बाङ्ग्लादेशमा प्रधानमन्त्री हसिनाको सत्ता ढाल्ने आन्दोलनको झिल्को कसरी सल्कियो?

शेख हसिना

तस्बिर स्रोत, Getty Images

    • Author, अन्बरसन इतिराजन र हाना रिची
    • Role, बीबीसी न्यूज

बाङ्ग्लादेश एउटा ऐतिहासिक मोडमा छ।

हप्तौँदेखिको सरकार विरोधी प्रदर्शनले लामो समय सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाको शासनलाई ढालिदिएको छ र एउटा अन्तरिम सरकार गठन हुने अपेक्षा गरिएको छ।

राजीनामा दिएर सोमबार हसिना देशबाट भागे पश्चात उनको ढाकास्थित सरकारी निवासमा ठूलो भीड प्रवेश गरेर लुट मच्चाएको थियो। बाङ्ग्लादेशको राजधानीमा अन्यत्र लुटपाट र अव्यवस्थाका विवरण आएका छन्।

हिंसामा २० जनाभन्दा बढीको निधन भएको बताइएको छ। यसअघि आइतवार ९० जना मारिएका थिए जसलाई बाङ्ग्लादेशको एक दिनको प्रदर्शनमा भएको सबैभन्दा ठूलो मानवीय क्षति भनिएको छ।

आलोचकहरूका भनाइमा हसिना आफ्नो १५ वर्षे शासन अवधिमा दिन प्रति दिन निरङ्कुश बन्दै गएकी थिइन्। हाल उनी भारतमा छिन्। उनी त्यहाँ नै बस्छिन् वा त्यहाँबाट अन्यत्र जानेछिन् प्रस्ट भइसकेको छैन।

प्रदर्शन कसरी सुरु भयो?

विश्वविद्यालयका हजारौँ विद्यार्थीहरूले जुलाईको सुरुबाट सरकारी जागिरमा आरक्षण प्रणालीको विरोध गर्दै प्रदर्शन थालेका थिए।

सन् १९७१ मा पाकिस्तानबाट बाङ्ग्लादेश स्वतन्त्र हुँदा त्यो लडाइँमा भूमिका खेलेका व्यक्तिका सन्तानहरूका लागि सरकारी जागिरमा एक तिहाइ स्थान आरक्षित गरिएका थिए।

अभियानकर्ताहरूले त्यस्तो प्रावधान विभेदकारी भएको भन्दै त्यो खारेज हुनु पर्ने माग गरिरहेका थिए। उनीहरूका अधिकांश माग सम्बोधन भए लगत्तै उक्त विरोध प्रदर्शन सरकार विरोधी एउटा वृहत् प्रदर्शनका रूपमा परिणत भएको थियो।

युनिभर्सिटी अफ ढाकामा समाजशास्त्रकी सहायक प्राध्यापक डा समिना लुत्फाले अघिल्लो महिना बीबीसीसँग भनेकी थिइन्, “अब त्यहाँ विद्यार्थीहरू मात्र छैनन्, यस विरोध आन्दोलनमा अब सबै खाले मानिसहरू जोडिएका छन्।”

आन्दोलन चर्किएपछि भएको हिंसामा ३०० भन्दा बढी मानिसहरू मारिएका बताइएको छ।

बाङ्ग्लादेशी सञ्चारमाध्यम र विरोध प्रदर्शनकारीहरूले मृतकको सङ्ख्या त्यसरी वृद्धि हुनुमा प्रहरीलाई आरोप लगाउँदै आएका छन्।

सरकारले प्रहरी अधिकारीहरूले आत्मरक्षा वा सरकारी सम्पत्तिको सुरक्षाका लागि मात्रै गोली चलाएको बताएको थियो।

प्रधानमन्त्री हसिनाको सरकारले बारम्बार देशका विभिन्न भागमा इन्टरनेट काटिदिएको थियो भने देशव्यापी कर्फ्युहरू लगाइएको थियो। आफू विरुद्ध प्रदर्शन गर्नेहरूलाई प्रधानमन्त्री हसिनाले ‘देशलाई अस्थिर बनाउने’ प्रयास गरिरहेका ‘आतङ्कवादी’ भनेकी थिइन्।

तर नागरिक अवज्ञाको उक्त अभियानले पछि हट्ने कुनै सङ्केत दिएन। र निरन्तरको तनावले थप रक्तपातपूर्ण परिस्थिति निम्याउनसक्ने भय प्रकट हुँदै आएको थियो।

उक्त प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ

तस्बिर स्रोत, Getty Images

विद्यार्थीहरू किन आक्रोशित भए?

बाङ्ग्लादेशमा लामो समयदेखि असन्तुष्टि बढ्दै आएको थियो र यी विरोध प्रदर्शनहरू शून्यतामा भएका होइनन्।

१७ करोड जनसङ्ख्या रहेको उक्त देश विश्वमै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेका मुलुकहरू मध्येमा थियो।

तर विज्ञहरूले उक्त आर्थिक वृद्धिले विश्वविद्यालय उत्तीर्ण गर्नेहरूलाई रोजगारीको सृजना नगरिरहेको बताउँदै आएका थिए।

विभिन्न आकलनका अनुसार यतिखेर झन्डै १ करोड ८० लाख बाङ्ग्लादेशीहरू जागिरको खोजीमा छन्।

कम पढेका मानिसहरू भन्दा विश्वविद्यालयको पढाइ पूरा गरेकाहरूमा उच्च बेरोजगारी दर रहेको पाइन्छ।

तयारी पोसाकका लागि बाङ्ग्लादेश एउटा मुख्य केन्द्रका रूपमा छ जसले विश्व बजारमा झन्डै ४० अर्ब डलर बराबरको लत्ताकपडा निर्यात गर्छ।

उक्त क्षेत्रमा ४० लाखभन्दा धेरै मानिसहरूले काम गरिरहेका छन्। तीमध्ये धेरैजसो महिलाहरू छन्।

तर उत्साहि युवा पुस्ताका लागि कारखानाको जागिर पर्याप्त छैन।

त्यही भएर उनीहरू सरकारी जागिरमा भएको कोटा प्रणाली अन्त्य भएको हेर्न चाहन्थे। किनभने त्यस्तो हुँदा उनीहरूका लागि रोजगारीको अवसर बढ्ने थियो।

प्रदर्शन किन चर्कियो?

सर्वोच्च अदालतले कोटा प्रणालीलाई खारेज गरेपनि विरोध प्रदर्शनहरू विद्यार्थीभन्दा बाहिरको समूहमा पनि फैलिएको थियो। किनभने निर्मम दमनका कारण हसिना नेतृत्वको सरकारमाथिको आक्रोश चुलिएको थियो।

शेख हसिनाको सरकारले नयाँ सडकहरू, कारखाना र राजधानी ढाकामा मेट्रो रेल समेत बनाएर ठूला परिवर्तनहरू गरेको थियो। उसमाथि चरम भ्रष्टाचारको पनि आरोप लाग्ने गरेको छ।

बाङ्ग्लादेशमा पछिल्लो दशकमा प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ भने २० वर्षमा २ करोड ५० लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर आएको विश्व ब्याङ्कले जनाएको छ। तर धेरैले उक्त वृद्धिले प्रधानमन्त्रीको अवामी लिग निकटहरूलाई फाइदा पुर्‍याएको ठान्दै आएका छन्।

डा लुत्फाको भनाइ छ: “हामी निकै भ्रष्टाचार देखिरहेका छौँ। खासगरी त्यो सत्तारुढ दलसँग नजिक भएकाहरूका हकमा देखिन्छ। लामो समयदेखि भ्रष्टाचार दण्डहीनतासाथ जारी छ।”

पछिल्ला महिनाहरूमा बाङ्ग्लादेशमा सामाजिक सञ्जालमा हुने चर्चामा हसिनाका पूर्व शीर्ष अधिकारीहरूलाई आरोप लगाइएका भ्रष्टाचारका कुरा हाबी हुने गरेका छन्।

जसमा पूर्व सेना प्रमुख, पूर्व प्रहरी प्रमुख, वरिष्ठ कर अधिकारीहरू र सरकारी रोजगार प्रदायक निकायका अधिकारीहरू छन्।

बाङ्ग्लादेशको भ्रष्टाचार छानबिन गर्ने आयोगले प्रहरीका पूर्व प्रमुख बेनजिर अहमदविरुद्ध छानबिन सुरु गरेको थियो।

कुनै बेला हसिनानिकट देखिएका उनलाई गैरकानुनी तरिकाबाट करोडौँ डलर कमाएको आरोप लागेको छ। तर उनले ती आरोप अस्वीकार गर्दै आएका छन्।

भ्रष्टाचारलाई सम्बोधन गर्ने वाचा हसिनाले गरेकी थिइन्। उनले केही समय पहिले आफ्ना एक जना घरेलु सहयोगीलाई राज्यको कोषबाट ३ करोड ४० लाख डलर अनधिकृत ढङ्गले कमाएको आरोपमा बर्खास्त गरेको बताएकी थिइन्।

यस्तो छक्क पार्ने खुलासाहरू बढ्दो दैनिक जीवनको खर्च धान्न सङ्घर्षरत देशका आमनागरिकहरूले थाहा नपाउने कुरै थिएन।

भ्रष्टाचारका आरोपबाहेक कैयौँ अधिकारवादीहरूले लोकतान्त्रिक गतिविधिको अवसर हसिनाको पछिल्लो १५ वर्षे शासनकालमा साँघुरिँदै गएको उल्लेख गर्छन्।

“सरकार र सत्तारूढ दल विरुद्धको आक्रोश लामो समयदेखि एक ठाउँमा थुप्रिँदै गएको थियो,” डा लुत्फाले भनिन्, “मानिसहरूले अहिले आक्रोश व्यक्त गरिरहेका हुन्। अरू कुनै उपाय बाँकी नभएपछि मानिसहरूले विरोध प्रदर्शनको बाटो समात्छन्।”

प्रदर्शकारी

तस्बिर स्रोत, Reuters

अब के हुन्छ?

बाङ्ग्लादेशमा अब के हुन्छ भनेर अहिले नै भन्न गाह्रो हुन्छ।

हसिनाको लामो कार्यकाल विवादित रहेपनि त्यसले केही स्थिरता र आर्थिक वृद्धि निम्त्याएको थियो। त्यस्तो आशाको माझ, उनको आकस्मिक राजीनामाले निम्त्याउने राजनीतिक शून्यतालाई लिएर चिन्ताहरू व्यक्त भएका छन्।

रिहा गर्ने राष्ट्रपतिको आदेश पछि कतिपय विद्यार्थी विरोध प्रदर्शनकारीहरूसँगै पूर्व प्रधानमन्त्री खालिदा जीया पनि थुनामुक्त भएकी छन्।

जीयाको दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी त्यहाँको प्रमुख विपक्षी दल हो र उसले सन् २०१४ र २०२४ को निर्वाचन बहिस्कार गरेको थियो। हसिनाको मातहत स्वतन्त्र र निष्पक्ष चुनाव हुननसक्ने धारणा उसले राख्दै आएको छ।

उनीहरूले एउटा तटस्थ कामचलाउ सरकारले चुनाव गराउनुपर्ने माग गर्दै आएका थिए। हसिनाले सधैँ त्यसलाई अस्वीकार गरेको भएपनि अब त्यसको सम्भावना छ।

विभिन्न देशका सरकारहरूले शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा शक्ति हस्तान्तरण गरिनुपर्ने अपिल सोमवार गरिरहँदा राजनीतिक दल र प्रदर्शनकारीहरूले संवाद गरेका छन्।

बाङ्ग्लादेशका सेनाप्रमुख जनरल वाकर उज जमानले देशमा अन्तरिम सरकार गठन गरिने बताएपनि त्यो कस्तो हुन्छ वा त्यसको नेतृत्व कसले गर्छ भन्नेबारे खासै खुलाएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।