'एनपीएल'मा 'बजेटको वर्षा', एउटा टोलीको खर्च कति

एनपीएलको अक्सनमा शृङ्खला खतिवडा
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

क्रिकेट टोली र खेलाडी किन्दा गरेको लगानी र सहभागिता जनाउँदासम्मको खर्च जोड्दा नेपाल प्रेमिअर लीग ‘एनपीएल’ नेपालको सबैभन्दा ठूलो बजेटको व्यावसायिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुने भएको छ।

क्रिकेट खेलाडीहरूको व्यावसायिक जीवन सुरक्षित गर्ने र नेपाल क्रिकेट सङ्घ ‘क्यान’को आर्थिक अवस्था मजबुत गर्नेदेखि देशकै अर्थतन्त्रलाई नै सुदृढ गर्ने ठानिएको एनपीएलको तयारी अहिले तामझामका साथ भइरहेको छ।

टोलीका मुख्य (मार्की) खेलाडीको मूल्य २० लाख रुपैयाँ छ। यो खेलाडीले नेपालभित्र पाउने हालसम्मकै ठूलो रकम हुनेछ।

आठ वटा टोली किन्न मालिकहरूले १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैयाँ खर्चिसकेका छन्।

एउटा टोली ‘पोखरा एभेन्जर्स’ ले टिम किन्नलाई मात्र ३ करोड ५७ लाख रुपैयाँ खर्चेको छ।

क्यानका कोषाध्यक्ष पदम खड्का भन्छन्, “मोटामोटी एनपीएल ६० करोड रुपैयाँ भन्दा बढीको प्रतियोगिता हुने छ।”

विश्वभरि नै फ्रेञ्चाइज क्रिकेटमा हुने पैसाको वर्षाले व्यावसायिकताको दुनियाँमा नयाँ फड्को मार्दै आएको समयमा नेपाल क्रिकेट सङ्घले आक्रामक रूपमा पाइला अगाडि बढाएको जानकारहरू बताउँछन्।

कतिपय क्रिकेट विश्लेषकहरूले भने ठूलो बजेटमा सुरुआत गरिँदा त्यसलाई थेग्न गाह्रो हुने हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन्।

एउटा टोलीको बजेट कति

एनपीएलको अक्सन

एनपीएललमा आठ वटा टोली सहभागी छन्। एउटा टोलीको कुल पाँचदेखि सात करोड रुपैयाँ खर्च गर्ने ठानिएको छ।

पहिलो खर्च टोली खरिद गर्नमा भइसक्यो। टोली किन्न एउटा समूहले कम्तीमा एक करोडदेखि साढे तीन करोड रुपैयाँसम्म खर्चिएका थिए।

यसका लागि कर्णाली याक्सले सबैभन्दा कम अर्थात् एक करोड ११ लाख ७० हजार रुपैयाँ खर्च गर्‍यो ने पोखरा एभेन्जर्सले सबैभन्दा बढी तीन करोड ३३ लाख ३३ हजार ३ सय ९९ रुपैयाँ खर्चेर आफ्नो टोली बनायो।

त्यसपछि दोस्रो ठूलो लगानी खेलाडी किन्नमा हुँदै छ।

भर्खरै गरिएको खेलाडी अक्सनमा आठ टोलीले झन्डै छ करोड रुपैयाँ खर्च गरे। त्यसमा लुम्बिनी अल स्टार्सले झन्डै ८५ लाख रुपैयाँ खर्च गर्‍यो।

टोलीको बाँकी खर्च चार जना विदेशी तथा एक जना स्थानीय खेलाडी भित्राउन हुनेछ।

अनुमान गरिएअनुसार चार जना विदेशी भित्र्याउँदा एउटा टोलीको एक करोड रुपैयाँसम्म खर्च हुनेछ।

बाँकी ठूलो खर्च भनेको होटेल र खानाको व्यवस्थाका लागि हुन्छ। त्यसमा पनि प्रत्येक टोलीको एक करोड रुपैयाँसम्म खर्च हुने आकलन छ।

त्यसपछि प्रशिक्षक र फिजिओथेरपिस्टलगायत व्यवस्थापनको टोली, खुराक, खेल सामग्री, प्रचार रसार र प्रशिक्षणमा खर्च हुने देखिन्छ। तिनमा पनि पनि करोड रुपैयाँ हाराहारीमा खर्च हुने ठानिएको छ।

पोखरा एभेन्जर्सका व्यवस्थापक किरण शम्शेर राणा भन्छन्, “हामीले मोटामोटी हिसाब गर्दा एउटा खेल खेल्दा एक करोड ३० लाख रुपैयाँसम्मको खर्च हुने देखिन्छ।”

एउटा टोलीले लीगका सात वटा खेल तथा प्लेअफ हुँदै फाइनल खेलमा १० खेल खेल्नु पर्ने देखिन्छ।

टीमको खर्चमा क्यानको सीमा

एनपीएलको अक्सन

टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको छ।

त्यसअनुसार खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो। त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरे।

विदेशी खेलाडी किन्नमा पनि क्यानले सीमा तोकेको छ। क्यानले विदेशी खेलाडीहरूलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजार देखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ।

कोषाध्यक्ष खड्का भन्छन्, “खेलाडी अक्सन पनि पूर्ण अक्सन थिएन। एउटा बिन्दुमा पुगेर गोला प्रथा गरियो ता कि टीमले थेग्नै नसकिने लगानी नगरोस्।”

पोखरा एभेन्जर्सका व्यवस्थापक राणाका अनुसार विदेशी खेलाडीका लागि नेपाली मार्की खेलाडीभन्दा बढी रकम खर्चिनुपर्ने हुन्छ। उनी भन्छन्, “विदेशी खेलाडी लिइँदा कम्तीमा करोड रुपैयाँ त खर्च हुने छ नै।”

क्यानलाई कति फाइदा

एनपीएलको अक्सनमा पारस खड्का

क्यानका सचिव पारस खड्का अहिले आफ्नो सम्पूर्ण शक्ति एनपीएलका लागि लगाइरहेका देखिन्छन्।

एनपीलको लागि निकै उत्साहित देखिने गरेका उनले भनेका छन्, “नेपाली क्रिकेटमा नयाँ सुरुआत हुने छ। एनपीएललाई हामी विश्वकै उत्कृष्ट लिग बनाउने छौँ।”

एनपीएललाई उत्कृष्ट बनाइरहँदा क्यानले पहिलो संस्करणबाट पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

टोली बिक्रीमा क्यानले झन्डै १७ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। त्यसबाहेक प्रायोजकबाट थप आम्दानी हुने छ।

यही रकमबाट क्यानले प्रतियोगिता सञ्चालन गर्ने छ।

कोषाध्यक्ष पदम खड्का भन्छन्, “टिभी प्रसारण अधिकारबाट पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी हुनेछ। टिकटबाट पनि तीनदेखि पाँच करोड रुपैयाँ आम्दानी हुने हाम्रो अनुमान छ।”

दर्शकका लागि अस्थायी प्यारपेट बनाउन योजना बनाइएको र त्यसो हुन सके टिकटको आम्दानी पाँच करोड रुपैयाँ पुग्न सक्ने खड्काले बताए।

त्यस्तै क्यानले पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ।

यसका जोखिम के छन्

एनपीएलको अक्सन

यस पटक नेपालमा पहिलो पटक फ्रेन्चाइज लीग हुन लागेको भने होइन। विगतमा एभरेस्ट प्रेमिअर लीग (ईपीएल), पोखरा प्रेमिअर लीग (पीपीएल) र धनगढी प्रेमिअर लीग (डीपीएल) आयोजना भएका थिए।

नयाँ कार्यसमिति आएपछि क्यानले ती सबै लीगलाई रोकेर नेपाल टी-२० लीगको नामबाट आफ्नै लीग सुरु गरेको थियो।

तर म्याच फिक्सिङ, बेटिङ र खेलाडी तथा टोलीलाई पुरस्कार नदिई टुङ्गिएको सो लीग सफल हुन सकेन। बरु क्यान नै बदनाम हुन पुगेको थियो।

राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का क्यानमा आएपछि नयाँ जोसका साथ सुरु हुन लागेको एनपीएलले अहिले नेपाली क्रिकेटमा नयाँ आशा देखाएको कतिपय जानकारहरू बताउँछन्।

तर क्यानले तत्काल ठूलो फाइदा उठाउनुभन्दा प्रतियोगिताको निरन्तरता र स्थायित्वमा ध्यान दिनुपर्ने क्रिकेट विश्लेषकहरूले सुझाव दिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।