बाङ्ग्लादेशको राजनीतिमा भारतको चासो र भूमिका कस्तो

तस्बिर स्रोत, Getty Images
- Author, अनबरसन इतिराजन
- Role, बीबीसी न्यूज
बाङ्ग्लादेशमा ज्यानुअरी ७ मा निर्वाचन हुन लागेको छ। चुनावको दिन नजिकिँदै गर्दा बाङ्ग्लादेशको राजनीतिमा भारतको रुचि र भूमिकाबारे व्यापक चर्चा भइरहेको छ।
प्रधानमन्त्री शेख हसिना चौथो पटक देशको कार्यकारी नेतृत्व लिन चाहन्छिन्। प्रतिपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेकाले संसदीय निर्वाचनमा उनको जित निश्चितजस्तै देखिन्छ।
विपक्षी बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) र त्यसका साझेदारहरूले हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउँछिन् भन्नेमा विश्वास नभएको बताएका छन्।
उनीहरूले प्रधानमन्त्रीले पद छाड्नुपर्ने र तटस्थ अन्तरिम सरकार गठन गरेर त्यसमार्फत् निर्वाचन गराइनुपर्ने माग राखेका छन्।
शेख हसिनाले त्यस्तो मागलाई अस्वीकार गरेकी छन्।
भारतको प्रभाव
झन्डै १७ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल बाङ्ग्लादेशलाई तीनतिर भारतले घेरेको छ। बाङ्ग्लादेशको दक्षिणपूर्वमा २७१ किलोमिटर सीमा मात्र म्यान्मारसँग जोडिएको छ।
भारतका लागि बाङ्ग्लादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो। पूर्वोत्तरका भारतीय राज्यहरूको सुरक्षाका लागि बाङ्ग्लादेशसँगको सम्बन्धले महत्त्व राख्छ।
त्यसैले भारतीय नीतिनिर्माताहरू बाङ्ग्लादेशमा भारतअनुकूल सरकार हुनुपर्ने मान्यता राख्छन्।
सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेकी छन्। दिल्ली फेरि उनलाई शक्तिमा आएको देख्न चाहन्छ भन्ने कुरा लुकेको छैन।
हसिनाले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्व दर्शाउँदै आएकी छन्।
सन् २०२२ मा दिल्ली भ्रमणका क्रममा उनले बाङ्ग्लादेशको स्वतन्त्रतामा भारत सरकार, भारतीय जनता र सुरक्षा फौजले सहयोग गरेको स्मरण गर्दै बाङ्ग्लादेशले कहिल्यै पनि भारतलाई भुल्नु नहुने बताएकी थिइन्।
विपक्षीद्वारा आलोचना
विपक्षी बीएनपीले हसिनाको दल अवामी लीगलाई भारतले दिएको समर्थनका लागि कडा आलोचना गर्ने गरेको छ।
“भारतले बाङ्ग्लादेशको एउटा दललाई होइन, यहाँका जनतालाई समर्थन गर्नुपर्छ। दुर्भाग्यवश भारतका नीतिनिर्माताहरू बाङ्ग्लादेशमा प्रजातन्त्र चाहन्नन्,” बीएनपीका वरिष्ठ नेता रुहुल कबिर रिज्वीले बीबीसीसँग भने।

तस्बिर स्रोत, Getty Images
रिज्वी दिल्लीले खुला रूपमा हसिना र “नक्कली चुनाव”को समर्थन गरेर “बाङ्ग्लादेशका जनतालाई एक्ल्याएको” आरोप लगाए।
भारतीय विदेश मन्त्रालयका एक प्रवक्ताले बाङ्ग्लादेशको चुनावमा "भारतीय चलखेल"बारे प्रतिक्रिया दिन अस्वीकार गरे।
“चुनाव भनेको बाङ्ग्लादेशको आन्तरिक मामिला हो। बाङ्ग्लादेशका जनताले आफ्नो भविष्य आफैँ चुन्ने हो। बाङ्ग्लादेशको नजिकको मित्र र सहकर्मी भएका नाताले हामी त्यहाँ शान्तिपूर्ण चुनाव होस् भन्ने चाहन्छौँ,” ती प्रवक्ताले बीबीसीसँग भने।
बाङ्ग्लादेशमा शेख हसिना निर्वाचित नभए अतिवादी इस्लामिस्ट समूह सत्तामा फर्किने त्रास दिल्लीमा देखिन्छ।
शेख हसिनालाई दिल्लीको सद्भाव
बीएनपी र जमात-ए-इस्लामी दलले बाङ्ग्लादेशमा इस्लामिस्ट समूहहरूलाई प्रभावशाली बनाउन सजिलो बनाइदिन्छन् कि भन्नेमा भारतको गम्भीर चासो छ।
सन् २००१ देखि २००६ सम्म उक्त गठबन्धन सत्तामा रहँदा त्यस्तो अवस्था बनेको थियो।
ढाकाका लागि भारतका पूर्वराजदूत पिनाकरञ्जन चक्रवर्तीले बीबीसीसँग भने, “उनीहरूले त्यस बेला विभिन्न उद्देश्यका लागि कैयौँ जिहादी समूहलाई अगाडि बढ्ने मौका दिएका थिए। सन् २००४ मा हसिनाको हत्या प्रयास भएको थियो भने पाकिस्तानबाट आएका १० ट्रकभन्दा बढी हतियार बरामद गरिएको थियो।”

तस्बिर स्रोत, Reuters
सन् २००९ मा सत्तामा आएपछि हसिनाले बाङ्ग्लादेशभित्रबाट भारतको उत्तरपूर्वी राज्यहरूमा विद्रोह गरिरहेका विद्रोही समूहमाथि कारबाही गरेर दिल्लीको विश्वास जितिन्।
भारत र बाङ्लादेशबीच निकट सांस्कृतिक, जातीय र भाषिक सम्बन्ध छ। दिल्लीले सन् १९७१ मा पाकिस्तानबाट बाङ्ग्लादेशलाई स्वतन्त्र हुन प्रमुख भूमिका खेलेको थियो। त्यस बेला उसले बङ्गाली फौजलाई सहयोग गर्न आफ्नो सेना पनि पठाएको थियो।
चामल, दाल र तरकारीजस्ता अत्यावश्यक खाद्यवस्तुका लागि ढाका दिल्लीमाथि निर्भर रहेको छ। त्यसले गर्दा भारतले बाङ्ग्लादेशको भान्छादेखि मतपेटिकासम्ममा प्रभाव पार्ने गर्छ।
भारतले बाङ्ग्लादेशलाई पूर्वाधारहरू निर्माण गर्न सन् २०१० यता सात अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराएको छ।
तर दशकौँदेखि पानीको प्रयोगबारे दुई देशबीच द्वन्द्व चलिरहेको छ र एकअर्काको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको भन्ने पनि आरोप लाग्ने गरेको छ।
बाङ्गलादेशमा भारतको छवि कस्तो छ
“बाङ्ग्लादेशमा भारतको छवि त्यति राम्रो छैन। बाङ्ग्लादेशले भारतबाट असल छिमेकीको जस्तो व्यवहार नपाएको भन्ने धारणा छ र त्यो चाहिँ पूर्ण रूपमा प्रजातान्त्रिक वैधताप्राप्त सरकार नभएकाले हामीले पाउनुपर्ने समान अधिकार प्राप्त हुन नसकेको हो कि भन्ने पनि छ,” ढाकास्थित सेन्टर फोर पोलसी डाइअलगकी वरिष्ठ फेलो देवप्रिया भट्टाचार्यले भनिन्।
हसिना सन् २००९ मा दोस्रो पटक सत्तामा आएकी थिइन्। त्यसयता उनको पार्टीले थप दुईवटा चुनाव जितिसकेको छ। उनले चुनावमा धाँधली गरेको आरोप लाग्दै आएको छ। तर अवामी लीगले आरोपहरू अस्वीकार गर्दै आएको छ।
भारतले बाङ्ग्लादेश हुँदै उसका पूर्वोत्तर राज्यहरूमा सडक, जल र रेल मार्गमार्फत् ढुवानीको सुविधा पाउँदै आएको छ।
तर बाङ्ग्लादेशले अझै पनि भूपरिवेष्टित मुलुकहरू नेपाल र भुटानसँग त्यस्तै खाले यातायातको पहुँच नपाएको आलोचकहरू बताउँछन्।

तस्बिर स्रोत, POOL
चीन मामिला र रणनीतिक कारण
ढाकामा मैत्रीपूर्ण सरकार हुनुमा भारतका अन्य रणनीतिक कारणहरू पनि छन्।
दिल्लीले बाङ्ग्लादेश हुँदै आफ्ना सातवटा पूर्वोत्तर राज्यका लागि सडक र जल यातायातमा पहुँच चाहन्छ।
अहिले भारतको मुख्य भूमिबाट उसको पूर्वोत्तरमा सडक र रेल सञ्जाल "चिकिन नेक" पनि भनिने नेपाल, बाङ्ग्लादेश र भुटानबीचको २० किलोमिटर भूमिबाट जोडिएको छ।
दिल्लीका अधिकारीहरूलाई भारतको प्रतिद्वन्द्वी चीनसँगको सम्भावित द्वन्द्वमा यो क्षेत्र रणनीतिक रूपमा कमजोर हुन सक्ने डर छ।
कैयौँ पश्चिमा देशहरूले बाङ्ग्लादेशी अधिकारीहरूमाथि मानवाधिकार हनन र गैरन्यायिक हत्याको आरोपमा थप प्रतिबन्ध लगाउन चाहेका भए पनि भारतले त्यसलाई प्रत्युत्पादक हुन सक्ने भन्दै रोक्दै आएको छ। बेइजिङ पनि उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न बाङ्ग्लादेशमा आफ्नो उपस्थिति बढाउन चाहन्छ।
दिल्लीसँग सम्भावित द्वन्द्व भए बाङ्ग्लादेशले चीनसँग सम्बन्ध सुधार गर्न सक्ने दिल्लीका अधिकारीहरूलाई डर छ।
"हामीले पश्चिमा देशहरूलाई के सन्देश दिएका छौँ भने यदि तिमीहरूले हसिनालाई धेरै धकेल्यौ भने उनी अन्य देशहरूजस्तै चिनियाँ ‘क्याम्प’मा जाने छिन्। त्यसले भारतसँग रणनीतिक समस्या निम्त्याउँछ," भारतका पूर्वकूटनीतिज्ञ चक्रवर्तीले भने, "हामी त्यो धान्न सक्दैनौँ।"
दुई सरकारबीच घनिष्ठ सम्बन्ध भए पनि भारतको कुरा आउँदा केही बाङ्लादेशीहरू शङ्का गर्ने गर्छन्।

तस्बिर स्रोत, EPA
सर्वसाधारण बाङ्ग्लादेशी के भन्छन्
"मलाई लाग्दैन भारतीयहरू सबै क्षेत्रमा मित्रवत् छन्। हामी मुस्लिम राष्ट्र भएकाले भारतसँग सधैँ समस्या भइरहेको छ," ढाकाका तरकारी व्यापारी जमिरुद्दिनले भने।
"हामीले पहिले आफूलाई सुरक्षित बनाउनुपर्छ र त्यसपछि मात्र अरूमा भर पर्नुपर्छ। अन्यथा हामी समस्यामा पर्ने छौँ।"
दिल्ली चाहिँ इस्लामिस्ट समूहहरू फेरि एकीकृत हुने सम्भावनाबारे चिन्तित छ भने बाङ्ग्लादेशमा धेरै मानिसहरू सीमापार के भइरहेको छ भनेर चिन्तित छन्।
अधिकारवादी समूहहरू भारतमा सन् २०१४ मा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएदेखि धार्मिक अल्पसङ्ख्यकहरू र विशेष गरी मुस्लिमहरूविरुद्ध भेदभाव बढेको बताउँछन्। त्यसलाई भाजपाले अस्वीकार गर्ने गर्छ।
भारतीय राजनीतिज्ञहरू पनि "भारतीय अवैध आप्रवासीहरू”को गैरकानुनी घुसपैठबारे कुरा गर्ने गर्छन्।
विशेष गरी उनीहरू असम र पश्चिम बङ्गालजस्ता राज्यहरूमा बसोबास गर्ने मुस्लिमहरूको हिस्साका रूपमा उनीहरूलाई हेर्ने गर्छन्।
"भारतीय मुस्लिममाथिको दुर्व्यवहारले बाङ्ग्लादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि पनि दुर्व्यवहारको सम्भावनालाई उच्च बनाउँछ," भट्टाचार्यले भने।
बाङ्ग्लादेशमा हिन्दूहरूको जनसङ्ख्या झन्डै आठ प्रतिशत छ।
शेख हसिनाको नेतृत्वमा दिल्लीले आफ्नो स्वार्थ पूरा गर्ने कुरा स्पष्ट छ। तर चुनौतीपूर्ण पक्ष भनेको बाङ्ग्लादेशका जनतासम्म ऊ कसरी पुग्छ भन्ने हो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








