बाङ्ग्लादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित

बाङ्ग्लादेशमा आइतवार मतदान भएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा आइतवार निर्वाचन भएको थियो
    • Author, अनवरसन इतिराजन र केली अङ
    • Role, बीबीसी न्यूज

विवादास्पद निर्वाचनमा विजयी भएकी बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ।

उनको दल अवामी लीग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्‌मा कम्तीमा २२३ सीट जितेका छन्। यो विजयपछि हसिना पाँच वर्ष पुनः देशको कार्यकारी बन्न पाउने छिन्।

बाङ्ग्लादेशको मुख्य विपक्षी दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो। हसिनाको पार्टी र साझेदारहरूले थप सीट पनि जित्ने अनुमान गरिएको छ।

बीएनपीले निर्वाचनलाई "स्वाङ" को सङ्ज्ञा दिएको छ।

बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतवार सम्पन्न निर्वाचनको परिणाम आएको हो।

आधिकारिक तथ्याङ्कमा झन्डै ४० प्रतिशत मत खसेको देखाइएको छ। यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा मतदान भएको थियो।

राजनीतिक विश्लेषक बदिउल मजुमदारका अनुसार निर्वाचन आयोगले मतदानको प्रतिशत बढाएको छ। "विभिन्न स्रोत र सञ्चारमाध्यममा प्रकाशित विवरणहरूलाई आधार मानेर हेर्दा [निर्वाचन आयोगले भनेको] मतदानको प्रतिशत र वास्तविकता मिल्दैन," बीबीसीसँग उनले भने।

निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। तर उनीहरूमध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति हुन्। जातीय पार्टीले पनि आठ सीट जितेको छ।

निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन बाँकी नै छ।

शेख हसिनाको पाँचौँ कार्यकाल

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि सन् २००९ मा उनी फेरि निर्वाचित भइन्। त्यसयता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी छन्।

प्रधानमन्त्रीका लागि यो उनका लागि पाँचौँ कार्यकाल हुने छ।

"यो देशमा प्रजातन्त्र कायम रहनुपर्छ भन्ने प्रत्याभूत गराउन मैले यथाशक्य प्रयास गर्दै आएकी छु," आफूले मतदान गरेपछि हसिनाले सञ्चारकर्मीहरूसँग आइतवार भनेकी थिइन्।

शेख हसिना

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, सन् २००९ मा दोस्रो पटक प्रधानमन्त्री बनेदेखि शेख हसिना निरन्तर सत्तामा छिन्

अवामी लीगका महासचिव ओबैदुल कादरका अनुसार हसिनाले पार्टीका नेता तथा कार्यकर्तालाई विजयोत्सव नगर्न र जुलुस ननिकाल्न निर्देशन दिएकी छन्।

'ह्यूमन राइट्स वाच'का अनुसार गत अक्टोबर २८ मा विपक्षी दलले र्‍याली निकाल्दा झन्डै १०,००० जना पक्राउ परेका थिए। त्यसपछि भएको हिंसामा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने ५,५०० जनाभन्दा बढी घाइते भएका थिए।

सरकारले "सत्तारूढ अवामी लीगका राजनीतिक प्रतिद्वन्द्वीहरूबाट जेल भरेको" आरोप ह्यूमन राइट्स वाचको छ।

यद्यपि अवामी लीले उक्त आरोप अस्वीकार गरेको छ।

एकदलीय शासनको डर

अवामी लीगको विजयका कारण देशमा एकदलीय शासन सुरु हुन सक्ने आशङ्का उत्पन्न भएको देखिन्छ।

निकै थोरै मानिसलाई मात्र सरकारले दमन गर्न छोड्ला भन्ने लाग्छ। विपक्षी दल र नागरिक समाजले सरकारको वैधताबारे प्रश्न उठाइरहे दमन अझ बढ्न सक्ने डर देखिन्छ।

प्रधानमन्त्रीको दल अवामी लीगले स्वतन्त्र कामचलाउ सरकार गठन गरेर निर्वाचन गराउनुपर्ने माग अस्वीकार गरेपछि बीएनपीले चुनाव बहिष्कार गरेको थियो।

शेख हसिना विजयी भएको समाचार पढ्दै एक बाङ्ग्लादेशी

तस्बिर स्रोत, Reuters

बीएनपी नेतृत्व के भन्छ

बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले बीबीसीलाई इमेलमार्फत् भने, "त्यति बेलासम्म हाम्रो शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन बलियो गरी चलिरहन्छ।"

रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका छन्। उनी हसिनाकी प्रतिद्वन्द्वी तथा पूर्वप्रधानमन्त्री खालेदा जियाका छोरा हुन्।

निर्वाचनअघि भएका आगजनीका घटनामा बीएनपीका कार्यकर्ता संलग्न भएको आरोप उनले अस्वीकार गरे।

भ्रष्टाचारको आरोप लागेकी जिया अहिले घरमै नजरबन्दमा छिन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण गर्ने षड्यन्त्र गरेको अभियोगमा सन् २०१८ मा रहमान दोषी ठहर भएका थिए। जन्मकैदको फैसला सुनाइएको उक्त मुद्दाको सुनुवाइमा यद्यपि उनी अनुपस्थित थिए।

सन् २००४ को घटनामा हसिना घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।

"मविरुद्धका सबै आरोप आधारहीन हुन् र राजनीतिक प्रतिशोधका लागि लगाइएका हुन्," रहमानले भने।

बीएनपीले सर्वसाधारण जनतालाई मतदानमा सहभागी नहुन आह्वान समेत गरेको थियो।

निर्वाचनको दिन आइतवार चट्टग्राममा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, निर्वाचनको दिन आइतवार चट्टग्राममा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो

राजनीतिक स्थिरता कायम गरेको दाबी

शेख हसिनाका समर्थकहरू उनले बाङ्ग्लादेशमा चाहिएको राजनीतिक स्थिरता कायम गरेको दाबी गर्छन्।

"हामीले राजनीतिक स्थिरता प्रदान गर्ने प्रजातान्त्रिक प्रक्रियालाई निरन्तरता दिएका छौँ। विश्वले शेख हसिनालाई त्यसको जस दिनुपर्छ जस्तो मलाई लाग्छ," कानुनमन्त्री अनिसुल हकले भने।

उनका अनुसार विगत १५ वर्षमा "बाङ्ग्लादेशी जनताको मनमा उनले जागृत गराएको आत्मविश्वास" हसिनाको सबैभन्दा ठूलो उपलब्धि हो।

"उनीहरूले आफैँमाथि विश्वास गर्न थालेका छन्," उनले भने।

हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ मा फेरि चुनाव जितेर आएपछि उनी निरन्तर सत्तामा छिन्। उनी बाङ्ग्लादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

नयाँ कार्यकाल सकिँदा हसिना ८१ वर्षकी हुने छिन्। यद्यपि उनको उत्तराधिकारी को बन्ला भन्ने जिज्ञास अवामी लीगसहित बाङ्ग्लादेशमा धेरैमा छ।

"निर्वाचनको परिणाम स्पष्ट छ तर भविष्य अनिश्चित," केही विश्लेषकहरू भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।