बाङ्लादेशमा प्रधानमन्त्री शेख हसिनाद्वारा राजीनामा, देश छाडिन्

शेख हसिना

तस्बिर स्रोत, Reuters

बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेको बीबीसी बाङ्ग्लाले जनाएको छ।

हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।

स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना गणभवनबाट हेलिकप्टर चढेर देशबाट बाहिर गएका हुन्।

हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ।

बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो।

बाङ्ग्लाभाषाको पत्रिका 'प्रोथोम आलो'को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले 'साउन्ड ग्रिनेड' र अश्रुग्यास प्रहार गरेको थियो।

ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ।

ढाकामा सैनिकहरू

तस्बिर स्रोत, Getty Images

सडकमा सेना पनि

जुलुस हिंसक बन्न सक्ने आशङ्का गर्दै सरकारले ढाकामा सुरक्षाव्यवस्था कडा पारेको छ।

सेनाप्रमुख वकार-उज-जमानले स्थानीय समयानुसार अपराह्ण २ बजे सम्बोधन गर्न लागेका बताइएको थियो। ढाका विश्वविद्यालय, बाङ्ग्लादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको छ।

ढाकामा प्रहरीले गस्ती बढाएको छ भने काँडेतार राखेर विभिन्न सडकमा आवतजावत रोकेको छ। अधिकांश सडकहरू खाली देखिन्छन्।

प्रदर्शनकारी र प्रहरीबीच आइतवार ठाउँठाउँमा भिडन्त भएको थियो। अनिश्चितकालीन कर्फ्यू लागेको भए पनि सोमवार बिहानैदेखि राजधानी ढाकामा तनावको अवस्था देखिन्छ।

बाङ्ग्लादेशमा भएको हिंसक प्रदर्शन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आइतवार देशका विभिन्न स्थानमा भएको हिंसामा ९४ जनाको मृत्यु भएको एएफपीले जनाएको छ

नागरिक अवज्ञामा सहभागी हुन भन्दै दशौँ हजार प्रदर्शनकारीहरू शाहबाग क्षेत्रबाट जुलुस निकाल्ने तयारीमा थिए। त्यसलाई "ढाकासम्मको लामो मार्च" भनिएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरेका थिए।

"कर्फ्यू तोडेर मेरा धेरै साथीहरू र विभिन्न क्षेत्रका मानिसहरू विरोधप्रदर्शनमा सहभागी हुन आउँदै छन्। मानिसहरू ढाकाबाहिरबाट आउँदै छन्। बाहिरबाट आएका प्रदर्शनकारीहरूलाई मानिसहरूले आश्रय दिएका छन्। यो तल्लो तहदेखि भएको आन्दोलन हो," आन्दोलनकारी विद्यार्थी समूहसँग आबद्ध सायेम फारुकले बीबीसी संवाददाता सौतिक बिस्वासलाई ढाकाबाट फोनमा भने।

फारुकका अनुसार मानिसहरू २० किलोमिटर लामो बाटो हिँडेर ढाका विश्वविद्यालय जान लागेका थिए।

"सबै कुरा बन्द छ। असहयोग आन्दोलन चलेको छ। विद्यालय, कार्यालय र अदालतहरू बन्द छन्," उनले भने।

ढाकामा ठाउँठाउँमा बाटो बन्द गरिएको छ

आइतवार ठूलो हिंसा

सिराजगन्जस्थित एउटा प्रहरी चौकीमा आक्रमण हुँदा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ।

आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

बाङ्ग्लादेश प्रदर्शन

तस्बिर स्रोत, Reuters

स्थिति नियन्त्रणमा लिन सरकारले आइतवार साँझ ६ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यू घोषणा गरेको थियो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्किन रोक लगाइएको छ।

त्यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राति ९ बजेसम्म खुकुलो बनाइएको थियो। तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुन: कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।

प्रहरीले विरोध प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानमा अश्रुग्यास र रबरको गोली चलाएको थियो।

इन्टरनेट चल्न थाल्यो

सोमवार बाङ्ग्लादेशभरि इन्टरनेट पूरै बन्द गर्ने आदेश अधिकारीहरूले दिएको विवरण आएको थियो। प्रदर्शनकारीहरूबीच सञ्चार र समन्वय गर्न असहज होस् भनेर त्यसो गरिएको ठानिएको छ।

तर दिउँसो इन्टरनेट फेरि चल्न थाल्यो।

बाङ्ग्लादेशको कुल जनसङ्ख्या १७ करोडमध्ये अधिकांश मानिसले इन्टरनेट चलाउँछन्।

राजधानी ढाकामा आइतवार मोबाइल इन्टरनेट बन्द गरिएको थियो।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बाङ्ग्लासँग बताए थिए।

फेसबुक र ह्वाट्स्यापजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको विवरण सार्वजनिक भएको थियो।

सोमवार बिहान बाङ्ग्लादेशमा धेरै पढिने 'द ढाका ट्रिब्यून' र 'बाङ्ग्ला ट्रिब्यून'का वेबसाइटहरू बन्द भएका थिए।

अर्को लोकप्रिय समाचार वेबसाइट 'डेली स्टार बाङ्ग्ला' पनि खुलेको थिएन। तर दिउँसोदेखि ती वेबसाइट फेरि खुले।

ढाकामा भएको प्रदर्शन

तस्बिर स्रोत, EPA

आइतवारको प्रदर्शनका क्रममा झन्डै २०० जना घाइते भएको विवरण आएका छन्।

राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका थिए। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।

सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका थिए।

केही साताअघि 'कोटा प्रणाली' खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्।

बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ।

उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणमा आधारित छ।

एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो।

प्रधानमन्त्रीले के भनिन्

बाङ्ग्लादेश हिंसा

तस्बिर स्रोत, Reuters

प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई “आतङ्कवादी”को सङ्ज्ञा दिएकी थिइन्।

उनले आफ्नो इलाकामा प्रदर्शन हुन नदिन देशवासीहरूलाई आह्वान गरेको बीबीसी बाङ्ग्लाले जनाएको थियो।

विद्यार्थीहरूको प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले विगत केही सातामा झन्डै विपक्षी दलका १०,००० समर्थक र विद्यार्थीहरूलाई पक्राउ गरिएको थियो।

आइतवारबाट सुरु भएको अवज्ञा आन्दोलनका क्रममा विद्यार्थीहरूले सार्वजनिक सवारी र कलकारखानाहरू बन्दको आह्वान गरेका थिए।

प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले पनि आइतवार नै देशैभरि र्‍यालीको आयोजना गरेको थियो।

शेख हसिना को हुन्

शेख हसिना

तस्बिर स्रोत, Getty Images

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिएका थिए।

विगत १६ वर्षदेखि बाङ्ग्लादेशको सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।

शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।