बाङ्ग्लादेशमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक, इन्टरनेट सेवा बन्द, सरकारी टिभीमा आक्रमण

तस्बिर स्रोत, EPA
- Author, फ्लोरा ड्रुरी र अन्बरसन इथिराजन
- Role, बीबीसी न्यूज
बाङ्ग्लादेशमा विद्यार्थी र प्रहरी बीचको हिंसात्मक झडप जारी रहँदा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द छन्।
हजारौँ प्रदर्शनकारीहरूले बिहीवार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए।
उनीहरूले त्यहाँ फर्निचरहरूसहित झ्याल र बत्तीहरू तोडफोड गर्नुका साथै केही भागमा आगो पनि लगाइदिए।
बाङ्ग्लादेशका सूचना तथा सञ्चारमन्त्रीले बीबीसीलाई सरकारी टेलिभिजनको प्रसारण रोकिएको र अधिकांश कर्मचारीले राजधानी ढाकास्थित उक्त भवन छाडिसकेको बताए।

बीटीभीले के भन्यो?
त्यसअघि आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पोस्ट लेख्दै बीटीभीले आफ्नो भवनभित्र धेरै कर्मचारीहरू फसेको भन्दै दमकल सेवालाई आगो निभाउन मद्दतका लागि अपिल गरेको थियो।
नाम खुलाउन नचाहने बीटीभीका एकजना वरिष्ठ पत्रकारले बीबीसीसँग भने, "परिस्थिति धेरै खराब बनेकाले हामीले उक्त ठाउँ छाड्नु बाहेक अन्य कुनै विकल्प थिएन।"
"हाम्रा केही सहकर्मीहरू भित्र फसेका थिए। उनीहरूलाई के भयो मलाई थाहा छैन।"
प्रधानमन्त्री शेख हसिना बुधवार राति टेलिभिजनमा देखा परेर सबैलाई शान्त रहन आग्रह गरेकी थिइन्।
केही दिनदेखि आरक्षणको विरोधमा बाङ्ग्लादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ।
प्रदर्शनकारीको माग

तस्बिर स्रोत, Reuters
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए।
बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।
त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।
योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्।
मोबाइल इन्टरनेट बन्द
आन्दोलन नियन्त्रणका लागि सरकारले बिहीवार देशभरिको मोबाइल इन्टरनेट बन्द गरेको थियो।
तर बिहीवार नै पछिल्लो आन्दोलनको हालसम्मको सबैभन्दा घातक दिन बनेको थियो।
समाचार संस्था एएफपीले अस्पतालहरूलाई उद्धृत गर्दै प्रदर्शनका क्रममा कुल ३२ जनाको मृत्यु भएको जनाएको छ।
बीबीसी बाङ्ग्लाले चाहिँ कम्तीमा २५ जनाको ज्यान गएको र ढाकामा मात्र १९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। त्यसमध्ये १३ जना बिहीवार मारिएका हुन्।
मारिनेमा ढाका टाइम्सका एक जना ३२ वर्षका पत्रकारसमेत रहेका छन्।

तस्बिर स्रोत, BBC BANGLA/MUKIMUL AHSAN
वार्ताको पहल असफल
प्रधानमन्त्री शेख हसिनाले आफ्नो बुधवारको टेलिभिजन सम्बोधनमा प्रदर्शनकारीहरूको मृत्युलाई "हत्या" भनेर निन्दा गरेकी थिइन्।
तर उनको शब्द चयनलाई लिएर पनि प्रदर्शनकारीहरूले आपत्ति जनाए र वार्ताको सरकारी प्रस्तावलाई अस्वीकार गरेका छन्।
"सरकारले एकै दिन यति धेरै मानिसहरू मारेको वर्तमान अवस्थामा हामी कुनै पनि छलफलमा सामेल हुन सक्दैनौँ," आरक्षणविरोधी आन्दोलनका नेता नाहिद इकबालले भने।
अर्का २२ वर्षीय विद्यार्थी अलीम खानले बीबीसीसँग भने, "प्रधानमन्त्री एकातर्फ हिंसा अन्त्य गर्न आग्रह गरिरहेकी छन् र अर्कोतर्फ सत्तारुढ दल समर्थक समूहहरू र प्रहरीलाई प्रयोग गरेर विद्यार्थीमाथि आक्रमण गराइरहेकी छन्।"
विद्यार्थीहरूले सडकहरूमा अवरोध गरेपछि प्रहरीहरूले अश्रुग्यास र रबरका गोली चलाएका थिए।
सामाजिक सञ्जालमा एक जना अधिकारीले जनाए अनुसार बीटीभीमा आक्रमण गर्ने विद्यार्थीहरूले त्यसअघि प्रहरी चौकीमा "आगजनी" पनि गरेका थिए।

तस्बिर स्रोत, EPA
सत्तापक्ष समर्थक र विद्यार्थीबीच झडप
बीटीभीमा शरण लिन खोज्ने विद्यार्थीहरू र प्रहरीबीच झडप भएपछि प्रदर्शनकारीहरूले बीटीभीमा पनि आक्रमण गरेको एक अधिकारीले एएफपीलाई बताएका छन्।
बीबीसी बाङ्ग्लाले एउटा मेडिकल कलेजमा शरण लिइरहेका केही विद्यार्थीहरूसँग कुराकानी गरेको छ। उनीहरूले सत्ताधारी दल निकट समूहहरूको आक्रमणपछि त्यहाँ शरण लिएको बताएका छन्।
त्यहाँ रहेकी सुमी नामकी एक विद्यार्थीले बीबीसीसँग भनिन्, “निजामती सेवामा हुने भेदभावविरुद्ध म यहाँ आएकी हुँ। अहिले प्रहरीले धेरै विद्यार्थीलाई मारिसक्यो। म त्यसको पनि विरोध गर्दैछु।"
"हाम्रो विरोध शान्तिपूर्ण हो तर जसरी हामीमाथि हमला भयो त्यसले मलाई सत्ताधारी दल समर्थक समूहहरूले मार्छन् जस्तो लागेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








