बाङ्ग्लादेशमा भएका 'सबै नेपाली सुरक्षित', समन्वय नगरी यात्रा नगर्न दूतावासको सुझाव

बाङ्ग्लादेशको सडक एक प्रहरी

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

बाङ्ग्लादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।

बाङ्ग्लादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २,६०० नेपाली विद्यार्थीमध्ये करिब ४०० जना अझै बाङ्ग्लादेशमै रहेको ठानिएको छ।

नेपाली दूतावाससँगको समन्वयमा २,००० जनाभन्दा धेरै नेपाली विद्यार्थीहरू विगत केही साताभित्र स्वदेश फर्किसकेको जनाइएको छ।

ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीले बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको बीबीसी न्यूज नेपालीलाई टेलिफोनमा जानकारी दिए।

“यहाँ अब ४०० हाराहारीमा नेपाली विद्यार्थीहरू हुनुहुन्छ। त्यसमध्ये अधिकांश अस्पतालहरूमा इन्टर्नशिप गरिरहनुभएको छ। उहाँहरू सबै सुरक्षित हुनुहुन्छ र नेपाल फर्किन चाहेको अवस्थामा दूतावाससँग सम्पर्क गर्न भनेका भनिएको छ,” राजदूत भण्डारीले भने।

राजधानी ढाकासहित बाङ्ग्लादेशका अधिकांश ठाउँमा आइतवार साँझदेखि अनिश्चितकालीन कर्फ्यू जारी रहेका कारण दूतावासले आफ्नै तरिकाले बाङ्ग्लादेशबाट बाहिरिने प्रयास नगर्न नेपालीहरूलाई आग्रह गरेको छ।

“आफ्नै तरिकाले नेपाल फर्किने वा बाहिर निस्किने नगर्न हामीले अनुरोध गरेका छौँ। नेपाल फर्किन चाहने जोकोहीलाई पनि दूतावासले सुरक्षित रूपमा नेपालसम्म पुग्ने प्रबन्ध मिलाउने छ,” राजदूतले भने।

दूतावासले के भन्यो

यसैबीच ढाकास्थित नेपाली दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बाङ्ग्लादेशमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन भनेको छ।

“सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध

छ,” दूतावासले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बाङ्ग्लादेशबाट फर्किएका नेपाली
तस्बिरको क्याप्शन, बाङ्ग्लादेशबाट फर्किएका नेपाली विद्यार्थीहरू साताहरूमा काकरभिट्टा आइपुगेका थिए

बाङ्ग्लादेशमा रहेका नेपालीहरू सुरक्षित रहेको पनि दूतावासले जनाएको छ।

नेपाल फर्किन चाहने विद्यार्थी तथा अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरी “सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न” दूतावासले भनेको छ।

दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयको लागि दुइटा टेलिफोन नम्बर समेत सार्वजनिक गरेको छ।

दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन्।

यसअघि नेपाली दूतावासले बाङ्ग्लादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई भारतको सडकमार्ग हुँदै नेपालको पूर्वी सीमा काकरभिट्टासम्म ल्याउने व्यवस्था गरेको थियो।

केही नेपाली विद्यार्थी हवाईमार्गबाट पनि नेपाल फर्किएको अधिकारी, विद्यार्थी तथा तिनका अभिभावकले जानकारी दिएका थिए।

बाङ्ग्लादेशमा रहेका सुरक्षित

बाङ्ग्लादेशबाट फर्किएका नेपाली
तस्बिरको क्याप्शन, बाङ्गलादेशबाट २,००० भन्दा धेरै विद्यार्थी नेपाल फर्किसकेको दूतावासले जनाएको छ

बाङ्ग्लादेशमा सोमवार ब्रोडब्यान्ड इन्टरनेट केही घण्टा अवरुद्ध भएको भए पनि दिउँसोदेखि फेरि चल्न थालेको विवरण आएको छ। यसअघि आइतवारबाटै सामाजिक सञ्जाल र फोरजी सेवा अवरुद्ध भएका थिए।

ढाकास्थित नेपाली राजदूतावासले बाङ्ग्लादेशमा रहेका विद्यार्थीको अवस्थाबारे विद्यार्थी स्वयं र कलेज तथा विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ।

“उहाँहरू सुरक्षित हुनुहुन्छ। हामी उहाँहरू पढ्ने प्रत्येक कलेजसँग हामी सम्पर्कमा छौँ। यहाँको सरकार र अन्य निकायसँग पनि दूतावास निरन्तर सम्पर्कमा छ,” राजदूत भण्डारीले भने।

बाङ्ग्लादेशमा रहेका नेपालीहरू तत्काल सुरक्षा जोखिममा नरहेका भए पनि सतर्क रहन भनिएको दूतावासले जनाएको छ।

राजदूत घनश्याम भण्डारी
NepalEmbassy
आफ्नै तरिकाले नेपाल फर्किने वा बाहिर निस्किने नगर्न हामीले अनुरोध गरेका छौँ। नेपाल फर्किन चाहने जोकोहीलाई पनि दूतावासले सुरक्षित रूपमा नेपालसम्म पुग्ने प्रबन्ध मिलाउने छ
घनश्याम भण्डारी
राजदूत , नेपाली दूतावास ढाका

बाङ्ग्लादेशको अवस्था के छ?

बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा गत जुलाईमा भड्किएको हिंसापछि विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन्।

बाङ्ग्लादेशको सबैभन्दा माथिल्लो अदालतले आरक्षणको अधिकांश व्यवस्थालाई कटौती गर्न आदेश दिए पनि प्रदर्शन रोकिएको छैन। आइतवारबाट विद्यार्थीहरूको तारो सरकारतर्फ सोझिएको छ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्। आइतवारको प्रदर्शन हिंसात्मक हुँदा ९४ जनाको मृत्यु भएको विवरण समाचारसंस्था एएफपीले प्रकाशित गरेको छ।

बाङ्ग्लादेशबाट फर्किएका नेपाली
तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा शिक्षण संस्था बन्द भएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका थिए

कर्फ्यू आदेशसँगै त्यहाँको सरकारले सोमवारबाट तीन दिन सार्वजनिक बिदा दिएको छ।अहिले त्यहाँको अवस्था थप चिन्ताजनक बनेको विवरणहरू आएका छन्।

नेपालबाट अधिकांश विद्यार्थीहरू एमबीबीएस अध्ययन गर्न बाङ्ग्लादेशका विभिन्न सहरहरूमा पुग्ने गरेका छन्। त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बाङ्ग्लादेश पुग्ने गर्छन्।

नेपालीहरू ढाकाबाहेक सिलेट, चिटगोङ्ग तथा रङ्गपुरसहितका सहरहरूमा पुग्ने गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै बाङ्ग्लादेशबाट फर्किएका विद्यार्थीहरूले नेपालमा भर्ना हुने अवसर नपाएपछि बाङ्ग्लादेश अध्ययनका लागि पुगेको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।