बाङ्ग्लादेशमा भारतविरोधी भावनाको आडमा सञ्चारगृह र सांस्कृतिक संस्थान निसानामा

तस्बिर स्रोत, Getty Images
स्वतन्त्रता युद्धको सम्झनामा मनाइने 'विजय दिवस' वार्षिकोत्सवको दुई दिनपछि बाङ्लादेशमा डिसेम्बर १८ का दिन दुई शीर्ष सञ्चारगृह र सांस्कृतिक संस्थानहरूमा भिडद्वारा गरिएको अभूतपूर्व आक्रमणको घटना हुन पुग्यो।
'प्रथम आलो', 'द डेली स्टार' र 'छायानौट'का भवनहरूमा आक्रमण, तोडफोड तथा आगजनी भयो। इन्कलाब मञ्चका संयोजक तथा प्रवक्ता उस्मान हादी मारिएपछि यी घटनाहरू भएका हुन्।
ती संस्थाहरूलाई "भारतीय दलाल" र "फासीवादीका सहयोगी"को संज्ञा दिने गरिएको थियो।
विश्लेषकहरूका अनुसार भारतले 'मुक्तियुद्ध'का समयमा बाङ्ग्लादेशसँग सहकार्य गरे पनि अहिले ऊमाथि सीमा क्षेत्रमा मान्छे मार्ने गरेको, पानीको बाँडफाँटमा उसको असमान भूमिका रहने गरेको र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको जस्ता आरोप लाग्ने गरेको छ।
धेरैले अहिलेका आक्रमणहरू बाङ्ग्लादेशको राजनीतिमा सोही भारतविरोधी भावनाको नयाँ स्वरूप भएको ठानेका छन्।
विश्लेषकहरूका अनुसार अन्तरिम सरकारको १६ महिनाको मुख्य चुनौती कानुनी शासनको स्थिति निर्माण गर्नु थियो र यस अस्थिर अवस्थालाई सुधार्न चुनावबाट मात्रै सम्भव छ।
तथापि धेरै नेताहरूले एउटा पार्टीले आउँदो चुनाव बिथोल्नका लागि हिंसा भड्काउन भारतविरोधी भावनाको प्रयोग गरिरहेको आशङ्का प्रकट गरेका छन्।

तस्बिर स्रोत, Getty Images
हादीको मृत्युमाथि भारतविरोधी राजनीति?
लामो समयदेखि बाङ्लादेशमा कायम भारतविरोधी भावनाले गत वर्षको जुलाईमा भएको आन्दोलनपछि बिभिन्न कारणले गर्दा नयाँ आयाम प्राप्त गरेको छ।
उक्त आन्दोलनपछि पूर्वप्रधानमन्त्री शेख हसीना र अवामी लिगका अन्य नेताहरूले भारतमा शरण लिएसँगै बाङ्लादेश र भारतबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बन्यो।
"सधैँ त्यस्तो प्रभुत्वको प्रतिरोध हुँदै आएको छ जुन लामो समयदेखि चल्दै आएको छ। यसमा पतन भएको सरकारप्रति उनीहरूको समर्थन पनि जोडिएको छ," ढाका विश्वविद्यालयका प्राध्यापक काजी मरुफुल इस्लामले बाङ्लादेशी राजनीतिको सन्दर्भमा भारतको भूमिकाबारे भने।
शेख हसीनालाई मुद्दाको सुनुवाइका लागि सुपुर्दगी नगरिएको र उस्मान हादीको हत्यापछि हत्याराहरू भारततर्फ भागेको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण पनि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव बढेको विश्लेषकहरू बताउँछन्।
भलै प्रशासन र सरकारले हादीका हत्याराहरू देशबाट भागे नभागेको यकिन भइनसकेको बताएका छन्।
बाङ्लादेश प्रहरीका अतिरिक्त महानिरीक्षक खान्डकर रफिकुल इस्लामले आइतबार भने, "हामीले अझै आरोपीले सीमा पार गरे नगरेको निश्चित जानकारी पुष्टि गर्न सकेका छैनौँ।"
यद्यपि घटनासँग सम्बन्धित मामिलामा उनीहरूले भारत-बाङ्लादेश सीमाबाट दुई जनालाई पक्राउ गरिएको बताएका छन्। दुवै मानव तस्करीका निम्ति चिनिएका व्यक्ति भएको बताइएको छ।
सोमवार आयोजित पत्रकार सम्मेलनमा सरकारका गृहमामिला सल्लाहकारले भने, "आरोपीहरू कहाँ छन् भन्नेबारे जानकारी हुन्थ्यो भने हामीले पक्रिसकेका हुन्थ्यौँ।"

तस्बिर स्रोत, Abu SUFIAN JEWEL / AFP via Getty Images
के भारतीय 'प्रभूत्व'को विरोधका नाममा हिंसा भड्काइँदैछ?
विश्लेषकहरूका अनुसार बाङ्लादेशको राजनीतिमा विभिन्न समयमा भारतविरोधी भावनाको प्रयोग हुँदै आएको छ। हालै दैनिक पत्रिकाका कार्यालयहरू, सांस्कृतिक संस्थाहरू, छायानौट र उदिची भवन तथा धानमण्डी-३२ का घरहरू तोडफोडका क्रममा भारतविरोधी नाराहरू लगाइएका थिए।
घटनाका बेला जमात-ए-इस्लामीसँग आबद्ध विद्यार्थी सङ्गठनका नेताहरू ती संस्थाहरूविरुद्ध बोलिरहेको देखिएका थिए।
"प्रथम आलो र द डेली स्टारलगायतका पत्रिकाहरू बन्द गर्नुपर्छ," जमात ए इस्लामी दलको विद्यार्थी सङ्गठन इस्लामी छात्र शिबिरका नेता मोस्ताकुर रहमानले बिहीबार राति भनेका थिए।
त्यस्तै त्यही दिन इस्लामी छात्र शिबिर, जहाँगिरनगर विश्वविद्यालय शाखाका सचिव मोस्ताफिजुर रहमानले भने, "राजनीतिक सङ्घर्षबाट बाङ्लादेशको वास्तविक स्वतन्त्रता हासिल गर्न सम्भव छैन। हाम्रो लडाइँ शहिद उस्मान हादीको 'इन्कलाब मञ्च'को सांस्कृतिक सङ्घर्षबाट सुरु हुनेछ। भोलि शाहबागी, छायानौट, उदिची यी सबैलाई ध्वस्त गर्नुपर्नेछ, त्यसपछि मात्रै बाङ्लादेशको वास्तविक स्वतन्त्रता प्राप्त हुनेछ।"

तस्बिर स्रोत, Getty Images
बीबीसी बाङ्लाले सम्पर्क गर्दा उनीहरूले ती अभिव्यक्तिहरू अस्वीकार गरेनन् तर फरक ढङ्गले व्याख्या गरे।
उनीहरूले उक्त वक्तव्यमार्फत् ती संस्थाहरूद्वारा अवामी लिगलाई सांस्कृतिक रूपमा दिइएको वैधता तोड्ने कुरा गरेको वा दुई सञ्चारमाध्यमको "पक्षपाती व्यवहारबारे" कुरा गरिरहेको दाबी गरे।
अर्कातर्फ उक्त सङ्गठनले नेताहरूको "जिब्रो चिप्लिएको" कारण देखाउँदै इस्लामी छात्र शिबिरमाथि आक्रमणको दोष थोपर्ने षड्यन्त्र भएको भन्दै विरोध जनाएको छ।
तर एडिटर्स काउन्सिलका अध्यक्ष नुरुल कबिरका अनुसार भारतविरोधी नाराअघि सार्न उक्त समूहका लागि "धर्ममा आधारित राजनीतिलाई समेट्न" सुविधाजनक हुन्छ।
"जुलाईको आन्दोलनप्रति भारतले देखाएको प्रतिक्रियाले भारतविरुद्ध जनआक्रोश बढाएको छ। बाङ्लादेशमा हादीको मृत्यु वरिपरि आफ्नो धार्मिक राजनीति सुदृढ गर्न चाहनेहरूले यसलाई झन् बढी प्रयोग गर्न खोजिरहेका छन्," उनले भने।
"देशका मानिसहरू लोकतान्त्रिक संस्थाहरू ध्वस्त पार्ने प्रयासमा भएका बेला उनीहरूलाई यस किसिमका भारतविरोधी नारा अघि सार्दा एक किसिमको फाइदा हुन्छ," उनले थपे।

सरकार हिंसामा संलग्न भएको आरोप
प्रथम आलो र द डेली स्टारले आक्रमणकारीहरू उक्त स्थानमा पुग्नुअगावै सहायताका निम्ति आफुहरूले सरकारको उच्च तहसँग सम्पर्क गरे पनि कुनै मद्दत नपाएको बताएका छन्।
पछि सुरक्षाकर्मी पुगे पनि उनीहरूले भिडलाई रोक्न कुनै कदम नचालेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। परिणामस्वरूप यी हिंसात्मक घटनाका पछाडि सरकारको भूमिकाबारे प्रश्न उठिरहेका छन्।
"समग्रमा यो अन्तरिम सरकारको विफलता हो। कुनै संस्थानमाथि सरकारको पकड छ भन्ने देखिँदैन। धेरै हदसम्म यो सरकार यस्ता उत्तेजना र हिंसामा लिप्त भएको देखिन्छ," प्राध्यापक काजी मरुफुल इस्लामले भने।
छायानौटले आक्रमणसँग सम्बन्धित ३०० भन्दा बढी अपरिचित व्यक्तिहरूविरुद्ध उजुरी दिएको छ। प्रथम आलो र द डेली स्टारको कार्यालयमाथि भएको आक्रमणका सम्बन्धमा ९ जना पक्राउ परेका छन्।
घटनाको दिन सामाजिक सञ्जालमा भाइरल भएका धेरै भिडिओहरूमध्येको एउटामा एकजना सैन्य अधिकारी आक्रमणकारीहरूलाई रोक्नुको सट्टा तिनीहरूसँग कुराकानी गर्दै गरेका देखिएका थिए।
ती अधिकारी भवनभित्र थुनिएका पत्रकारहरूलाई उद्धार गर्न आक्रमणकारीसँग २० मिनेट समय माग्दै गरेका देखिएका हुन्।
नुरुल कबिर सरकारकै एक हिस्साको समर्थनमा हिंसा भएको बताउँछन्।
"डेली स्टार र प्रथम आलोमा उनीहरूले आगो लगाइसकेपछि त्यहाँ हस्तक्षेप गर्न त्यत्रो समय लिनु यो सरकारको विफलता हो। तपाईं मसँग सोध्नुहुन्छ भने म भन्छु युनुस सरकारको प्रशासन र मन्त्रिपरिषदका केही व्यक्तिहरू त्यसो हुन दिन चाहन्थे।"
जातीय नागरिक पार्टी (एनसीपी) का संयोजक नाहिद इस्लाम पनि त्यस्तै विचार व्यक्त गर्दछन्। पार्टीमा सामेल हुनुअघि करिब छ महिना उनले सूचना सल्लाहकारका रूपमा अन्तरिम सरकारका निम्ति काम गरेका थिए।
सोमवार एडिटर्स काउन्सिल र न्यूजपेपर्स ओनर्स एसोसिएसन (एनओएबी) द्वारा आयोजना गरिएको संयुक्त विरोधसभामा बोल्दै नाहिद इस्लामले भने, "उनीहरूले नारा लगाएर त्यहाँ आक्रमण गरे र त्यसको पक्षमा माहोल बनाए। उक्त घटनापछि सरकारको एउटा हिस्सा यसमा संलग्न छ भनेर हामीले भनेका छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








