नोबेल शान्ति पुरस्कार: के यी ६ जना सबैभन्दा विवादित विजेताहरू हुन्?

तस्बिर स्रोत, Getty Images
सन् २०२१ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा नेपाली समय अनुसार शुक्रवार २ बजेर ४५ मिनेट जाँदा हुँदैछ।
के यसले विगतका केही अवसरमा सिर्जना भएझैँ विवाद सिर्जना गर्ला?
विश्वकै सबैभन्दा प्रतिष्ठित सम्मानका रूपमा रहेको नोबेल शान्ति पुरस्कार दिवङ्गत स्वीडिस वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलले सिर्जना गरेका ६ अवार्डमध्ये एक हो।
तर त्यसको राजनीतिक स्वरूपले गर्दा शान्तितर्फको पुरस्कार अन्य पाँच विधामध्ये सबैभन्दा धेरै विवादमा आउने गर्छ।
यहाँ केही सबैभन्दा विवादित घटना र एउटा उल्लेख्य चुकलाई प्रस्तुत गरिएको छ।
बराक ओबामा

तस्बिर स्रोत, Getty Images
सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी स्वयंसहित धेरैजना चकित भएका थिए।
सन् २०२० मा पूर्व राष्ट्रपति ओबामाले आफ्नो आत्मवृत्तान्तमा पुरस्कार पाउँदा सुरुमा आफैले 'केका लागि?' भनेर प्रतिक्रिया जनाएको लेखेका छन्।
उनी पदमा पुगेको नौ महिना मात्र भएको थियो र आलोचकहरूले त्यसलाई अपरिपक्व निर्णय बताएका थिए।
अझ त्यसका लागि मनोनयन दर्ता गर्ने समय उनले शपथ लिएको १२ दिनमा सकिएको थियो।
सन् २०१५ मा नोबेल इन्स्चिच्यूटका पूर्वनिर्देशक गेर लुनस्टाले उक्त सम्मानको निर्णय गरेको समितिले त्यसप्रति खेद व्यक्त गरेको सङ्केत गरेका थिए।
ओबामाको दुई वर्षे कार्यकालमा अमेरिकी फौजहरू अफगानिस्तान, इराक र सिरियामा तैनाथ थिए।
यासिर अराफात

तस्बिर स्रोत, Getty Images
यी दिवङ्गत प्यालेस्टिनी नेतालाई सन् १९९४ मा इजरेली प्रधानमन्त्री इत्हाक रबिन र इजरेली विदेश मन्त्री सिमोन प्यारेशसाथ उनीहरूले ओस्लो सम्झौताका लागि गरेको कामका लागि उक्त पुरस्कार दिइएको थियो।
सन् १९९० को दशकमा उक्त सम्झौताले इजरेल-प्यालेस्टेनी द्वन्द्वलाई समाधानको एउटा आशा देखाएको थियो।
त्यसअघि अर्धसैनिक गतिविधिमा संलग्न रहेका यासिर अराफातलाई सो पुरस्कार दिने निर्णयको इजरेल र अन्यत्र पनि आलोचना गरियो।
त्यसको मनोनयन हुँदा नै नोबेल समितिभित्र हलचल मच्चिएको थियो।
जसको विरोधमा उक्त समितिका एक सदस्य करे क्रिस्टियनसनले राजीनामा नै दिएका थिए।
आङ सान सू ची

तस्बिर स्रोत, Getty Images
बर्मेली नेत्रीले सन् १९९१ मा सैन्य शासनविरुद्ध आफ्नो अहिंशात्मक सङ्घर्षका लागि नोबेल शान्ति पुरस्कार पाएकी थिइन्।
तर २० वर्षभन्दा बढी समयपछि आङ सान सू ची चर्को रूपमा आलोचित बनिन्।
आफ्नै देशभित्र मुस्लिम रोहिन्ज्याहरूको आम हत्या र गम्भीर मानवअधिकार हनन विरुद्ध उनी बोल्न असफल भएको बताइयो।
जुन सङ्कटलाई संयुक्त राष्ट्रसङ्घले आम नरसंहारको रूपमा व्याख्या गरेको थियो।
उनको पुरस्कार खोसिनुपर्ने माग समेत उठे।
तर ६ वटै नोबेल पुरस्कारलाई नियमन गर्ने नियमले भने त्यस्तो अनुमति दिँदैन।
आबी अहमद

तस्बिर स्रोत, Getty Images
सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई छिमेकी इरिट्रियासँग लामो समयदेखि जारी सीमा द्वन्द्व समाधान गर्न गरिएको प्रयासका लागि उक्त पुरस्कार दिइयो।
तर त्यसको झण्डै एक वर्षपछि के उक्त निर्णय सही थियो त भनेर प्रश्नहरू उठ्न थाले।
आबी अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौजहरू पठाइरहेका गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले आलोचनात्मक रूपमा हेरेको थियो।
त्यहाँ भएको लडाइँले हजारौँको ज्यान लिएको छ जसलाई राष्ट्रसङ्घले 'हृदय विदारक क्षति' भनेको छ।
वाङगारी मादाई

तस्बिर स्रोत, Getty Images
केन्याकी दिवङ्गत अभियानकर्मी नोबेल पुरस्कार पाउने प्रथम अफ्रिकी महिला हुन्।
सन् २००४ मा उक्त पुरस्कार पाएकी उनले एचआईभी र एड्सका विषयमा दिएको सतही प्रतिक्रियाका कारण आलोचित बन्यो।
उनले एचआईभी भाइरस जैविक हतियारका रूपमा कृत्रिम रूपमा बनाइएको र त्यो अश्वेत मानिसहरूलाई नष्ट गर्न बनाइएको भनेकी थिइन्।
त्यस्तो हो भन्ने कुनै वैज्ञानिक प्रमाण छैन।
हेनरी किसिन्जर

तस्बिर स्रोत, Getty Images
सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले यस पुरस्कार पाएका थिए।
अमेरिकी विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका यी व्यक्तिलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्यो।
कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्छ।
किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थो सँगै भियतनाम युद्धमा युद्ध विराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो।
यससँगै नोबेल पुरस्कार समितिका दुईजना सदस्यहरूले राजीनामा दिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई 'नोबेल युद्ध पुरस्कार' भनेर प्रतिक्रिया जनाएको थियो।
रित्तो हात गान्धी

तस्बिर स्रोत, Getty Images
नोबेल पुरस्कार चुकेका केही घटनाले समेत यस पुरस्कार चर्चित छ।
शान्ति विधामा सबैभन्दा रिक्तता महसुस महात्मा गान्धीले पुरस्कार नपाउँदा भएको पाइन्छ।
कैयौँ पटक मनोनयनमा पर्दा समेत २०औँ शताब्दीका यी शान्तिवादी भारतीय राजनीतिज्ञले कहिल्यै यस पुरस्कार पाएनन्।
सन् २००६ मा नर्वेका इतिहासविद् गेर लुन्डसेड जो तत्कालीन रूपमा शान्ति पुरस्कार छनौट समितिका अध्यक्ष थिए, उनले गान्धीको उपलब्धिलाई सम्मान गर्न नसक्ने काम नोबेल इतिहासको सबैभन्दा ठूलो चुक भएको बताएका थिए।








