भारतीय रक्षामन्त्रीले किन भने 'पाकिस्तानमा छिरेरै हत्या गर्छौँ'

भारतका रक्षामन्त्री राजनाथ सिंह

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानमा भारतका रक्षामन्त्री राजनाथ सिंहको आलोचना भइरहेको छ

पाकिस्तानमा कम्तीमा २० जनाको हत्यामा भारत संलग्न भएको दाबीसहित समाचार प्रकाशित भएपछि दुई देशले एकअर्काको आलोचना गरेका छन्।

गत साता ब्रिटेनको 'द गार्डिअन' समाचारपत्रले पाकिस्तानमा भएका गैरन्यायिक हत्याहरूमा भारतको संलग्नताबारे एउटा सामग्री प्रकाशित गरेको थियो। उक्त आरोपबारे भारतले औपचारिक प्रतिक्रिया दिइसकेको छैन।

तर शुक्रवार भारतीय रक्षामन्त्रीले भारतमा शान्ति भङ्ग गरेर पाकिस्तान भाग्ने जोसुकैलाई पनि भारतले मार्ने टिप्पणी गरे।

उक्त टिप्पणीलाई उच्छृङ्खल भन्दै पाकिस्तानले कडा प्रतिक्रिया व्यक्त गरेको छ।

ब्रिटिश शासनबाट मुक्त भएपछि सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएका थिए। त्यसपछि यी दुई देशबीच तनावपूर्ण सम्बन्ध र तीन पटक युद्ध भइसकेको छ।

सन् २०१९ मा भारतले पाकिस्तानको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुई देशबीच सम्बन्ध नराम्ररी बिग्रिएको थियो। भारत-प्रशासित कश्मीरको पुलवामामा एउटा आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानमा धावा बोलेको थियो।

पुलवामामा भएको घटनामा ४० भारतीय सैनिकको मृत्यु भएको थियो। पाकिस्तानमा आधार भएको आतङ्कवादी समूह जैश-ए-मोहम्मदले उक्त आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो।

त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको छ।

पाकिस्तानी गुप्तचर निकायको दाबी

बिहीवार 'द गार्डिअन' मा प्रकाशित रिपोर्टमा सन् २०२० यता पाकिस्तानमा भएका कम्तीमा २० वटा हत्यामा "विदेशी भूमिमा बसेका आतङ्कवादीलाई लक्ष्य बनाउने" भारतको बृहत्तर नीतिअन्तर्गत भारत संलग्न भएको दाबी गरिएको थियो। त्यसपछि अहिले दुई देशबीच तनाव बढेको हो।

केही महिनाअघि क्यानडाले पनि भारतले आफ्नो भूमिमा व्यक्ति हत्या गरेको आरोप लगाएको थियो। यद्यपि भारतले उक्त आरोपको खण्डन गर्दै आएको छ।

भारतमा एप्रिल १९ मा संसदीय निर्वाचन सुरु हुन लागेको छ। निर्वाचनको मुखमै यो समाचार प्रकाशित भएको हो।

भारतमा पाकिस्तानको विषयमा मानिसहरू कडा धारणा व्यक्त गर्छन्। विश्लेषकहरूका अनुसार सत्तारूढ भारतीय जनता पार्टीले प्रायः राष्ट्रवादी मत जुटाउन उक्त विषय प्रयोग गर्छ।

द गार्डिअनको रिपोर्टमा "पाकिस्तानका दुई गुप्तचर निकायका वरिष्ठ अधिकारीहरू"लाई उद्धृत गरिएको छ। उनीहरूले ती हत्याहरूमा भारतीय गुप्तचर निकाय 'रिसर्च एन्ड एनलिसिस विङ' (आरएडब्ल्यू) प्रत्यक्ष संलग्न भएको दाबी गरेका छन्।

नाम उल्लेख नगरिएका ती पाकिस्तानी अधिकारीहरूले सन् २०२३ देखि पाकिस्तान र पाश्चात्य देशमा व्यक्तिलक्षित हत्याहरूमा भारतको संलग्नता "उल्लेख्य रूपमा" बढेको अनि दिल्लीले अन्य विदेशी गुप्तचर निकायहरूबाट त्यस्तो गर्न सिकेको दाबी गरेका छन्।

जस्टिन ट्रूडो

तस्बिर स्रोत, GETTY IMAGES

नाम नखुलाइएएका दुई भारतीय अधिकारीलाई उद्धृत गर्दै उक्त रिपोर्टमा सन् २०१९ को पुलवामा आक्रमणपछि भारतले विदेशी भूमिमा पनि कारबाही गर्ने निर्णय गरेको उल्लेख छ।

"पुलवामापछि तरिका फेरियो र उनीहरू आक्रमण गर्न वा समस्या उत्पन्न गर्न सक्षम हुनुअघि नै भारतबाहिरका तत्त्वहरूलाई पनि लक्ष्य बनाउन थालियो," एक गुप्तचर अधिकारीले भनेका छन्।

"हामीले आक्रमण रोक्न सकेनौँ किनभने उनीहरूका आश्रयस्थल पाकिस्तानमा थिए। त्यसैले हामीले जरोसम्मै पुग्नुपर्ने थियो," उनले भने। उनका अनुसार त्यस्तो कारबाही गर्न "सरकारको उच्चतम तहबाट अनुमति" चाहिन्थ्यो।

भारतले ब्रिटिश पत्रिकामा प्रकाशित सामग्रीमा लगाइएको आरोपबारे प्रतिक्रिया दिएको छैन। यद्यपि त्यसमा भारतीय विदेश मन्त्रालय र विदेशमन्त्री एस जयशङ्करले यसअघि गरेको विदेशमा व्यक्तिलक्षित हत्या गर्नु "भारत सरकारको नीति नभएको" दाबीलाई स्थान दिइएको छ।

तर शुक्रवार रक्षामन्त्री राजनाथ सिंहले "भारतमा समस्या उत्पन्न गर्ने प्रयास गर्ने आतङ्ककारीलाई नछोड्ने" बताए।

"यदि उनीहरू पाकिस्तान भागे भने पनि हामी पाकिस्तानमा छिरेरै तिनको हत्या गर्छौँ," द गार्डिअनको समाचारबारे सोधिएको एउटा प्रश्नको उत्तर दिँदै सीएनएन-न्यूज१८ टीभीलाई उनले भने।

त्यसको केही घण्टापछि पाकिस्तानको विदेश मन्त्रालयले सिंहको टिप्पणीको आलोचना गर्दै एउटा विज्ञप्ति सार्वजनिक गर्‍यो। "त्यस्तो अदूरदर्शी र अनुत्तरदायी बेहोराले क्षेत्रीय शान्तिलाई बेवास्ता गर्ने मात्र हैन, दीर्घकालमा सिर्जनात्मक अन्तरक्रिया गर्ने सम्भावनालाई पनि रोक्छ," विज्ञप्तिमा भनिएको छ।

पाकिस्तानले आफ्नो देशमा भएका गैरन्यायिक हत्याहरूमा भारतको संलग्नता पुष्टि गर्ने "अकाट्य प्रमाण" उपलब्ध गराएको दाबी गरेको छ। उसले भारतलाई "उसका गैरकानुनी गतिविधिप्रति उत्तरदायी" बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।

पाकिस्तानले "एकतर्फी रूपमा 'आतङ्कवादी' को उपनाम दिइएका अझ बढी मानिसलाई पाकिस्तानभित्र मार्न भारत तयार रहेको कथन "स्पष्ट रूपमा उसको दोष स्वीकारोक्ति" भएको तर्क गरेको छ।

गत सेप्टेम्बर महिनामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा सिख पृथक्तावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको देखिने विश्वसनीय आधार रहेको बताएका थिए।

भारतले उक्त आरोपको खण्डन गर्दै क्यानडाले कुनै ठोस प्रमाण नदेखाएको बताएको थियो।

गत नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा पनि पृथक्तावादी नेता गुरपतवन्त सिंह पन्नुनको हत्या गर्ने षड्यन्त्र विफल भएको बताएको थियो। उक्त षड्यन्त्रमा निखिल गुप्ता नाम गरेका भारतीय नागरिक संलग्न भएको उसको दाबी थियो।

दिल्लीले उक्त प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।