५५ वर्षमा पहिलो चोटि महिलालाई भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार

नोबेल पुरस्कार

तस्बिर स्रोत, EPA

लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।

उनीभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट-माएरले भौतिक शास्त्रतर्फ सो पुरस्कार पाएका थिए।

डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएकी हुन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

याश्किनले जैविक प्रणालीको अध्ययनमा प्रयोग हुने लेजर प्रविधिको विकास गरेका छन् भने मोरू र स्ट्रिक्ल्यान्डले धेरै सघन तर धेरै छोटा लेजर तरङ्ग उत्पादन गर्ने विधि विकसित गरेका छन्।

ती तरङ्गहरू आँखाको लेजर शल्यक्रियालगायत विभिन्न काममा प्रयोग गर्न सकिन्छ।

पुरस्कारराशि ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलरको छ।

डोना स्ट्रिक्ल्यान्ड

तस्बिर स्रोत, UNI WATERLOO

क्यानडाको युनिभर्सिटी अफ वाटर्लूमा कार्यरत स्ट्रिक्ल्यान्डले पुरस्कार पाएकोमा पहिला आफू चकित भएको बताइन्।

उनले भनिन्, "पहिला मलाई हैन होलाजस्तो लागेको थियो। र, यो साँच्चै हैन जस्तो सधैँ लाग्नेछ।"

डा. जेरा मोरू आफ्ना सुपरीवेक्षक र गुरु भएको भन्दै उनी नै यो पुरस्कारको हकदार भएको स्ट्रिक्ल्यान्डले बताइन्। याश्किनले पनि पुरस्कार पाएकोमा उनले प्रसन्नता व्यक्त गरिन्।

मोरू र स्ट्रिक्ल्यान्डले विकसित गरेको प्रविधि आँखाको लेजर सर्जरीलगायत विभिन्न काममा प्रयोग हुन्छ

तस्बिर स्रोत, SPL

तस्बिरको क्याप्शन, मोरू र स्ट्रिक्ल्यान्डले विकसित गरेको प्रविधि आँखाको लेजर सर्जरीलगायत विभिन्न काममा प्रयोग हुन्छ

याश्किनले पहिला धेरै आविष्कारहरू गरेका र अरूले तिनकै आधारमा अद्भुत काम गरेका भन्दै स्ट्रिक्ल्यान्डले याश्किनको कामको अन्तत: मूल्याङ्कन भएको टिप्पणी गरेकी छन्।

पोलन्डमा जन्मिएकी मरी क्युरीलाई सन् १९०३ मा उनका फ्रान्सेली पति पिअर क्युरी र अर्का वैज्ञानिक अत्वाँ अन्री बेकरेलसँगै रेडिओधर्मिताको अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो।

पचपन्न वर्षअघि जर्मनीमा जन्मिएकी अमेरिकी भौतिकशास्त्री मारिआ गोइप्पर्टले परमाणुको केन्द्रसँग सम्बन्धित आविष्कारका लागि नोबेल पुरस्कार पाएकी थिइन्।

नोबल पुरस्कार

तस्बिर स्रोत, ALFREDNOBEL.ORG

सोमवार चिकित्साशास्त्र विधातर्फको पुरस्कारको घोषणा भएको थियो।

शरीरको रोगप्रतिरोध क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोले चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार संयुक्त रूपमा पाएका छन्।

एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन।

अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।

भोलि बुधवार रसायशास्त्रतर्फ, शुक्रवार शान्तितर्फ र आगामी सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।