जापानका आणविक बमपीडितको संस्थाले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार

जापानी संस्था 'निहन हिडन्क्यो'

तस्बिर स्रोत, nobelprize.org

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था 'निहन हिडन्क्यो'लाई प्रदान गरिने भएको छ।

'निहान हिडान्क्यो' दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।

पुरस्कार समितिले "विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले" उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।

सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा १९ जना महिला छन्।

आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।

अल्फ्रेड नोबेलको अर्धकदको मुर्ति

तस्बिर स्रोत, Reuters

यसअघि कसले पाएका थिए

गत वर्ष अर्थात् सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी थिइन्। उनलाई महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि पुरस्कृत गरिएको थियो।

२०२२: बेलारुसी मानवअधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले यो पुरस्कार पाए

२०२१ः पत्रकारद्वय मरिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले

२०२०ः संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा

२०१९ः ईथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले

२०१८ः डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि

२०१७ः इन्टर्न्याश्नल क्याम्पेन टू अबोलिश न्यूक्लिअर वेपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले

२०१६ः कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले

२०१५ः न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएकाले

२०१४ः भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले

अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। "अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले" उनलाई नोबेल पुरस्कार दिइएको थियो।

तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्।

युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्।

अल्फ्रेड नोबेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ

सन् २०२४ को नोबेल पुरस्कार ककसले पाए?

चिकित्साशास्त्र : भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन

भौतिकशास्त्र : जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन

रसायनशास्त्र : डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर

साहित्य : हान काङ

नोबेल शान्ति पुरस्कार : जापानी संस्था 'निहन हिडन्क्यो'

अर्थशास्त्र : सोमबार घोषणा हुने

कहाँ हुन्छ निर्णय

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्वीडनको स्टकहोममा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ। उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ। उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।