नेपाल प्रिमिअर लीग: नयाँ सुरुवात, यसका विशेषता के छन्

सुपा टिम

तस्बिर स्रोत, SUPA TEAM/FACEBOOK

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्युज नेपाली

करोडौँको लगानी, विदेशी खेलाडीहरूको ठूलो सङ्ख्या र समर्थकको उत्सुकताले चर्चाको उत्कर्षमा रहेको नेपाल प्रिमिअर लीग (एनपीएल) सुरु हुन दुई हप्ता पनि बाँकी छैन।

झन्डै ७० देखि ८० करोड रुपैयाँको बजेट लाग्ने आकलन गरिएकोले नेपालको सबैभन्दा ठूलो बजेटको क्रिकेट प्रतिस्पर्धा हुने निश्चित भइसकेको एनपीएलको भव्यता पनि सोही अनुरूप तयार हुँदै गरेको देखिन्छ।

सहभागी ८ फ्रेञ्चाइज टिमले विदेशी खेलाडी किन्नमा कन्जुस्याइँ नगर्नु अनि टिम तयारीमा गरिएको तामझामले पनि प्रतियोगितामा रस थप्ने काम गरिरहेको महसुस गर्न सकिन्छ।

क्यानका सचिव पारस खड्काले घोषणा गरेका छन्, “एनपीएल विश्वको उत्कृष्ट ५ फ्रेञ्चाइज बनाउने हाम्रो लक्ष्य छ।”

उनले गरेको यो घोषणा नेपाली क्रिकेटको लागि चुनौती र अवसर दुवै हुन सक्छ।

उत्कृष्ट लीग बनाउन सहज भने छैन।

फ्रेञ्चाइज क्रिकेट नेपाली समर्थकका लागि नयाँ विषय होइन।

विगतमा एभरेस्ट प्रिमिअर लीग (इपीएल), धनगढी प्रिमिअर लीग (डीपीएल), पोखरा प्रिमिअर लीग (पीपीएल) र नेपाल टी-२० लीगको नाममा फ्रेञ्चाइज क्रिकेटको स्वाद नेपाली समर्थकहरूले चाखिसकेका छन्।

यस्तोमा क्यानले नै आयोजना गर्ने पहिलो संस्करणको एनपीएलमा नयाँ विशेषताहरू पस्किने प्रयास गरिएको छ, जुन विगतमा थिएन।

आम्दानी

क्रिकेट एशोसियसन अफ नेपाल क्यान

पहिलो पक्ष यसको आम्दानी हुनेछ।

क्यानले आयोजना गर्न लागेको हुनाले सबै फाइदा क्यानलाई नै हुनेछ। त्यो भनेको प्राप्त आम्दानी क्रिकेट विकासमा नै खर्च हुनेछ।

त्यसको झलकहरू देखिसकिएको छ। ८ वटा फ्रेञ्चाइज टोलीले लीग किन्न तिरेको फ्रेञ्चाइज शुल्कबाट क्यानले झन्डै १७ करोड आम्दानी गरिसकेको छ।

त्यस्तै ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले ५ करोड ९२ लाख रुपैयाँ प्राप्त गरेको छ।

अब टिकट बिक्रीबाट प्राप्त हुने रकम क्यानको मुख्य आम्दानी हुनेछ।

क्यानले आम्दानीको ५० प्रतिशत रकम भने आठवटा फ्रेञ्चाइज टोलीलाई बाँड्नेछ।

यस्तै खेलाडीहरूले विगतमा भन्दा एनपीएलमा सबैभन्दा राम्रो मूल्य पाएका छन्।

उनीहरू श्रेणी अनुसार कम्तीमा २ लाख र बढीमा २० लाखमा अनुबन्धित भएका छन्।

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समा

अस्थायी पारापिट

विश्वभर क्रिकेट खेलको प्रसारणमा चर्चा पाएको स्टार स्पोर्ट्समा एनपीएल प्रत्यक्ष प्रसारण हुनेछ।

एनपीएलको सबैभन्दा नौलो र बलियो पक्ष यही हुनेछ।

विश्वभरका क्रिकेट प्रेमीको पहुँच र प्रत्यक्ष प्रसारणमा प्रयोग हुने उच्चतम प्रविधिमा नेपाली खेलाडीको क्रिकेट कौशल विश्वभरका दर्शकले हेर्नेछन्।

सन् २०१४ को टी-२० विश्वकपमा पहिलो पटक स्टार स्पोर्ट्समा नेपाली टोलीको खेल प्रत्यक्ष हेरेका थिए दर्शकहरूले । एसिया कप र हाल २०२४ को टी २० विश्वकपमा पनि नेपालको खेल स्टार स्पोर्ट्सबाट क्रिकेट प्रेमीले हेरेका थिए।

त्यो राष्ट्रिय टीमको खेल थियो भने अब नेपालको फ्रेञ्चाइज क्रिकेट पनि विश्वभरका दर्शकले हेर्न पाउने छन्।

टीमको लगानी

कर्णाली याक्स टोली

तस्बिर स्रोत, KARNALI YAKS TEAM/FACEBOOK

क्यान र फ्रेञ्चाइज टीमले गरेको लगानी एनपीएल पहिलो सिजनको बलियो पक्ष देखिन्छ।

टीम किन्नको लागि मात्र १ करोड देखि साढे ३ करोड रुपैयाँसम्म खर्चेको देखिन्छ।

कर्णाली याक्सले सबैभन्दा कम १ करोड ११ लाख तथा पोखरा एभेन्जर्सले सबैभन्दा बढी ३ करोड ५७ लाख रुपैयाँमा टीम किनेका थिए।

यस्तै स्वदेशी तथा विदेशी खेलाडी खरिद, प्रशिक्षक, प्राविधिक, तयारी, प्रशिक्षण, होटल, लजिस्टिक्स, ब्रान्ड एम्बेसडर गरी एउटा टोलीको कम्तीमा ७ करोडदेखि बढीमा ९ करोड रुपैयाँसम्म खर्च हुने आकलन गरिएको छ।

टोलीका मालिकहरूले यसलाई लगानी भनेका छन्।

कर्णालीका टीम मालिक मध्येका एक गेहेन्द्र बस्नेतले बीबीसीसँग भने, “यसलाई हामीले नेपाली क्रिकेट विकासको सुरुवाती लगानीका रूपमा लिएका छौँ। ३/४ वर्ष भित्रमा हामी यो लगानी उठाउने योजनामा छौँ।”

क्यानले पनि आयोजनामा १० देखि १५ करोड रुपैयाँ खर्चिने अनुमान गरिएको छ।

क्यानका सचिव पारस खड्काले यो वर्ष लगानी वर्षको रूपमा हुने बताए।

उनले भने, “हामीले टीम मालिकहरूलाई पहिले नै स्पष्ट पारिसक्यौँ कि सुरुको ३/४ वर्ष तपाईँहरूले आम्दानी गर्न सक्नुहुन्न। यसमा उहाँहरू सबै राजी हुनुहुन्छ। ”

फरक मैदान

लुम्बिनी लायन्स

तस्बिर स्रोत, LUMBINI LIONS/FACEBOOK

खेलाडी र दर्शकले कीर्तिपुर मैदानमा एनपीएलका दौरान थुप्रै नयाँ विषयहरू महसुस गर्ने पक्का छ।

क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति गरेको छ।

मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ। यो राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको हो। त्यस्तै पिचको पुनर्निर्माण गरिएको छ भने बाउन्ड्री क्षेत्र बढाइएको छ।

दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउने छन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा 'जोन' छुट्याइएको छ।

त्यस्तै भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

त्यस्तै नयाँ साइड स्क्रिन, मिडिया बक्स र अभ्यास पिच पनि नयाँ बनाइएको छ।

विदेशी खेलाडी

दीपेन्द्र सिंह ऐरी

विदेशी खेलाडीको आगमन नेपालमा नौलो विषय होइन।

तर सङ्ख्याको हिसाबमा एनपीएल ठूलो प्रतिस्पर्धा हुनेछ। १६ देशका कम्तीमा ३२ विदेशी खेलाडी कीर्तिपुर मैदानमा उत्रिनेछन्।

क्यानले एउटा फ्रेञ्चाइज टीमले ४ खेलाडी उतार्न पाउने नियम बनाएको छ। तर एउटा टोलीले ६ जना विदेशी खेलाडीसम्म अनुबन्ध गर्न पाउने सुविधा छ।

भारतका चर्चित खेलाडी शिखर धवनदेखि न्युजिल्याण्डका मार्टिन गुप्टिल अनि अस्ट्रेलियाका बेन कटिङ जस्ता खेलाडी एनपीएलका चर्चित विदेशी नामहरू हुन्।

८ मध्ये ५ टीमले विदेशी प्रशिक्षक अनुबन्धित गरिसकेका छन्।

समग्रमा एनपीएलको सफलताले नेपाली क्रिकेटको विकासमा मद्दत पुग्ने हुनाले क्रिकेट प्रेमीको आँखा अबको एक महिना कीर्तिपुर मैदानमा हुनेछ।

तयारी सँगसँगै क्यानले केही अप्ठेरोको सामना गर्नुपरेको छ।

कतिपयले क्षमताभन्दा ठूलो बजेटको प्रतियोगिता गर्न नहुने भन्दै आलोचना पनि गरिरहेका छन्।

नेपाल प्रिमिअर लीगको नाममा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।

त्यस्तै प्रत्यक्ष प्रसारणको विषयलाई लिएर तीन निकाय नेपाल विज्ञापन सङ्घ, राष्ट्रिय विज्ञापन सङ्घ नेपाल र मिडिया अलायन्स नेपालले विरोध गरिरहेका छन्।

यी सबै विषयलाई पार लगाउँदै पारस खड्का नेतृत्वको एनपीएल टोलीले महत्त्वाकाङ्क्षी परियोजना पूरा गर्नुपर्ने देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।