हिंसात्मक प्रदर्शन भइरहेको बाङ्ग्लादेशमा रहेका नेपाली विद्यार्थी कुन अवस्थामा छन्

बाङ्ग्लादेशमा आरक्षण विरोधी प्रदर्शन चर्कँदा शिक्षण संस्थाहरू ठप्प भएका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा आरक्षणविरोधी प्रदर्शन चर्कँदा शिक्षण संस्थाहरू ठप्प भएका छन्
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डूको शान्तिनगरकी तृप्ति मिश्र उच्च शिक्षा हासिल गर्न बाङ्ग्लादेशको ढाका पुगेको डेढ महिना मात्र भयो। तर सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा जारी प्रदर्शनका कारण आफ्नो कलेज र अन्य विश्वविद्यालयमा देखिएका हिंसात्मक दृश्य र त्यहाँबाट आइरहेका खबरले पछिल्लो समय उनलाई चिन्तित तुल्याएको छ।

ढाकाबाट बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, “हिजोको अवस्था संवेदनशीलजस्तै थियो। म मेडिकल शिक्षाको पहिलो वर्षकी विद्यार्थी हुँ। हामीले यस्तो खालको हिंसा नेपालमा देख्दैनौँ। प्रदर्शनहरू देखेपछि असुरक्षित महसुस भएको थियो। डर पनि लागेको थियो।”

बाङ्ग्लादेशको दोस्रो ठूलो मेडिकल कलेज मानिने सर सलिमुल्लाह मेडिकल कलेज एन्ड मिटफर्ड अस्पतालमा अध्ययनरत उनले तत्कालै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गरिन्।

उनका अनुसार राजदूत घनश्याम भण्डारीले आफूहरूले कलेज प्रशासनसँग कुरा गर्ने र आवश्यक परे बाङ्ग्लादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई घर फर्काउनेसम्मको तयारी गरेको जानकारी गराए।

राजधानी ढाकासहित विभिन्न सहरमा उनीजस्ता झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् र सरकारी जागिरमा कायम आरक्षण एवं कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि नै विद्यालय तथा विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।

विदेशी विद्यार्थीहरूको अवस्था कस्तो छ?

सतारूढ दल अवामी लीगको विद्यार्थी समूह र आरक्षण विरोधी प्रदर्शनकारीहरूबीच झडपहरू भइरहेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सत्तारूढ दल अवामी लीगको विद्यार्थी समूह र आरक्षणविरोधी प्रदर्शनकारीबीच बेलाबेला झडप हुने गरेको छ

पछिल्लो आन्दोलनमा विदेशी विद्यार्थीहरू हताहत भएका खबर आएका छैनन्। तर अधिकारीहरूले बाङ्ग्लादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बाङ्ग्लादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन्।

नेपाली विद्यार्थी तृप्ति मिश्रले पनि आफ्नो छात्रावासमा बाङ्ग्लादेशी र विदेशी विद्यार्थीहरू सँगै बस्दै आएकोमा बुधवार मध्याह्नबाट विदेशी विद्यार्थीहरू मात्रै रहेको बताइन्।

उनले भनिन्, “होस्टलमा अहिले कोही बङ्ग्लादेशी विद्यार्थी छैनन्। हामी विदेशी विद्यार्थी मात्रै छौँ। अहिले हामी ५० जनाभन्दा कम छौँ। भुटानी विद्यार्थीहरू आफ्नो देशको दूतावासमा जानुभयो। केही भारतीयहरू आफ्नो बाङ्ग्लादेशी साथीहरूकोमा जानुभएको छ। हामी यता सुरक्षित नै छौँ।”

ढाका मेडिकल कलेजमा सोमवार प्रदर्शनहरू भएको खबर पाएकी तृप्ति मङ्गलवार भने आफू अध्ययनरत कलेज क्षेत्रमा प्रदर्शनहरू भएका र त्यसले नराम्रो रूप लिएको बताउँछिन्।

उनले भनिन्, “हामी बाहिर निस्किएनौँ। तर समाचारहरू हेर्दा हाम्रा बाङ्ग्लादेशी साथीहरू गम्भीर रूपमा घाइते हुनुभएको छ। मेरै ब्याचको एक जना बङ्गाली साथी पनि घाइते हुनुभएको छ। उहाँको टाउकोबाट रगत निस्किरहेको थियो। यस्तो देख्दा डर लागेको हो। तर यहाँ हाम्रो राजदूत र हाम्रै कलेजको हामीभन्दा पुरानो ब्याचकाहरूले 'शान्त भएर बस्नुहोस्, केही हुँदैन, भन्नुभयो। हामी प्रदर्शनहरूमा संलग्न छैनौँ, केही हुँदैन भनेपछि अलिकति डर कम भयो।”

तृप्तिकै कलेजमा पाँचौँ वर्षका मेडिकल विद्यार्थी निश्चल बूढाथोकी आफू बाङ्ग्लादेशमा अध्ययन गर्न आएदेखि विद्यार्थी जोडिएका यस्ता हिंसात्मक प्रदर्शन कम्तीमा तीन पटक देखेको भन्दै सुरक्षालाई लिएर आफू खासै चिन्तित नरहेको बताउँछन्।

करिब ३ हजार नेपाली विद्यार्थीले बाङ्ग्लादेशमा अध्ययन गरिरहेका छन्

तस्बिर स्रोत, Nischal Budhathoki

तस्बिरको क्याप्शन, करिब तीन हजार नेपाली विद्यार्थीले बाङ्ग्लादेशमा अध्ययन गरिरहेको बताइन्छ

आफू अध्ययन गरिरहेको कलेजमा १९ जना नेपाली विद्यार्थी रहेको भन्दै उनले प्रदर्शनहरूका कारण पढाइ अनिश्चितकालका लागि रोकिएको बताए।

उनी भन्छन्, “हिजो राति होस्टल खाली गर्ने भन्ने सूचना आए पनि विदेशी विद्यार्थीहरूका लागि के गर्ने भनेर त्यसमा खुलाइएको थिएन। त्यसले गर्दा अलिकति चिन्ताको माहोल थियो। तर आज बिहानैबाट जुनजुन कलेजमा विदेशी विद्यार्थीहरू छन्, उनीहरूले विदेशी विद्यार्थीहरूलाई सुविधा हुने हिसाबले बस्न भनेका छन्। राजदूतावासले पनि के कसो छ भनेर जानकारी लिइरहेको छ।”

उनले कलेज प्रशासनले विदेशी विद्यार्थीहरूलाई केही पनि हुन नदिने भनेर जिम्मेवारी लिएको उल्लेख गर्दै छात्रावासबाहिर सुरक्षाकर्मी खटाइएको जानकारी दिए।

बूढाथोकीका अनुसार अधिकारीहरूले आश्वस्त पार्न खोजे पनि आक्रमण हुन सक्ने जस्ता हल्लाहरू चल्ने गरेकाले सबै विद्यार्थीहरू चनाखो नै भएर बसेका छन्।

उनले थपे, “कलेजले निरन्तर हामीलाई सम्पर्क गरेर बाहिरबाट मान्छेहरू आएर कसैले पनि केही गर्दैन भनेर आश्वस्त पारिरहेको छ।”

ढाकास्थित नेपाली राजदूतावास के गर्दै छ?

ढाकास्थित नेपाली राजदूतावासका अधिकारीहरूले त्यहाँका विभिन्न शिक्षण संस्थाको भ्रमण गर्दै विद्यार्थीको अवस्थाबारे जानकारी लिएका छन् र सुरक्षा सुनिश्चितताका लागि बाङ्ग्लादेशी अधिकारीहरूसँग आफूहरूले कुरा गरिरहेको बताएका छन्।

बुधवार प्रकाशित सूचनामा राजदूतावासले जारी झडपलाई ध्यान दिँदै सम्पूर्ण नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आआफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको थियो।

कलेज प्रशासनले आफू बसेको ठाउँबाट बाहिर जान निर्देशन दिएमा वा आफूले असुरक्षित महसुस गरेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावासले टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ।

स्थानीय विद्यार्थीहरूलाई होस्टलबाहिर पठाइएको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, स्थानीय विद्यार्थीहरूलाई होस्टलबाहिर पठाइएको छ

ढाकास्थित नेपाली राजदूतकी द्वितीय सचिव योजना बम्जनले हालसम्म सबै नेपाली विद्यार्थी सुरक्षित रहेका र बाङ्ग्लादेश सरकारले प्राथमिकताका साथ विदेशी विद्यार्थीहरूलाई सुरक्षा दिइरहेको बताइन्।

उनका अनुसार दूतावास बाङ्ग्लादेशको सरकार तथा विभिन्न शिक्षण संस्थाहरूसँग सम्पर्कमा छ र विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

उनी भन्छिन्, “हामीले विद्यार्थीहरूलाई 'तपाईँहरू जहाँजहाँ हुनुहुन्छ, त्यहाँत्यहाँ नै बस्नुहोस्' भनिरहेका छौँ। यदि अवस्था नियन्त्रणभन्दा बाहिर गयो भने 'के गर्नुपर्छ, हामी गर्छौँ' भनेर उहाँहरूलाई भनेका छौँ। स्थिति बिग्रँदै गयो वा लम्बिँदै गयो भने हामी वहाँहरूलाई उद्धार गर्नेसम्म पनि पुग्छौँ।”

बाङ्ग्लादेशमा कति नेपाली विद्यार्थी छन्?

ढाका विश्वविद्यालय बाहिर तैनाथ सशस्त्र प्रहरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ढाका विश्वविद्यालयलगायत शिक्षणसंस्थाबाहिर प्रहरी परिचालन गरिएको छ

बाङ्ग्लादेशका विभिन्न सहरहरूमा झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत रहेकामा सबैभन्दा धेरै एमबीबीएस अध्ययन गर्न आउने विद्यार्थीहरू रहेको बताइन्छ।

त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बाङ्ग्लादेश पुग्ने गर्छन्।

सिलेट, चिटगोङ्ग तथा रङ्गपुरसहितका सहरहरूमा पनि नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

शिक्षणसंस्था अनिश्चितकालका लागि बन्द भएपछि अन्योलमा परेका नेपाली विद्यार्थीहरूले पछिल्लो गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहेका छन्।

सर सलिमुल्लाह मेडिकल कलेजकी विद्यार्थी तृप्ति मिश्रले भनिन्, “यो शनिवार चाहिँ हाम्रो एउटा 'च्याप्टर'को 'कार्ड एक्जाम' थियो। त्यस्तो दुईवटा परीक्षा भएपछि बल्ल एउटा 'टर्म' (आवधिक परीक्षा) हुन्छ। त्यो अब सर्‍यो, जसले गर्दा मलाई दुःख लागिरहेको छ।”

“छिटोभन्दा छिटो परीक्षा सक्न पाएको भए तनावमुक्त भएर बस्न मिल्थ्यो। तर स्थिति तत्कालै सामान्य हुने सम्भावना मैले देखेको छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।