बाङ्ग्लादेशको चुनावबारे थाहा पाउनुपर्ने महत्त्वपूर्ण कुरा

तस्बिर स्रोत, Getty Images
- Author, साउथ एशिया रिजनल जर्नलिजम
- पढ्ने समय: ६ मिनेट
बाङ्ग्लादेश दुई वर्षभित्र दोस्रो पटक नयाँ सरकार निर्वाचित गर्ने सङ्घारमा छ। सन् २०२४ मा भएको विद्यार्थीहरूको आन्दोलनले शेख हसिना नेतृत्वको अवामी लीग सरकार ढालेपछिको पहिलो राष्ट्रिय चुनावमा मतदानका निम्ति योग्य १२ करोड ७० लाख नागरिकले फेब्रुअरी १२ तारिखमा भोट हाल्ने छन्।
यो चुनाव बाङ्ग्लादेशका लागि मात्र नभई समग्र दक्षिण एशियाका लागि पनि महत्त्वपूर्ण छ किनकि व्यापार सम्बन्ध र कूटनीतिक सम्बन्ध चुनावी परिणाममा जोडिन सक्छ।
चुनाव कसरी हुन्छ र यो किन महत्त्वपूर्ण छ भन्नेबारे यहाँ चर्चा गरिएको छ।
यो निर्वाचन किन महत्त्वपूर्ण छ?
बाङ्ग्लादेश वर्षौँदेखि कहिल्यै नदेखिएको चुनावतर्फ उन्मुख छ। यो चुनाव सन् २०२४ को जुलाईमा भएको विद्रोहपछिको पहिलो मात्र होइन, दशकौँपछि पहिलो पटक बाङ्ग्लादेशका दुई प्रमुख राजनीतिक व्यक्तित्वहरू शेख हसिना र बेगम खालिदा जियाबिना हुँदै छ।
मतदाताले नयाँ सरकार मात्र चयन गरिरहेका छैनन्। उनीहरूले संवैधानिक जनमत सङ्ग्रहमा पनि भाग लिने छन्। त्यसले 'व्यापक सुधार' गराउने भनिएको 'जुलाई चार्टर' कार्यान्वयन गर्ने वा नगर्ने निर्णय गर्ने छ।
वर्षौँदेखिको राजनीतिक उथलपुथल र अस्थिरताबाट गुज्रिरहेको देशमा प्रजातान्त्रिक प्रणालीको पुनर्स्थापना सम्भव छ कि छैन भन्ने पनि यो निर्वाचनबाट परीक्षण हुने छ।

तस्बिर स्रोत, Getty Images
कोको उम्मेदवार छन्?
दशकौँदेखि बाङ्ग्लादेशको राजनीतिमा दुई प्रमुख पार्टीहरू अवामी लीग र बङ्गलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) को वर्चस्व रहँदै आएको छ।
मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफ्नो कार्यकालको सुरुतिरै अवामी लीग र उसका गठबन्धन साझेदारहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
निर्वाचन आयोगले तारिक रहमानको नेतृत्वमा रहेको बीएनपीलाई सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा चुनावी मैदानमा छोड्दै अवामी लीगको दर्ता रद्द गरिदिएको छ।
उक्त दलको अनुपस्थितिले सिर्जना गरेको ठाउँ जमात-ए-इस्लामीले लिएको छ, जसमाथि लामो समयसम्म मुख्य राजनीतिमा संलग्न हुन प्रतिबन्ध थियो।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले गठन गरेको युवा केन्द्रित नयाँ दल न्याश्नल सिटिजन पार्टी (एनसीपी) ले पनि जमातसँग गठबन्धन गरेको छ।
अन्य केही साना पार्टीहरू भए पनि वास्तविक प्रतिस्पर्धा बीएनपी र जमात-ए-इस्लामीबीच देखिन्छ।

तस्बिर स्रोत, Rehman Asad/NurPhoto via Getty Images
मतदाताका मुख्य मुद्दाहरू के हुन्?
बढ्दो मूल्यवृद्धि, रोजगारी, भ्रष्टाचार र कानुनी शासन जस्ता दैनन्दिनका चिन्ताहरू हाबी भए पनि नयाँ सरकारले राजनीतिक सुधार र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने ठूलो प्रश्न हो।
देशले वर्षौँदेखि क्रूर दमन, सामूहिक गिरफ्तारी र जबरजस्ती बेपत्ता पार्नेलगायतका राजनीतिक हिंसा बेहोरेको छ।
अघिल्लो सरकारहरूका बेला गरिएको शक्तिको दुरुपयोगको जबाफदेहिताको माग बढ्दो छ। खास गरी सार्वजनिक कार्यालयमा हुने भ्रष्टाचार अर्को प्रमुख मुद्दा हो।
विश्व ब्याङ्कले नोभेम्बर २०२५ प्रेस विज्ञप्तिमार्फत् बाङ्ग्लादेशमा गरिबी बढेको बताउँदै विशेष गरी महिलाहरूका लागि रोजगारीको अवसर कम रहेको जनाएको थियो।
योग्य मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा धेरै १८ देखि ३७ वर्षबीचको उमेरका छन्। रोजगारी र भौतिक सुरक्षा मतदाताको अपेक्षाको सूचीको अग्रस्थानमा छ।
अधिकांश मतदाताहरूका लागि यो निर्वाचनको मुख्य प्रश्न भनेको आउने नयाँ नेतृत्वले स्थिरता, निष्पक्षता र राज्यले सर्वसाधारण जनताका लागि काम गरिरहेको छ भन्ने भावना ल्याउन सक्छ कि सक्दैन भन्ने नै हो।

तस्बिर स्रोत, Getty Images
बाङ्ग्लादेशको निर्वाचन प्रणाली कस्तो छ?
बाङ्ग्लादेशले 'एक निर्वाचन क्षेत्रबराबर एक सांसद'को रूपमा ३०० जना सांसद 'पहिलो हुनेले जित्ने' (फर्स्ट पास्ट द पोस्ट) प्रणालीबाट चयन गर्दछ।
कुल मतको ५० प्रतिशतभन्दा कम पाए पनि सबैभन्दा बढी मत ल्याउने उम्मेदवारले चुनाव जित्छ। सरकार गठनका लागि संसद्मा सामान्य बहुमत भए पुग्छ।
विदेशमा रहेका बाङ्ग्लादेशीले पहिलो पटक यस वर्ष हुलाकबाट मतदान गर्न पाउने भएका छन्। उनीहरूको निम्ति निर्वाचन आयोगले ८ लाखभन्दा बढी मतपत्रहरू छापेको छ।
ती मतपत्रहरू फेब्रुअरी १२ को दिउँसोसम्म सम्बन्धित अधिकारीसम्म पुग्न आवश्यक छ। ढिलाइ र गडबडीको बारेमा चिन्ता व्यक्त गरिएको भए पनि निर्वाचन आयोगले पारदर्शिता सुनिश्चित गर्न अनुहार पहिचान र मोबाइल एप ट्र्याकिङजस्ता सुरक्षा उपायहरू अपनाएको छ।

तस्बिर स्रोत, CA Press Wing
के हो 'जुलाई चार्टर' जनमत सङ्ग्रह?
मतदाताहरूले फेब्रुअरी १२ तारिखमा नयाँ सरकार चयन गर्नुका साथै 'जुलाई चार्टर'मा आधारित संवैधानिक जनमत सङ्ग्रहमा पनि मतदान गर्ने छन्। 'जुलाई चार्टर'मा बाङ्ग्लादेशको शासनको रूपरेखा प्रस्तुत गरिएको छ।
कार्यपालिकामा केन्द्रित शक्ति घटाउनु, नियन्त्रण र सन्तुलनलाई बलियो बनाउनु र हालैका दशकहरूमा बाङ्ग्लादेशमा जरो गाडेको राजनीतिक प्रभुत्व रोक्नु यसको उद्देश्य हो।
चार्टरले बाङ्ग्लादेशका संस्थाहरूको भूमिकालाई स्पष्ट पारेको छ।
त्यसमा माथिल्लो र तल्लो सदन भएको द्विसदनात्मक संसद्को प्रावधान सुझाइएको छ भने नयाँ सरकारले गर्नुपर्ने सुधारहरूको सूची पनि छ।
मतदाताले त्यसको पक्षमा भोट हालेमा नयाँ संसद्लाई सुझाइएका ८४ वटा सुधारहरू लागु गर्नुपर्ने कानुनी बाध्यता हुने छ।
तर 'हुन्न' भन्ने पक्षकोले जितेमा 'जुलाई चार्टर' अर्को सरकारका निम्ति बाध्यकारी हुने छैन र सुधार योजनाहरू बहुमत पाउने पार्टीको इच्छामा पूर्णतया निर्भर हुने छन्।

तस्बिर स्रोत, Getty Images
के विश्वसनीयता र निष्पक्षताबारे चिन्ता छ?
धाँधलीको आरोप र हिंसाका कारण बाङ्ग्लादेशमा भएका यसअघिका तीन वटा राष्ट्रिय चुनावहरू व्यापक रूपमा विवादित भएका थिए।
बीएनपीले सन् २०१४ र २०२४ को चुनाव बहिष्कार गरेको थियो।
यस पटक अवामी लीगको अनुपस्थितिले समावेशिता र प्रतिस्पर्धामाथि प्रश्न उठेको छ।
यो चुनावमा टिकटक, फेसबुक र यूट्यूबजस्ता सामाजिक सञ्जाल ठूलो सङ्ख्याका युवा मतदातालाई आकर्षित गर्न नयाँ चुनावी युद्धमोर्चाको रूपमा उदाएका छन्।
यसका कारण एआईबाट उत्पादित सामग्रीको आक्रमणले मिथ्या सूचना र मतदाताहरूलाई भ्रमित पार्ने मनगढन्ते सामग्रीहरूलाई लिएर चिन्ता बढाएको छ।

तस्बिर स्रोत, Getty Images
हिंसाको खतरा के हो?
लामो समयदेखिको प्रतिद्वन्द्विता र राजनीतिक ध्रुवीकरणका कारण बाङ्ग्लादेशमा चुनाव हिंसाको चपेटामा परेको छ।
सन् २०२६ को चुनावी दौडकाबीच झडप, अभियानकर्ताहरूमाथि दुर्व्यवहार र मतदाताहरूलाई धम्की दिइएका खबर देशभरिबाट आउँदा उक्त सिलसिला थप बढेको छ।
हालैका हप्ताहरूमा धेरै राजनीतिक कार्यकर्ताहरूको हत्या भएको खबर सार्वजनिक भएका छन्, जसप्रति अधिकारवादी सङ्गठनहरूले चिन्ता व्यक्त गरेका छन्।
सन् २०२४ को जुलाईमा भएको आन्दोलनको परिणामले सुरक्षा चिन्ता बढाएको छ : लुटिएका सयौँ बन्दुकहरू अझै फेला परेका छैनन्। यसले सशस्त्र द्वन्द्वको जोखिम बढाएको छ।
अनि निर्वाचन आयोगका योजनाबद्ध सुरक्षा उपायहरू राम्रोसँग कार्यान्वयन गरिएका छन् कि छैनन् भन्नेमा धेरै कुरा निर्भर गर्दछ।

तस्बिर स्रोत, Prime Minister’s Office, Pakistan
बाङ्ग्लादेशको चुनावले दक्षिण एशियाका लागि कस्तो अर्थ राख्छ?
दक्षिण एशियाली राजनीति धर्म र पहिचानसँग गहिरो रूपमा गाँसिएको छ र बाङ्ग्लादेशको चुनावको परिणामले आप्रवासन र सीमा सुरक्षालाई प्रभाव पार्दै यस क्षेत्रको राजनीतिक मौसमलाई परिवर्तन गर्न सक्छ।
कसले सरकार बनाउँछ भन्ने कुराले भारत र पाकिस्तानसँगको द्विपक्षीय सम्बन्ध परिवर्तन हुन सक्छ।
हसिनाले भारतमा शरण लिएपछि भारतसँग बाङ्ग्लादेशको सम्बन्ध तनावपूर्ण बनेको छ।
तर सन् १९७१ मा बाङ्ग्लादेश अलग भएको घटनाको विरासतका कारण लामो समयदेखि तनावपूर्ण रहेको पाकिस्तानसँगको सम्बन्ध पछिल्लो समय खुकुलो हुने सङ्केत देखिएको छ।
बाङ्ग्लादेश अमेरिका र चीनबीचको मौन प्रतिस्पर्धाको केन्द्रमा पनि छ, जसमा चीनले बाङ्ग्लादेशलाई दक्षिण एशियाको प्रवेशद्वार र 'बेल्ट एन्ड रोड इनिशटिभ'का निम्ति महत्त्वपूर्ण रूपमा हेर्छ।
दक्षिण एसियाको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा बाङ्ग्लादेशको स्थिरताले दक्षिण एशियाको कूटनीतिक परिदृश्यलाई महत्त्वपूर्ण आकार दिन सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















