एनपीएलमा 'सट्टेबाजीको विज्ञापन' राखिएको आरोपमा प्रहरी अनुसन्धान, 'क्यान' के भन्छ

नेपाल प्रिमिअर लीग २०२४, कीर्तिपुर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेपाल प्रिमिअर लीगका खेलहरूमा उल्लेख्य दर्शकहरू आकर्षित भएको देखिएको छ
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सट्टेबाजीलाई प्रवर्द्धन गरेको विषयमा सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीगका आयोजकलाई सचेत गराइएको प्रहरीले बताएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चलिरहेको यो लीगका आयोजकलाई एउटा विज्ञापनका कारण प्रहरी र विज्ञापन नियमन गर्ने सरकारी निकायले सचेत गराएका छन्।

तर लीग आयोजना गर्ने संस्था नेपाल क्रिकेट सङ्घ (क्यान)ले भने कतिपयले प्रश्न गरेको विज्ञापन 'बेटिङ' भनिने सट्टेबाजी गर्ने वेबसाइटको नभई त्यससँग सम्बन्धित अन्य कम्पनीको भएको र यस्ता विज्ञापन अधिकांश अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा हुने गरेको बताएको छ।

एनपीएलको विवाद के हो?

नेपाल प्रिमिअर लीग भइरहेको कीर्तिपुर मैदान
तस्बिरको क्याप्शन, नेपाल प्रिमिअर लीग भइरहेको कीर्तिपुर मैदान

क्रिकेट चलिरहेको मैदानवरपर प्रतियोगिता प्रायोजन गरेका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूका विज्ञापन राखिएका छन्।

त्यस्तै विज्ञापनहरूको लहरमा एउटा सट्टेबाजी साइटको नाममा 'न्यूज' शब्द जोडिएको वेबसाइट पनि छ। तर 'न्यूज' लेखिएको अक्षर सानो भएका कारण त्यो विज्ञापन सट्टेबाजीकै नभई त्यसै कम्पनीसँग सम्बन्धित अर्को उत्पादनको 'सरगेट विज्ञापन' हो भन्ने पहिचान गर्न समेत मुस्किल छ।

मैदानमा मात्रै नभएर प्रतियोगितामा सहभागी केही टोलीहरूको जर्सीमा पनि त्यस्तै खालका विज्ञापन छन्।

बेटिङ साइटसँग सम्बन्धित प्रचार राखिएको जर्सीमा टेप लगाएर सुदूरपश्चिमका ब्रिटिश खेलाडी सैफ अली जैबले खेलिरहेको तस्बिर यसअघि सामाजिक सञ्जाल र समाचारमा आएका थिए।

नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२५ मा हार वा जित हुने गरी बाजी थाप्न रोक लगाएको छ। अपराध संहितामा "जुवा" को परिभाषामा "आफूले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चलअचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ" भनिएको छ।

एनपीएलमा विज्ञापन गरिरहेका साइटहरू बाजी लगाउन प्रयोग हुने साइटहरूसँग सम्बन्धित रहेको प्रहरीको निष्कर्ष छ।

क्रिकेटको विज्ञापनमा प्रहरीको अनुसन्धान

एनपीएल क्रिकेट प्रतियोगिताको मैदान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि क्रिकेट मैदानमा राखिएको बेटिङ साइटको विज्ञापनबारे अनुसन्धान भइरहेको बताएको छ।

"विज्ञापनको पनि प्रश्न उठिरहेको छ। बेटिङ साइटको विज्ञापन कसरी गरियो भन्ने हिसाबले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ र हामीले सञ्चार मन्त्रालयलाई पनि गैर कानुनी बेटिङ साइट कसरी विज्ञापनमा प्रयोग भए भन्नेबारे लेखेका छौँ," सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार नेपाल क्रिकेट सङ्घका अधिकारीहरूले प्रहरीलाई आफूहरूले समाचारसम्बन्धी वेबसाइटको मात्रै विज्ञापन राखेको जवाफ दिएका छन्। तर ती साइटहरू समाचारको नाममा मात्रै खोलिएका सट्टेबाजी कम्पनीसँगै सम्बन्धित रहेको विज्ञापन बोर्डको ठहर छ।

पक्राउ र 'बेटिङ साइट'का विज्ञापनको सम्बन्ध छ?

सीआईबीले यस्ता साइटमार्फत् सट्टेबाजीसम्बन्धी काम कारोबार गर्न नेपाल आएको आशङ्का गरिएका सात जना भारतीय नागरिकहरूलाई क्रिकेट रङ्गशालाबाट पक्राउ गरिएको जनाएको छ।

"तिनीहरूले फील्डमै बसेर बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको हो," सीआईबीका प्रवक्ता होविन्द्र बोगटी भन्छन्।

"चौका-छक्का लगाउँछ लगाउँदैन, कति रन बनाउँछ... यावत् किसिमका कुराहरूमा फील्डबाट नै बेटिङ गरेको देखिन्छ।"

क्रिकेट रङ्गशालाबाट पक्राउ परेकाहरूको क्यान र प्रतियोगितामा सहभागी टोलीहरूले राखेको विज्ञापनसँग सम्बन्ध भने नदेखिएको बोगटीले बताएका छन्। उनीहरूले १,००० देखि २५,००० रुपैयाँसम्म बाजी लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

त्यस्ता कतिपय साइटहरू भारतमा वैध भए पनि नेपालको कानुनले भने वर्जित गरेको बोगटीले बताए।

प्रहरीका अनुसार सट्टेबाजीमा संलग्नहरू अदालतबाट दोषी ठहर भए कम्तीमा एक वर्ष जेल सजाय र कारोबार रकमको आधारमा जरिबाना हुन सक्छ।

विज्ञापन बोर्डको पत्राचार

विज्ञापन नियमन गर्ने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले सट्टेबाजीसँग सम्बन्धित कम्पनीको विज्ञापन राखिएको उजुरीपछि बोर्डले क्यानलाई दुई पटक पत्राचार गरिसकेको बताए।

"हामीले खेल सुरु हुनुभन्दा अघि र सुरु भएपछि पनि गरेर दुई पटक क्यानलाई पत्र लेखिसकेका छौँ। हाम्रो पत्राचारको क्यानले कुनै जवाफ दिएको छैन," हुमागाईँले भने।

उनका अनुसार पत्रमा यस्ता कम्पनीको विज्ञापन भए पनि त्यसले नेपालमा गैरकानुनी रहेको सट्टेबाजीलाई प्रवर्धन गर्ने देखिएको विषयमा क्यानको ध्यानाकर्षण गराइएको छ।

"सरगेट भए पनि त्यो विज्ञापन हाम्रोमा चासोको विषय हो," उनी भन्छन्।

'क्यान'को भनाइ के छ?

एनपीएल क्रिकेट प्रतियोगिता भइरहेको मैदान

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको विज्ञापन राख्दा गलत प्रचार भएको दाबी गरे।

"विगतमा पनि सरगेटहरू विज्ञापनकर्ताहरूलाई क्यान र अरू खेलहरूमा पनि प्रयोग गर्दै आइरहेको छ। अहिले 'उल्फ सेभेनसेभेन न्यूज' (यस्तै एक विज्ञापनकर्ता) क्यानसँग सहकार्य गरेर आइरहेको छ। अहिले एनपीएल राम्रो भइराख्दा यसलाई बदनाम गराउने काम भइरहेको छ," क्यानका प्रवक्ता लामा भन्छन्।

नेपाल क्रिकेट सङ्घले नै यसअघि गराएका केही प्रतियोगिताहरू पनि यस्ता कम्पनीले प्रायोजन गरेका थिए। लामाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एशीयाली क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गरेका खेलहरूमा पनि यस्ता प्रायोजक राखिने दाबी गरे।

"नेपाल क्रिकेट सङ्घले कुनै गैरकानुनी काम, बेटिङ गराउने काम गरेको छैन। त्यो गर्‍यो भने पो समस्या हो त। नेपालमा यो स्तरको घरेलु क्रिकेट हुँदा कोही प्रायोजक भएर आउँछ भने सकारात्मक रूपमा लिनुपर्छ जस्तो लाग्छ मलाई," लामा भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।