बाङ्ग्लादेशमा सातजनालाई मृत्युदण्डको फैसला

बाङ्ग्लादेश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आठ जनाविरूद्ध उक्त हमलामा सहयोग गरेको आरोपमा मुद्दा चलाइएको थियो

बाङ्ग्लादेशमा सातजना इस्लामवादीहरूलाई सन् २०१६ मा ढाकामा एक क्याफेमा भएको हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।

उक्त हमलामा २२ जनाको ज्यान गएको थियो। त्यसमा अधिकांश विदेशी नागरिकहरू थिए।

ढाकास्थित विशेष अदालतले बुधवार उक्त फैसला सुनाएको हो।

हमलाको योजना बनाएको तथा हमलाकारीलाई हतियार उपलब्ध गराएको आरोपमा ८ जनाविरुद्ध मुद्दा चलेको थियो।

अदालतले एकजनालाई भने मुक्त गरिदिएको छ।

हमला

तीन वर्ष अगाडि पाँच आक्रमणकारीको समूहले होली आर्टिसन क्याफेमा हमला गरेका थिए।

हमलाका क्रममा आक्रमणकारीले क्याफेमा रहेकाहरूलाई बन्धक बनाएका थिए।

बाङ्ग्लादेश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, होली आर्टिसन क्याफे रहेको स्थान

१२ घण्टासम्म जारी उक्त हमला बाङ्ग्लादेशमा गरिएको सबैभन्दा घातक आतङ्कवादी हमला मानिन्छ।

सो हमलाको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको थियो।

मारिनेमध्ये अधिकांश जापानी तथा इटालियन नागरिक थिए।

उक्त घटनायता बाङ्ग्लादेशका अधिकारीहरूले विद्रोहीविरुद्ध क्रुर कारबाही गरेका छन्।

फैसला

मुस्लिमबहुल बाङ्ग्लादेशमा ती विद्रोहीलाई अस्थिरताकारी शक्ति मानिएको छ।

अदालतको फैसलापश्चात् बोल्दै सरकारी अभियोजनकर्ता गोलाम सरवर खानले अभियुक्तविरुद्धका अभियोग कुनै दुविधा विना प्रमाणित भएको बताए।

बाङ्ग्लादेशमा मृत्युदण्ड फाँसी दिएर कार्यान्वयन गर्ने गरिन्छ।

प्रतिवादीका वकिलले ती सातैजनाले फैसलाविरुद्ध पुनरावेदन दिने बताए।

बाङ्ग्लादेश

तस्बिर स्रोत, Getty Images

ती सातजना मानिसहरू अवैध ठहर गरिएको जमात-उल-मुजाहिद्दिन समूहमा आबद्ध भएको आरोप लागेको थियो।

कारबाही

फैसला सुनाउँदै न्यायाधीशले ती व्यक्तिले सार्वजनिक सुरक्षामा खलल पुर्‍याएर अराजकता फैलाउन खोजेको उल्लेख गरे।

समाचार संस्था एएफपीका अनुसार अदालतबाट बाहिर निस्कने बेला तीमध्ये केही व्यक्तिले अल्लाहु अकबर अर्थात ईश्वर महान् छन् भन्ने नारा लगाएका थिए।

सो हमलाका गुरुयोजनाकार मानिएकामध्येका एकजना नुरुल इस्लाम मर्जान सन् २०१७ मा प्रतिआतङ्कवाद प्रहरीले गरेको एक कारबाहीमा मारिएका थिए।

सन् २०१६ मा भएको हमला यता त्यहाँको सुरक्षा निकायले गरेका श्रृङ्खलाबद्ध कारबाहीमा एक सयजनाभन्दा धेरै इस्लामवादी मारिएको तथा करिब एक हजारजना पक्राउ गरिएको अधिकारीहरूले बताउने गरेका छन्।