जापानको यो 'भाग्यमानी सहर' जहाँ दोस्रो विश्वयुद्धमा दुई पटकसम्म अणुबम हमला हुन सकेन

९ अगस्ट १९४५ मा जापानको सहर नागासाकीमा अणुबम विस्फोट हुँदाको दृश्य

तस्बिर स्रोत, Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी वायुसेनाको एउटा विमानले नागासाकीमा ९ अगस्ट १९४५ मा अणुबम प्रहार गरेको थियो
    • Author, फेर्नान्डो डुआर्टे
    • Role, बीबीसी ग्लोबल जर्नलिजम्

कोकुरा सहर अहिले अस्तित्वमा छैन।

सन् १९६३ मा कोकुरा र अरू चारवटा सहर एकीकरण गरेर किताक्युशु बनाइयो। दक्षिणपश्चिम जापानस्थित किताक्युशुमा अहिले पाँच लाख जनाजतिको बसोबास छ।

तर जापानीहरूको मनमा अझै कोकुराको नाम गुन्जिरहन्छ। उक्त सहरको अवसान निकै विनाशकारी रूपमा हुन सक्ने सम्भावना पनि थियो।

सन् १९४५ मा संयुक्त राज्य अमेरिकाले जापानमा अणुबम प्रहार गर्ने योजना बनाएको थियो। तर द्वितीय विश्वयुद्धका अन्तिम दिनहरूमा कोकुरा दुई पटक जोगियो।

हिरोशिमामा अणुबम प्रहार भएको तीन दिनपछि अगस्ट ९ मा कोकुरामा पनि त्यस्तै आक्रमण गर्ने तयारीमा अमेरिका थियो।

तर उक्त विनाशकारी बम त्यहाँ पुग्न सकेन। विभिन्न कारणले गर्दा अमेरिकी वायुसेनाले बरु नागासाकीलाई तारो बनायो।

अमेरिकाले प्रहार गरेका अणुबमका कारण हिरोशिमामा १,४०,००० जना र नागासाकीमा ७४,००० जनाको मृत्यु भएको अनुमान गरिएको छ। कैयौँ वर्षसम्म रेडिओ विकिरणको दुष्प्रभाव हजारौँ मानिसमा परिरह्यो।

त्यस्तो विनाशकारी अवस्थाबाट उम्किन सकेकाले जापानी जनजिब्रोमा "कोकुराको भाग्य" उखानजस्तै बन्न पुगेको छ।

वास्तवमा त्यतिबेला के भएको थियो त?

कोकुराको आकाशमा बादल र धुवाँ

९ अगस्ट १९४५ मा नागासाकीमा प्रहार गरिएको 'फ्याट म्यान' नामक अणुबमनजिकै अमेरिकी सैनिकहरू

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, नागासाकीमा प्रहार गरिएको प्लूटोनिअम अणुबम वास्तवमा कोकुरामा प्रहार गर्ने अमेरिकाको योजना थियो

सन् १९४५ को जुलाई महिनाको मध्यसम्ममा अमेरिकी सैन्य अधिकारीहरूले जापानका १२ वटा सहरलाई अणुबम प्रहार गर्न सकिने सम्भावित स्थानको सूचीमा राखिसकेका थिए। कलकारखाना र सैन्य शिविरहरू भएका सहरहरूलाई उक्त सूचीमा छानेर राखिएको थियो।

उक्त सूचीको प्राथमिकताको क्रममा हिरोशिमालगत्तै कोकुरा परेको थियो। कोकुरामा अस्त्रशस्त्र उत्पादन हुन्थ्यो र त्यहाँ जापानी सेनाको एउटा विशाल अस्त्रभण्डार पनि थियो।

कारणवश अमेरिकी सेनाले ६ अगस्टका दिन हिरोशिमामा पहिलो अणुबम प्रहार गर्न नसके कोकुरालाई तारो बनाउने अमेरिकाको योजना थियो।

त्यसको तीन दिनपछि बिहान सबेरै अमेरिकाका बी-२९ बमवर्षक विमानहरू कोकुरातर्फ उडे। तीमध्ये 'बक्स्कार' विमानमा 'फ्याट म्यान' छद्मनाम दिइएको प्लूटोनिअमबाट निर्मित बम थियो। उक्त बम हिरोशिमामा प्रहार गरिएको युरेनिअमबाट निर्मित बमभन्दा निकै शक्तिशाली थियो।

तर त्यो दिन बिहान कोकुरालाई बादलले ढाकेको थियो। अघिल्लो दिन छिमेकी सहर यावातामा बम विस्फोटन भएको थियो। त्यसपछि त्यहाँ लागेको आगोका कारण उत्पन्न धुवाँले पनि स्पष्टसँग नदेखिने गरी आकाश धमिलिएको हुन सक्छ।

जापानमा अमेरिकाले बारम्बार हवाई हमला गर्दै आएकाले त्यसबाट जोगिने उद्देश्यले कोकुराका कारखानाहरूमा कोइला बालेर सहरलाई धुँवाको मुस्लोले ढाकिएको दाबी केही इतिहासकारहरूले गरेका छन्।

अमेरिकी सेनाका दस्तावेज र ९ अगस्टमा अमेरिकाले उडाएको एउटा बमवर्षक विमानमा सवार न्यूयोर्क टाइम्सका पत्रकार विलिअम लरेन्सको विवरणका अनुसार बी-२९ विमानहरूले तीन पटक कोकुराको चक्कर लगाएका थिए।

सकेसम्म बढी विनाश होस् भनेर लक्ष्य स्पष्टसँग देखिएपछि मात्र अणुबम प्रहार गर्ने आदेश थियो।

तर त्यस्तो परिस्थिति आउनुअघि नै कोकुरामा भएका जापानी सैनिकहरूले आकाशमा विमानहरू देख्नासाथ प्रतिरक्षाका लागि तिनमाथि गोली हान्न थाले।

उपयुक्त समय कुर्दा विमानको इन्धन घट्दै गएकाले अणुबम लिएर गएको 'बक्स्कार' उडाउँदै गरेका मेजर चार्ल्स स्वीनीले नागासाकीतिर मोडिने निर्णय गरे।

कोकुरा दोस्रो पटक पनि जोगियो।

क्योटो जोगाउने भूमिका अमेरिकी मन्त्रीकै

९ अगस्ट १९४५ मा बम प्रहार भएपछि भग्नावशेष पन्छाएको बाटोमा आफ्नो साइकलमा सामान राखेर डोर्‍याउँदै एक जापानी पुरुष। छेउछाउमा धातुका टुक्रा र रूखा हाँगाबिँगा छरपस्ट देखिन्छन्

तस्बिर स्रोत, Bettmann Archive/Getty Images

तस्बिरको क्याप्शन, नागासाकीमा मात्रै ७०,००० जनाको मृत्यु भएको अनुमान गरिएको छ

त्यो वर्ष मार्च महिनादेखि अमेरिकी विमानहरूले जापानमा अविराम आक्रमण गरेका थिए। त्यस्ता आक्रमणमा अमेरिकाले आगो लगाउने बम प्रहार गरेर सहरहरूलाई ध्वस्त पार्दै आएको थियो।

टोक्योमा ९ मार्चको राति गरिएको एउटा हवाई हमलामा परी ८३,००० मानिसको मृत्यु भएको र १० लाख जनाभन्दा बढी मानिसको घरबास गुमेको ठानिन्छ।

अगस्टमा कोकुराको आकाशमा बी-२९ विमानहरू आइपुग्दा उक्त सहर लगभग पुरानै अवस्थामा थियो।

अणुबम प्रहार गर्न सकिने सम्भावित स्थान भनेर अमेरिकाले सूचीमा राखेका अरू सहरहरूजस्तै कोकुरामा पनि आगो लाग्ने गरी पहिला आक्रमण भएको थिएन। अमेरिकी सैन्य अधिकारीहरू अणुबम प्रहार गर्नुअघि ती सहरलाई यथासम्भव पुरानै अवस्थामा राख्न चाहन्थे। किनभने त्यसो गर्दा अणुबमबाट हुने क्षति राम्ररी बुझ्न सकिन्छ भन्ने उनीहरूको बुझाइ थियो।

अणुबम प्रहार गर्ने स्थानहरूको सूचीमा पहिला नागासाकी थिएन। पछि युद्धसम्बन्धी मामिला हेर्ने मन्त्री ह्यारी स्टिम्सनले नागासाकीलाई त्यो सूचीमा पारेका हुन्।

जापानको पुरानो राजधानी क्योटो ध्वस्त बनाइदिँदा पछि जापानलाई अमेरिकासँग मेलमिलाप गर्न निकै कठिन हुने भन्दै उनले तात्कालिक राष्ट्रपति ह्यारी ट्रूमनलाई उक्त सूचीमा केही परिवर्तन गर्न मनाएका हुन्।

तर केही इतिहासकारहरू स्टिम्सनले क्योटो जोगाउने प्रयास गर्नुका पछाडि उनको व्यक्तिगत स्वार्थ रहेको ठान्छन्। उनी निकै पटक जापान गएका थिए र उनले आफ्नो 'हनिमून' क्योटोमै मनाएका थिए।

राहत र दुःख

घमाइलो दिनमा खिचिएको किताक्युशुस्थित कोकुरा किल्लाको तस्बिर

तस्बिर स्रोत, Kitakyushu City handout

तस्बिरको क्याप्शन, किताक्युशुलाई अहिले एशियामा निकै हरियाली भएको सहरमध्ये एक मानिन्छ

सम्राट् हिरोहितोले १५ अगस्ट १९४५ मा जापानले बिनासर्त आत्मसमर्पण गरेको घोषणा गरे।

कोकुरा - अहिले किताक्युशु - विध्वंसबाट त जोगिन सफल भयो तर सन्त्रासबाट जोगिन सकेन।

नागासाकीमा विस्फोट भएको बम वास्तवमा कोकुरामा प्रहार गर्ने अमेरिकाको योजना थियो भन्ने विवरणसहित समाचार आएपछि त्यहाँ राहतसँग दुःख र सहानुभूतिको भाव पनि मिसियो।

किताक्युशुमा पुरानो अस्त्रभण्डार भएको जमिनमा नागासाकीमा भएको अणुबम आक्रमणको सम्झनामा एउटा स्मारक बनाइएको छ। त्यहाँ कोकुरा जोगिएको प्रसङ्ग र नागासाकीले खेप्नुपरेको सास्तीबारे वर्णन गरिएको छ। त्यहाँ सन् १९७३ देखि प्रत्येक वर्ष ९ अगस्टमा स्मृतिसभा आयोजित हुँदै आएको छ।

सन् २०२२ मा 'किताक्युशु सिटी म्यूजिअम अफ पीस' को उद्घाटन भयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।