बाङ्ग्लादेशी विद्यार्थी कसरी एशियाकै शक्तिशाली महिलाको सत्ता हल्लाउँदै छन्

शेख हसिना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शेख हसिना सन् २००९ देखि निरन्तर बाङ्ग्लादेशको सत्तामा छिन्
    • Author, शुभज्योति घोष र बीबीसी बाङ्ग्ला
    • Role, बीबीसी वर्ल्ड सर्भिस ल्याङ्ग्वेजेज

विगत १६ वर्षमा बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले आफ्नो मुलुकलाई गरिबीबाट बाहिर निकाल्ने यात्राको नेतृत्व गरेकी छिन्।

देशले गरेको ठूलो प्रगतिको कारण उनी नै रहेको कतिपयको भनाइ छ।

अरू कतिपय चाहिँ आफूहरू उनको बढ्दो निरङ्कुश शासनको विरुद्धमा रहेको बताउँछन्।

तर उनको सत्ता विगतमा कहिल्यै पनि अहिलेको जस्तो धरमराएको थिएन।

विश्वविद्यालय र कलेजका विद्यार्थीहरूले गरिरहेको आन्दोलनले देशभरि नै अशान्ति,रक्तपात र अराजकता निम्त्याएको छ।

के विद्यार्थी आन्दोलनले बाङ्ग्लादेशको सत्ता ढल्छ?

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक हुँदै गएको देखिएको छ

शान्त तर दृढ नेताका रूपमा परिचित उनी देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् र उनले आफ्नो जीवनमा धेरै सङ्कट र हत्याका प्रयासहरू पनि देखेकी छन्।

उनको सरकार ५७ जना सैन्य अधिकारी मारिएको देशको अर्धसैनिक सीमा सुरक्षा बलको विद्रोह, अन्तर्राष्ट्रिय समुदायले व्यापक आलोचना गरेको तीन वटा विवादास्पद आमनिर्वाचन, मानवअधिकार उल्लङ्घनको आरोप र विपक्षी गुटहरूको सडक आन्दोलन हुँदा पनि जोगिएको छ।

यद्यपि अहिले उनले आफ्नो राजनीतिक करिअरकै सबैभन्दा गम्भीर चुनौतीको सामना गरिरहेकी छिन्। विद्यार्थी आन्दोलन देशव्यापी बन्दै गएको छ र विपक्षी दलहरू विद्यार्थीको मुद्दामा साथै उभिएका छन्।

आइतबार बाङ्ग्लादेशको शीर्ष अदालतले सरकारी जागिरमा रहेका प्राय: आरक्षणलाई खारेज गरेको छ।

देशभर हिंसात्मक द्वन्द्व सुरु गराएको आन्दोलन पनि यही आरक्षण प्रणालीविरुद्धको हो।

सरकारको सुरक्षा बलको कडा प्रतिक्रियाका कारण सय जनाभन्दा धेरैको मृत्यु भएको छ, जसमा अधिकांश विद्यार्थीहरू छन्।

‘प्रेशर कुकर’ जस्तो अवस्था

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शेख हसिनाले स्वतन्त्रता युद्धका विषयमा भावनात्मक राजनीति गरेको आरोप लाग्ने गरेको छ

एशियामा अधिनायकवादको विषयमा गम्भीर अनुसन्धान गरेका ओस्लो विश्वविद्यालयका डा. मुबाशर हसनको बुझाइमा यो अवस्था रातारात विकास नभए पनि ‘प्रेशर कुकर पड्किएको’ जस्तो अवस्था हो।

हसनले बीबीसी बाङ्ग्लासँग कुरा गर्दै भनेका छन्, “ख्याल गर्नुस्, हामी यहाँ त्यो देशको बारेमा कुरा गर्दै छौँ, जहाँको प्रेस स्वतन्त्रताको सूचक रुसको भन्दा तल छ।”

“शेख हसिना र उनको पार्टीले गरेको स्वतन्त्रताको युद्धको भावनाको अतिराजनीतिकरण, जनताको मतदान गर्ने आधारभूत अधिकारमा बर्सेनि भएको बन्देज र उनको सरकारको तानाशाही प्रकृतिले समाजको ठूलो जमातलाई क्रोधित बनाएको छ।”

“दुर्भाग्यवश उनी कहिल्यै पनि देशका सबै जनताको प्रधानमन्त्री बनिनन्,बरु एउटा समूहको मात्रै नेतृत्वका रूपमा रहिन्।”

डा. हसन पछिल्लो साता भएका घटनाहरूलाई लिएर अचम्भीत छैनन्।

बाङ्ग्लादेशमा आन्दोलनको आरम्भ विश्वविद्यालय र कलेजका विद्यार्थीहरूबाट भयो। सन् १९७१ को स्वतन्त्रता युद्धमा लड्ने व्यक्तिका आफन्त र परिवारका सदस्यका लागि ३० प्रतिशत सरकारी जागिरमा आरक्षणको व्यवस्था खारेज गर्ने मागसहित उनीहरूले आन्दोलन सुरु गरे।

उच्च अदालतले गत महिना विवादास्पद कोटा प्रणालीलाई पुनर्स्थापित गरेपछि आन्दोलन सुरु भएको थियो। आन्दोलनकारीमाथि सत्तामा रहेको दलका सदस्यहरूले आक्रमण गरेसँगै यसले हिंसात्मक रूप लियो।

आइतवार बाङ्ग्लादेशको सर्वोच्च अदालतले कोटा प्रणालीलाई पुनर्स्थापित गरेर विद्यार्थी आन्दोलन सुरु गराउने उच्च अदालतको विवादास्पद निर्णयलाई खारेज गर्‍यो।

सर्वोच्च अदालतमा सरकारको प्रतिनिधित्व गर्दै महान्यायाधिवक्ताले हसिना सरकारले यो मुद्दा बन्द गर्न चाहेको सङ्केत गर्दै त्यसैको माग गरेका थिए।

के सरकार जोगिएला?

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत, Reuters

जारी आन्दोलनलाई शान्त बनाउन अदालतको निर्णय पर्याप्त छ वा छैन भन्ने अहिले स्पष्ट छैन।

अहिले विद्यार्थीहरू आन्दोलनमा मारिएका आफ्ना दर्जनौँ साथीहरूका लागि न्याय चाहन्छन्, जसको अर्थ कैयौँ प्रहरी अधिकारी र सत्तामा रहेको दलका सदस्यहरूले मुद्दाको सामना गर्नुपर्छ।

आन्दोलनका प्रमुख व्यक्ति नाहिद इस्लामले हिरासतमुक्त भएपछि बीबीसीसँग कुराकानी गरेका थिए। उनी आन्दोलनका एक मात्र नेता नभए पनि सबैभन्दा प्रख्यात भने हुन् नै।

उनले भनेका छन्, “हामीले कर्फ्यूको अवस्थाबीच हाम्रो अभियानलाई जारी राख्छौँ वा राख्दैनौँ भन्नेबारे निर्णय भइसकेको छैन।”

बाङ्ग्लादेशका लागि भारतका पूर्वराजदूत तथा सेवानिवृत्त कूटनीतिज्ञ रिभा गाङ्गुली दास बाङ्ग्लादेशको अवस्था छोटोमा भन्नुपर्दा “अन्योलपूर्ण र अचम्मलाग्दो” रहेको बताउँछिन्।

उनले बीबीसी बाङ्ग्लासँग भनिन्, “मलाई शेख हसिनाको सत्ता हल्लिएको छ जस्तो लाग्दैन। केही दिनअघि मात्रै उनी आफैँले हामीले अदालतको फैसला कुर्नुपर्ने भनेकी थिइन्।”

“अब सर्वोच्च अदालतले कोटा प्रणालीलाई अनिवार्य रूपमा पुन:परिमार्जन गर्न भन्दै आफ्नो फैसला दिइसकेको छ। विद्यार्थीहरूले आन्दोलनलाई जारी राख्नुपर्ने कुनै कारण छैन।”

“मलाई आशा छ उनीहरू आफ्नो कक्षामा फर्किने छन् र सम्भवतः केही दिनमा नै सामान्य अवस्था हुने छ।”

भारत के चाहन्छ?

शेख हसिना र नरेन्द्र मोदी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशको आन्तरिक राजनीतिमा उल्लेख्य भारतीय प्रभाव रहेको मानिन्छ

ढाका विश्वविद्यालयमा प्राध्यापनरत अर्का विश्लेषक शर्मिन अहमद तत्कालै समाधानमा नपुगेमा वर्तमान आन्दोलन कुनै अराजक समूहले आफ्नो बनाउने र त्यसले झन् ठूलो अस्थिरता निम्त्याउने बताउँछिन्। यद्यपि उनले आन्दोलनलाई ‘तर्कसङ्गत’ भनेकी छन्।

अन्तर्राष्ट्रिय रूपमा शेख हसिनाको डेढ दशक लामो शासनको बलियो समर्थकको रूपमा हेरिएको छिमेकी भारतले सीमापारिबाट अहिलेको अवस्थालाई नियालिरहेको छ।

गत शुक्रवार भारतको परराष्ट्र मन्त्रालयका प्रवक्तालाई यो विषयमा सोध्दा उनले “हामी यसलाई उक्त देशको आन्तरिक मामिलाका रूपमा मान्छौँ” भने।

यद्यपि उनले पछि भारतका विदेश मन्त्री एस जयशङ्करले व्यक्तिगत रूपमा यो अवस्थाको निगरानी गरिरहेको स्वीकार गरेका थिए, जसले भारत आफ्नो छिमेकमा भइरहेका डरलाग्दा घटनाक्रमबाट टाढा रहन सक्दैन भन्ने सङ्केत गर्छ।

दिल्लीले शेख हसिनाको सरकारमाथिको सङ्कट गहिरिएमा कुन हदसम्म उनलाई सहयोग गरिनेछ भन्नेबारेमा स्पष्ट पारेको छैन।

आन्दोलन कसरी उग्र बन्यो?

बाङ्ग्लादेशमा विद्यार्थी आन्दोलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जारी विद्यार्थी आन्दोलन शेख हसिनाको सरकारका लागि कडा परीक्षा बन्ने ठानिएको छ

राजनीतिक विश्लेषकहरू शेख हसिनाको राजनीतिक गल्तीले अवस्थालाई झन् बिगारेको विश्वास गर्छन्।

गत साता एक पत्रकार सम्मेलनमा उनले कोटा सुधार अभियानलाई सङ्केत गर्दै त्यस अभियानलाई स्वतन्त्रताप्रेमी र स्वतन्त्रताविरोधी शक्तिहरूबीचको विभाजनको विषयका रूपमा प्रस्तुत गरेकी थिइन्।

उनले भनेकी थिइन, “यदि स्वतन्त्रता युद्ध लड्नेका नातिनातिनाले कोटा नपाउने हो भने के राजाकर (पाकिस्तानी समकक्षी) का नातिनातिनाले कोटा पाउनुपर्छ? मेरो प्रश्न यही हो।”

त्यसको केही घण्टामा नै विभिन्न क्याम्पसमा विद्यार्थीहरूले प्रधानमन्त्रीको प्रतिक्रियाको विरुद्धमा आन्दोलन सुरु गरेका थिए।

प्रतिक्रियामा प्रहरी र विशेष सुरक्षा बल ‘आरएबी’ले बल प्रयोग गरेको थियो। सत्तारूढ दलको विद्यार्थी सङ्गठनले पनि झडपमा भाग लिएपछि स्थिति थप बिग्रियो।

त्यसपछिको ७२ घण्टासम्म देशमा हिंसात्मक झडपहरू भए, राष्ट्रिय टेलिभिजनको भवन जलाइयो, केही कैदीहरू भाग्ने गरी जेल तोडियो र सयौँको मृत्यु भयो।

प्रधानमन्त्री शेख हसिनाका लागि यो ठूलो परीक्षा हो।

बङ्गलादेशका सार्वजनिक र निजी शैक्षिक संस्थानका साधारण विद्यार्थीहरूले देशकी सबैभन्दा शक्तिशाली महिलालाई हल्लाउन सफल भएका छन्। बाङ्ग्लादेशको इतिहासमा पहिले कहिल्यै यस्तो भएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।