विश्वकप क्रिकेट लीग-२ मा नेपालमाथि थपिँदै चुनौतीको चाङ, उक्सिने उपाय के

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाल विश्वकप क्रिकेट लीग-२ मा सोमवार राति क्यानडासँग पराजित भयो। लीग-२ को सन् २०२३–२७ शृङ्खलामा नेपालले चार पटक हार बेहोरिसकेको छ।
टी-२० विश्वकपमा व्यस्त नेपाली टोलीले एकदिवसीय क्रिकेटमा लय गुमाएको स्पष्ट देखिन थालेको छ। यसबाट नेपालको अगाडिको यात्रा त्यति सहज देखिँदैन।
यो शृङ्खलामा असोसिएट वर्गमा पर्ने आठ उत्कृष्ट टोलीहरू सहभागी छन्।
गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निकै चर्चा कमाएको नेपाली टोलीका खेलाडीहरू अहिले त्यति प्रभावशाली देखिन सकेका छैनन्।
विश्लेषकहरूले उनीहरूका कमजोरी केलाउन थालेका छन्।
अवसर गुम्दै

तस्बिर स्रोत, CAN
गत वर्ष नेपालले एशिया कपमा छनोट हुँदै भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्न पाएको थियो। ती खेलमा नेपालले राम्रै प्रभाव पनि पार्यो।
राम्रो खेलेकाले नेपाली टोली 'इमर्जिङ टीम्स एशिया कप'मा छनोट भयो। टी-२० विश्वकपमा छानिएर अमेरिका र वेस्ट इन्डिज पुग्यो। त्यहाँ प्रभावशाली खेल देखाएर नेपाली खेलाडीहरूले प्रशंसा पनि बटुले।
यसपालि भने नेपाली टोली सुरुदेखि नै अस्थिर देखिएको छ।
नेपाल एशिया कप २०२५ र एसीसी इमर्जिङ टीम्स एशिया कप २०२४ कुनैमा पनि छनोट हुन सकेन।
गत एप्रिलमा ओमानमा छनोट प्रतियोगिताको रूपमा खेलाइएको ‘एसीसी प्रेमिअर कप’मा सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको एशिया कपमा पुग्ने सम्भावना टुङ्गिएको थियो।
एशिया कप छनोट हुन फाइनलमा पुग्नैपर्थ्यो। तर सेमिफाइनलमा ११९ रन मात्र बनाएको नेपाललाई यूएईले सहजै पराजित गर्यो।
एशिया कप हातबाट उम्किए पनि तेस्रो स्थानमा रहेको भए इमर्जिङ टीम्स एसिया कप २०२४ मा छानिने अवस्था थियो।
तर नेपाल हङ्कङसँग पराजित भयो। साबिक विजेता भए पनि नेपाल 'शीर्ष तीन'मा पर्न सकेन।
चुनौती अझ थपिँदै
विश्वकप लीग-२ नेपालका लागि ठूलो मञ्च हो। तर यसमा पनि चुनौती थपिन थालेको छ।
यसपालि लीग-२ मा नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड, ओमान, संयुक्त राज्य अमेरिका, यूएई , क्यानडा र नेपालसहित आठ टोली छन्।
'सुपर लीग'बाट आएको नेदरल्यान्ड्सलाई शक्तिशाली राष्ट्र मानिएको छ। 'प्लेअफ'बाट छानिएर पहिलो पटक खेलिरहेको क्यानडालाई तुलनात्मक रूपमा कमजोर ठानिएको छ।
तर नेपाल क्यानडासँगै सोमवार राति १०३ रनको फराकिलो अन्तरले पराजित भयो। उक्त खेलमा नेपालको ब्याटिङ अत्यन्त फितलो रह्यो।

तस्बिर स्रोत, CAN
गत फेब्रुअरीमा नेपालबाट नै लीग-२ सुरु भएको थियो। नेदरल्यान्ड्स र ओमानसँग खेलिएका चार खेलमध्ये नेपाल तीन वटामा पराजित भयो।
उक्त नतिजाले नेपालको अवस्था उत्साहप्रद नभएको र विशेष तयारी हुनुपर्ने सङ्केत गरेको थियो।
नेपाल एसीसी प्रेमिअर कपमा पूर्णत: असफल हुँदै फर्कियो। त्यसले नेपाली टोलीलाई नराम्ररी झस्काएको थियो।
त्यसपछि टी२० विश्वकप क्रिकेटमा देखाएको प्रभावशाली प्रदर्शनबाट टोली पुरानै लयमा फर्किएको ठानिएको थियो। विशेष गरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनले हार बेहोरेको भए पनि नेपाली टोलीको निकै प्रशंसा भएको थियो।
यद्यपि विश्वकपका खेलहरू २० ओभरका थिए भने लीग-२ मा ५० ओभरको खेल हुन्छ।
पुरानै कमजोरी
गत वर्षकै लीग-२ को नतिजा विश्लेषण गर्ने हो भने पनि नेपालबाहिर टोलीको प्रदर्शन राम्रो देखिएको थिएन।
कोभिड महामारीका बेलामा हुन नसकेको प्रतियोगिताका बाँकी खेलको आयोजना गर्ने अवसर नेपालले पाउँदा घरेलु मैदानमा चाहिँ खेलाडीहरूले राम्रो परिणाम निकालेका थिए।
नेपालको कमजोरी ब्याटिङमा देखिएको छ। अहिलेको अवस्था पनि त्यही नै हो।
कुशल भुर्तेल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको ब्याट विदेशी मैदानमा जम्न सकेको छैन।
नेपालका प्रमुख प्रशिक्षक मोन्टी देसाईको विशेषज्ञता ब्याटिङमा छ।

तस्बिर स्रोत, ICC T20 World Cup/Facebook
नेपालले ब्याटिङ प्रशिक्षकका रूपमा भारतका नन्दन फड्निसलाई झन्डै एक वर्षअगाडि नियुक्त पनि गरिएको थियो। यद्यपि उनको प्रभाव टोलीमा नदेखिएको कतिपयको भनाइ छ।
कतिपय क्रिकेट विश्लेषकहरू नेपालको तयारी प्रभावकारी हुन नसकेको बताउँछन्।
विश्वकप खेलेर फर्किएको नेपाली टोलीले भारतमा गएर खेलेको खेललाई "स्थानीय टोलीसँगको अभ्यास" भनी आलोचना भएको थियो।
अहिले क्यानडा जानुअगाडि श्रीलङ्कामा गएर खेलेको अभ्यास खेल पनि वर्षाले प्रभावित हुन पुग्यो।
राष्ट्रिय टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरी भन्छन्, “कताकता नेपाली खेलाडीहरूले गत वर्ष ११ खेल जितेको मनस्थितिमा खेलिरहेको जस्तो देखिन्छ, तर प्रदर्शन त्यस्तो देखिँदैन।”
सम्हालिने अवसर
नेपाली टोलीलाई सम्हालिने अवसर भनेको लीग-२ को दोस्रो श्रृङ्खला मात्रै हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली टोलीको छवि बनाइसकेको नेपालका खेलाडीबारे अब विदेशी टोलीहरू निकै चनाखो बनिसकेका छन्। उनीहरूले नेपाली खेलाडीको कमजोरी पत्ता लगाउन अध्ययन गर्ने गरेको ठानिन्छ। त्यसप्रति नेपाली टोली चनाखो हुनुपर्ने चौधरी बताउँछन्।
उनी भन्छन्, “तीन खेल बाँकी छ। यहीबाट नेपाल उक्सिन जरुरी छ किनकि बाँकी खेल झन् गाह्रो हुन सक्छ।”
नेपालले अब क्यानडामा ओमानसँग दुई र क्यानडासँग एउटा खेल खेल्न बाँकी छ। तिनमा जित्न सके सके नेपालको दबाव कम हुँदै जाने छ।
त्यसपछि नेपालले अर्को महिना अमेरिकामा गएर अमेरिका र स्कटल्यान्डसँग खेल्दै छ। ती दुई देशसँगका खेलहरू पनि सहज हुने छैनन्।
क्यानडार र ओमान तुलनात्मक रूपमा नेपालले सामना गर्ने कमजोर टोली हुन्। त्यसैले नेपालले ती टोलीसँगका बाँकी खेल जित्नुपर्ने देखिन्छ।
बुधवार राति नेपाल र ओमानबीच खेल हुन लागेको छ।
- सेप्टेम्बर १६ - नेपाल क्यानडासँग पराजित
- सेप्टेम्बर १८ - नेपाल र ओमान (बुधवार राति हुँदै)
- सेप्टेम्बर २२ - नेपाल र क्यानडा (हुन बाँकी)
- सेप्टेम्बर २४ - नेपाल र ओमान (हुन बाँकी)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








