महिला प्रधानमन्त्रीको दललाई जापानमा दुईतिहाइ बहुमत

जापानकी महिला प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ४ मिनेट

जापानमा मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सनाए तकाइचीको नेतृत्वमा रहेको सत्ताधारी दलले दुई तिहाइ बहुमत सहित जित हासिल गर्ने निश्चित देखिएको छ।

तकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी, एलडीपीले जापानी प्रतिनिधिसभाका ४६५ मध्ये ३५२ सिट जित्ने देखिएको सरकारी प्रसारक एनएचकेले जनाएको छ। चुनावी नजिता औपचारिक रूपमा घोषणा हुन बाँकी छ।

बहुमतका लागि आवश्यक पर्ने ३१६ सिट एलडीपी एक्लैले जित्ने देखिएको छ। त्यो सङ्ख्या प्रतिनिधिसभाको ६८ प्रतिशत अर्थात् दुईतिहाइ हो।

यो जापानको इतिहासमै युद्धपछि सन् १९४७ मा संसद्को अहिलेको संरचना बनेयताकै सबैभन्दा फराकिलो चुनावी जित हो।

देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी प्रमुख बनेको चार महिनामै स्पष्ट बहुमतका लागि आह्वान गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।

उनका दुई जना पूर्ववर्तीहरूका पालामा बाहिर आएका भ्रष्टाचार काण्ड र मूल्य वृद्धिका कारण पार्टीले यसअघि बहुमत गुमाएको थियो।

'बाजी' जितेकी तकइची

तकाइचीले यसअघि आफ्नो दलले बहुमत नपाए राजीनामा दिने बताएकी थिइन्। जसकारण कतिपयले मध्यावधि निर्वाचनलाई 'ठूलो जुवा' का रूपमा अर्थ्याएका थिए।

एलडीपीले सन् २०२४ मा संसद्‌का दुवै सदनमा बहुमत गुमाएको थियो र कोमेइतो पार्टीसँगको लामो समयदेखिको गठबन्धन पनि टुटेको थियो।

तर तकाइचीको व्यक्तिगत लोकप्रियताले उनको पार्टीलाई चुनावमा नतिजा दिलाएको देखिएको छ। उनी नेतृत्वको सरकारले ७० प्रतिशत भन्दा धेरै अप्रुभल रेटिङ पाएको थियो।

एलडीपीलाई अहिले सरकारमा साथ दिइरहेको जापान इनोभेसन पार्टीले ३६ सिट जित्ने ठानिएको छ। एनएचकेका अनुसार विपक्षी पार्टीहरूले जम्मा ११३ सिट जित्न सक्नेछन्।

यो जितले तकाइचीलाई आफ्ना परम्परावादी मुद्दाहरू अघि बढाउन सहयोग पुग्ने ठानिएको छ। उनले जापानको रक्षा खर्च वृद्धि गर्दै आप्रवासन नियन्त्रण र जापानको युद्ध विरोधी संविधान पुनरावलोकन गर्ने वाचा गरेकी छन्।

विश्व नेताहरूको बधाई

तकाइचीले विश्व नेताहरूबाट बधाई पाइरहेकी छिन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई बधाई दिँदै उनी "निकै प्रतिष्ठित र धेरै लोकप्रिय नेतृ" भएको उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको विजयलाई स्वागत गरेका छन्। उनले भारत र जापानबीचको मित्रता "नयाँ उचाइमा पुग्ने" विश्वास व्यक्त गरेका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि तकाइचीलाई बधाई दिँदै "जापान बलियो हुँदा एशियामा अमेरिका पनि बलियो हुने" बताएका छन्।

मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि जापानको अर्थतन्त्रलाई ताजा बनाउने तकाइचीको अठोटले जनमत जितेको भन्दै बधाई दिएका छन्।

ताइवानका राष्ट्रपति लाई चिङ दले पनि उनको नेतृत्व र दृष्टिकोणले जापानी मतदाताको विश्वास जितेको उल्लेख गरेका छन्।

शेअर बजारमा उछाल

जापानी येन र अमेरिकी डलर

तस्बिर स्रोत, SOPA Images

सञ्चार माध्यमहरूमा तकाइचीको 'ऐतिहासिक विजय' शीर्षकमा समाचारहरू आए लगत्तै सोमवार कारोबार खुल्नासाथ जापानको शेअर बजार उकालो लागेको छ।

प्रारम्भिक कारोबार सुरु हुँदा जापानको निक्केइ परिसूचक करिब पाँच प्रतिशतले बढेको छ। यो परिसूचक पहिलो पटक ५७,००० बिन्दुमा पुगेको छ।

जापानी येन अन्य मुद्राहरूको तुलनामा कमजोर देखिए पनि अमेरिकी डलरको तुलनामा बलियो भएको छ। सोमवार डलरसँग यसको सटही दर शून्य दशमलव पाँच प्रतिशतले बढ्यो। जापान सरकारले जारी गरेका ऋणपत्रहरूको मूल्यमा भने उत्साह देखिएको छैन।

तकाइचीले कर कटौती गर्दै खर्च वृद्धि गरेर जापानको अर्थतन्त्र माथि उकास्ने वाचा गरेकी छन्। उनलाई दिवङ्गत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी 'शिष्या' मानिन्छ। तकाइचीले "आबेनोमिक्स" अर्थात् आबेले अवलम्बन गरेको आर्थिक नीति फेरि लागु गर्ने र सार्वजनिक खर्च बढाउने तर सस्तोमा ऋण लिने वाचा गरेकी छन्।

उनले वाचा गरेका केही व्यवसायमैत्री नीतिहरू अघि सार्न अब विपक्षी दलहरूसँग व्यापक सहमति गरिरहनुपर्ने बाध्यता हटेको छ।

टेलिभिजन प्रस्तोताबाट प्रधानमन्त्रीसम्म

जापानकी महिला प्रधानमन्त्री सनाए तकाइची

तस्बिर स्रोत, EPA/Shutterstock

ब्रिटेनकी भूतपूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो आदर्श व्यक्ति मान्ने तकाइचीले आफूलाई जापानकी 'आइरन लेडी'का रूपमा प्रस्तुत गर्दै आएकी छन्।

राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रमकी प्रस्तोता थिइन्। कुनै बेला 'हेभी मेटल'को एउटा साङ्गीतिक समूहकी सदस्यका रूपमा पनि उनले काम गरिन्।

सन् १९८० को दशकमा जापान र अमेरिकाबीचको व्यापारमा तनाव उत्पन्न भएको बेलामा तकाइचीलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो। अमेरिकाले जापानलाई हेर्ने दृष्टिकोण बुझ्न उनले अमेरिकी डेमोक्र्याट सांसद प्याट्रिसिआ श्रोडरको कार्यालयमा काम गरिन्। श्रोडर जापानकी आलोचक थिइन्।

अमेरिकीहरूले जापानी, चिनियाँ र कोरियाली भाषा र परिकार सबैलाई एउटै डालोमा राखेर हेर्ने गरेको उनले थाहा पाइन्।

उनी सन् १९९२ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनिन् तर पराजित भइन्।

त्यसपछि अर्को वर्ष फेरि चुनाव उठिन् र जितिन्। सन् १९९० मा उनी एलडीपीमा प्रवेश गरिन्। उनी १० पटक सांसद निर्वाचित भएकी छन् भने एक पटक निर्वाचनमा पराजित भएकी छन्। उनी पार्टीभित्र प्रखर परम्परावादी नेत्रीका रूपमा चिनिन्छिन्।

उनले विभिन्न मन्त्रालयको नेतृत्व पनि गरेकी छन्। जापानमा उनी अहिलेसम्म सबै भन्दा लामो समय आन्तरिक मामिला र सञ्चार मन्त्रालय सम्हाल्ने व्यक्ति हुन्।

एलडीपीको नेतृत्वका लागि उनले सन् २०२१ मा प्रतिस्पर्धा गरिन् तर फुमिओ किशिदासँग पराजित भइन्। सन् २०२४ मा भएको आन्तरिक निर्वाचनमा उनी पहिलो चरणमा अग्रस्थानमा थिइन् तर पछि शिगेरु इशिवा पार्टीका नेता छानिए।

उनी तेस्रो पटकको प्रयासमा गत अक्टोबरमा एलडीपीको नेतृत्वमा पुगेकी हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।