला ताइवानको मूल आधारबारे फेरि बहस भइरहेको छ। चीनले यो प्रजातान्त्रिक टापु आफ्नो स्वामित्वमा हुनुपर्ने ठान्छ।

तर सर्वेक्षणहरूका अनुसार धेरै ताइवानी आफूलाई फरक रूपमा हेर्छन्।

माओको कम्युनिस्ट समूहबाट सन् १९४९ मा भागेर आएका राष्ट्रवादीहरूले यहाँ जरो गाडे र करिब तीन दशकसम्म शासन चलाएका थिए।

एलेस आफ्नो समुदायको विशेष खाना अरूसँग बाँड्न मन पराउँछिन्

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, एलेस आफ्नो समुदायको विशेष खाना अरूसँग बाँड्न मन पराउँछिन्

प्रत्येक पटक ताइवान भित्रिएका मानिसको लहरसँगसँगै केही न केही भित्रियो।

त्यसले ताइवानको परिकारको स्वरूपमा निरन्तर परिवर्तन ल्याइरह्यो र विशेष परिकारका रूपमा असाध्यै लोकप्रिय खानाको आविष्कार भइरह्यो।

अहिले अमेरिकामा असाध्यै लोकप्रिय कुखुराको मासुको परिकार 'जेनरल चो'ज् चिकेन' ताइवानबाट सुरु भएको हो।

अहिले यो टापुमा प्रचलित स्वादिष्ट परिकारहरूले यहाँको जटिल राजनीति बुझ्न सघाउन सक्छन्।

अबईलाई पवित्र खाना मानिन्छ त्यसैले चाडबाड र महत्त्वपूर्ण दिनहरूमा खाने गरिन्छ
तस्बिरको क्याप्शन, अबईलाई पवित्र खाना मानिन्छ। त्यसैले चाडबाड र महत्त्वपूर्ण दिनहरूमा यो परिवार खाने गरिन्छ

घरतिरको यात्रा

ताइपेईमा माध्यमिक तहमा पढ्दै गर्दा कक्षामा एलेस एक मात्र आदिवासी थिइन्।

अरूले गिज्याउने गरेकाले उनी विद्यालय जान हिचकिचाउँथिन्। उनका अधिकांश सहपाठीहरू चिनियाँ थिए।

उनको छालाको रङ्ग कालो थियो। “उनीहरूले मलाई ब्ल्याक ब्यूटी भन्थे,” उनले भनिन्।

बिदामा घर गएका बेला उनलाई घर छोड्नै मन लाग्दैनथ्यो। छुट्टीका बेला उनले धेरैजसो समय खाना पकाउन सिक्न व्यतीत गरिन्।

अनि उनको समुदायका मानिसहरू पुस्तौँदेखि बसोबास गर्दै आएको क्षेत्रमा उनले ४० वर्षअघि आफ्नै रेस्टुराँ खोलिन्। त्यसहाँ आदिवासी समुदायको खाना पस्किइन्थ्यो।

उनको घर भएको क्षेत्र दावाना झिबेनको दावाना क्षेत्र तातोपानीका कुण्डका लागि प्रख्यात छ।

एलेस भन्छिन्, "रेस्टुराँ उनका लागि घर फर्किने एउटा निहुँ थियो।"

“मैले यसलाई पैसा कमाउने मेलोको रूपमा हेरिनँ। यो त मेरो समुदायका मानिसबीच रहिरहने उपाय थियो र मेरा परिकार अरूलाई चखाउनु थियो।”

आदिवासी खाना पाइने रेस्टुराँ

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, एलेक्स पेङका बुवाले रेस्टुराँमा इँटाका चुलो बनाएका हुन्

दाउराको आगोको रापमा पकाइएको सुँगुरको मासु र रगतबाट बनेको ससेज रुकाई समुदायको सिकारी संस्कृतिको सम्मानस्वरूप उनको खानाको सूचीमा छ। अनि पानको पातको सुगन्ध मिश्रित चीजकेक चाहिँ बाह्य प्रभाव हो।

अहिले एलेसको जस्तो काम गर्ने मानिस अरू पनि थपिएका छन्। मोटरमा तीन घण्टा यात्रा गरेपछि रुकाईको सीमानजिकै 'अकामे' मा पुगिन्छ। यो ताइवानको निकै लोकप्रिय रेस्टुराँ हो।

यसले आफूलाई आधुनिक ग्रिल भन्छ जुन अकामेका लागि रुकाई भाषाको शब्द हो।

रेस्टुराँका सबै कुरा पहिचानसँग जोडिएका

अकामेका शेफ र मालिक एलेक्स पेङका अनुसार उनको समुदायको स्वादिष्ट तर साधारण परिकारलाई उनले सिकेको चिनियाँ, इटालेली र फ्रेन्च परिकारसँग मिसाएका छन्। त्यस्ता परिकारमा कोदो हालेको पाउरोटीदेखि र पहाडी भेगमा पाइने मरिच छर्केर पस्किइने उत्तरी ताइवानको स्थानीय भुइँकटहर पर्छन्। आदिवासीहरूका लागि कोदो विशेष अन्न हो।

उनले आफ्नो सपना पूरा गर्दै सन् २०१५ मा आफ्नो समुदाय बसोबास गर्ने स्थान पिङ्टुङ काउन्टीको मध्यभागमा अकामे रेस्टुराँ खोले। अहिले उनीकहाँ खान आउनेहरूले आदिवासी संस्कृतिप्रति जिज्ञासा देखाएका कारण उनी प्रसन्न छन्।

उनको रेस्टुराँमा भएका कुराहरू सूक्ष्म रूपमा हेर्दा तिनमा उनको पहिचान जोडिएको छ।

त्यहाँ प्रयोग हुने चक्कुहरू रुकाई समुदायका मानिसले सिकार खेल्दा प्रयोग गर्ने बेला प्रयोग गर्ने चक्कुका साना रूप हुन्। अनि उनका प्लेट र कचौराहरूमा यिनै आदिवासीहरूसँग सम्बन्धित कुरा छापिएका छन्।

चो'ज चिकेन

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, पाइ वाको परिवारलाई जेनरल चो'ज् चिकेन निकै मन पर्छ

ताइवानमा आदिवासी खाना पाइने थोरै र असाध्यै राम्रा रेस्टुराँमध्ये अकामे पर्छ।

यो टापुको कुल जनसङ्ख्या दुई करोड ३० लाख छ। त्यसमध्ये २.५ प्रतिशत मानिस १६ वटा आदिवासी समुदायका हुन्।

एलेस अहिले ताइवानीहरू आफ्नो परिचय स्थापित गर्ने प्रयत्नमा भएको भन्ठान्छिन्।

“हाम्रो सम्पूर्ण संस्कृतिको फेरि खोजी भइरहेको छ र सही अर्थमा ताइवानी कसरी हुने भन्ने प्रयत्न पनि भइरहेको छ। यहाँका वास्तविक ताइवानी को हुन् भन्ने तपाईँलाई लाग्छ? मेरो समुदाय सदैवदेखि यहीँ बसोबास गर्दै आएको छ।”

जेनरल चो'ज् चिकेन : कुखुराको मासुको विशेष परिकार

चिनियाँ राष्ट्रवादीहरूको ४० वर्ष लामो निरङ्कुश शासनका बेला "जेनरल चो’ज् चिकेन" आविष्कार भएको हो। कुखुराको मासुबाट बनाइने यो परिकार अहिले असाध्यै लोकप्रिय छ।

परिकार र पाक्कलासँग सम्बन्धित दुईवटा किताब लेखेका पाइ वेई भन्छन्, “हामीले यसलाई हुनान खाना भने पनि वास्तवमा ताइवानका हुनान शेफले आफ्नो घर सम्झेर बनाएको परिकार हो यो।”

केएमटीका प्रमुख ब्याङ्केट शेफ पेङ चाङ कुईलाई सन् १९५० को दशकमा ताइवान भ्रमणमा आएका एक अमेरिकी सेनापतिका लागि विभिन्न पक्वान्न बनाउने जिम्मा दिइएको थियो।

पेङ दक्षिणी चीनको हुनान प्रान्तका थिए। त्यो चिनियाँ नेता माओको गृहनगर पनि हो। हुनान खासगरी ताजा खुर्सानीको भरपूर प्रयोग हुने मसलायुक्त खानेकुराका लागि प्रसिद्ध छ।

ताइवानका रात्रि बजारहरूमा ओइस्टर अमलेट पाइन्छ
तस्बिरको क्याप्शन, ताइवानका रात्रि बजारहरूमा ओइस्टर अमलेट पाइन्छ

अहिले धेरैले रुचाएको गुलियो र अमिलो "जेनरल चो’ज् चिकेन" विदेशीहरूको स्वादका लागि बनाइएको पाइ बताउँछन्।

उनले हुनानको परम्परागत परिकारमा केही मसला थपे। अनि कुखुराको मासुलाई राम्ररी तेलमा तारे। त्यसपछि उनले त्यसमा सस थपे। ससमा ब्ल्याक भिनेगर, राइस वाइन र ओइस्टर ससको मिश्रण थियो। त्यसले यो खानालाई 'भाइरल' बनाइदियो।

बसाइँसराइ र स्वादको सम्मिश्रण

तर पेङले ताइवानी स्वादानुसार केही तत्त्वहरू थपघट पनि गरे। पाइका अनुसार उनले मह र चिनी पनि थपिदिए जुन हुनानी परिकारमा प्रयोग हुँदैन।

“मुख्यभूमि यो खानामा मुख्यभूमि चीनको कति प्रभाव छ त्यो भन्न गाह्रो छ।”

उत्तरी प्रान्त श्यान्डोङका बाबुआमाबाट जन्मिएका पाइ आफूलाई “म ताइवानी हुँ” भन्छन्।

यो भावनाप्रति केएमटी असाध्यै सावधान छ - यो पार्टी गत आठ वर्षदेखि मुख्य विपक्षी रहँदै आएको छ। यसले आासन्न निर्वाचन जित्न बेइजिङसँग राम्रो सम्बन्ध राख्ने वाचासहित कडा मेहनत गरिरहेको छ।

ताइवानको पहिचान र खाना

सन् १९४९मा चिनियाँ राष्ट्रवादीहरूसँगै ताइवान आइपुगेका १२ लाख चिनियाँहरूको खानाको विरासतको बाहुल्य जताततै देखिन्छ।

केएमटी नेता चियाङ काइ शेकले ताइवानमा कडा किसिमको शासन गरेका थिए। उनी झेजियाङ प्रान्तका हुन्। त्यसैले त्यस बेला तटीय परिकार मूलधारको खाना बन्न पुग्यो।

छिट्टै अरू चिनियाँ आप्रवासी आए। धेरैजसो हुनान र सिचुवानका थिए। ती पनि चीनका दक्षिणी प्रान्तहरू हुन् जहाँ असाध्यै र पिरो अनि रमरम गर्ने मसलायुक्त खाना खाइन्छ।

अहिले ताइवानका सडकहरूमा सिचुवान बीफ नूडल्स र वेन्झाउ वान्टन्स लेखिएको यत्रतत्र देखिन्छ।

यी ती प्रान्तका रैथाने परिकार होइनन्। ती मिश्रित परिकार हुन् जसले आफ्नो उद्गमबिन्दुतिर सङ्केत चाहिँ गर्छन्।

ओइस्टर अम्लेट

ताइवानमा सडकका गल्लीहरूमा पाइने र खुबै मन पराइने खाजाको पनि उस्तै कथा छ। रात्रिकालीन बजारमा निस्किनेहरू सडकमा पाइने खाना खासगरी सुँगुरको मासु र भात ताइवानी पपकोर्न चिकेन र असाध्यै अमिल्याइएको ‘गनाउने’ टोफु र ओइस्टर अम्लेट खान्छन्।

यो चाहिँ १६ औँ शताब्दीमा बसाइँ सरेका चिनियाँहरूको खानेकुरा हो। त्यतिबेला चीनमा मिङ वंशको शासन थियो। त्यतिबेला ताइवान बसाइँ सर्ने अधिकांश मानिस पूर्वको फुजियान र दक्षिणको ग्वाङ्डोङका थिए।

तर उनीहरूले आफूसँग ल्याएका "वासना" अहिले स्थानीय बनिसकेका छन्।

तावामा तारिएको ओइस्टर अम्लेटकै कुरा गरौँ। तरकारी, अण्डा र सखरखण्डको पीठो एकसाथ मिसाइन्छ र अम्लेट बनाइन्छ अनि त्यसलाई 'स्वीट चिली बीन'को लेदो अथवा सोय सससँग मिलाइन्छ।

फुजियन प्रकारको अम्लेटमा थोरै पिठो हालिन्छ तर ग्वाङ्डोङमा त्यो झुरुमझुरुम पर्ने खालको हुन्छ र फिश ससमा डुबाइएको हुन्छ।

खानाबारे लेखिरहने लिज काओको टिप्पणी छ, “यो अम्लेटको ताइवानी स्वरूपमा धेरै महत्त्व पिठोले पाउँछ। त्यसैले यो खाना बाक्लो र टाँसिने खालको लाग्छ तर ताइवानीहरू यसलाई खुब मन पराउँछन्।”

काओ हुर्किरहेको बेला उनको घरमा त्यस्तो खाजा बिरलै खाइन्थ्यो किनभने उनका बुबा चीनमा जन्मिएका थिए र हङ्‌कङमा हुर्किएका थिए। उनलाई त्यस्ता खानामा रुचि थिएन। त्यसताका रैथाने ताइवानी संस्कृतिलाई हेयभावले हेरिन्थ्यो।

तर धेरै अगाडि चीनबाट ताइवान बसाइँ सरेका उनका मावलीहरू भने त्यस्तो खानेकुरा खुब मन पराउँथे।उनी र उनकी आमा अरूलाई थाहै नदिई आफ्नो मन पर्ने खाजा खान्थे।

ओइस्टर अम्लेट

तस्बिर स्रोत, BBC

तस्बिरको क्याप्शन, ताइवानमा पाइने ओइस्टर अम्लेट

सन् १९९० को मध्यतिर ताइवानमा प्रजातन्त्र आएपछि ताइवानी खाजाका प्रकार पनि सडकमा जताततै पाइन थाले।

ताइवानमा पहिलो प्रजातान्त्रिक चुनाव सन् १९९६ मा भएको थियो। त्यस बेला केएमटी विजयी भयो। तर सन् २००० मा केएमटी पराजित भयो, डेमक्र्याटिक प्रोग्रेसिभ पार्टी डीपीपीको विजयसँगै केमएटी आधा शताब्दीमा पहिलो पटक सत्ताबाट बाहिरियो।

“पहिलो पटक राष्ट्रिय भोजमा ताइवानी खाजा समाविष्ट भयो। त्यसपछि यस्ता खाजाको महत्त्व नै बढ्न गयो” काओ भन्छन्, “त्यसले पनि स्थानीय पहिचान बलियो बन्दै गएको देखायो।”

'द बेन्टो बउल'

द डीपीपी गत आठ वर्षदेखि शक्तिमा छ। उक्त दलले ताइवानको सार्वभौमसत्ताको रक्षा गर्दै बेइजिङको दाबी अस्वीकार गर्दै आएको छ।

यो सरकारअन्तर्गत ताइवान अरूले देख्ने गरी अमेरिका र जापानसँग नजिक पुगेको छ। ती देश ताइवानका प्रमुख समर्थक हुन्।

तर सन् १८९५ देखि १९४५ सम्म जापानले पनि ताइवानलाई उपनिवेश बनाएको थियो। दमन र शोषण भएको थियो। तर कैयौँ मानिसहरू जापानीहरूलाई ताइवानको आधुनिकीकरणसँग पनि जोडेर हेर्छन्।

पछिल्ला दिनहरूमा जापानले ताइवानलाई साथ दिएको र चीनको विरोधमा रहेकाले पनि त्यसले सन्दर्भलाई प्रभावित गरेको छ।

खानेकुरासम्बन्धी लेखिका क्लारिसा वेईका अनुसार यो उतारचढावपूर्ण सम्बन्ध चारैतर्फ छ। उनका बाबुले आमाका लागि जापानी शब्द 'ओकासन' प्रयोग गर्ने गरेको उनले बताइन्।

राम्ररी मिलाएर बट्टामा राखिएको खाना 'बेन्टो बक्स' जापानमा निकै प्रसिद्ध छ। ताइवानको 'बेन्टो बउल' बाट प्रभावित भएर उक्त परिकार विकसित भएको ठानिन्छ। बेन्टो बउलमा भात, मासु, अन्डा, टोफु अथवा तरकारी हुन्छ। अनि कुनै पनि रेलयात्रा बेन्टोबिना पूरा हुनै सक्दैन।

कुनै बेला यो जीविकाका लागि आवश्यक थियो। अब यो ताइवानका तीव्र गतिका रेलमा बसेर विगत सम्झिने माध्यम पनि बनेको छ।

वेइको परिकारसम्बन्धी नयाँ पुस्तकमा ताइवानी भोजनमा जापानी प्रभावलाई ‘सूक्ष्म तर मौलिक’ भनिएको छ। जापानीहरूले सबभन्दा पहिले उब्जाएको ठानिने छोटो चामलको परिकार ताइवानमा मन पराइन्छ।

जापानी चिनी प्रयोग गरेर ताइवानी व्यञ्जन गुलियो बने। चिनियाँ नभई जापानी विधि प्रयोग गरेर सोय सस र चामलको मदिरा बनाइन्छ।

स्वाद र प्रभावको यो मिश्रणका कारण ताइवानी स्वाद यो नै हो भन्न कठिन छ। तर यिनै परिकारले सबै जनालाई एक ठाउँमा भेला पारेर राखेको छ।

काओ भन्छिन्, "ताइवानको साझा पहिचान बनाउन भोजन सबभन्दा राम्रो माध्यम बनेको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।