हसिना बहिर्गमनको एक वर्ष : बाङ्ग्लादेशमा उत्सवका दृश्य तर अगाडिको बाटो कठिन

तस्बिर स्रोत, Nur Photo Via Getty Images
- Author, अनवरसन इतिराजन
- Role, दक्षिण एसिया क्षेत्रीय सम्पादक
यो साता ढाकाको केन्द्रमा हजारौँ मानिस भेला भएर प्रधानमन्त्री शेख हसिनाको बहिर्गमन भएको र देशको नयाँ भविष्यको वाचा गरिएको एक वर्ष पुगेको उत्सव मनाए।
मुसलधारे पानीका माझ अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुस, विभिन्न राजनीतिक दलका नेताहरू तथा अभियानकर्मीहरूले एकताबद्ध रूपमा प्रस्तुत भएर 'नयाँ बाङ्ग्लादेश'को योजना सार्वजनिक गरे।
देशभरि मानिसहरूले कन्सर्ट, र्याली तथा विशेष प्रार्थना सभाहरूमा भेला भएर राष्ट्रिय झन्डा फहराए। १७ करोड जनसङ्ख्या भएको यो मुस्लिम बहुल देशमा भएको राजनीतिक परिवर्तनलाई कतिपय अभियानकर्मीहरूले 'दोस्रो मुक्ति' पनि भन्ने गरेका छन्।
तर यी उत्सवपूर्ण दृश्यहरूले गत १२ महिनाको पूर्ण कथा भनेका छैनन्।
अवस्था कस्तो?
मानवअधिकारवादी समूहहरूले भनेका छन् यस अवधिमा हिंसा, भिडद्वारा हत्या, बदलास्वरूप गरिएका आक्रमणहरू तथा धार्मिक अतिवाद विस्तार भएका छन् जसले देशको प्रजातन्त्रतर्फको यात्रामा अवरोध ल्याइदिन सक्छन्।
यसबीच गत वर्ष आश्चर्यजनक ढङ्गबाट सत्ताच्युत भएकी पूर्व प्रधानमन्त्री हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। उनले त्यतिखेर गरिएका भनिएका घातक दमनमा आफ्नो भूमिका अस्वीकार गरेकी छन्। साथै मानवताविरुद्धका अपराधबारे चलाइएका अभियोगको सामना गर्न देश फर्कन पनि अस्वीकार गरेकी छन्।
"मलाई लाग्छ हामीकहाँ सत्ता परिवर्तन भएको हो न कि क्रान्ति। आधारभूत रूपमा स्त्रीद्वेषी भावना उस्तै छ, अनि पुरुष वर्चस्व चुनौतीविहीन कायम छ," एकजना महिला अधिकारकर्मी शिरिन हकले बीबीसीलाई बताइन्।
प्रजातन्त्र तथा बहुलवादजस्ता आन्दोलनका लक्ष्य अनुरूप सामाजिक र राजनीतिक सुधारका निम्ति अन्तरिम सरकारले गठन गरेको महिला मामिला सुधार आयोगकी उनी प्रमुख थिइन्।
यो वर्षको एप्रिलमा १० सदस्यीय उक्त आयोगले लैङ्गिक समानताबारे प्रतिवेदन बुझायो – त्यसमा खासगरी महिलाहरूको पुर्ख्यौली सम्पत्तिमा अधिकार, सम्बन्धविच्छेदको अधिकार, वैवाहिक बलात्कारलाई अपराधिकरण गर्नु पर्ने, प्रहरी तथा अन्यबाट दुर्व्यवहार भोग्न बाध्य यौनकर्मीहरूको अधिकार रक्षाजस्ता विषय उठाइएका थिए।
तर मे महिनामा हजारौँ कट्टरपन्थी इस्लामवादीहरू सडकमा उत्रिएर ती सुझावहरूको विरोध गरे। ती विषय 'इस्लाम विरोधी' भएको भन्दै उनीहरूले 'महिला र पुरुष कहिल्यै पनि बराबरी हुन नसक्ने' बताए।
अन्तरिम सरकारको सल्लाहकारहरूको परिषद्मा एक प्रतिनिधि समेत रहेको हिफाजत-ए-इस्लाम समूहले ती विरोध प्रदर्शनहरूको अगुवाइ गरेको थियो। उसले महिला आयोग खारेज गर्न तथा त्यस्ता सुझाव दिएकोमा आयोगका सदस्यहरूलाई सजाय दिन माग गर्यो।
त्यसपछि उक्त आयोगका सुझावहरूबारे कुनै विस्तृत सार्वजनिक बहस हुन सकेन।

तस्बिर स्रोत, Nayem Ali/ CA Press Wing
"हिफाजत-ए-इस्लामबाट हामीमाथि भएका दुर्व्यवहारका सामु अन्तरिम सरकारले हामीलाई पर्याप्त समर्थन नगरेकोमा म निराश भएँ," हकले भनिन्।
उक्त आरोपबारे प्रतिक्रिया दिन सम्पर्क गर्दा युनुसको कार्यालयले जबाफ दिएन।
ती विरोध प्रदर्शनलाई कट्टरपन्थीहरू बलिया हुन थालेको एक उदाहरणका रूपमा अभियानकर्मीहरूले प्रस्तुत गरेका छन्। शेख हसिनाको शासनकालमा कट्टरपन्थीहरू किनारामा परेका थिए।
देशका केही भागमा उनीहरूले किशोरीहरूले फुटबल खेलेको, महिला सेलेब्रिटिहरूले व्यापारिक प्रवर्धनात्मक कार्यक्रममा भाग लिएकोमा आपत्ति जनाएका छन् तथा, कतै कतै, महिलाहरूको पोशाकका विषयमा सार्वजनिक स्थलमा महिलाहरूलाई दुर्व्यवहार गरेका छन्।
अल्पसङ्ख्यक तथा विपक्षीको अवस्था
तिनको निशानामा महिलाहरू मात्र छैनन्। गत एक वर्षमा कट्टरपन्थीहरूले सुफी मुस्लिमजस्ता अल्पसङ्ख्यकहरूका आस्थाका केन्द्रहरूमा आक्रमण तथा तोडफोड गरेका छन्।
शिरिन हकजस्ता मानिसहरू भविष्य उन्मुख भए तापनि बाङ्ग्लादेश अझै उसको विगतसँगै सामना गरिरहेको देखिन्छ।
शेख हसिनाको अवामी लिग नेतृत्वको सरकारविरुद्ध मानिसहरूमा व्यापक आक्रोश देखिन्छ। उक्त शासनमाथि गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता तथा कठोर दमनको आरोप लागेका छन्।
"बाङ्ग्लादेशमा ठूलो सङ्ख्यामा मानिसहरू छन् जो केवल जबाफदेहीता मात्र नभइ बदला नै लिएको देख्न चाहन्छन्," बाङ्ग्लादेश मामिलाका जानकार पत्रकार डेभिड बर्गम्यान भन्छन्।
तर उनले भने, "अवामी लिगको शासनकालका अन्याय थाँति राख्दै अहिले पनि त्यसकै सिको गर्न मिल्दैन।"
तर यथार्थमा त्यस्तै भइरहेको आरोप हसिनाको दल अवामी लिगले लगाएको छ। उसले गत एक वर्षमा आफ्ना सयौँ समर्थकहरूको गैरकानुनी हत्या भएको दाबि गरेको छ तर ती आरोपलाई अन्तरिम सरकारले खण्डन गरेको छ।
कैयन् पत्रकार तथा अवामी लिगका समर्थकहरूलाई कुनै अभियोग विना महिनौँसम्म जेलमा राखिएको छ। तिनका जमानतका निवेदनहरू अदालतद्वारा पटकपटक अस्वीकार गरिएका छन्।
आलोचकहरूका अनुसार गैरकानुनी हत्याका आरोपहरूको विस्तृत छानबिन गरिएका छैनन्। अनि विगतमा अवामी लिगलाई समर्थन गरेकै भरमा उनीहरूलाई हिरासतमा राखिएको छ।
"ठूलो आन्दोलनपश्चात् स्थिरता कायम हुन केही समय लाग्छ। हामी सङ्क्रमणकालमा छौँ," गत वर्षको आन्दोलनका एक अगुवा विद्यार्थी नेता नहिद इस्लामले भने। केही समय अघिसम्म उनी अन्तरिम सरकारका एक सल्लाहकार थिए।
देशले चुनौतीहरू सामना गरिरहेको इस्लाम स्वीकार्छन्। तर इस्लामवादी प्रभाव विस्तार भइरहेको चिन्तालाई उनले अस्वीकार गरे। त्यसलाई उनले वर्षौँदेखि चलिरहेको 'सांस्कृतिक द्वन्द्वको एक हिस्सा' भने।
कस्ता प्रगति भएका छन्?
प्रगति भएका केही सङ्केतहरू पनि छन्। देशको अर्थतन्त्रलाई स्थायित्व दिएकोमा अन्तरिम सरकारलाई श्रेय दिइएको छ। निकै चिन्ता गरिएको ब्याङ्किङ क्षेत्र पनि जोगिएको छ।
बाङ्ग्लादेशले उसका ऋण दायित्व पूरा गरेको छ, खानेकुराका मूल्य लगभग स्थिर राखेको छ, र विदेशी मुद्राको सञ्चिति सबल बनाएको छ। रेमिट्यान्स तथा अन्तर्राष्ट्रिय ऋणको मद्दतले उक्त सञ्चिति ३० अर्ब डलर पुगेको छ। निर्यात पनि स्थिर रहेको छ।
अनि नाप्न नसकिने अन्य विषय पनि छन्।
नहिद इस्लाम भन्छन्, "(हसिनाको सत्ता बहिर्गमनपश्चात्) एउटा प्रजातान्त्रिक वातावरण स्थापित भएको छ र अब जोकसैले आफ्ना धारणा स्वतन्त्रसँग राख्न सक्छन्।" इतिहासमा राजनीतिक उथलपुथल, सैन्य कू, हत्या तथा तिक्ततापूर्ण राजनीतिक प्रतिद्वन्द्वहरूले ग्रसित देशमा यो उत्सव मनाउनु पर्ने विषय हो।
तर यसलाई पनि कतिपयले प्रश्न गरेका छन्।

तस्बिर स्रोत, Nur Photo Via Getty Images
अन्तरिम सरकारमाथि विद्यार्थी नेताहरूको प्रभावले आलोचना निम्त्याएको छ। हसिना सरकार ढाल्न अभूतपूर्व विरोध आन्दोलन गराउन योगदान दिएकोमा उनीहरूलाई विभिन्न भूमिका दिइएको थियो।
अहिले पनि दुईजना विद्यार्थी नेता युनुसको क्याबिनेटमा छन्। आलोचकहरूका अनुसार अवामी लिगमाथि लगाइएको अस्थाइ प्रतिबन्धजस्ता केही विवादित निर्णयहरू तिनै विद्यार्थीहरूको दबावमा लिइएका थिए।
"सरकारले बेलाबेला खासगरी विद्यार्थीहरूले राखेका लोकप्रियतावादी मागहरू मानेको छ - त्यसो नगर्दा विरोध प्रदर्शन हुने डरमा। तर सधैँ त्यस्तो भइरहेको चाहिँ होइन," बर्गम्यानले भने।
यसबीच अवामी लिगका एकजना निर्वासित नेताले आगामी निर्वाचनमा भाग लिन नदिएर पार्टीका समर्थकहरूको मुख थुनिएको आरोप लगाए। अवामी लिगका अधिकांश नेता या त निर्वासनमा या त जेलमा छन्।
"अवामी लिगको सहभागिता विना निर्वाचन समावेशी हुने छैन," हसिनाको मन्त्रिपरिषद्मा सामेल एक पूर्वमन्त्री मोहम्मद अलि अराफातले बीबीसीलाई भने।
आफ्नो पछिल्लो प्रतिवेदनमा ट्रान्स्परेन्सी इन्टर्न्याशनल बाङ्ग्लादेश (टीआईबी)ले भिडबाट हुने हिंसामा चिन्ताजनक वृद्धि भएको तथा गत वर्ष गैरन्यायिक हत्या तथा हिरासतमा मृत्युका घटना निरन्तर रहेको उल्लेख गरेको छ।
"हामीले एक निरङ्कुश शासनलाई फाल्यौँ। तर निरङ्कुश व्यवहारलाई पनि समाप्त गरेनौँ भने नयाँ बाङ्ग्लादेशको निर्माण हुन सक्दैन," टीआईबीका कार्यकारी निर्देशक इफ्तेखार जमानले यो साता उक्त प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भनेका थिए।
यो चौबाटोमा आइपुगेको बाङ्ग्लादेशका निम्ति आगामी ६ महिना निकै महत्त्वपूर्ण रहने देखिन्छ।
केही विश्लेषक भन्छन् यदि उतारचढावपूर्ण राजनीतिक प्रणालीमा कुनै अर्थपूर्ण परिवर्तन भएन भने आन्दोलनमा ज्यान गुमाएकाहरूले दिएको बलिदान अर्थहीन बन्न पुग्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








