बाङ्ग्लादेश र पाकिस्तानबीच सम्बन्ध सुध्रँदा भारत 'चनाखो' हुनुको कारण

सन् २०२५ फेब्रुअरीमा बाङ्ग्लादेशले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यसै वर्ष फेब्रुअरीमा बाङ्ग्लादेशले पाकिस्तानबाट ५० हजार टन चामल आयात गरेको छ
    • Author, अनबरसन इथिराजन
    • Role, दक्षिण एशिया क्षेत्रीय सम्पादक

बाङ्ग्लादेशमा आठ महिनाअघि प्रधानमन्त्री शेख हसिनाको सत्ता परिवर्तन हुने गरी भएका नाटकीय राजनीतिक घटनाक्रमले धेरैलाई अचम्भीत तुल्याएको थियो। अनि आश्चार्यको अर्को विषय थियो : कुनै समय शत्रु मानिएको पाकिस्तानसँग ढाकाको बढ्दो निकटता।

दशकौँको समस्याग्रस्त सम्बन्ध अन्त्य गर्दै गत महिनाबाट दुई देशले पहिलो पटक सीधा व्यापार सुरु गरे। ढाकाले पाकिस्तानबाट ५० हजार टन चामल आयात गर्‍यो। दुई देशले सीधा उडानसँगै सैन्य सम्पर्क पनि पुनर्स्थापित गर्दै भिसा प्रक्रिया पनि सहजीकरण गरे।

अहिले सुरक्षा सहकार्य हुन लागेका विवरणहरू पनि आइरहेका छन्।

विगत र वर्तमान

पाकिस्तान र बाङ्ग्लादेशका नेताहरू

तस्बिर स्रोत, X/Shehbaz Sharif

तस्बिरको क्याप्शन, पाकिस्तान र बाङ्ग्लादेशका नेताहरूले दुई देशबीचको सम्बन्ध सुधार्न चाहेको बताउने गरेका छन्

भारतको फराकिलो भूभागले छुट्याएका यी दुई देशबीच निकै गहिरो र पीडादायी सम्बन्धको इतिहास छ। सन् १९७१ मा त्यस बेला पूर्वी पाकिस्तानको नामले चिनिने अहिलेको बाङ्ग्लादेशले इस्लामावादबाट स्वतन्त्रका लागि सङ्घर्ष सुरु गरेसँगै दुई देशबीको शत्रुताको आरम्भ भयो।

त्यसबेला नौ महिनासम्म चलेको युद्धमा भारतले बङ्गाली विद्रोहीहरूलाई समर्थन गर्‍यो। यसको परिणामस्वरूप स्वतन्त्र बाङ्ग्लादेशको जन्म भयो।

त्यस अवधिका गहिरा घाउहरू बाँकी नै रहे पनि ढाका र इस्लामावादबीच सन् २००१ देखि २००६ बीचको अवधिमा पुनः सुमधुर सम्बन्ध स्थापित भयो। त्यस बेला बाङ्ग्लादेश न्याश्नल पार्टीको गठबन्धन ढाकाको र जमात-ए-इस्लामीको गठबन्धन इस्लामावादको सत्तामा थिए।

बाङ्ग्लादेशमा सन् २००९ बाट सुरु भएर १५ वर्ष टिकेको शेख हसिनाको शासनकालमा यो अवस्था बदलियो। दिल्लीबाट बलियो साथ पाएकी हसिनाले पाकिस्तानसँग दूरी बढाइन्।

उनको सरकारविरुद्ध भएको ठूलो प्रदर्शनपछि देश छोडेर हसिना भागेपछि पुनः दुई देशबीचको सम्बन्ध सुधार हुँदै गएको छ।

"विगत १५ वर्षदेखि पाकिस्तान र बाङ्ग्लादेशबीचको सम्बन्ध अलिकति कठिन बाटोमा थियो," बाङ्ग्लादेशका वरिष्ठ पूर्वकूटनीतिज्ञ हुमायुन कबीर भन्छन्। अहिले दुई देशबीचको सम्बन्ध पुनः "दुई साधारण छिमेकीहरू" जस्तो अवस्थमा फर्किएको उनी बताउँछन्।

भारतको नजर

बाङ्ग्लादेशमा शेख हसिनाको सत्ता ढाल्ने आन्दोलनपछि ढाका र दिल्लीबीचको सम्बन्ध बिग्रिँदै गएको बताइन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा शेख हसिनाको सत्ता ढाल्ने आन्दोलनपछि ढाका र दिल्लीबीचको सम्बन्ध बिग्रिँदै गएको बताइन्छ

यो भूराजनीतिक विकासक्रमलाई पाकिस्तानसँग लामो समयदेखि शत्रुवत् सम्बन्ध कायम रहेको भारतले नजिकबाट नियालिरहेको छ।

हसिनाले देश छोडेपछि उनलाई आश्रय दिएको दिल्ली र ढाकाबीचको सम्बन्धमा चिसोपना आएको छ। बाङ्ग्लादेशले मानवताविरुद्धको अपराध, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोपमा मुद्दा चलाउन हसिनालाई सुपुर्दगी गर्न माग गरे पनि भारतले त्यसमा कुनै जबाफ दिएको छैन। हसिनाले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएकी छन्।

यो अवस्थामा ढाका र इस्लामावादबीचको सम्बन्ध पुनर्स्थापित गरिनुलाई रणनीतिक कदमको रूपमा केही विज्ञहरूले हेरेका छन्।

"अहिलेको अवस्थामा पाकिस्तान र बाङ्ग्लादेशको सम्बन्ध रणनीतिक हो। उनीहरू दुवै मिलेर भारतको प्रभावलाई निस्तेज गर्न चाहन्छन्," किङ्ग्स कलेज अफ लन्डनमा वरिष्ठ फेलो रहेकी पाकिस्तानकी राजनीतिशास्त्री आयशा सिद्धिका भन्छिन्।

दुई देशबीच प्रत्यक्ष व्यापारका अतिरिक्त पनि दुई देशबीचको सम्बन्ध पनि थप विकास भएको छ।

बाङ्ग्लादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हालैका महिनाहरूमा विभिन्न बहुपक्षीय मञ्चहरूमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफसँग कैयौँ पटक भेट गरेका छन्।

सँगसँगै सैन्य सम्बन्ध पनि पढ्दो क्रममा छ।

गत ज्यानुअरीमा बाङ्ग्लादेशको एक उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले पाकिस्तानको अति दुर्लभ भ्रमण गर्‍यो। उक्त टोलीले पाकिस्तानी सेनाका प्रभावशाली प्रमुख जेनरल आसिम मुनीरसँग भेट गर्‍यो।

पाकिस्तानले कराँचीको तटमा फेब्रुअरीमा आयोजना गरेको बहुराष्ट्रिय सामुद्रिक अभ्यासमा पनि बाङ्ग्लादेशको जलसेनाले भाग लियो।

सन् २००३ देखि २००६ सम्म बाङ्ग्लादेशका लागि भारतको उच्चायुक्त रहेकी वीणा सिकरीले ढाका र इस्लामाबादबीच बढ्दो निकटता "दिग्भ्रमित गराउने" क्षण भएको बताइन्।

ढाकामा आफ्नो कार्यकालभरि भारतले "भारतीय विद्रोहीहरूलाई पाकिस्तानको गुप्तचर निकाय आईएसआई र बाङ्ग्लादेशी सेनाको एउटा पक्षको सहयोगमा बाङ्ग्लादेशको भूमिमा तालिम दिइरहेको" विषय बारम्बार उठाएको उनी सम्झन्छिन्।

"हामीले बाङ्ग्लादेशी अधिकारीहरूलाई त्यसको प्रमाण समेत दिएका थियौँ," उनी भन्छिन्।

त्यसबेला पाकिस्तान र बाङ्ग्लादेश दुवै देशका अधिकारीहरूले अस्तो आरोप अस्वीकार गरेका थिए।

'सुरक्षा चिन्ता'

भारत-बाङ्ग्लादेश सीमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारत र बाङ्ग्लादेशबीच लामो र खुला सीमा छ

भारत र बाङ्ग्लादेशबीचको लामो र खुला सीमानाका कारण भारतका उत्तरपूर्वी राज्यका विद्रोही समूहहरूलाई बाङ्ग्लादेश प्रवेश गर्न सहज छ। तर सन् २००९ मा हसिनाको अवामी लीग सत्तामा पुगेपछि सरकारले यो समूहमाथि कारबाही सुरु गर्‍यो र आधार इलाकाहरू ध्वस्त बनायो।

त्यसकारण बाङ्ग्लादेश र पाकिस्तानबीचको सैन्य सम्बन्ध पुनर्स्थापित हुनु "भारतका लागि प्रमुख सुरक्षा चिन्ताको विषय" भएको सिकरी बताउँछिन्।

"यो सैन्य सम्बन्धमा मात्रै सीमित छैन। पाकिस्तानको संस्थापनले जमात-ए-इस्लामीजस्ता बाङ्ग्लादेशका इस्लामिक दलहरूसँग पनि आफ्नो सम्बन्ध ब्युँताउँदै छ। यो पार्टीले बाङ्ग्लादेश स्वतन्त्रता युद्धका क्रममा इस्लामावादलाई समर्थन गरेको थियो," उनी भन्छिन्।

पाकिस्तानी गुप्तचर संस्था आईएसआईका वरिष्ठ अधिकारीहरूले ढाकाको भ्रमण गरेकोबारे भारतीय सञ्चारमाध्यममा आएका विवरणहरू युनुस प्रशासनको प्रेस कार्यालयले खण्डन गरेको छ। उक्त कार्यालयले भारतीय विद्रोहीका लागि बाङ्ग्लादेशमा पुनः क्याम्पहरू खोल्न लागिएको दाबी गरिएका विवरणहरू पनि "निराधार" रहेको उल्लेख गरेको छ।

बाङ्ग्लादेशमा हुन सक्ने आईएसआईको भावी भूमिकाबारे बीबीसीको प्रश्नमा पाकिस्तानी सेनाले कुनै जबाफ दिएन।

विश्लेषकहरूले भारतसँगको आर्थिक तथा भाषिक निकटताका कारण ढाकाले भारतविरोधी अडान लिन नसक्ने विषयमा बाङ्ग्लादेशका राजनीतिज्ञहरू जानकार रहेको बताएका छन्।

सामान्य सम्बन्धको सम्भाव्यता

पाकिस्तानबाट स्वतन्त्र हुनका लागि बाङ्ग्लादेशले गरेको लडाइँमा भारतीय सेनाको साथ थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानबाट स्वतन्त्र हुनका लागि बाङ्ग्लादेशले गरेको लडाइँमा भारतीय सेनाको साथ थियो

दिल्लीमा अनेक आशङ्का भए पनि सन् १९७१को युद्धसँग सम्बन्धित विषयहरू समाधान नभएसम्म यो देशको पाकिस्तानसँगको सम्बन्ध सामान्य नहुने बाङ्ग्लादेशी विश्लेषकहरूको तर्क छ।

उक्त युद्धका समयमा हजारौँ बाङ्ग्लादेशीहरू मारिएका थिए भने हजारौँ महिला बालात्कृत भएका थिए। भारत र बाङ्ग्लादेशको संयुक्त फौजसँग ९० हजार पाकिस्तानी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि उक्त युद्ध अन्त्य भएको थियो।

यसलाई इस्लामावादको इतिहासमा अपमानजनक अध्यायको रूपमा हेर्ने गरिन्छ।

युद्धको समयमा भएका अत्याचारहरूबारे बाङ्ग्लादेशले पाकिस्तानबाट औपचारिक माफी माग गरेको छ तर इस्लामावादले त्यसो गर्ने कुनै इच्छा देखाएको छैन।

"स्वतन्त्रता युद्धमा भएका अपराधहरुको जिम्मा पाकिस्तानले लिनुपर्छ," पूर्व बाङ्ग्लादेशी कूटनीतिज्ञ कबीर भन्छन्।

"हामीले कैयौँ द्विपक्षीय बैठकहरूमा सन् १९७१ अघिका सम्पत्तिहरू दुई देशबीच विभाजन गर्ने माग पनि पाकिस्तानसँग उठाएका छौँ।"

इकराम सहगलजस्ता पाकिस्तानी सेनाका पूर्व अधिकारीहरूले पनि "सन् १९७१मा भएका घटनामा पाकिस्तानले माफी माग्नुपर्ने बाङ्ग्लादेशको माग द्विपक्षीय सम्बन्धमा प्रमुख व्यवधान" रहेको स्वीकार गरेका छन्।

पाकिस्तानी सेनाका अवकाशप्राप्त मेजर स्वतन्त्रता सङ्घर्षका समयमा उर्दू भाषीमाथि बङ्गालीले गरेको आक्रमणको जिम्मेवारी बाङ्ग्लादेशले पनि लिनुपर्ने बताउँछन्।

"पूर्वी पाकिस्तानमा उर्दूभाषी बिहारी जनतामाथि भएको अत्याचारको म पनि प्रत्यक्षदर्शी थिएँ," हाल कराँची बस्ने सहगलले बीबीसीसँग भने।

ढाका र इस्लामावादको बढ्दो सम्बन्धमा इतिहासको छाया परे पनि अर्थशास्त्रीहरू दुई देश द्विपक्षीय व्यापार बढाउनेमा सबैभन्दा पहिले केन्द्रित हुनुपर्ने बताउँछन्। यी दुई देशबीचको व्यापार अहिले ७० करोड अमेरिकी डलरभन्दा कम आकारमा सीमित छ र यसको फाइदा पाकिस्तानले लिइरहेको छ।

"पाकिस्तानको २५ करोड जनसङ्ख्या बाङ्ग्लादेशका लागि मध्य र दीर्घकालका लागि एउटा भरपर्दो बजार हो," डेलावेअर विश्वविद्यालयमा अर्थशास्त्रकी सहप्राध्यापक सबरीन बेग भन्छिन्।

तत्कालका लागि यसका लागि प्रमुख बाधक दुवै देशले लगाएको उच्च भन्सार शुल्क छ। अर्को व्यवधान व्यवसायी र निर्यातकर्ताले खेप्ने भिसा र यात्रा कठिनाइ हुन सक्ने उनी बताउँछिन्।

यद्यपि "द्विपक्षीय राजनीतिक र व्यापारिक सम्बन्धमा सुधार हुँदा यी व्यवधानहरू पनि सहज हुने" बेग बताउँछिन्।

आगामी एप्रिलमा हुने पाकिस्तानी विदेशमन्त्री इशाक डारको ढाका भ्रमणका क्रममा यसमध्ये केही विषयमा छलफल हुने ठानिएको छ। तर वर्षको अन्त्यसम्ममा बाङ्ग्लादेशमा आमनिर्वाचन हुने अपेक्षा छ र त्यसपछि आउने सरकारको विदेश नीतिका प्राथमिकता फरक पर्न पनि सक्छन्।

जे भए पनि भारत बाङ्ग्लादेशसँग सम्बन्ध सुधार गर्ने दाउ पर्खिएर बसेको छ। दिल्लीले ढाकासँगको सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध देशका उत्तरपूर्वी राज्यहरूमा शान्ति र स्थायित्वका लागि महत्त्वपूर्ण ठान्ने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।