ताइवान विवादः के अमेरिका र चीन युद्धतर्फ लम्किन लागेका हुन्

तस्बिर स्रोत, Reuters
- Author, टेसा वोङ
- Role, बीबीसी न्यूज, एशिया डिजिटल संवाददाता
अमेरिकी राष्ट्रपतिले ताइवानको विषयमा चीनलाई चेतावनी दिएको केही सातापछि बेइजिङ्गले कडा प्रतिक्रिया जनाउँदै ताइवानको स्वतन्त्रताका निम्ति गरिने "जुनसुकै प्रयासलाई दृढतापूर्वक कुल्चने" बताएको छ।
आइतवार चिनियाँ रक्षामन्त्री जेनरल वे फङ्खले ताइवानको स्वतन्त्रताका लागि अमेरिकाले आधारभूत रूपमा सघाइरहेको आरोप लगाउँदै ताइवानबारे अमेरिकाले आफ्नो "वाचा तोडिरहेको" र चिनियाँ मामिलामा "हस्तक्षेप" गरिरहेको बताए।
"मलाई प्रष्ट पार्न दिनुहोस्: यदि कसैले ताइवानलाई चीनबाट अलग पार्ने दुस्साहस गर्छ भने हामी लडाइँ गर्न हिचकिचाउने छैनौँ। हामी हरेक मूल्यमा र अन्त्यसम्म लड्नेछौँ। चीनका लागि यो मात्र रोजाइ हो," सिङ्गापुरमा आयोजित साङ्ग्रिला डाइलग नामक एशियाली सुरक्षा बैठकमा उनले भने।
अमेरिकी राष्ट्रपति जो बाइडनले लडाकु विमानहरू ताइवाननजिक उडाएर चीनले "खतरासँग खेलिरहेको" भनी टिप्पणी गरेपछि चिनियाँ रक्षामन्त्रीको पछिल्लो भनाइ आएको हो।
ताइवानमाथि आक्रमण गरिए सैनिक ढङ्गले प्रतिरक्षा गर्ने पनि बाइडनले प्रतिबद्धता जनाएका थिए।
ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।
तर ताइवानले पनि अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो साझेदार ठान्छ।
चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाइरहँदा र ताइवानी जल क्षेत्रमा अमेरिकाले युद्धपोत जहाज पठाएको पृष्ठभूमिमा पछिल्लो तनाव चुलिएको हो।
उसो भए के अमेरिका र चीन सैनिक द्वन्द्वतर्फ लम्किरहेका छन् त?
महँगो र ध्वंसात्मक
एउटा प्रमुख डर भनेको चीनले ताइवानमाथि अतिक्रमण गरेको खण्डमा युद्ध निम्तिन सक्छ।
बेइजिङले आवश्यक परे बल प्रयोग गरेर भए पनि उक्त टापुमाथि पुनः दाबी गर्न सक्ने विगतमा भनिसकेको छ।
तर अधिकांश विश्लेषकहरू भन्छन्, तत्कालका लागि त्यसो हुने सम्भावना देखिन्न।
ताइवानमा सैनिक अतिक्रमण गरेर चीन सफल हुन सक्ने अथवा नसक्ने कुरामा विवाद रहिआएको छ।
ताइवानले उल्लेख्य रूपमा आफ्नो हवाई तथा सामुद्रिक प्रतिरक्षा शक्ति बढाउँदै लगेको छ।

तस्बिर स्रोत, TAIWAN PRESIDENTIAL OFFICE
तर धेरैजना केमा सहमत छन् भने यस्तो कदम चीनका लागि मात्रै नभई विश्वकै लागि निकै महँगो र ध्वंसात्मक हुन सक्ने बेडजिङले पनि ठान्छ।
ताइवानसँग "शान्तिपूर्ण पुनःएकीकरण" चाहेको कुरामा चीनको निरन्तरको अडान रहिआएको छ। यो कुरामा जेनरल वेले पनि आइतावर जोड दिए।
साथै उक्साहटपूर्ण काम भए मात्र चीनले जबाफ दिने उनले बताए।
ताइवानले औपचारिक रूपमा स्वतन्त्र भएको घोषणा गरे द्वन्द्व निम्त्याउने अर्को कदम हुनेछ।
तर यो कुरालाई ताइवानकी राष्ट्रपतिले पनि निरन्तर पन्छाउँदै आएकी छन् जबकि उनले आफूहरू स्वतन्त्र देश भएको बताउने गरेकी छन्।








