शेख मुजिबुर रहमान: बाङ्लादेशका संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी

ढाका

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, शेख मुजिबुर रहमानको ढाकामा टाँगिएको ब्यानर तस्बिर

बाङ्लादेशका स्वतन्त्रता नायकको सन् १९७५मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ।

अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ।

उनलाई मङ्गलवार गिरफ्तार गरिएको थियो।

शेख मुजिबुर रहमानको हत्या गरेको अभियोग लागेका उनी २५ वर्षदेखि फरार थिए।

सैन्य कू

वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता रहमान उनका परिवारका धेरैजसो सदस्यहरूसहित सन् १९७५ को सैन्य कूमा मारिएका थिए।

परिवार

तस्बिर स्रोत, ARCHIVE

तस्बिरको क्याप्शन, शेख मुजिबुर रहमान परिवारसँग

बाङ्लादेशले पाकिस्तानबाट स्वतन्त्र बनेको चार वर्षमै उनको हत्या भएको थियो।

मजिद कू पछि पनि देशभित्रै बसेका थिए। उनी शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भएपछि सन् १९९६ मा भारततिर भागेको विश्वास गरिन्छ।

शेख हसिनाको सरकारले उनका बाबुको हत्यारालाई संरक्षण गर्ने किसिमको कानून परिवर्तन गरेर सन् १९९८ मा मजिद सहित एक दर्जन सैन्य अधिकारीहरूलाई मृत्युदण्ड सुनाएको थियो।

बाङ्लादेशको सर्वोच्च अदालतले उक्त निर्णयलाई सन् २००९ मा सही ठहर्‍याएपछि त्यस लगत्तै पाँचजना दोषी सावितहरूलाई फाँसी दिइएको थियो। गत महिना आफ्नो देश फर्केका मजिदलाई गिरफ्तार गरिएको थियो।