हिरोशिमा र नागासाकी: परमाणु बमबाट बाँचेका महिलाहरू

हिरोशिमा

तस्बिर स्रोत, Getty Images

द्वितीय विश्वयुद्धको अन्त्यतिर ७५ वर्षपहिले अगस्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो।

उक्त बम विस्फोटमा परेर हिरोशिमाको कुल ३,५०,००० जनसङ्ख्यामध्ये झन्डै १,४०,००० मानिसको ज्यान गएको ठानिन्छ। नागासाकीमा झन।डै ७४,००० जनाको मृत्यु भएको थियो।

जापानले अगस्ट १४ मा आत्मसमर्पण गर्‍यो।

ती बम आक्रमणपछि एशियामा दोस्रो विश्वयुद्ध अचानक समाप्त भयो।

ती सहरमा जीवित मानिसहरूले भयानक दुष्प्रभावको सामना गर्नुपरेको थियो र उनीहरूलाई हिबाकुशा भनिन्छ।

उनीहरूले परमाणुको विकिरण र मनोवैज्ञानिक आघात सहनुपर्‍यो।

ब्रिटिश फोटो पत्रकार ली करेन स्टो इतिहासको यो असाधारण घटनाका साक्षी महिलाहरूको कथा भन्न पोख्त छिन्।

उनले ७५ वर्षअघि परमाणु बम आक्रमणमा जीवित तीन महिलाहरूको तस्बिर खिच्नुका साथै उनीहरूसँग कुराकानी पनि गरेकी छन्।

तेरुको उएनो

तस्बिर स्रोत, Lee Karen Stow

तस्बिरको क्याप्शन, तेरुको उएनो पहिले र अहिले

तेरुको उएनो

अगस्ट ६, १९४५ मा हिरोशिमामा भएको बम हमलाको बेला तेरुको १५ वर्षकी थिइन्।

बमबारीका बेला उनी हिरोशिमा रेडक्रस अस्पतालको नर्सिङ स्कूलमा दोस्रो वर्षमा थिइन्।

बम खसेपछि अस्पतालस्थित छात्रावासमा आगो लाग्यो।

उनले आगो निभाउने प्रयास गरिन्। तर उनका कैयौँ साथीहरूको त्यसमा परेर मृत्यु भइसकेको थियो।

आक्रमणपछि केही साताहरूबारे उनको सम्झना के छ भने उनले दिनरात लगातार गम्भीर रूपमा घाइते भएकाहरूको उपचार गरेकी थिइन्। तर उनीहरूसँग खानेकुरा नभए बराबर थियो।

तोमोको

तस्बिर स्रोत, Lee Karen Stow

तस्बिरको क्याप्शन, तोमोको माता र पितासँग

स्नातक तहपछि पनि तेरुकोले अस्पतालमै काम गरिरहिन्।

उनले त्यहाँ छाला फेर्ने शल्यक्रियामा सहयोगीका रूपमा काम गरिन्।

बिरामीको तिघ्राबाट छाला निकालेर जलेका भागमा राखिन्थ्यो।

पछि उनले परमाणु बम आक्रमणमा बचेका तत्सुयुकीसँग विवाह गरिन्।

तेरुकोलाई गर्भधारणपश्चात् उनलाई आफ्नो बच्चा स्वस्थ जन्मेला कि नजन्मेला वा बाँच्ला कि नबाँच्ला भन्ने चिन्ता भयो।

तेरुको उएनो

तस्बिर स्रोत, Lee Karen Stow

तस्बिरको क्याप्शन, तेरुको उएनो छोरी र नातिनीसँग

"उनकी छोरी तोमोको जन्मिइन्, उनको स्वास्थ्य ठिक थियो। त्यसले उनलाई परिवार बढाउन हौसला मिल्यो।"

उनी भन्छिन्, "म नर्क गएकी छैन त्यसैले मलाई नर्क कस्तो हुन्छ थाहा छैन, तर जे हामीले भौग्यौँ सायद त्यो नै नर्क हो। यस्तो फेरि कहिल्यै पनि हुनुहुँदैन।"

"परमाणविक हतियारलाई नष्ट गर्नका लागि मानिसहरूले बलियो प्रयास गरिरहेका छन्।"

"मलाई लाग्छ त्यसका लागि पहिलो पाइला स्थानीय सरकार र नेताहरूले चाल्नुपर्छ। त्यसपछि हामी राष्ट्रिय सरकार र विश्वस्तरमा पुग्नुपर्छ।"

तेरुकोकी छोरी तोमोको हिरोशिमामा घाँस र रूखहरू उम्रिँदैनन् भन्ने गरेको स्मरण गर्दै विगत ७५ वर्षमा सहर सुन्दर हरियाली र नदीहरूका साथ पुनरुत्थान भएको बताउँछिन्।

Transparent line

एमिको ओकाडा

एमिको

तस्बिर स्रोत, Yuki Tominaga

तस्बिरको क्याप्शन, एमिको

हिरोशिमामा बम खस्दा एमिको आठ वर्षकी थिइन्।

उनी जेठी दिदी मिको र अन्य चार आफन्तहरूको ज्यान गयो।

एमिको र उनको परिवारका कैयौँ तस्बिरहरू नष्ट भएका थिए।

तर उनका आफन्तहरूका घरमा रहेका केही तस्बिरहरू बचेका थिए। त्यसमा केही उनकी दिदीका तस्बिरहरू पनि थिए।

एमिको

तस्बिर स्रोत, Courtesy of Emiko Okada

तस्बिरको क्याप्शन, एमिको आमाको काखमा

एमिको भन्छिन्, "त्यस दिन बिहान मेरी दिदी फेरि भेटौँला भनेर घरबाट निस्किएकी थिई।"

"ऊ केवल १२ वर्षकी थिई। तर ऊ फेरि कहिल्यै पनि घर फर्किन। कसैलाई पनि थाहा छैन उसलाई के भयो।"

उनी आफ्ना मातापिताले दिदीलाई सकेसम्म खोजेको तर पत्ता लगाउन नसकेको बताउँछिन्।

तर उनीहरूले अझै पनि दिदी कतै जीवितै छिन् भन्ने गरेको एमिको सम्झिन्छिन्।

एमिको

तस्बिर स्रोत, Courtesy of Emiko Okada

तस्बिरको क्याप्शन, एमिकोकी दिदी

त्यस बेला उनकी आमा गर्भवती थिइन् तर उनको गर्भपतन भयो।

उनी भन्छिन्, "हामीसँग खानका लागि केही पनि थिएन। त्यस बेला हामीलाई विकिरणबारे केही पनि थाहा थिएन, त्यसैले जे पाइयो हामीले त्यही बटुल्यौँ।"

"खानका लागि केही थिएन त्यसैले मानिसहरूले चोरी गर्थे। खानेकुरा ठूलो समस्या थियो।"

"पानी स्वादिलो लाग्न थालेको थियो। सुरुमा मानिसहरू त्यसरी बाँचेका थिए।"

हिरोशिमा

तस्बिर स्रोत, Getty Images

उनी भन्छिन्, "फेरि मेरो कपाल झर्न सुरु भयो। मलाई सधैँ थकाइ लाग्थ्यो। म सधैँ ढल्किरहेकी हुन्थे।"

त्यसबेला कसैलाई पनि विकिरणबारे थाहा थिएन। बाह्र वर्षको हुँदा उनमा एप्ल्यास्टिक अनीमीआ अर्थात् रक्ताल्पता भएको पत्ता लाग्यो।

उनी भन्छिन्, "प्रत्येक वर्ष केही समय सूर्यास्तका बेला आकाश गाढा रातो हुने गर्छ। यति रातो हुन्छ कि मानिसहरूको अनुहार नै रातो देखिन्छ।"

"त्यसबेला मलाई बम हमलाको साँझको याद आउँछ। तीन दिन र तीन रातसम्म सहर जलिरह्यो। मलाई सूर्यास्तदेखि घृणा लाग्छ। अहिले पनि सूर्यास्तमा म जल्दै गरेको सहरको दृश्य देख्छु।"

Transparent line

रिको हाडा

रिको हाडा

तस्बिर स्रोत, Lee Karen Stow

तस्बिरको क्याप्शन, रिको हाडा पाँच वर्षकी हुँदा (बायाँ) र सन् २०१५ मा

रिको हाडाको सहर नागासाकीमा सन् १९४५ अगस्ट ९ तारिख ११:०२ बजे बम खस्यो। उनी नौ वर्षकी थिइन्।

त्यसै बिहान हवाई हमलाको चेतावनी जारी गरिएको थियो त्यसैले उनी घरमै बसेकी थिइन्।

तर जब सबै कुरा ठिक भएको जस्तो लाग्यो उनी नजिकैको मन्दिरमा गइन्।

त्यहाँ उनको छिमेकका केटाकेटी पढ्न जाने गर्थे। बारम्बार आउने हवाई हमलाको चेतावनीका कारण उनीहरू विद्यालयको साटो मन्दिरमा पढिरहेका थिए।

नागासाकी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नागासाकीमा बम खसेपछि

चालीस मिनेटपछि शिक्षकले कक्षा बन्द गरिदिए र उनी घर आइन्।

उनी भन्छिन्, "मैले घरभित्र पाइला राखेकी मात्र थिए होला अचानक मेरो आँखामा तेजिलो प्रकाश पर्‍यो।"

"त्यो पहेँलो थियो, सुन्तला रङ्गको थियो। मैले केही पनि थाहा पाइँनँ…त्यस बेलासम्म सबै सेतो भयो। लगत्तै ठूलो विस्फोटन भयो। म अचेत भए।"

उनी आफ्ना शिक्षकले आफूहरूलाई 'एअर रेड शेल्टर'बारे बताएको सम्झन्छिन्।

विस्फोटनपछि उनले आमालाई खोजिन् र नजिकैको 'एअर रेड सेल्टर'मा उनीहरू गए।

रिको हाडा

तस्बिर स्रोत, Courtesy of Reiko Hada

तस्बिरको क्याप्शन, रिको हाडा आफ्ना पिता र दिदीसँग

उनी भन्छिन्, "मलाई खासै केही भएन। म जोगिएँ। तर पहाडको अर्कोपट्टिका मानिसहरू भाग्यशाली थिएनन्। त्यहाँ ठूलो विनाश भयो।"

"धेरै मानिसहरू हाम्रो समुदायतर्फ आए।"

"मानिसहरू कसैका आँखाबाहिर निस्किएका थिए, कसैको कपाल खुइलिएको थियो। सबैजसो नाङ्गैजस्तो थिए, कतिको जलेको छाला झुन्डिरहेको थियो।"

रिको हाडा

तस्बिर स्रोत, Lee Karen Stow

तस्बिरको क्याप्शन, रिको हाडा

"मेरी आमा र अन्य महिलाले घरमा रुमाल र तन्ना लिएर भागिरहेका मानिसहरूलाई नजिकैको कलेजतर्फ लगे र बस्न भने।"

"उनीहरूले पानी मागे। मलाई पानी दिन भनियो। मैले एउटा फुटेको कचौरा भेटेँ र नजिकैको खोलाबाट पानी ल्याएर पिउन दिएँ।"

"पानीको एक घुट्को पिएपछि उनीहरूको मृत्यु भयो। त्यसरी एकपछि अर्को मानिसको मृत्यु भयो।"

"ती मानिसहरूको थिए भनेर थाहा पाउनु असम्भव थियो। उनीहरू मानिस जसरी मरेनन्।"

उनी भन्छिन्, "म कामना गर्छु भविष्यको पुस्ताले यस्तो अनुभव गर्नु नपरोस्। हामीले त्यस्तो हतियार कहिल्यै पनि प्रयोग गर्नु दिनु हुँदैन।"

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ