पानीको समस्या समाधान गर्न अज्ञात दाताद्वारा जापानी सहरलाई २१ केजी सुन दान

कालो ट्रेमा सुनका २१ वटा बिस्किटहरू

तस्बिर स्रोत, Osaka City Waterworks Bureau

तस्बिरको क्याप्शन, ओसाका सहरले पाएको सुनको मूल्य ३६ लाख डलरजति पर्छ
    • Author, को यू
  • पढ्ने समय: २ मिनेट

जापानको एउटा सहरले त्यहाँको पुरानो पानी वितरण प्रणाली सुधार्न अज्ञात दाताबाट २१ केजी सुन प्राप्त गरेको छ।

एक केजी तौल भएका सुनका बिस्किटहरूको मूल्य ५६ करोड येन अर्थात् ३६ लाख अमेरिकी डलरजति पर्छ। ओसाका सहरका मेअर हिदेयुकी योकोयामाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा ओसाकाले पाएको दानबारे जानकारी दिने क्रममा ती दाताले आफ्नो नाम नखुलाएको बताए।

कान्साई क्षेत्रमा रहेको ओसाकामा झन्डै ३० लाख मानिसको बसोबास छ र जापानको तेस्रो ठूलो सहर हो। ओसाका एउटा व्यस्त व्यापारिक केन्द्र पनि हो।

तर अन्य जापानी सहरहरूजस्तै ओसाकामा पानी वितरण र ढल निकास गर्ने पाइपहरू निकै पुराना भइसकेका छन्। त्यसबाट सुरक्षाबारे चिन्ता पनि उत्पन्न भएको छ।

सन् २०२४ को आर्थिक वर्षमा ओसाकामा पाइप फुटेर बाटोमुनिबाट पानी चुहावट भएका ९० वटाभन्दा बढी घटनाहरू जानकारीमा आएको उक्त सहरको पानी वितरण हेर्ने निकायले जनाएको छ।

जापानमा २० प्रतिशतभन्दा बढी पाइपलाइनले कानुनी रूपमा निर्धारित ४० वर्षको अवधि पार गरिसकेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"पुराना पाइहरूबाट उत्पन्न समस्या समाधान गर्न ठूलो लगानी चाहिन्छ। त्यसैले अहिले पाएको दानको हामी प्रशंसा गर्छौँ," योकोयामाले एउटा प्रश्नको उत्तर दिँदै भने।

कृतज्ञता

योकोयामाले अहिले प्राप्त दान "निकै ठूलो" भएको र आफू "निःशब्द" बनेको बताए। उनका अनुसार तिनै अज्ञात दाताले यसअघि ओसाको नगरपालिकाको पानी वितरणका लागि पाँच लाख येन दान दिएका थिए।

ओसाकामा पानी वितरण गर्ने निकायले बिहीवार एउटा विज्ञप्ति प्रकाशित गर्दै दाताप्रति कृतज्ञता व्यक्त गरेको छ र प्राप्त दान खस्किँदो अवस्थामा रहेका पाइपहरूबाट उत्पन्न समस्या निराकरण गर्न सदुपयोग गरिने जनाएको छ।

जापानमा बाटोमा खाडल पर्ने समस्या बढ्दै गएको छ। त्यस्ता अधिकांश घटनाहरू ढलनिकासका पुराना पाइपहरूसँग सम्बन्धित छन्।

गत वर्ष साइतामा जिल्लामा बाटोमा बनेको ठूलो खाडलमा एउटा ट्रकको अघिल्लो भाग खस्दा त्यसका चालकको मृत्यु भएको थियो। उक्त खाडल ढल फुट्दा बनेको ठानिएको छ।

उक्त घटनापछि अधिकारीहरूले जापानमा खिया लागेका पाइपहरू प्रतिस्थापन गर्ने प्रयास अगाडि बढाएका हुन्। तर बजेटको अभावका कारण नयाँ पाइि बिच्छ्याउने कार्यमा प्रगति हुन सकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।