बिहेको ७० वर्ष : कामले गर्दा धेरै समय एकसाथ बस्न नपाएकै कारण विवाह टिक्यो

तस्बिर स्रोत, Flett family
- Author, केन ब्याङ्स र डेभिड डेल्डे
- Role, बीबीसी स्कटल्याण्ड
सन् १९५५ मा सँगै विवाह गरेका दुई जोडीले आफ्नो ७० वर्षको वैवाहिक जीवन पर्याप्त समय अलग रहेर बिताउने बाध्यताका कारणले टिकेको बताएका छन्।
टमी बज र थेल्मा ब्रुसको विवाह अनि टमीकी दिदी भायोलेट बज र लेज्ली फ्लेटको विवाह संयुक्त रूपमा भएको थियो।
एकै दिनमा एकै ठाउँमा विवाह गरेका यी चारजनाले ७०औँ वर्षगाँठ पनि सँगै मनाएका छन्। यो पटक भने उनीहरूलाई साथ दिन उनीहरूका छोराछोरी, नातिनातिना र पनातिपनातिनी पनि सँगै थिए।
उनीहरूले आफ्ना सुरुआती दिनहरूमा फोन कल गरेर वा आधुनिक रूपमा सन्देशहरू पठाएर भन्दा पनि सन्देश स्टिकी नोट्स अर्थात् पोस्ट-इट गरेर लेख्ने गरेको बताए। उनीहरूले त्यसरी अलग्गै बसेकै कारणले आफूहरू अहिलेसम्म सँगै भएको भन्दै मजाक पनि गरे।
थेल्मा अहिले ८७ वर्षकी भइन् भने टमी ८९ वर्षका भए। त्यस्तै भायोलेट ९१ वर्ष भइन् भने लेज्ली ९४ वर्षका भए।
चारजनाको संयुक्त विवाह
सेनामा राष्ट्रिय सेवाका लागि टमीलाई बोलावट भएपछि यी चारजनाको संयुक्त रूपमा विवाह सन् १९५५ को एप्रिल ९ तारिखमा भएको थियो।
भायोलेट र लेज्लीको भने विवाहका लागि मिति पहिला नै तय भइसकेको थियो।
टमीले घरमा बिताउन पाउने समय सीमित भएका कारण उनीहरूले एकै दिन विवाह गर्ने निर्णय गरे।
त्यति बेला रजिस्ट्रार रहेका एकजना पारिवारिक साथीले उनीहरूको विवाह गराइदिएका थिए।

तस्बिर स्रोत, Budge family
थेल्माले त्यति बेला टमीसँग भेट्ने समय असाध्यै कम हुने गरेको बताइन्।
"उनी शुक्रवार घर आए, हामीले शनिवार विवाह गर्यौँ, अनि सोमवार नै उनी गइहाले," उनले सम्झिइन्।
भायोलेटले आफूहरूको विवाहलाई तुलनात्मक रूपमा सामान्य प्रक्रियामा भएको सम्झिइन्।
"हामी दुईजना उठ्यौँ र विवाह भयो अनि हामीले ठाउँ बदल्यौँ, त्यसपछि बाँकी दुईजनाले विवाह गरे," उनले भनिन्। "मलाई लाग्छ लेज र मेरो विवाह पहिला भएको थियो।"
विवाहपछि उनीहरूले फोटो खिचे अनि सबैजना लेज्लीको आमाबुवाको घरतर्फ गए।
यही क्षणमा भायोलेटले श्याम्पेन चाखिन्।
"मैले आफूले श्याम्पेन चाखेको पहिलो र अन्तिम समय त्यही हो भन्छु," उनले सम्झिइन्।
"तर मलाई अहँ मनै परेन - त्यो मेरो रुचिको विषय होइन," उनले हाँस्दै भनिन्।
त्यसपछि भायोलेट र टमीका आमाबुवाले कुखुरा र आलु भएको खाना करिब ३० जना पाहुनालाई खुवाए।

तस्बिर स्रोत, Flett family
कामका कारण दुवै जोडीले लामो समय सँगै बस्न पाएनन्।
उनीहरू मजाक गर्दै सायद त्यही कारण आफ्नो विवाह लामो समय टिकेको हुनसक्ने बताउँछन्।
टमी लाइटहाउस किपरका रूपमा यात्रा गरिरहन्थे भने भायोलेट स्थानीय अस्पतालमा रातिको समयमा काम गर्थिन्।
भायोलेटले भनिन्: "म दिउँसो घरमा हुन्थेँ अनि रातमा काममा हुन्थेँ। र म प्रत्येक रात बाहिर नै हुन्थे।
"र, मेरो श्रीमान्ले भने दिनमा काम गर्थे र प्रत्येक राति मात्रै घर आउँथे। मलाई लाग्छ त्यो नै हाम्रो सिक्रेट थियो एकअर्कालाई बेवास्ता गर्न।"
सँगै बस्नभन्दा बढी समय अलग्गै बस्नुपर्यो

तस्बिर स्रोत, Evie McGowan
उनले थपिन्: "म पोस्ट-इट नोट (स्टीकी नोट)हरूमा सन्देशहरू लेख्ने गर्थेँ र ऐनामा टाँस्ने गर्थेँ। उनले त्यो हेर्थे, पढ्थे अनि त्यसको जबाफ दिन्थे र मेरो लागि पनि त्यही गर्थे। हाम्रो सम्बन्ध त्यसै गरी अगाडि बढ्यो।"
थेल्माले आफू र टमीको पनि त्यस्तै भएको बताइन्। टमी लाइटहाउस किपरका रूपमा काम गर्नुअघि तीन वर्ष सेनामा काम गरे।
"विवाह गरेको ७० वर्ष भयो, सायद सँगै बिताएको चाहिँ ३५ वर्ष भयो होला," उनले मुस्कुराउँदै भनिन्।
उनले थप भनिन्: "पहिले त उनले लगभग १८ महिनाको तालिम लिएका थिए र त्यो बेला मैले उनलाई कहिल्यै देखिनँ। त्यसपछि उनी दुई महिना टाढै भए र दुई हप्ता मात्रै घरमा रहे।"
"पछि मात्रै एक महिना काम र एक महिना बिदा भएर सँगै हुन पायौँ।"

यी दुई जोडी दम्पती ओर्कनीमा केही कोस दूरीमा बस्छन्।
राजा चार्ल्स र रानी कमिलाले पठाएको कार्ड पाएर उनीहरू एकदमै खुसी भएका छन्। यसअघि ६०औँ र ६५औँ वर्षगाँठमा पनि यी दुई जोडीले महारानी एलिजावेथबाट यस्तै प्रकृतिको कार्ड पाएका थिए।
भायोलेटले भनिन्: "हामीले पहिला महारानीको कार्ड पाउँदा 'हे भगवान्' जस्तो लागेको थियो - विश्वासै गर्न गाह्रो।
"त्यसपछि अर्को पनि महारानीबाट आयो र हामीले त्यति बेला सोच्यौँ राजा चार्ल्स गद्दीमा आउँदा पनि के हामी बाँचिरहेका हुन्थ्यौँ होला।
"एक दिन हुलाकी आए र फेरि कार्ड आयो अनि हामीलाई लाग्यो 'ओहो, सुन्दर'।"
'दिन जसरी आउँछ त्यसै गरी स्वीकार्नुपर्छ'
संयोगवश उनीहरूको विवाह वर्षगाँठ पनि राजा रानीसँगै मिल्छ जसले २० वर्षअघि एप्रिल ९ तारिखमा विवाह गरेका थिए।
भायोलेटले भनिन्: "यो त्यस्तो दिन हो जुन मलाई लागेको थियो म कहिल्यै पुग्दिनँ होला।"
"मलाई लाग्छ यो कसैको अपेक्षाभन्दा बाहिरको कुरा हो। खास गरी हामी चारैजना यहाँ हुनु र भाग लिन पाउनु। यो एकदमै अविश्वसनीय छ।"
अनि अन्य विवाहित जोडीहरूलाई भायोलेटको सल्लाह के छ?
"हरेक दिनलाई त्यसरी नै लिनुहोस्," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








