शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय

शेख हसिना

तस्बिर स्रोत, Getty Images

    • Author, रेहान फजल
    • Role, बीबीसी हिन्दी

बाङ्ग्लादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिइन्।

७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसङ्ख्या भएको देशकी प्रधानमन्त्री थिइन्।

बाङ्ग्लादेशका विद्यार्थीहरूले गत महिनादेखि सरकारी जागिरमा आरक्षणलाई लिएर विरोध गरिरहेका थिए।

यो प्रावधानअन्तर्गत सन् १९७१ मा देशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई बाङ्ग्लादेशमा ३० प्रतिशत आरक्षण दिइँदै आएको थियो।

तर, पछि बाङ्ग्लादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरे पनि प्रदर्शनकारीहरू शेख हसिनाको राजीनामाको मागमा अडिग रहे।

यो घटना हुनुअघि शेख हसिनाले भारतमा शरण लिएकी थिइन् र त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धी थिइन्।

‘इन्दिरा गान्धी आफैँले उठाएको त्यो फोन’

इन्दिरा गान्धीसँग शेख मुजिबुर रहमान

तस्बिर स्रोत, PIB

तस्बिरको क्याप्शन, इन्दिरा गान्धीसँग शेख मुजिबुर रहमान

अगस्ट १५, १९७५: शेख हसिना आफ्ना श्रीमान् डाक्टर वाजेद र बहिनी रेहानासँग ब्रसल्समा बाङ्ग्लादेशका राजदूत सनउल हकसँग बसिरहेकी थिइन्।

त्यहाँबाट उनीहरू प्यारिस जानुपर्ने थियो तर एक दिनअघि कारको ढोकामा डाक्टर वाजेदको हात परेपछि प्यारिस जाने वा नजाने सोच्दै गर्दा बिहान ६ः३० बजे राजदूत सनउल हकलाई फोन आयो।

अर्को छेउमा जर्मनीका लागि बाङ्ग्लादेशका राजदूत हुमायुन रसिद चौधरी थिए।

उनले त्यो दिन बिहानै बाङ्ग्लादेशमा सैन्य विद्रोह भएको बताए। उनले प्यारिस नजान र तुरुन्तै जर्मनी फर्किन आग्रह गरे।

राजदूत सनउल हकले शेख मुजिबुर सैन्य विद्रोहमा मारिएको थाहा पाएपछि शेख हसिना, डाक्टर वाजेद र रेहानालाई सहयोग गर्न अस्वीकार गरे।

त्यति मात्रै होइन हकले हसिनाहरूलाई आफ्नो घर छोड्न पनि भने।

सन् २०१६ मा शेख मुजिबुरको पुण्यतिथिमा आयोजित एक कार्यक्रममा उक्त घटनालाई स्मरण गर्दै शेख हसिनाले भनिन्, "हामी उहाँका लागि बोझ बनेका थियौँ यद्यपि शेख मुजिबुरले उनलाई बेल्जियमका लागि बाङ्ग्लादेशको राजदूत बनाएका थिए र त्यो राजनीतिक नियुक्ति पनि थियो। उनले हामीलाई जर्मनी जानको लागि कार दिन पनि मानेनन्।"

यद्यपि जर्मनीका लागि बाङ्ग्लादेशका राजदूत हुमायुन रसिद चौधरीको सहयोगमा उनीहरू कुनै न कुनै तरीकाले जर्मनी पुगे।

आधा घण्टामै युगोस्लाभिया भ्रमणमा रहेका बाङ्ग्लादेशका विदेशमन्त्री डाक्टर कमल हुसेन पनि त्यहाँ पुगेका थिए।

त्यो साँझ जर्मनीको प्रसारण संस्था डोयचेवेले र केही जर्मन अखबारका पत्रकारहरू राजदूतको घरमा उनको प्रतिक्रिया लिन आए।

हुमायुन रशिद चौधरी

तस्बिर स्रोत, UNITED NATIONS

तस्बिरको क्याप्शन, हुमायुन रशिद चौधरी

शेख हसिना र उनकी बहिनी रेहाना यति स्तब्ध भएका थिए कि उनीहरू सञ्चारकर्मीसँग बोलेनन्।

विदेशमन्त्री कमल हुसेन पनि त्यहाँ उपस्थित थिए तर एक शब्द पनि बोलेनन्।

राजदूत चौधरीले पक्कै पनि शेख मुजिबुरका दुवै छोरी आफूसँग रहेको भन्ने सञ्चारकर्मीलाई बताएका थिए।

यसैबीच युगोस्लाभियाका राष्ट्रपति मार्शल टिटोले उनीहरूको स्वास्थ्य अवस्थाबारे सोधे तर उनीहरू अब कहाँ बस्ने भन्ने स्पष्ट भएको थिएन।

शेख मुजिबुर रहमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शेख मुजिबुर रहमान

हुमायुन रशीद चौधरीका छोरा नौमान रशीद चौधरीले बाङ्ग्लादेशको प्रसिद्ध पत्रिका ‘द डेली स्टार’को अगस्त १५, २०१४ अंकमा एउटा लेख लेखेका थिए।

'बंगबंधुज डटर्स' शीर्षकको लेखमा उनले भने, "मेरो बुबाले पश्चिम जर्मनीका लागि भारतका राजदूत वाईके पुरीलाई कूटनीतिक समारोहमा सोध्नु भयो- के भारतले शेख हसिना र उनको परिवारलाई राजनीतिक शरण दिन सक्छ?"

उनले त्यसबारे सोधखोज गर्ने जबाफ दिए।

"भोलिपल्ट उहाँ मेरो बुवालाई अफिसमा भेट्न आउनुभयो र भन्नुभयो- सामान्यतया भारतमा राजनीतिक शरण दिने प्रक्रिया लामो छ। उहाँले मेरा बुवालाई एक विशेष सुझाव दिनुभयो," उनले भने।

"स्वतन्त्र हुनुअघि बाङ्ग्लादेश मिzनको प्रमुख हुनु भएकाले तपाईँ दिल्लीमा धेरै प्रसिद्ध हुनुहुन्छ। तपाईँलाई इन्दिरा गान्धी र उनका सल्लाहकारहरू डीपी धर र पीएन हक्सारले मन पराउँछन्। तपाईँ आफैँले उनीहरूलाई किन सम्पर्क नगर्ने?"

चौधरीले पुरीको उपस्थितिमै डीपी धर र हक्सारलाई फोन गरे। तर त्यतिबेला दुवै भारतबाहिर थिए।

उनी इन्दिरा गान्धीलाई फोनमा बोलाउन हिचकिचाउँथे किनभने दुवैको हैसियतमा धेरै भिन्नता थियो । उनी देशकी प्रधानमन्त्री थिइन् भने चौधरी सामान्य राजदूत मात्र थिए।

उनले इन्दिरा गान्धीलाई धेरै पटक भेटेका थिए तर पछिल्ला तीन वर्षदेखि उनको कुनै सम्पर्क थिएन।

राजनीतिमा तीन वर्ष लामो समय हो। त्यति बेला भारतमा सङ्कटकाल थियो र इन्दिरा गान्धी आफैँ आफ्नै समस्यासँग सङ्घर्ष गरिरहेकी थिइन्।

नौमन रशिद चौधरी लेख्छन्, "कुनै पनि ठाउँबाट कुनै सङ्केत नदेखिएपछि हुमायुन चौधरीले इन्दिरा गान्धीको कार्यालयमै फोन गरे। यो नम्बर उनलाई भारतीय राजदूत पुरीले दिएका थिए। चौधरीले यो कल टेलिफोन अपरेटरभन्दा परसम्म पुग्ला भन्ने आशा गरिरहेका थिएनन्। तर उनी स्तब्ध भए जब इन्दिरा गान्धी आफैँले त्यो फोन उठाइन्। उनले इन्दिरा गान्धीलाई सबै कुरा बताए। बंगबन्धुका छोरीहरूलाई राजनीतिक शरण दिन गान्धी तुरुन्तै तयार भइन्।"

अगस्ट १९ मा राजदूत पुरीले चौधरीलाई शेख मुजिबुरका छोरीहरू र उनीहरूको परिवारलाई दिल्ली पुर्‍याउने प्रबन्ध तुरुन्तै मिलाउन दिल्लीबाट निर्देशन आएको बताए।

युरोपबाट भारत पुगिन् शेख हसिना

शेख हसिना आफ्नी बहिनी रेहानासँग

तस्बिर स्रोत, SIRAJUDDIN AHMED

तस्बिरको क्याप्शन, शेख हसिना आफ्नी बहिनी रेहानासँग

२४ अगस्ट १९७५ मा शेख हसिना र उनको परिवार एअर इन्डियाको विमानबाट दिल्लीको पालम एअरपोर्ट पुगे।

उनलाई मन्त्रिपरिषद्का सहसचिवले स्वागत गरेका थिए। पहिले उनलाई रअको ५६, रिङरोडस्थित सेफ हाउसमा लगियो।

पछि उनलाई डिफेन्स कोलोनीको घरमा सारिएको थियो। दश दिनपछि सेप्टेम्बर ४ तारिखमा रअका अफिसरले उनलाई सफदरजंग रोडस्थित प्रधानमन्त्री इन्दिरा गान्धीको निवास लगे।

इन्दिरा गान्धीलाई भेटेपछि शेख हसिनाले सोधिन्, "के तपाइँसँग १५ अगस्टमा के भयो भन्ने पूर्ण जानकारी छ?"

त्यहाँ उपस्थित एक अधिकारीले उनको परिवारको कुनै सदस्य जीवित नरहेको बताए। यो सुनेर शेख हसिना रुन थालिन्।

शेख हसिनाका जीवनी लेखेका सिराजुद्दीन अहमदले लेखेका छन्, "इन्दिरा गान्धीले हसिनालाई अँगालो हालेर सान्त्वना दिने प्रयास गरेकी थिइन्। उनले भनेकी थिइन् कि तिमीलाई पर्न गएको नोक्सानी पूर्ति हुन सक्दैन। तिम्रा एक छोरा र छोरी छन्। आजदेखि तिमीले आफ्नो छोरालाई आफ्नो बुबाको रूपमा र छोरीलाई आमाको रूपमा सम्झनू।"

शेख हसिना आफ्ना बुबासँग

तस्बिर स्रोत, SIRAJUDDIN AHMED

तस्बिरको क्याप्शन, शेख हसिना आफ्ना बुबासँग

सिराजुद्दीन अहमदका अनुसार भारतमा रहँदा इन्दिरा गान्धीसँग शेख हसिनाको भेट यही एक पटक मात्रै भएको थियो। तर रअका गुप्तचर अधिकारीहरूका अनुसार शेख हसिना र इन्दिरा गान्धीबीच धेरै पटक भेटघाट भएका थिए।

यस भेटको दश दिनपछि शेख हसिनालाई इन्डिया गेट नजिकैको पाण्डारा पार्कको सी ब्लकमा फ्ल्याट दिइएको थियो। त्यहाँ तीन वटा शयन कक्ष र केही फर्निचरहरू थिए। बिस्तारै उनले केही फर्निचर किन्न थालिन्।

उनलाई मानिससँग भेटघाट नगर्न र घरबाट बाहिर ननिस्कन कडा सल्लाह दिइएको थियो। उनलाई व्यस्त राख्न टेलिभिजन पनि दिइएको थियो।

त्यतिबेला टेलिभिजनमा एउटा मात्र च्यानल दूरदर्शन आउँथ्यो र त्यो पनि दिनभरिमा जम्मा दुई घण्टा।

सुरक्षामा खटिएका अधिकारीहरूको परिचय नै परिवर्तन

शेख हसिना आफ्नो परिवारसँग

तस्बिर स्रोत, SIRAJUDDIN AHMED

तस्बिरको क्याप्शन, शेख हसिना आफ्नो परिवारसँग।

नाम नखुलाउने सर्तमा रअका एक पूर्व गुप्तचर अधिकारी भन्छन्, “शेख हसिनाको सुरक्षाका लागि दुई जना तैनाथ गरिएको थियो। एक जना इन्स्पेक्टर सत्तो घोष थिए, जसलाई पश्चिम बंगालबाट बोलाइएको थियो र अर्का सन् १९५० ब्याचका आईपीएस अधिकारी पीके सेन थिए। चाखलाग्दो कुरा के हो भने इन्स्पेक्टर घोष हसिनाको सुरक्षामा तैनाथ थिए भने आईजी स्तरका पीके सेनलाई हसिनाको सुरक्षामा छायाँ जस्तै गरी खटाइएको थियो ।

अक्टोबर १, सन् १९७५ मा हसिनाका श्रीमान् डाक्टर वाजेदलाई पनि परमाणु ऊर्जा विभागमा फेलोशिप प्रदान गरिएको थियो।

रअका पूर्व अधिकारी भन्छन्, "शेख हसिनाको सबै खर्च भारत सरकारले बेहोरेको थियो। उनलाई नाममात्रैको खर्च दिइएको थियो र त्यो पनि कोलकातामा बस्ने उनका एक स्रोत चित्तरञ्जन सुतारमार्फत् उपलब्ध गराइएको थियो।"

हसिनाको दिल्ली बसाइलाई पूर्ण रूपमा गोप्य राख्ने प्रयास भए पनि बाङ्ग्लादेश सरकारलाई शेख हसिनाको परिवार दिल्लीमा बसेको थाहा थियो।

सन् १९७६ को मे महिनाको सुरुमा भारतका लागि बाङ्ग्लादेशका उच्चायुक्त शमसुर रहमान र उनकी श्रीमती शेख हसिना र उनकी बहिनी रेहानालाई भेट्न उनीहरूकै निवासमा गएका थिए। हसिना र उनकी बहिनीले उनीहरूलाई अँगालो हालेर रोएका थिए।

शेख रेहाना सन् १९७६ मा उच्च माध्यामिक तहको परीक्षामा सहभागी हुन लागेकी थिइन् तर बाङ्ग्लादेशको घटनाका कारण उनको पढाइ रोकिएको थियो।

सन् १९७६ को जुलाईमा शान्तिनिकेतनमा उनको भर्नाको प्रबन्ध मिलाइएको थियो तर सुरक्षाको कारणले पछि यो विचार त्याग्नुपर्‍यो।

त्यही महिनाको २४ तारिखमा शेख रेहानाले लन्डनमा शफिक सिद्दीकीसँग विवाह गरिन्। तर शेख हसिना र उनका श्रीमान् त्यो विवाहमा सहभागी हुन सकेनन्।

मोरारजी देसाईले शेख हसिनाको सुरक्षा घटाए

मोरारजी देसाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इन्दिरा गान्धी सन् १९७७ को चुनावमा पराजित भइन् र नयाँ प्रधानमन्त्री मोरारजी देसाईले हसिनालाई दिइएको सुरक्षा व्यवस्था घटाइदिए

यस अवधिमा इन्दिरा सरकारका मन्त्री प्रणव मुखर्जी र उनको परिवार हसिना र उनको परिवारसँग निरन्तर सम्पर्कमा थिए। धेरै पटक हसिनाका छोराछोरीहरू प्रणव मुखर्जीको सरकारी घरमा खेलिरहेका देखिन्थे।

प्रणव मुखर्जीले आफ्नो आत्मकथा 'ड्रामाटिक डिकेड'मा लेखेका छन्- दुवै परिवार प्रायः भेट्ने मात्रै होइन दिल्ली बाहिर 'पिकनिक'मा पनि जाने गर्थे।

यसैबीच सन् १९७७ मा चुनाव भयो र इन्दिरा गान्धी चुनावमा पराजित भइन्। नयाँ प्रधानमन्त्री मोरारजी देसाईले रअको सञ्चालनमा खासै चासो दिएनन्।

एमए वाजेद मियाँ आफ्नो पुस्तक 'बंगबन्धु शेख मुजिबुर रहमान' मा लेख्छन्- शेख हसिना र डा. वाजेदले रेहानालाई दिल्ली ल्याउने सन्दर्भमा अगस्ट १९७७ मा मोरारजी देसाईलाई भेटे। मोरारजी देसाईले रेहानालाई दिल्ली आउने व्यवस्था पनि गरिदिए। रेहाना आइन्। सन् १९७७ डिसेम्बरको दोस्रो साता दिल्ली पुगेकी रेहाना शेख हसिनासँग उनको पाण्डारा पार्क फ्ल्याटमा बस्न थालिन्।

तर बिस्तारै मोरारजी देसाईले हसिनाको संरक्षणबाट हात झिक्न थाले।

प्रणव मुखर्जी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रणव मुखर्जीले आफ्नो आत्मकथा 'ड्रामाटिक डिकेड'मा लेखेका छन् कि दुवै परिवार प्रायः भेट्ने मात्रै होइन दिल्ली बाहिर 'पिकनिक'मा पनि जाने गर्थे

सिराजुद्दीन अहमद लेख्छन्, "विस्तारै-विस्तारै डा. वाजेद र हसिनालाई यस्तो दबाव दिइयो कि उनीहरू आफै भारत छोडेर कतै जानुपर्छ। पहिले उनीहरूको बिजुलीको बिल भुक्तानी रोकियो र त्यसपछि गाडीको सुविधा पनि बन्द गरियो। डा. वाजेदले आफ्नो फेलोशिपको म्याद एक वर्ष थप गर्न आवेदन दिए तर तीन महिनासम्म कुनै प्रतिक्रिया आएन। उनलाई आर्थिक समस्या भयो। मोरारजीले अन्ततः फेलोशिप जम्मा एक वर्ष बढाउन आदेश दिए।

जनवरी १९८० मा इन्दिरा गान्धी फेरि सत्तामा आइन् र शेख हसिनाका सबै समस्या एक पटक फेरि हटे।

४ अप्रिल १९८० मा शेख हसिना रेहानालाई भेट्न आफ्ना छोराछोरीसहित लन्डन गएकी थिइन्।

सन् १९८० मा नै अवामी लीगका धेरै नेता शेख हसिनालाई भेट्न दिल्ली आए र उनलाई ढाका फर्किन अनुरोध गरे।

डाक्टर वाजेद हसिना ढाका फर्किऊन् भन्ने पक्षमा थिएनन्। हसिना प्रत्यक्ष राजनीतिबाट टाढा रहनुपर्छ भन्ने उनको मान्यता थियो।

शेख हसिना

तस्बिर स्रोत, Getty Images

अन्ततः मे १७, १९८१ मा शेख हसिना आफ्नी छोरी र अवामी लीगका नेता अब्दुस समद आजाद र कोरबान अलीसँग ढाका प्रस्थान गरिन्।

उनलाई ढाका एअरपोर्टमा १५ लाख मानिसले स्वागत गरेका थिए।

फेब्रुअरी सन् १९८२मा डा. वाजेदले बाङ्ग्लादेश परमाणु आयोगमा आवेदन दिए। उक्त आयोगले उनलाई बस्नका लागि महाखालीमा दुई कोठाको घर दिएको थियो।

हसिना र वाजेदसँगै त्यही घरमा बसे र उनीहरूले छोराछोरीलाई स्कोल्स्का माध्यमिक विद्यालय धानमण्डीमा भर्ना गरे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।