भाइ एन्ड्रू 'पक्राउ' पर्दा यूकेका राजाले के भने?

यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ३ मिनेट

यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर सार्वजनिक पदमा रहँदा 'अनुचित व्यवहार' गरेको आशङ्कामा 'पक्राउ' परेको बीबीसीले बुझेको छ।

यस विषयमा प्रतिक्रिया दिँदै राजा चार्ल्सले राजपरिवारले सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा "पूर्ण सहयोग" गर्ने प्रतिक्रिया दिएका छन्।

राजाले भनेका छन्, "म स्पष्ट रूपमा भन्न चाहन्छु कि कानुनले आफ्नो बाटो लिनुपर्छ।"

केही दिनअघि टेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रूले यौनअपराधी जेफ्री एप्स्टीनसँग केही गोप्य कागजातहरू 'शेअर' गरेको उजुरीबारे अनुसन्धान सुरु गरेको बताएको थियो।

आजै ६६ वर्ष पूरा गरेका एन्ड्रूले बारम्बार त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।

प्रहरीको वक्तव्य

"अनुसन्धानका सिलसिलामा हामीले आज नोर्फोकबाट ६० देखि ७० वर्ष उमेरका एक पुरुषलाई सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा पक्राउ गरेका छौँ," प्रहरीले भनेको छ, "उनी अहिले प्रहरी हिरासतमा छन्।"

राष्ट्रिय निर्देशिकाबमोजिम पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगर्ने भन्दै प्रहरीले अदालतको अवहेलना हुने गरी कुनै सामग्री प्रकाशन नगर्न समेत सचेत गराएको छ।

उपयुक्त समयमा आफूले यस विषयमा थप विवरण उपलब्ध गराउने प्रहरीको भनाइ छ।

यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जरलाई पक्राउ गर्न जान लागिएका ठानिएका प्रहरीका गाडीहरू

तस्बिर स्रोत, Bav Media

तस्बिरको क्याप्शन, यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जरलाई पक्राउ गर्न जान लागिएका ठानिएका प्रहरीका गाडीहरू

राजाले के भने?

भाइ एन्ड्रू पक्राउ परेपछि राजा चार्ल्सले जारी गरेको एक वक्तव्य बीबीसीले प्राप्त गरेको छ।

उनले भनेका छन्, "अब यसपछि यो सवालको उपयुक्त विधिमा उपयुक्त निकायहरूद्वारा अनुसन्धानका लागि पूर्ण, निष्पक्ष तथा समुचित प्रक्रिया अगाडि बढ्छ।"

"मैले पहिले बताएझैँ यसमा हाम्रो पूर्ण सहयोग हुने छ।"

राजाले अनुसन्धान प्रक्रिया जारी रहेका बेला आफूले धेरै टिप्पणी गर्नु अनुचित हुने बताएका छन्।

उनले आफू र आफ्नो परिवार देश र जनताको सेवामा निरन्तर रहने पनि जनाएका छन्।

एन्ड्रू को हुन्?

राजकुमारको उपाधि खोसिनुअघि ड्यूक अफ योर्क रहेका एन्ड्रू ब्रिटिश महारानी एलिजाबेथ द्वितीयका तेस्रो सन्तान हुन्। उनी सिंहासनको उत्तराधिकारीको नवौँ वरीयतामा थिए।

राजा चार्ल्स उनका दाजु हुन्।

उपाधि खोसिनुअघि नै उनले डचेज अफ योर्क सारासँग सम्बन्धविच्छेद गरिसकेका थिए।

एन्ड्रूका दुई छोरीहरू राजकुमारी बिएट्रेस र युजेनी छन्।

उपाधि किन खोसिएको थियो?

यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर

सन् २०२५ को अक्टोबरमा बकिङ्गम प्यालेसले एन्ड्रूले आफ्नो 'राजकुमार' उपाधि गुमाउने बताएको थियो।

एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उनले राजकीय आवास 'रोयल लज' पनि छाड्नुपरेको थियो।

त्यही बेलादेखि उनका लागि एन्ड्रू माउन्टब्याटन विन्ड्जर नाम मात्र प्रयोग गर्न थालिएको हो।

सन् २०२२ मै उनले निम्न उपाधिहरू गुमाएका थिए -

  • रोयल एअर फोर्स लोसिमथको मानार्थ हवाई कमोडोर
  • स्मल आर्म्स स्कूल कोरको कर्नेल इन चीफ
  • महारानी एलिजाबेथको आफ्नै रोयल ल्यान्सर्सको कर्नेल इन चीफ
  • योर्कशर रेजिमेन्टको कर्नेल इन चीफ
  • फ्लिट एअर आर्मको कमोडर इन चीफ
  • रोयल हाइल्याड फ्युसिलियर्सको रोयल कर्नेल
  • रोयल रेजिमेन्ट अफ स्कटल्यान्डको शाही कर्नेल

उनले यूकेबाहिरका पनि केही मानार्थ सैन्य उपाधि पनि गुमाएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।