चीन ताइवानः अमेरिकी राष्ट्रपति बाइडन भन्छन् 'ताइवानको बारेमा चीन खतरासँग खेल्दैछ'

जो बाइडन

तस्बिर स्रोत, Reuters

    • Author, टेसा वङ
    • Role, बीबीसी न्यूज

अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले ताइवान मामिलामा "जोखिमसँग जिस्किरहेको" चेतावनी दिएका छन् र त्यहाँ चीनले अतिक्रमण गरेको खण्डमा उक्त टापुको रक्षा गर्न सैन्य हस्तक्षेप गर्ने वाचा गरेका छन्।

जापानमा बोल्दा उनी यस क्षेत्रमा लामो समयदेखि यथावत् अमेरिकी नीतिभन्दा फरक सुनिए। यद्यपि ह्वाइट हाउसले त्यहाँ कुनै नीतिगत परिवर्तन नगरिएकोमा जोड दिएको छ।

बाइडनले ताइवान र युक्रेनमा रुसको आक्रमणबीच तुलना गरे जसबारे बेइजिङले क्रोधित प्रतिक्रिया जनाएको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा उनी आफ्नो पहिलो एसिया भ्रमणमा छन्। उनी क्षेत्रीय मित्र राष्ट्रहरूको भ्रमण गर्दैछन्।

चीनले ताइवानलाई आफ्नो अलग्गिएको प्रान्तको रूपमा व्याख्या गर्छ र त्यो मुख्य भूमिसँग पुनः एकीकरण हुनुपर्ने बताउँदै आएको छ।

ताइवानबारे बाइडनको भनाइले के फरक पार्छ?

बाइडनले टोकियोमा जापानी प्रधानमन्त्री फुमिओ किशिडासँगको पत्रकार सम्मेलनमा अन्तर्क्रिया गर्ने क्रममा एक जना पत्रकारले उनीहरूलाई ताइवानको रक्षाको बारेमा प्रश्न गरेका हुन्।

भ्लादिमिर पुटिनले "युक्रेनको पहिचान मेटाउने" प्रयास गरिरहेको बताउँदै अमेरिकी राष्ट्रपतिले चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गरे।

यदि युक्रेन र रुसबीच सम्झौता भयो र रुसमाथिका प्रतिबन्धहरू कायम नरहेको खण्डमा, "चीनले बलको प्रयोगबाट ताइवानमाथि अतिक्रमण गर्न खोज्नुले के सङ्केत गर्छ?"

"उनीहरूले अहिले नै पनि ताइवानको नजिक उडान तथा युद्ध अभ्यासजस्ता क्रियाकलाप गरेर खतरासँग खेल्दैछन्।"

उनले ताइवानको स्वघोषित वायु रक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानको घुसपैठको बढ्दो विवरणलाई उल्लेख गर्दै भने।

उनले थप भने,"चिनियाँ आक्रमण नहुने मेरो अपेक्षा छ। यसको प्रयास पनि हुने छैन।"

यद्यपि, "त्यस्तो कार्यले दीर्घकालीन असन्तुष्टि सिर्जना गर्नेबारे विश्वले कति सशक्त रूपमा स्पष्ट पार्छ त्यसमा यो विषय निर्भर हुने" उनको भनाई छ।

युक्रेनलाई सहयोग नगरे पनि, चीनले आक्रमण गरेको खण्डमा ताइवानलाई अमेरिकाले सैन्य रूपमा रक्षा गर्छ? भन्ने विषयमा प्रश्न सोध्दा उनले भने: "हो, हामीले गरेको प्रतिबद्धता यही नै हो।"

"बलपूर्वक कुनै भूमि आफ्नो बनाउन सकिन्छ भन्ने विचार उपयुक्त छैन। यसले सम्पूर्ण क्षेत्रलाई विस्थापित गर्नेछ र युक्रेनमा भएको जस्तै अर्को कार्य हुनेछ।"

बाइडनले आफ्नो मन्तव्यको सुरुवात ताइवानप्रति अमेरिकी नीति "परिवर्तन नभएको" जनाउँदै गरेका थिए। र, ह्वाइट हाउसका प्रवक्ताले त्यही कुरा तुरुन्तै दोहोर्‍याए।

टोक्योमा दिएको अभिव्यक्ति पछिल्ला महिनाहरूमा बाइडनले दोस्रो पटक बोलेका हुन् जहाँ उनले चीनले आक्रमण गरे ताइवानको रक्षा गर्ने कुरा स्पष्ट रूपमा भन्दै आएका छन्।

परिवर्तन

कतिपयले यसलाई उनको बोलीमा परिवर्तन आएको रूपमा पनि लिएका छन्।

अमेरिकाले चीन-ताइवान मुद्दामा "रणनीतिक अस्पष्टता" भनिने नीति अवलम्बन गर्छ र यस्तो अवस्थामा के गर्ने भन्ने कुरा पहिले स्पष्ट थिएन।

चीन र ताइवान दुवैप्रतिको प्रतिबद्धताका कारण यो निरन्तर कूटनीतिक जटिलताको विषय बनेको छ।

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कूटनीतिक सम्बन्ध छैन, तर यसले ताइवान सम्बन्ध ऐन अन्तर्गत हतियार बिक्री गर्छ। सोही ऐनले अमेरिकाले यस टापु राष्ट्रलाई उसको रक्षाका निम्ति आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने जनाउँछ।

अमेरिकाले चीनसँग औपचारिक सम्बन्ध कायम राख्छ र कूटनीतिक हिसाबमा चीनको स्थान एक मात्र चिनियाँ सरकार भएको स्वीकार गर्छ। यसलाई अमेरिकाको एक चीन नीति भनिन्छ।

सोमबार बाइडनले अमेरिकाले अझै पनि यस नीतिको समर्थन गर्ने कुरामा जोड दिए।

चीनका परराष्ट्र मन्त्रीका प्रवक्ता वाङ वेनबिनले "ताइवान चीनको अखण्ड अंश भएको" र यसबारे सम्झौताको ठाउँ नभएको बताएका छन्।

"ताइवानमाथिको प्रश्न र युक्रेन मुद्दा आधारभूत रूपमा फरक छन्। ती दुईको तुलना गर्नु बेतुकको कुरा हो। हामी फेरि एक पटक अमेरिकासँग एक चीन नीति पालना गर्न आग्रह गर्छौँ," उनले भने।