दक्षिण कोरियाकी हान काङलाई साहित्यतर्फको नोबेल पुरस्कार

दक्षिण कोरियाली लेखक हान काङ

तस्बिर स्रोत, Getty Images

यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी छन्।

उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन्।

नोबेल पुरस्कार समितिका अनुसार "ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि" उनलाई पुरस्कार दिइएको हो।

त्रिपन्न वर्षीय आख्यानकार काङले 'दी भेजिटेरिअन' नामक उपन्यासका निम्ति सन् २००७ मा 'म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार' प्राप्त गरेकी थिइन्।

सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ भने यसबाट १२१ जना साहित्यकार पुरस्कृत भएका छन्।

अल्फ्रेड नोबेलको अर्धकदको मूर्ति

तस्बिर स्रोत, Reuters

साहित्यमा नोबेल पुरस्कार यसअघि कसले पाएका थिए

सन् २०२३: नर्वेका लेखक यून फोसालाई "व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले"

सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई "विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकाले"

सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई "उनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागि"

सन् २०२०: अमेरिकी कवि लुइस ग्लकलाई "सुन्दर काव्यात्मक आवाज का लागि"

सन् २०१९: अस्ट्रियाका नाटककार पिटर हान्कलाई ''सरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकाले"

सन् २०१८: पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई "जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने क्षमताका लागि"

विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्।

सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भन्ने अन्योल देखा परेको थियो। अन्ततः उनले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।

सन् २०२४ को नोबेल पुरस्कार ककसले पाए?

चिकित्साशास्त्र : भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन

भौतिकशास्त्र : जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन

रसायनशास्त्र : डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर

साहित्य : हान काङ

नोबेल शान्ति पुरस्कार : शुक्रवार घोषणा हुने

अर्थशास्त्र : सोमबार घोषणा हुने

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।