हिरोशिमा हमलामा बाँचेकी महिला जो शान्तिका निम्ति आवाज उठाइरहेकी छन्

सेत्सुको थर्लो

तस्बिर स्रोत, Setsuko Thurlow

तस्बिरको क्याप्शन, सेत्सुकोले आइकानको तर्फबाट नोबेल शान्ति पुरस्कार ग्रहण गरिन्
    • Author, केट फोर्ब्स
    • Role, ग्लोबल डिजिटल

सेत्सुको थर्लो १३ वर्षकी थिइन् जब मानव वस्तीमाथि खसालिएको पहिलो परमाणु बम विस्फोटन भएको थियो। उनी त्यसबाट बाँचिन् र त्यसयता ६ दशकभन्दा धेरै समयदेखि उनी परमाणु अस्त्रहरू विरुद्धको अभियानमा निरन्तर सामेल छिन्।

अब त उनी हिरोशिमा विस्फोटनमा बाँच्न सफल थोरै जीवितमध्ये पर्छिन्। तर अहिलेको समयमा जब परमाणु अस्त्रमा विश्वले गर्ने खर्च निकै बढिरहेको छ तब यी ९२ वर्षीया चाहन्छिन् उनीहरूले परमाणु निरस्त्रीकरणबारे गर्दै आएका कार्य मानिसहरूको मनमस्तिष्कमा गाढा गरी बसिरहोस्।

त्योबेला बम खस्दाको समय उनको स्मरणमा ताजै छ।

“मैले केही चम्केको देखेँ। के भयो भनेर मेरो दिमागले ठम्याउनै पाएन किनभने मेरो शरीर माथि हुत्तियो। मेरो शरीर हावामा उचालियो र मैले होस गुमाएँ,” बीबीसीको आउटलुक कार्यक्रमसँग सेत्सुकोले भनिन्।

परमाणु बम

तस्बिर स्रोत, History/Getty Images

तस्बिरको क्याप्शन, ६ अगस्ट १९४५ मा हिरोशिमामा परमाणु बम खसालिएपछिको दृश्य

सन् १९४५ को अगस्ट ६ मा स्थानीय समयानुसार बिहान ८ बजेर १६ मिनेट जाँदा अमेरिकाले ‘लिटिल बोइ’ नामक अणु बम हिरोशिमा सहरमाथि खसालेको थियो। युद्धमा अणु बम खसालिएको त्यो पहिलो घटना थियो।

तेज प्रकाश र आगोको गोला लगत्तै भयानक आवाज र त्यसपछि अन्धकार अनि विकिरणयुक्त धूलोले सहरलाई छोप्यो।

“मेरो होस खुल्दा मैले आफूलाई अन्धकारमा पाएँ। वरपर सुनसान थियो,” उनले भनिन्।

बढ्दो अस्त्र दौड

सेत्सुकोले जीवनको धेरै समय परमाणु अस्त्रहरू विरुद्ध अभियानमा बिताएकी छन्।

परमाणु अस्त्र उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय अभियान आइकानकी उनी अग्रणी व्यक्ति पनि हुन्।

आइकानले पाँच वर्षदेखि प्रकाशित गर्दै आएको वार्षिक प्रतिवेदनमा विश्वभर परमाणु अस्त्रमा गरिने खर्च २३.२ अर्ब अमेरिकी डलरले वा ३४%ले बढेको देखिन्छ।

उसका अनुसार अहिले विश्वमा ९ वटा परमाणु अस्त्रयुक्त देशहरू छन्: रुस, संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स, यूके, पाकिस्तान, भारत, इजरेल र उत्तर कोरिया। इजरेलसँग परमाणु अस्त्र भएको ठानिन्छ तर त्यहाँको सरकारले यस मामिलामा आधिकारिक रूपमा नै ‘अस्पष्टता’को नीति अख्तियार गर्छ।

परमाणु अस्त्रयुक्त देशहरूले सन् २०२३ मा हरेक सेकेण्ड करिब २८९८ अमेरिकी डलर खर्च तिनका ती अस्त्र भण्डारणमा गरेको आइकानले जनाएको छ – जुन अघिल्लो वर्षभन्दा १३.४%ले बढी छ।

स्टकहोम इन्टर्न्याशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)का अनुसार ‘९ परमाणु अस्त्रयुक्त देश’हरूले तिनका ती अस्त्रको आधुनिकीकरण गर्ने काम सन् २०२३ मा पनि जारी राखे।

भयङ्कर विनाश

सेत्सुकोका कैयन् मित्रहरूको ज्यान गएको उक्त हमलाको घटनामा अमेरिकी सेनाले प्याराशुटबाट उक्त बम खसालेको थियो। त्यो बम जमिनभन्दा ६ सय मिटरमाथि नै पड्किएको थियो।

कति मानिसको ज्यान गयो भन्ने यकीन सङ्ख्या उपलब्ध छैन। तर उक्त भयानक विस्फोटनले तत्क्षण ६० देखि ८० हजार मानिस मारिएको अनुमान गरिन्छ।

“मैले मेरो शरीर चलाउन खोजेँ तर सकिनँ,” उनले भनिन्। “अचानक हातहरूले मेरो ढाडमा समाएको अनुभव गरेँ। अनि एउटा पुरुष स्वर सुनेँ – ‘नआत्तिउ। हिँडिरहु। शरीर चलाइरहु। अघि बढिरहु।’”

उनले ती पुरुषलाई त देखिनन् तर त्यो आवाजको निर्देशन पालना गरिरहिन् र अँध्यारोबाट बाहिर निक्लन सकिन्। उनका सहपाठीहरूको मधुरो आवाज सुनिन्: “हे भगवान् बचाउ, आमा मलाई बचाउ।”

“भवन जल्न थाल्यो। त्यही कोठा बसिरहेकाहरू सबै आगोमा जलेर मरे।”

हिरोशिमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हिरोशिमामा भएको बम विस्फोटका कारण तत्कालै ६० देखि ८० हजार मानिसको ज्यान गएको थियो

‘ती भूतजस्ता देखिन्थे’

जापानी सेनाका लागि काम गर्दै आएका ३० किशोरीहरू त्यही कोठामा थिए। गणितमा तिनको दखलका कारण ती सहपाठीहरूले जापानी सेनाका लागि ‘कोड ब्रेकर’को काम गर्थे।

तीमध्ये सेत्सुको र दुईजना अरू मात्र बाँच्न सके। तर तिनले त्यसपछि नारकीय दृश्य बेहोर्नुपर्‍यो।

“मैले मानिसजस्ता आकृति देखेँ तर ती मानिसजस्ता पटक्कै देखिँदैनथे। ती त भूतजस्ता देखिन्थे किनभने तिनका रौँ ठाडा भएका थिए। हाडबाट छुट्टिएका मासु र छाला लत्रिएका थिए। तिनको जलेका छाला पग्लिरहेका थिए अनि शरीरका भागहरू थिएनन्।”

त्यसपछिका महिना र वर्षहरूमा कैयन् मानिसहरू विकीरणको दीर्घकालीन प्रभावले मरे। कुल मृतकको सङ्ख्या करिब १ लाख ३५ हजार रहेको बताइन्छ।

नागासाकी

सन् १९४५ को अगस्ट ९ मा अमेरिकाले जापानमा दोस्रो परमाणु बम खसाल्यो। यसपटकको निसाना नागासाकी सहर थियो। त्यहाँ ५० हजार मानिस मारिएको अनुमान गरिन्छ।

बाल्यकाल

सेत्सुकोले बेहोर्नु परेको विभत्स घटनालाई कुनै हिसाबमा बेवास्ता गर्न सकिन्न। त्यो सम्झन पीडादायी भएपनि उनी पनि त्यसलाई बिर्सन चाहन्नन्।

तर उनी आफ्नो दैनिक जीवनचर्या निकै सकारात्मक ढङ्गले व्यतीत गर्छिन्।

क्यानडाको टोरन्टो सहरबाट भिडिओ लिंकमार्फत बोल्दै गर्दा उनी गुलाबी पहिरनमा थिइन् – उनको ज्याकेट, लिपस्टिक, घरका चकटी तथा फूलहरूका उज्याला रङ्ले उनको प्रारम्भिक बाल्यकालकै झल्को दिन्थे।

कामको पहिलो दिन

छोटो समयको प्रशिक्षणपश्चात् अगस्ट ६ देखि ती किशोरीहरू काम थाल्दै थिए।

बिहान ८ बजे उनीहरू सहरको केन्द्रभन्दा डेढ किलोमिटर पर रहेको काठबाट बनेको ठूलो भवनमा गए। त्यो भवन त्यहाँको सैनिक मुख्यालयको रूपमा प्रयोग गरिएको थियो।

सुरुवाती परिचय आदानप्रदानको काम सकिनासाथ सेत्सुकोले डरलाग्दो चम्किलो उज्यालो देखिन्।

सेत्सुको र उनका बाआमा त्यो घटनामा बाँचे तर उनकी बहिनी तथा भतिजा नराम्ररी घाइते भए र तिनले ज्यान गुमाए।

“म किन बाँचे हुँला, जबकी वरपर मेरा सबै प्रिय आफन्तहरू त्यसरी दर्दनाक रूपमा मारिए?” उनी सम्झन्छिन्।

घटनाको २७ दिनपछि जापानले आत्मसमर्पण गर्‍यो।

सेत्सुको थर्लो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेत्सुको थर्लोले परमाणु निरस्त्रीकरणबारे पोपसहित विश्व नेताहरूसँग भेटेकी छन्

युद्धपश्चातको समय

युद्धपश्चात् सेत्सुको अन्तर्राष्ट्रिय क्रिश्चियन समूहहरूमा संलग्न भइन् र परिवर्तित जापानमा काम गर्न थालिन्। सामाजिक कार्य गरिरहँदा उनले जिम थर्लो नामक क्यानडेलीसँग भेटिन् जो पछि उनको पति बन्न पुगे।

सन् १९५४ मा बाइस वर्षको उमेरमा सेत्सुकोले अमेरिकी राज्य भर्जिनियामा समाजशास्त्र पढ्ने अवसर पाइन्।

तर स्थानीय पत्रिकालाई दिएको एउटा अन्तर्वार्ताले उनको जीवनको दिशा नै बदलियो।

लामो अभियानको आरम्भ

सन् १९५२मा अमेरिकाले पहिलो हाइड्रोजन बम परीक्षण गर्‍यो। सेत्सुकोले हिरोशिमामा बेहोरेकोभन्दा त्यो बमको विनाशक क्षमता हजार गुना धेरै थियो।

भर्जिनियामा पत्रिकाहरूले परमाणु बमको प्रत्यक्ष अनुभव गरेको मानिससँग अस्त्र दौडबारे प्रतिक्रिया लिन चाहे।

“अति भयो,” उनले पत्रिकासँगको अन्तर्वार्तामा भनिन्। “हिरोशिमा र नागासाकीजस्तो घटना अब कहिल्यै हुनु हुँदैन।” त्यस्तो हमला आइन्दा हुन नहुने भन्दै उनले संसारलाई चेतावनी दिइन्।

अमेरिकाको परमाणु नीतिको उनले आलोचना गरिन्। तर तत्कालै उनले विरोध बेहोर्न पर्‍यो। उनलाई धम्की तथा घृणायुक्त पत्रहरू पठाइए। उनी तर्सिइन्।

हाइड्रोजन बम

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हाइड्रोजन बमको विनाशक क्षमता हिरोशिमामा खसालिएको बमभन्दा कैयन् गुना धेरै हुने बताइन्छ

खेर गएन

“हामीलाई बोल्न प्रोत्साहन गरिएन। तर विश्वलाई बताउनु पर्छ भन्ने मलाई लाग्यो। त्यो हाम्रो नैतिक दायित्व थियो…”

“हामीले के वाचा गर्‍यौँ भने अब यस्तो फेरि हुन दिन हुँदैन। हाम्रा प्रियजनहरूको मृत्युलाई खेर जान दिनु हुँदैन।”

त्यसयता सेत्सुकोले संसार डुलिन् र आफ्नो कथा सुनाउँदै मानिसहरूलाई परमाणु अस्त्रले ल्याउने क्षतिबारे सजग गराइन्।

फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्सले गरेको अनुमान अनुसार विश्वको परमाणु अस्त्र भण्डार सन् १९८० ताका सबभन्दा धेरै पुगेको थियो – करिब ७० हजार।

सन् १९८०को दशकको अन्त्यतिर अस्त्र घटाउने वार्ताहरू हुन थाले र त्यसपछि विश्वभरि ती अस्त्रको सङ्ख्यामा व्यापक कटौती हुन थाल्यो। तर अब त्यो प्रवृत्ति पुन: उल्टँदै छ।

शान्ति स्मारक

तस्बिर स्रोत, Anadolu/Getty Images

तस्बिरको क्याप्शन, हिरोशिमास्थित शान्ति स्मारक

नोबेल शान्ति पुरस्कार

तर पनि परमाणु निरस्त्रीकरणको अभियानले लगातार केही सफलता हासिल गर्दै आएको छ।

सन् २०१७ को जुलाई ७ मा १२२ देशहरूले एक कोशेढुङ्गा मानिएको परमाणु अस्त्र निषेधको सन्धि अनुमोदन गर्न मत दिए। खासगरी परमाणु अस्त्र साथमा भएका देशहरूले त्यसमा हस्ताक्षर गर्न मानेनन्।

सो वर्षको अन्त्यमा आइकानलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो। पुरस्कार स्वीकार गर्न सेत्सुकोलाई ओस्लोमा डाकिएको थियो।

“म यति धेरै खुसी भएँ… त्यसलाई म बताउनै सक्दिनँ।” उनको निम्ति त्यो क्षण “कृतज्ञता, उत्साह र खुसी” मिश्रित रह्यो।

त्यो समयमा उनले विगत सम्झिइन्।

“मैले तत्कालै मेरा सहपाठीहरूको स्मरण गरेँ। ती सबै प्रियजनलाई सम्झिएँ जसले ज्यान गुमाए।”

एउटा सुरक्षित विश्वको निर्माण गर्न निकै परिश्रम गर्नु पर्ने सेत्सुकोको विश्वास छ।

“यो कुरुप वास्तविकताबारे हामी सबै जानकार हुनु पर्छ। मैले जे देखेँ त्यस्तो हामी कसैले बेहोर्न चाहँदैनौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।