युवा आन्दोलनका नेताको मृत्युपछि बाङ्ग्लादेशमा चर्कियो हिंसा

तस्बिर स्रोत, Getty Images
- Author, जेसिका रोन्जली
- Author, अनवरशन इथिराजन
- Role, विश्वमामिला संवाददाता
बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने युवा आन्दोलनका एकजना प्रमुख नेताको मृत्युपछि त्यहाँ हिंसा चर्किएको छ।
शरिफ ओस्मान हादीलाई गत साता ढाकाको एउटा मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र बिहीवार सिङ्गापुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सन् २०२४ मा भएको आन्दोलनपछि बाङ्ग्लादेशका अधिकारीहरूले पहिलो पटक चुनावको मिति घोषणा गरेको एक दिनपछि गोलाबारी भएको हो। चुनावमा हादीले स्वतन्त्र उम्मेदवारको रूपमा लड्ने योजना बनाइरहेका थिए।
बिहीवार उनको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै उनका सयौँ समर्थकहरू राजधानीको एउटा चोकमा विरोध प्रदर्शन गर्न भेला भए।
पछि प्रदर्शनकारीहरूले बाङ्ग्लादेशका अग्रणी पत्रिका द डेली स्टार र प्रोथोम अलीको कार्यालयमा तोडफोड गरे जसमध्ये एउटा भवनमा आगजनी गरियो।
"सयौँ मानिसहरू यहाँ भेला भएका छन् र आक्रमण गरेका छन्," एकजना प्रहरी अधिकारीले बीबीसी बाङ्ग्लालाई भने।
घटनास्थलमा सेना तैनाथ गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूलाई उद्धार गरेका थिए।
३२ वर्षीय हादी प्रदर्शनकारी विद्यार्थीहरूको समूह इन्कलाब मञ्चका एकजना वरिष्ठ नेता र छिमेकी भारतका एक स्पष्ट आलोचक थिए। अहिले हसिना भारतमा स्व-निर्वासनमा छिन्।
"देशका लागि अपूरणीय क्षति"

तस्बिर स्रोत, Getty Images
बाङ्ग्लादेशका राजनीतिक दलहरूले उनको निधनमा शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्।
नोबर पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्यु "देशका लागि अपूरणीय क्षति" भएको बताएका छन्। युनुसले बाङ्ग्लादेशको अन्तरिम सरकारको नेतृत्व गर्छन्।
बिहीवार टेलिभिजनमा प्रसारण गरिएको भाषणमा उनले भने, "प्रजातन्त्रतर्फ बढिरहेको देशको यात्रालाई डर, आतङ्क वा रक्तपातले रोक्न सक्दैन।"
अन्तरिम सरकारले शनिवार राष्ट्रिय शोकको घोषणा गरेको छ।

तस्बिर स्रोत, Getty Images
हादीलाई गोली लागे लगत्तै युनुसले यो पूर्वनियोजित हमला भएको र "षड्यन्त्रकारीहरूको उद्देश्य चुनावलाई बिथोल्ने" रहेको बताएका थिए।
"निर्वाचनमा बाधा पुर्याउने उद्देश्यले गरिएको कुनै पनि प्रकारको हिंसा सह्य हुँदैन," युनुसले भने। "देशको राजनीतिक परिदृश्यका लागि यो घटनाक्रम चिन्ताजनक हो।"
अनुसन्धान जारी छ र गोलाबारीसँग जोडिएको शङ्का गरिएका कयौँ मानिसहरूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको छ।
हसिना गत वर्ष अगस्ट ५ तारिखमा भागेर भारत गएकी थिइन्।
नोभेम्बरमा उनलाई मानवताविरुद्धको अपराधको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनी प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको मुद्दामा दोषी ठहरिएकी थिइन्। प्रदर्शनका क्रममा १४ सय मानिसको ज्यान गएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








