किन धेरै नेपाली विद्यार्थी चिकित्साशास्त्र पढ्न बाङ्ग्लादेश जान्छन्?

बाङ्ग्लादेशमा मेडिलक अध्ययनरत विद्यार्थीसँग ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू

तस्बिर स्रोत, Nepal Embassy Dhaka

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली विद्यार्थीसँग ढाकास्थित नेपाली राजदूतले छलफल गरेका थिए
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

भक्तपुरकी अंकिता पाण्डेले गत वर्ष नेपालमा चिकित्साशास्त्र अध्ययनका लागि आवश्यक परीक्षा 'कमन इन्ट्रान्स एक्जाम' उत्तीर्ण गरिन् तर उनले नेपाली मेडिकल कलेजहरूमा भर्नाको कोटा बमोजिम स्थान पाउन सकिनन्।

नेपालमा अध्ययनका लागि कोटाभित्र नपरे पनि उनी चिकित्साशास्त्र नै अध्ययन गर्न चाहन्थिन्।

पारिवारिक सरसल्लाहमा उनीहरूले "घरबाट नजिकै र पढाइ पनि राम्रो हुने" कलेज खोज्ने निर्णय गरे र शैक्षिक परामर्शदातृ संस्थाको सहयोगमा बाङ्ग्लादेशको एउटा कलेज रोजे।

"नेपाली भूमिबाट खासै धेरै टाढा नपर्ने र बसमै आवतजावत गर्दा पनि सहज हुने भएकाले मैले बाङ्ग्लादेशको रङ्गपुर कम्युनिटी मेडिकल कलेजमा पढ्ने निर्णय गरेँ," उनले भनिन्।

"भारतीय सीमाबाट हाम्रो कलेज तीन/चार घण्टामा पुगिन्छ अनि भारतमा आएपछि त्यहाँबाट सिलीगुडी हुँदै काँकरभिट्टा आउन पनि धेरै समय लाग्दैन।"

अंकिता पाण्डे

तस्बिर स्रोत, Ankita Pandey

तस्बिरको क्याप्शन, भक्तपुरकी अंकिता पाण्डे बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्ययनरत छिन्

विद्यार्थीले बाङ्ग्लादेश रोज्नुको कारण

उनले पढाइ राम्रो हुने, नेपालीसँग खानालगायतका कुरामा पनि मिल्ने, घर आउनका लागि सहज हुनेलगायतका कारणले बाङ्ग्लादेशमा अध्ययनका लागि जाने निर्णय लिएको बताइन्।

"आपत् परिहाल्दा पनि सजिलै र चाँडै घर आइहाल्न सकिन्छ भन्ने हिसाबले पनि मैले त्यहाँ जाने निर्णय गरेकी हुँ," उनले बीबीसीसँग टेलिफोनमा भनिन्।

सोमवार बीबीसीसँग कुराकानी गर्दा उनी बाङ्ग्लादेशमा आरक्षणविरोधी आन्दोलन चर्किएर हिंसात्मक बनेपछि नेपालको पूर्वीसीमा हुँदै घर फर्कन भद्रपुर विमानस्थल आइपुगेकी थिइन्।

भद्रपुर विमानस्थलबाट टेलिफोनमा कुरा गर्दै उनले भनिन्, "नजिकैको कलेज भएकाले यस्तो आपत्‌मा पनि हामीलाई गाडीबाटै आउन सजिलो भयो।"

उनीसँगै सोही कलेजमा अध्ययन गर्न गएकी भक्तपुरकै श्लेषा काफ्ले पनि नेपालमा भर्ना हुने अवसर नपाएपछि बाङ्ग्लादेश अध्ययनका लागि गएको बताउँछिन्।

"कोटा नपाएपछि बाङ्ग्लादेशमा पढाइ पनि राम्रो हुन्छ र नजिकै पनि हुन्छ भनेर त्यहाँ जाने निर्णय गरेका हौँ," उनले भनिन्।

सोही कलेजमा अध्ययनरत र पाण्डे तथा काफ्लेसँगै स्वदेश फर्किँदै गरेकी ललितपुर इमाडोलकी सुशीला रानामगरको पनि बाङ्ग्लादेश रोज्नुको कारण लगभग उस्तै छ।

उनले भनिन्, "मैले पहिलो वर्ष नै इन्ट्रान्समा नाम त निकालेँ तर मेरिट अलि कम भएर नेपालमा भर्ना पाइनँ। यहाँ नपाएपछि सबैभन्दा राम्रो विकल्प कुन हो भन्दा बाङ्ग्लादेशको कुरा आएकाले म पनि त्यतै भर्ना भएँ।"

उनीहरू तीनै जना एक महिनाअघि मात्र बाङ्ग्लादेशको मेडिकल कलेजमा अध्ययनका लागि गएका हुन्।

बाङ्ग्लादेशमा आरक्षणविरोधी आन्दोलन चर्किएपछि श्वदेश फर्कने क्रममा भद्रपुर विमानस्थलमा अंकिता पाण्डे, श्लेषा काफ्ले र सुशीला रानामगर
तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा आरक्षणविरोधी आन्दोलन चर्किएपछि स्वदेश फर्कने क्रममा भद्रपुर विमानस्थलमा अंकिता पाण्डे, श्लेषा काफ्ले र सुशीला रानामगर

नेपालमा किन भर्ना पाइँदैन?

नेपालमा चिकित्सा शिक्षासम्बन्धी प्रवेश परीक्षा अर्थात् 'कमन इन्ट्रान्स एक्जाम' लिनेलगायतका काम चिकित्सा शिक्षा आयोगले गर्ने गर्छ।

सबै विद्यार्थीहरूले भर्ना नपाउनुको कारणबारे आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा भन्छन्, "संसारमा कहीँ पनि कुनै पनि विषय पढ्न चाहेका सबै विद्यार्थीले भर्ना पाउने अवस्था हुँदैन। त्योअनुसार कलेज हुन्छन् नै भन्ने पनि हुँदैन।"

"नेपालमा मेडिकल पढ्न चाहने विद्यार्थीको सङ्ख्या धेरै छ तर कलेज र त्यसमा पाइने कोटा थोरै छ। त्यसले गर्दा सबैले भर्ना नपाएका हुन्।"

आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार नेपालमा बर्सेनि करिब ६ हजार विद्यार्थीहरूले प्रवेश परीक्षामा नाम निकाल्छन्।

त्यसरी नाम निकाल्नका लागि न्यूनतम अङ्क ल्याउने भन्दा पनि परीक्षा दिनेमध्ये आधाको मात्र नाम निकालिने र त्यसो गर्दा जसले उच्च अङ्क ल्याउँछन् उनीहरूको मात्र नाम निस्कने अवस्था रहने अधिकारीहरूको भनाइ छ।

"नाम निकाल्ने विद्यार्थी ६ हजारको हाराहारी हुन्छन् यहाँ हामीसँग सरकारी तथा निजी गरेर २१ वटा कलेजहरूमा दुई हजार जतिको मात्र कोटा छ," झाले भने।

त्यो भनेको छात्रवृत्ति र आफ्नै खर्चमा पनि पढ्न पाउने विद्यार्थीहरूको सबैको सङ्ख्या भएको उनले जानकारी दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाङ्ग्लादेशबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, 'पढाइ पछि, ज्यान पहिला जोगाऔँ'

प्रवेश परीक्षामा नाम ननिकाल्ने पनि बाङ्ग्लादेश जान पाउँछन्?

चिकित्सा शिक्षा आयोग

तस्बिर स्रोत, MEC

कतिपयले नेपालको प्रवेश परीक्षामा नाम निकाल्न नसकेका विद्यार्थीहरू बाङ्ग्लादेश जाने गरेको भनेर "गलत धारणा" बनाएको र त्यसैअनुसार गलत प्रचार गरिरहेको झाको भनाइ छ।

"त्यो चाहिँ सरासर गलत कुरा हो, नेपालमा कमन इन्ट्रान्स एक्जाममा नाम ननिकालेको मान्छेले संसारको जुनसुकै देशमा गएर पढ्छु भन्दा पनि अध्ययन अनुमतिपत्र (इलिजिबिलिटी लेटर) पाउँदैनन्," उनले भने।

"त्यो नभइकन 'नो अब्जेक्सन लेटर' एनओसी पाउँदैनन्। एनओसी नभइकन विदेशमा पढ्न जान पाइँदैन।"

'त्यसो भए नाम निकालेका ६ हजारमध्ये लगभग चार हजार जति अध्ययनका लागि विदेश नै जान्छन् त?' भन्ने प्रश्नमा झा भन्छन्, "त्यसमध्ये कैयौँले दुई/तीन तिर नाम निकालेका हुन्छन्। कतिले मेडिकल नै नपढ्ने भनेर छाड्छन् त्यसैले चारै हजार जान्छन् भन्न सकिँदैन।"

नेपालमा प्रवेश परीक्षामा नाम ननिकाली विदेशमा गएर कसैले पढेर आएमा पनि त्यस्तो व्यक्तिले यहाँ समकक्षता नपाउने र मेडिकल काउन्सिलको जाँच नै दिन नपाउने झाले जानकारी दिए।

बाङ्ग्लादेशमा पढाइ सस्तो छ?

नेपाली विद्यार्थी अध्ययनरत बाङ्ग्लादेशको मेडिकल कलेजमा ढाकास्थित नेपाली राजदूतको छलफल

तस्बिर स्रोत, Nepal Embassy Dhaka

तस्बिरको क्याप्शन, नेपाली विद्यार्थी अध्ययनरत बाङ्ग्लादेशको मेडिकल कलेजमा ढाकास्थित नेपाली राजदूतको छलफल

कतिपयले नेपालको तुलनामा बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्ययन सस्तो भएकाले विद्यार्थी उता गएको पनि बताउने गर्छन्।

जानकारहरूका भनाइमा चाहिँ अवस्था त्यस्तो पनि छैन। नेपालबाट बाङ्ग्लादेशमा जानका लागि शैक्षिक परामर्शदातृ संस्थाहरूमा प्रक्रिया थाल्दादेखि उताको कलेजको भर्ना र त्यहाँको अन्य खर्च सबै हिसाब गर्दा लगभग नेपाल र बाङ्ग्लादेशमा चिकित्साशास्त्र अध्यययन गर्न उस्तै पर्न जाने उनीहरू बताउँछन्।

भक्तपुरबाट अध्ययनका लागि बाङ्ग्लादेश गएकी विद्यार्थी पाण्डे भन्छिन्, "हामीले डलरमा भर्ना शुल्क र अन्य कुरा तिर्नुपर्छ। सबै हिसाब गर्दा नेपालको र उहाँको खर्च उस्तै पर्न जाने रहेछ। पहिले चाहिँ केही सस्तो पर्थ्यो भन्ने सुनिन्थ्यो अहिले त्यस्तो छैन।"

नेपालमा थप मेडिकल कलेज हुने र यतै कोटा पाउने अवस्था भएमा धेरै नेपाली विद्यार्थी बाङ्ग्लादेशसहित अन्य देशमा जानुपर्ने अवस्था नहुने कतिपय जानकारहरू बताउँछन्।

यद्यपि नेपालमा मेडिकल कलेजको आवश्यकतालाई देखाउँदै मापदण्ड नपुगेका कलेजहरूलाई पनि सम्बन्धन दिने र कमसल गुणस्तरको शिक्षा दिने प्रचलन बढेको भन्दै एकजना वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पटकपटक आमरण अनसन समेत गरेका थिए।

कतिपयले उक्त आन्दोलनका कारण नेपाली विद्यार्थीले स्वदेशमै चिकित्साशास्त्र अध्ययन गर्न नपाएर विदेशिनु पर्ने अवस्था आएको आरोप पनि लगाउने गरेका छन्।

तर गुणस्तरीय चिकित्सा शिक्षाका लागि मेडिकल कलेजहरूका लागि कडा मापदण्डहरू लागु गरिनु पर्ने र जस्तासुकै कलेज चलाउन दिनु नहुने मत राख्नेहरू त्यस्तो आरोपलाई झूटो भन्ने गर्छन्।

बाङ्ग्लादेशमा आन्दोलनपछिको सकस

बाङ्ग्लादेशमा आन्दोलन

तस्बिर स्रोत, Reuters

ढाकास्थित नेपाली दूतावासका अनुसार बाङ्ग्लादेशमा तीन हजार जनाभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

त्यसमध्ये अधिकांश अर्थात् करिब दुई हजार पाँच सय नेपालीहरू चिकित्साशिक्षा अध्ययनरत छन्।

बाङ्ग्लादेशमा केही दिनअघिदेखि चर्किएको आरक्षणविरोधी आन्दोलनका कारण त्यहाँ हिंसा भएर १०० जनाभन्दा बढी मारिएपछि नेपाली विद्यार्थीहरू पनि घर फर्किरहेका छन्।

विशेषगरी झापा जिल्लाको काँकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बाङ्ग्लादेश आउनेजाने गर्छन्।

गत सातादेखि नै नेपाली विद्यार्थीहरू उक्त नाकाबाट ठूलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन्। त्यसबाहेक हवाई मार्गबाट पनि नेपालीहरू स्वदेश फर्केका छन्।

आइतवार साँझसम्म एक हजार दुई सय जनाभन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाङ्ग्लादेशमा आन्दोलन चर्केपछि आफूहरू "डर र उकुसमुकुस"मा बस्नु परेको स्वदेश फर्केका विद्यार्थीले बीबीसीलाई बताएका छन्।

प्रदर्शनकारीहरू

तस्बिर स्रोत, Reuters

भद्रपुर विमास्थलबाट टेलिफोनमा कुराकानी गर्दै ललितपुरको इमाडोलकी विद्यार्थी रानामगरले बीबीसीसँग भनिन्, "हाम्रो कलेजमा त केही भएको थिएन तर नजिकैको कलेजमाबाहिर सडकमा एकजनाको ज्यान गएको सुनेपछि हामीलाई डर लाग्यो।"

"हामीले पर्दा लगाएर सबै झ्याल थुन्यौँ अनि बिजुली पनि बन्द गरेर बस्यौँ। गर्मी ठाउँ भएकाले निकै गाह्रो भयो।"

त्यस्तै भक्तपुरकी पाण्डेका अनुसार उनीहरू आइतवार बिहानै कलेजले व्यवस्था गरिदिएको बस चढेर भारतीय भूमिमा प्रवेश गरेका हुन्।

उनले भनिन्, "एम्बुलेन्स र प्रहरीको गाडीलाई अघिपछि लगाएर कलेजले नै भारतको सीमासम्म ल्याउने व्यवस्था गरिदियो। त्यहाँबाट हामी भारतीय सुरक्षाकर्मीले भारतीय विद्यार्थीका लागि पठाएको बस चढेर सिलीगुडीसम्म आएका हौँ।"

उनले आफूहरूलाई सहयोग गर्न ढाकास्थित दूतावासलाई सम्पर्क गरेको तर दूतावासले कलेजमा नै सुरक्षित रूपमा बस्न भनेकाले डर लागेकाले भारतीय विद्यार्थीसँगै कलेजबाट फर्किएको बताइन्।

नेपाली, भारतीय र भुटानी गरी करिब ४० जना विद्यार्थीहरू सँगै निस्किएर भारतीय सीमाक्षेत्रमा आएका र त्यहाँबाट भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपाली सीमासम्म आइपुगेको उनले जानकारी दिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।