अहिलेसम्मकै ठूलो बजेटको घरेलु क्रिकेट ‘नेपाल प्रिमिअर लीग’ सुरु

नेपाल प्रिमिअर लीग एनपीएलमा सहभागि आठ क्रिकेट टोलीका कप्तानहरू

तस्बिर स्रोत, CAN

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपालको अहिलेसम्मकै ठूलो भनिएको ‘फ्रेञ्चाइज’ क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग 'एनपीएल' आज शनिवारबाट सुरु भएको छ।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भयो।

व्यावसायिक क्रिकेट प्रतियोगिताको लागि खेल सुरु हुनु अगाडिबाटै अधिकतम चर्चाको प्रयास भइसकेको देखिन्छ।

कीर्तिपुर मैदानमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतियोगिताको उद्घाटन भएको थियो।

विदेशी खेलाडीहरू धमाधम आउने क्रममा शुक्रवार साँझ भारतीय स्टार क्रिकेटर शिखर धवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा त्यहाँ समर्थक र सञ्चार माध्यमको बाक्लै भीड लाग्यो।

एनपीएल खेल्ने चर्चित मध्येका एक धवनले भने, “नेपालका सन्दीप लामिछानेलाई मात्र चिन्थेँ। अब अरू नेपाली खेलाडी सँग खेल्नेछु।”

त्यसअघि शुक्रवार कीर्तिपुर मैदानमा फ्रेञ्चाइजका आठ वटै टोलीका कप्तानहरूको सामूहिक पत्रकार सम्मेलन भयो।

त्यही अवसरमा एनपीएलको मस्कट ‘हिमचितुवा’ पनि सार्वजनिक गरिएको थियो।

प्रतियोगिता हेर्न दर्शकहरूमाझ उत्साहको सङ्केत यसको टिकट बिक्रीले देखाइसकेको छ। उद्घाटन खेलका भीआईपी र साधारण गरी १२ हजार टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको आयोजकले जनाएको छ।

अब बाँकी छ त दर्शकले भरिभराउ कीर्तिपुर मैदानमा प्रतिस्पर्धी टोलीबीचको भिडन्त।

जनकपुरविरुद्ध विराटनगर

एनपीएलको मस्कट हिमचितुवा सर्वजनिक गरिँदै

तस्बिर स्रोत, CAN

झन्डै तीन हप्ता चल्ने प्रतियोगिताको उद्घाटन खेल खेल्ने अवसर जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सले पाए।

“ हामी जितबाट एनपीएलको सुरुआत गर्न चाहन्छौँ। यसले खेलमा मोमेन्टम दिन्छ र त्यो वातावरण अन्तिम समय सम्म बनिरहन्छ।” जनकपुर बोल्ट्सका स्पिनर ललित नारायण राजवंशी भन्छन्।

हँसिला स्पिनर राजवंशी सम्मिलित जनकपुरले शुक्रवार मात्रै टोलीको कप्तानमा अनिल साहको घोषणा गर्‍यो। टोलीमा उनकै ओपनिङ पार्टनर आशिफ शेख मार्की खेलाडी छन्।

यो नेपाली राष्ट्रिय टोलीको पनि पनि ओपनिङ जोडी हो। अक्सनमा ‘उत्कृष्ट ओपनिङ जोडी’ पाउनु नै जनकपुर बोल्ट्सको तागत बनेको छ।

त्यसमा विदेशी खेलाडी न्युजिल्यान्डका जिम्मी निशम जोडिएका छन्, जसलाई एनपीएल खेल्न आउने विदेशी खेलाडी मध्ये सबैभन्दा प्रभावशाली मानिएको छ।

त्यसैले कतिपयको अनुमान छ- जनकपुरसँग एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने क्षमता छ। तर उद्घाटन खेलमा जनकपुरसँग युवा कप्तान हेमन्त धामी हुनेछैनन्। यु १९ को कप्तानी गर्दै उनी अहिले यूएईमा छन्।

विराटनगर किङ्ग्स पनि कहाँ कमजोर देखिन्छ र।

लेग स्पिनर सन्दीप लामिछानेले नेतृत्व गर्ने विराटनगरमा विस्फोटक ब्याटर लोकेश बम, राष्ट्रिय टोलीका २० वर्षीय युवा अलराउन्डर प्रतिश जिसी देखि ३२ वर्षीय भेट्रान बलर जितेन्द्र मुखिया सम्म छन्।

त्यसमा थपिएका छन् न्युजिल्यान्डका ३८ वर्षीय भेट्रान ओपनर मार्टिन गुप्टिल।

ब्याट चम्के गुप्टिल एक्लैले खेल जिताउने क्षमता राख्ने यसका समर्थकहरूको विश्वास छ।

उद्घाटन खेल कस्तो होला? कीर्तिपुरमा सोधिएको प्रश्नमा विराटनगरका कप्तान सन्दीप लामिछानेले भने, “मैदान भित्र प्रतिस्पर्धा हुन्छ। मैदान बाहिर गुड फ्रेन्ड्स हौँ। हामी पहिलो खेल जित्न खेल्छौँ।”

उद्घाटन खेलको अर्को प्रतिस्पर्धा विराटनगरका प्रशिक्षक केविन ओब्रायन र जनकपुरका पुबुदु दशानायकेबीच हुनेछ। दुवै अन्तर्राष्ट्रिय स्तरमा स्थापित प्रशिक्षक हुन्।

आठ कप्तानका आठ भनाई

नेपाल प्रिमिअर लीग एनपीएलमा सहभागि आठ क्रिकेट टोलीका कप्तानहरू

तस्बिर स्रोत, CAN

टिमको तयारी र रणनीति बिस्तारै खुल्दै जाने नै छ।

अहिलेलाई कुनै टिम कागजी बाघ हुन सक्ला, तर वास्तविकता मैदानमा चल्ने टोलीकै हुनेछ।

शुक्रवार कीर्तिपुर मैदानमा आठ टोलीका कप्तानहरूले भित्री कुरा नखोले पनि आ-आफ्नो भनाइ राखे।

सन्दीप लामिछाने (विराटनगर किङ्ग्स) - विदेशमा फ्रेन्चाइज हुँदा हाम्रो देशमा पनि होस् भन्ने थियो। बाहिर खेलिरहेका विदेशी साथीहरूलाई नेपाल आउने होस् भन्ने थियो। ३-४ वर्षपछि एनपीएल राम्रो होस् भन्ने लाग्छ।

कुशल मल्ल (चितवन राइनोज) स्टार स्पोर्ट्स मार्फत् खेलको प्रत्यक्ष प्रसारण हुँदा राम्रो सन्देश जानेछ।

अनिल साह (जनकपुर बोल्ट्स) - विदेशी खेलाडी आएपछि उत्साहित छौँ। जिम्मेवारी राम्रो आएको छ। हामी (आसिफ शेख र अनिल) दुई मिलेर प्रतियोगिता राम्रो गर्छौँ।

सोमपाल कामी (कर्णाली याक्स) – शिखर धवन र बाबर हायातबाट धेरै सिक्छौँ। एनपीएलले नयाँ खेलाडी चिनाउनेछ। युवा खेलाडी राष्ट्रिय टिममा आउनेछन्।

करण केसी (काठमाण्डू गुर्खाज) - यो प्रतियोगिताबाट नयाँ खेलाडी आउँछन्। हामीलाई यो प्रतियोगिता मार्फत चिनाउने अवसर छ।

रोहित पौडेल (लुम्विनी लायन्स) - राम्रो तयारी भएको छ। भारतमा आईपीएल जस्तै यहाँ एनपीएल भएको छ। जहाँ हेरे पनि एनपीएलको कुरा छ। खेल्न उत्साहित छौँ।

कुशल भुर्तेल (पोखरा एभेन्जर्स) - पोखरामा राम्रो भयो। भारतबाट प्रशिक्षक आए। सबै खेलाडी उत्साहित छौँ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स) - अभ्यास राम्रो भयो। प्रतियोगिता खेल्न तयार छौँ।

प्रतीक्षा प्रदर्शनको

एनपीएल खेल्न नेपाल आएका शिखर धवन

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, भारतीय क्रिकेटर शिखर धवन पनि एनपीएल खेल्न नेपाल आएका छन्

बजेटको हिसाबले एनपीएल नेपालको ठूलो क्रिकेट प्रतिस्पर्धा भइसक्यो।

तीन हप्ते प्रतिस्पर्धाका दौरान थुप्रै थप रोचक कुराहरू एनपीएलमा देखिन सक्ने ठानिएको छ।

कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले खेल रणनीतिबारे भारतका स्टार क्रिकेटर शिखर धवनलाई सिकाउने छन्।

स्टार स्पोर्ट्सबाट हुने प्रत्यक्ष प्रसारणमा नेपाली खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाउनेछन्।

प्रतियोगिताको पुरस्कार राशि पनि कीर्तिमानी हुनसक्छ। यसअघि चर्चा नकमाएका खेलाडी स्टारको रूपमा उदय हुन सक्छन्।

क्रिकेटमा दिइन लागेको अहिलेसम्मको व्यक्तिगत ठूलो पुरस्कार ‘कार’ पाउने भाग्यमानी नेपाली खेलाडीको अनुमान क्रिकेट समर्थकहरूले सुरु गरिसकेका छन्। तर के उनीहरूको अनुमान मिल्ला?

तीन हप्ते प्रतिस्पर्धाले यसको जबाफ पक्कै दिनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।