इटलीको एउटा सहर जहाँ क्रिकेट खेल्न प्रतिबन्ध लागेको छ

मिया बापी
तस्बिरको क्याप्शन, मिया बापी र उनका साथीहरूले सहरबाहिर गएर क्रिकेट खेल्नुपरेको छ
    • Author, सोफिया बेट्टिजा
    • Role, बीबीसी विश्व सेवा, मोन्फाल्कोनेबाट

इटलीको एडियाट्रिक तटमा चर्को घाम लागेका बेला कङ्क्रिटको सानो ठाउँमा बाङ्ग्लादेशीहरूको एउटा समूह क्रिकेट अभ्यास गरिरहेको छ।

उनीहरू मोन्फाल्कोने सहरको बाहिरी इलाकास्थित ट्रिएस्ट विमानस्थलनजिकै खेलिरहेका छन् किनभने सहरभित्र उक्त खेल खेल्न त्यहाँका मेयरले प्रतिबन्ध लगाइदिएका छन्।

सहरभित्र खेलेको पाइए १०० यूरोसम्म जरिबाना तिर्नुपर्ने उनीहरूले बताए।

“हामीले मोन्फाल्कोने सहरभित्र खेलको भए प्रहरी आएर हामीलाई रोकिसक्थ्यो,” टोलीका कप्तान मिया बापीले भने।

सहरको एक स्थानीय पार्कमा क्रिकेट खेलिरहेका बङ्गाली किशोरहरूले बेहोरेको हालैको घटनाबारे उनले सुनाए। सुरक्षा क्यामराहरूले तिनले खेलेको दृश्य खिचेको पत्तो नपाएका ती किशोरहरूको खेललाई प्रहरी आएर भाँडिदिएको अनि जरिबाना तिराएको उनले बताए।

“क्रिकेट इटलीको निम्ति नभएको उनीहरूको भनाइ हुन्छ। तर सत्य के हो थाहा छ? यो सबै हामी विदेशी भएकाले गरिएको हो।”

क्रिकेटमाथिको प्रतिबन्धले वास्तवमा मोन्फाल्कोने सहरमा बढ्दो तनावलाई सङ्केत गर्छ।

सांस्कृतिक मौलिकता 'खतरामा'

सो सहरमा जनसङ्ख्याको जातिगत वितरण इटलीकै निम्ति पनि अलि विशिष्ट खालको छ - झन्डै ३०,००० जनसङ्ख्यामध्ये एकतिहाइजति विदेशी छन्। तीमध्ये अधिकांश बाङ्ग्लादेशी मुस्लिम छन् जो ठूल्ठूला 'क्रूज' पानीजहाज निर्माण गर्नका निम्ति सन् १९९० को दशकको अन्त्यतिर त्यहाँ आएका थिए।

सहरकी अतिदक्षिणपन्थी मेयर अन्ना मारिया सिसिन्टका अनुसार यसले गर्दा मोन्फाल्कोनेको सांस्कृतिक मौलिकता खतरामा परेको छ। आप्रवासीविरोधी भावना फैलिएका कारण उनी निर्वाचित भइन् र अब उनले आफ्नो सहर तथा इसाई मूल्यमान्यता ‘रक्षा’गर्ने अभियान चलाएकी छन्।

“हाम्रो इतिहास मेटिँदै छ,” उनले भनिन्। “कसैलाई वास्ता नभएको जस्तो भएको छ। सबैथोक बिग्रँदो छ।”

मोन्फाल्कोनेमा पश्चिमा पोसाक लगाएका इटलियनहरू सलवार, कमिज र हिजाब लगाएका बाङ्ग्लादेशीहरू सँगसँगै बस्छन्। त्यहाँ बाङ्ग्लादेशी रेस्टुराँहरू अनि हलाल पसलहरू छन्। साइकल हिँड्ने मार्गको सञ्जाल छ जसलाई मुख्यत: उक्त दक्षिण एशियाली समुदायका मानिसहरूले प्रयोग गर्छन्।

आफ्नो दुई कार्यकालमा मेयर सिसिन्टले नगरका चोकहरूमा बाङ्ग्लादेशीहरूले बस्न प्रयोग गर्दै आएका बेन्च हटाइदिइन् अनि समुद्री तटमा मुस्लिम महिलाहरूको पोसाकको पनि आलोचना गरिन्।

“यहाँ मुस्लिम अतिवादको हावा चलिरहेको छ - त्यस्तो संस्कृति जहाँ महिलालाई खराब व्यवहार गरिन्छ अनि पुरुषद्वारा दमन गरिन्छ।”

फिन्कान्टेरी शिपयार्ड
तस्बिरको क्याप्शन, फिन्कान्टेरी शिपयार्ड विश्वकै ठूलो पानीजहाज निर्माणस्थलमध्ये पर्छ

मुस्लिमहरूको विषयमा गरेका टिप्पणीका कारण उनले ज्यान मार्ने धम्की खेप्नुपरेको छ। त्यसैले उनलाई अचेल चौबिसै घण्टा प्रहरी सुरक्षामा राखिएको छ।

मिया बापी र उनका क्रिकेटर साथीहरू युरोपको सबभन्दा ठूलो अनि विश्वकै ठूलोमध्येको एक शिपयार्ड (पानीजहाज निर्माणस्थल) फिन्कान्टेरीमा पानीजहाज निर्माणका लागि इटली आइपुगेका हुन्।

मेयरले उक्त कम्पनीले एकदमै थोरै ज्याला दिने गरेको आरोप लगाउँदै त्यतिमा कुनै इटलियनले काम नगर्ने हुनाले बाहिरबाट मानिस ल्याउनुपरेको बताइन्।

तर सो शिपयार्डका निर्देशक क्रिस्टियानो बजाराका अनुसार कम्पनीले दिने गरेको तलब इटलीको नियमबमोजिम नै छ। “हामीले दक्ष कामदार पाउन सकेनौँ। युरोपमा कुनै शिपयार्डमा काम गर्न इच्छुक युवा भेट्टाउन निकै मुस्किल छ,” उनले भने।

संसारमै इटलीको जन्मदर निकै कममा पर्छ। गत वर्ष इटलीमा प्रतिमहिला औसत १.२ शिशुका दरले केवल ३,७९,००० शिशु जन्मिए।

त्यहाँ श्रमिकको अभाव पनि छ।

अनुसन्धानकर्ताहरूको अनुमानअनुसार खुम्चँदो श्रमशक्तिका माझ इटलीलाई सन् २०५० सम्ममा प्रतिवर्ष करिब २,८०,००० विदेशी कामदारको आवश्यक पर्छ।

मेयर सिसिन्ट
तस्बिरको क्याप्शन, सिसिन्ट सन् २०१६ मा मोन्फाल्कोनेकी मेयरमा निर्वाचित भएकी हुन्

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी अतिदक्षिणपन्थी दल 'ब्रदर्स अफ इटली' को नेतृत्व गर्छिन्। आप्रवासन कटौती गर्न भने पनि उनले ईयूबाहिरका आप्रवासी कामदारहरूको कोटा बढाएकी छन्।

तर मेयर अन्ना मारिया सिसिन्ट बाङ्ग्लादेशी मुस्लिमहरूको जीवनशैली मौलिक इटलियनहरूको जीवनशैलीसँग मेल नखाने ठान्छिन्।

मोन्फाल्कोनेमा मेयरले सहरका दुईवटा इस्लामिक (सेन्टर) केन्द्रहरूमा सामूहिक प्रार्थना गर्न प्रतिबन्ध लगाइदिएपछि त्यहाँ तनाव झनै चर्कियो।

“सहरका मानिसहरूले मलाई निकै स्तब्ध बनाउने खालका फोटो अनि भिडिओहरू पठाए जसमा ठूलो सङ्ख्यामा मानिसहरूले दुईवटा इस्लामिक केन्द्रमा प्रार्थना गरिरहेको देखिन्छ : एकै ठाउँमा करिब १,९०० जनासम्म,” मेयरले भनिन्।

“फुटपाथमा कैयौँ बाइकहरू राखिएका हुन्छन् अनि चर्को आवाजमा दिनको पाँच पटक प्रार्थना गरिन्छ – राति समेत।”

त्यस्तो कार्य स्थानीय बासिन्दाका निम्ति अन्यायपूर्ण भएको भन्दै मेयर सिसिन्टले उनले लगाएको प्रतिबन्ध सहरी योजनाका नियमनहरूसँग जोडिएको बताइन्। इस्लामिक केन्द्रहरू धार्मिक भेलाका निम्ति डिजाइन नगरिएको भन्दै उनले त्यस्ता संरचना उपलब्ध गराउनु आफ्नो दायित्व नभएको दाबी गरिन्।

इटलीको कानुनमा इस्लाम आधिकारिक मान्यताप्राप्त धर्म होइन। त्यसैले यो विषय पेचिलो बनेको छ।

इटलीमा २० लाख मुस्लिमको बस्ने भए पनि देशभरि केवल आठवटा मस्जिद छन्। इटलीको छिमेकी देश फ्रान्समा २,००० भन्दा धेरै मस्जिद छन्।

मोन्फाल्कोनेका बाङ्ग्लादेशीहरूका अनुसार मेयरको निर्णयले मुस्लिम समुदायमा व्यापक असर परेको छ।

“मेयरलाई लाग्दो हो - बङ्गालीहरूले इटलीलाई इस्लामीकरण गर्दै छन्। हामी त आफ्नै जीवनमा केन्द्रित छौँ,” १९ वर्षीया मेहलीले भनिन्। उनी ढाकाकी हुन् तर उनको हुर्काइ इटलीमै भयो। उनी पश्चिमा पोसाक लगाउँछिन् अनि फर्रर इटलीको भाषा बोल्छिन्।

बङ्गाली मूल भएका कारण सडकहरूमा निस्कँदा आफूलाई गाली गरिएको तथा दुर्व्यवहार गरिएको उनले सुनाइन्। “म जतिसक्यो चाँडो यो सहर छाड्न चाहन्छु।”

मिया बापी यो वर्ष इटलीको राहदानी आउने पर्खाइमा छन्। तर मोन्फाल्कोनेमै बसिरहनेबारे उनी दुबिधामा छन्। “हामी कुनै उपद्रव गर्दैनौँ। हामी कर तिर्छौँ,” शिपयार्डका कामदार बापीले भने। “तर उनीहरू हामी यहाँ बसेको रुचाउँदैनन्।”

मेयर बाङ्ग्लादेशी समुदायको रहनसहन आफ्नो सहरमा अमिल्दो रहेको बताउँछिन्।

तर बाङ्ग्लादेशीहरू सबै भोलि नै घर फर्किए भने “एउटा पानीजहाज बनाउन पनि शिपयार्डलाई पाँच वर्ष लाग्ने” बापीले ‍औँल्याए।

यसै गर्मीयामताका एक क्षेत्रीय अदालतले दुई इस्लामिक केन्द्रहरूको पक्षमा निर्णय दियो र नगर परिषद्ले त्यहाँ प्रार्थना गर्न लगाएको प्रतिबन्ध हटाइदियो।

तर मोन्फाल्कोनेका मेयरले चाहिँ इटलीबाहिर ‘युरोपको इस्लामीकरण’विरुद्धको आफ्नो अभियान जारी राख्ने बताएकी छन्।

उनी हालै युरोपेली संसद्‌मा निर्वाचित भएकी छन्। अब उनले उनका ती सन्देश ब्रसल्समा समेत पुर्‍याउने अवसर पाएकी छन्।

(थप रिपोर्टिङ बब हवार्डबाट)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।