नेपालमा समलिङ्गी विवाह दर्ता: कानुनी झमेलामा अल्झिएको छ त्यो जित

माया गुरुङ बायाँ र सुरेन्द्र पाण्डे दायाँ

तस्बिर स्रोत, Maya Gurung

    • Author, सृजना श्रेष्ठ र रमा पराजुली
    • Role, बीबीसी न्यूज नेपाली

माया गुरुङ र सुरेन्द्र पाण्डेले नयाँ इतिहास रच्न लागेका थिए।

माया तेस्रोलिङ्गी महिला हुन्। यद्यपि उनले अहिलेसम्म रामबहादुर थापाको नाममा रहेको आफ्नो पुरुषसूचक परिचय औपचारिक रूपमा परिवर्तन गरेकी छैनन्। उनका 'पति' सुरेन्द्र समलिङ्गी पुरुष हुन्।

उनीहरू कानुनी रूपमा विवाह गर्ने पहिलो नेपाली समलिङ्गी जोडी बन्न प्रयत्नरत छन्।

नेपालको सर्वोच्च अदालतले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न सरकारलाई गत असारमा आदेश दिएको थियो। त्यसलाई अधिकारकर्मीहरूले आफ्नो ठूलो जित ठानेका थिए। त्यसपछि माया र सुरेन्द्रले विवाह दर्ता गराउने प्रयास गरिरहेका छन्।

माया र सुरेन्द्रका अनुसार सन् २०१७ मा एउटा मन्दिरमा उनीहरूले बिहे गरेका हुन्। आफ्नो बिहेले कानुनी मान्यता पाओस् भन्ने तीव्र चाहना उनीहरूमा देखिन्छ।

अदालतको आदेशलाई देशभित्र र बाहिर प्रगतिशील र ऐतिहासिक भन्दै उच्च प्रशंसा भएको थियो। त्यसले नेपालमा समलिङ्गीहरूलाई राहत दिने ठानिएको थियो। तर यो जोडीको सपना पूरा हुन बाँकी नै छ।

जुलाई १३ तारिखका दिन काठमाण्डू जिल्ला अदालतले सर्वोच्च अदालतको अन्तरिम आदेशमा जिल्ला अदालतलाई विपक्षी नबनाइएको र कानुनी अस्पष्टता रहेको भन्दै माया र सुरेन्द्रको विवाह दर्ता गर्न अस्वीकार गर्‍यो।

सपना अझै पूरा भएन

माया भन्छिन्, "हाम्रा धेरै सपना थिए। अदालतले विवाह दर्ता गर्न नमानेपछि ती सपना रोकिएका छन्। त्यसयता हामी यो देशका नागरिक नै होइनौँ कि भन्ने लागिरहेको छ।"

उनीहरूले पाटन उच्च अदातलमा मुद्दा दायर गरेका छन् तर त्यसको सुनुवाइ एक महिनाभन्दा बढी समयदेखि सर्दै गइरहेको छ।

जिल्ला अदालतले विवाह दर्ता गर्न अस्वीकार गरेपछि त्यसलाई नेपालले यौनिक अल्पसङ्ख्यकहरूलाई कानुनी संरक्षण र सामाजिक स्वीकार्यतामा सुधारलगायत नेपालको दशकौँदेखिको प्रगतिमा नयाँ अवरोध देखा परेको मानिएको छ।

माया र सुरेन्द्रले छ वर्षअघि बिहेका गरेका थिए तर उनीहरूको विवाह वैधानिक रूपमा दर्ता हुन सकेको छैन

तस्बिर स्रोत, Maya Gurung

तस्बिरको क्याप्शन, माया र सुरेन्द्रले छ वर्षअघि बिहेका गरेका थिए तर उनीहरूको विवाह वैधानिक रूपमा दर्ता हुन सकेको छैन

एलजीबीटीआईक्यू अधिकारवादी समूह ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष पिङ्की गुरुङ भन्छिन्, "विवाहमा समान अधिकार प्राप्त गर्न लामो लडाइँ बाँकी छ।"

"अदालत, खासगरी सर्वोच्च अदालतले मात्र हामीलाई धेरै पटक राहत दिलाएको छ।"

"न्याय दिन ढिलाइ भइरहेको छ यो यौनिक अल्पसङ्ख्यक समुदायप्रति अन्यायपूर्ण छ," ब्लू डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त भन्छन्, "हामीले माया र सुरेन्द्रको विवाहलाई परीक्षणका रूपमा अगाडि बढाएका हौँ। उनीहरूको विवाह दर्ता भएपछि अरू आकाङ्क्षीहरूले पनि आफ्नो विवाह दर्ता गर्न सहज हुने छ।"

जिल्ला अदालतमा विवाह दर्ता गर्न जानुअघि आवश्यक कागजपत्र जुटाउन उनीहरूलाई निकै सकस भयो। अदालतमा जानुअघि सबभन्दा पहिला उनीहरू सुरेन्द्र पाण्डेको गाउँ नवलपरासी गएका थिए।

गाडीमा पाँच घण्टाजतिमा पुगिने भए पनि पानी परेको र पहिरोका कारण उनीहरूले १२ घण्टा सडकमा बिताउनुपर्‍यो। उक्त यात्राका क्रममा आफूहरू पसिनाले निथ्रुक्क भिजेको र निकै सकस भएको माया बताउँछिन्।

काठमाण्डू फर्केपछि उनीहरूको अस्थायी बसोबास भएको वडाबाट अर्को पत्र मागियो। त्यसका लागि घरधनी र छिमेकीको सहयोग लिए।

त्यसपछि अदालतले मायाको सन् २०१३ मा अन्त्य भएको पहिलो विवाहको प्रमाण ल्याउन भनियो। उनी त्यो लिन फेरि नवलपरासी गइन्। विवाह दर्ता भएको भए सबै दुःख भुल्न सकिने मायाको भनाइ छ।

प्रतिनिधिपात्र

कानुनी विलम्बले यो जोडीलाई आर्थिक समस्या पर्दै गइरहेको छ। धारा र पाइप जडान गर्ने कामबाट सुरेन्द्रले मासिक २०,००० रुपैयाँ जति कमाउँथे। तर अहिले हप्तौँदेखि उनले काम गर्न पाएका छैनन्। नातेदार र साथीहरूसँग ऋण लिएर आफ्नो खर्च चलाइरहेका छन्।

माया र सुरेन्द्र एलजीबीटीआईक्यू समुदायका प्रतिनिधिपात्र हुन्। यो जोडीको विवाह दर्ता भएपछि अरूलाई पनि सजिलो हुने ठानिएको छ।

सामान्यतया कुल जनसङ्ख्याका आठदेखि १० प्रतिशत यौनिक अल्पसङ्ख्यक हुने ठानिन्छ। त्यसको आधारमा नेपालको झन्डै तीन करोड जनसङ्ख्याको बढीमा १० प्रतिशत अर्थात् तीस लाख मानिसहरू यौनिक अल्पसङ्ख्यक हुने अनुमान लगाउने गरिन्छ।

"मैले धेरै दुःख भोगेकी छु,"३८ वर्षीया मायाले आफू काठमाण्डू आएपछि गरेको सङ्घर्ष सम्झिँदै भनिन्। मानिसहरूले 'हिजडा' भनेर दुत्कार्थे। त्यसबेला कसैकसैले ढुङ्गा पनि हान्ने गरेको उनी बताउँछिन्। तर आफूहरूप्रति समाजले गर्ने व्यवहार क्रमश: उदार बन्दै गएको उनलाई लागेको छ।

आफ्नो शरीरमा पुरुष जननेन्द्रिय भए पनि सानै उमेरमा उनलाई आफू पुरुष नभएको महसुस भएको थियो। तर आफ्नो यौनिकताबारे कुरा गर्दा बुवा र परिवारप्रति प्रश्न उठ्ने डरले उनी छटपटिन्थिन्।

तेह्र वर्षको उमेरमा उनी काठमाण्डू आइन् र ट्रान्सजेन्डर महिलाका रूपमा चिनिन थालिन्। तर दुई वर्षपछि उनको परिवारले उनको बिहे एक महिलासँग गरिदियो। उनीहरूले दुई बच्चा पनि पाए।

उनी भन्छिन्, "विवाहकै कारण मलाई मानसिक रोग लाग्यो र अहिले आफ्ना बच्चाहरूसँग सम्पर्कमा पनि छैन।" सन् २०१३ मा उनले सम्बन्धविच्छेद गर्ने निधो गरिन्।

त्यसै वर्ष नेपालले तेस्रोलिङ्गीका नाममा नागरिकता दिने घोषणा गर्‍यो। त्यसअघि सन् २००७ मा यौनिक अल्पसङ्ख्यकका नाममा सर्वोच्च अदालतले गरेको घोषणालाई सर्वाधिक महत्त्वको मानिन्छ।

सुरेन्द्र पाण्डे (बायाँ) र माया गुरुङ (दायाँ)

तस्बिर स्रोत, Shreejana Shrestha/BBC

तस्बिरको क्याप्शन, यो जोडीसँग सुरु नाम गरेको एउटा कुकुर छ

सन् २०१५ मा मायाले सुरेन्द्रलाई उनकै गृहजिल्ला नवलपरासीमा भेटेकी थिइन्। सुरेन्द्र एउटा खाजापसलमा सहयोगीका रूपमा काम गर्थे। नजिकै मायाकी दिदी पनि अर्को खाजापसल चलाउँथिन्।

सुरेन्द्र अहिले २६ वर्षका भए। उनी सानै उमेरदेखि पुरुषप्रति आकर्षित हुन्थे। मायालाई भेटेपछि उनकै प्रेममा परे। अहिले उनी आफ्नो यौनिकता के हो भन्नेबारे त्यति स्पष्ट नभएको बताउँछन्।

बाजा बजाएर बिहे

तर मायासँगको सम्बन्धका कारण उनले आफ्नी दिदीसँग आफ्नो कुरा राख्ने साहस जुटाए। उनका आमाबुवा उनी छ वर्षको हुँदा नै एक महिनाको फरकमा टाइफोइडका कारण बितेका थिए र दिदीले उनलाई हुर्काएकी हुन्।

"सुरुमा दिदीले मान्नुभएन। उहाँ म र मेरो भविष्यप्रति चिन्तित हुनुहुन्थ्यो तर बिस्तारै म अरूभन्दा फरक रहेको कुरा उहाँले स्वीकार गर्न थाल्नुभयो।"

दुई वर्ष एकअर्कासँग समय व्यतीत गरेर एकअर्कालाई बुझेपछि उनीहरूले सन् २०१७ मा काठमाण्डूको एक मन्दिरमा बिहे गरेका हुन्। दर्जनौँ नातेदार र साथीभाइहरू बिहेमा सहभागी थिए। उनीहरू पन्चेबाजा बजाएर नाचेका थिए।

त्यसयता उनीहरू एक विवाहित जोडीका रूपमा जीवन बिताउँदै आएका छन्। अहिले उनीहरूसँग एउटा कुकुर छ।

"हामी घर सफा सँगसँगै गर्छौँ, खाना सँगसँगै पकाउँछौँ। मलाई मायाले पकाएको कुखुराको मासु निकै मन पर्छ," सुरेन्द्रले भने।

अबको योजना

उनीहरू आफ्नो विवाह दर्ता हुनेमा आशावादी छन् र उच्च अदालतले दर्ता नगरे सर्वोच्च अदालत जाने तयारीमा रहेको बताउँछन्।

आफूहरूको बिहे दर्ता भएपछि सबभन्दा पहिलो काम ब्याङ्कमा संयुक्त खाता खोल्न मन छ। त्यसपछि यस अघि किनेको एउटा जग्गालाई दुई जनाको नाममा सार्न मन छ। अनि उनीहरूको सबभन्दा ठूलो सपना आर्थिक रूपमा सक्षम भए एउटा बच्चा पाल्नु हो।

"तर बच्चा हुर्काउन कति धेरै खर्च लाग्छ कसरी सकौँला र? भन्ने पनि लाग्छ," माया भन्छिन्। "अहिलेलाई यही सुरु हाम्रो बच्चा हो," कुकुरलाई देखाउँदै उनले भनिन्।

अरू जोडीजस्तै उनीहरू एकअर्कासँग तर्कवितर्क र वादविवाद पनि गर्छन्। तर छिटै मिलिहाल्छन्। "लोग्नेस्वास्नीको झगडा परालको आगो भने झैँ झगडा गरे पनि मिलिहाल्छौँ ।"

"यत्रो जीवन बाँच्नु छ। झगडा गरेर कसरी चल्छ र?" सुरेन्द्र भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।