एआईसम्बन्धी आविष्कारका लागि दुई जनालाई नोबेल पुरस्कार

'मशीन लर्निङ' आधुनिक प्रविधिको एउटा महत्त्वपूर्ण अङ्ग हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'मशीन लर्निङ' आधुनिक प्रविधिको एउटा महत्त्वपूर्ण अङ्ग हो

यो वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्।

अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई “आर्टिफिशल न्यूरल नेटवर्कमार्फत् मशीन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा" उक्त पुरस्कार दिने निर्णय गरिएको गरिएको हो।

भौतिक शास्त्रतर्फ अहिलेसम्म २२४ जनाले नोबेल पुरस्कार पाएका छन्।

हप्फील्ड संयुक्त राज्य अमेरिकको प्रिन्स्टन यूनिभर्सिटीमा र हिन्टन क्यानडास्थित यूनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्छन्।

उनीहरूले १.१ करोड स्वीडिश क्रोनर (८.१० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्।

यसअघि पुरस्कार समितिले सोमवार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो। अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले 'माइक्रोआरएनए' (microRNA)को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार पाएका हुन्।

नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ।

जोन जे हक्फील्ड र जेफ्री ई हिल्टन

तस्बिर स्रोत, NobelPrize/X

तस्बिरको क्याप्शन, जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन

अचम्म र चिन्ता

'मशीन लर्निङ' भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो। यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ।

अहिले हामीले प्रयोग गर्ने अनेकौँ प्रविधिमा, इन्टर्नेट सर्चदेखि फोनमा तस्बिर सम्पादन गर्नेसम्म, यसको प्रयोग भएको हुन्छ।

"म अचम्भीत भएको छु। यस्तो हुँदै छ भन्ने मलाई थाहा थिएन," पुरस्कार घोषणा भएपछि नोबेल अक्याडमीसँग फोनमा सङ्क्षिप्त कुरा गर्दै प्राध्यापक जेफ्रीले भने।

रोयल स्वीडिश अक्याडमी अफ साइअन्सेसले यी दुई वैज्ञानिकले गरेको अनुसन्धानको महत्त्वपूर्ण प्रयोगको सूची दिएको छ। त्यसमा जलवायु मोडलिङमा सुधार, सौर्य सेलको विकास र मेडिकल इमेजहरूको विश्लेषण पनि परेका छन्।

प्राध्यपक हिन्टनले आर्टिफिशल न्यूरल नेटवर्कसम्बन्धी आफ्नो अनुसन्धान क्रान्तिकारी भएको बताए।

तर उनले आफू भविष्यप्रति चिन्तित भएको पनि औँल्याए। आफू फेरि त्यही काम गर्न तयार रहेको तर "हामीभन्दा बुद्धिमान् प्रणालीले अन्ततः नियन्त्रण कायम गर्ने" चिन्ता उनले व्यक्त गरे।

गत वर्ष 'सूक्ष्म कालखण्ड' पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन भौतिक शास्त्री पुरस्कृत भएका थिए।

नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल'हुलिएले उक्त पुरस्कार दिएको थियो।

सन् १९०१ यता ११७ पटक भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार घोषणा गरिएको छ।

हालसम्म जोन बार्डीनले भौतिक शास्त्रतर्फ दुई पटक नोबेल पुरस्कार पाएका छन्।

भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा वृद्ध व्यक्ति आर्थर अश्किन हुन्। उनले ९६ वर्षको उमेरमा उक्त पुरस्कार पाएका थिए।

भौतिक शास्त्रतर्फ पुरस्कृत हुने सबैभन्दा कान्छा व्यक्ति चाहिँ लरेन्स ब्र्याग हुन्। पुरस्कृत हुँदा उनी २५ वर्षका थिए।

नोबेल पुरस्कार विजेता एम्ब्रोस र रभ्कन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चिकित्साशास्त्रतर्फ यस वर्षका नोबेल पुरस्कार विजेता एम्ब्रोस र रभ्कन

यसअघि भौतिक शास्त्रमा कसले पाएका थिए नोबेल पुरस्कार

  • सन् २०२३ - पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल'हुलिएलाई
  • २०२२ - अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरलाई 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गरेकाले
  • २०२१ - स्युकुरो मानाबे, क्लाउस हासल्मान, जिओर्जिओ पारिसीलाई पृथ्वीको जलवायुजस्ता जटिल प्रणालीहरूबारे मानव जातिको ज्ञान बढाएकोमा
  • २०२०: रोजर पेन्रोज, राइन्हार्ड गेन्जेल र आन्द्रिया गेजलाई ब्ल्याक होलको अनुसन्धानका लागि
  • २०१९: जेम्स पिबल्स, मिशेल मेयर र डिडिएर कोएलोले संयुक्त रुपमा ब्रह्माण्डबारे विभिन्न अभूतपूर्व कुरा पत्ता लगाएकाले
  • २०१७: रेनर वाइस, किप थ्रोन र ब्यारी बारिशलाई गुरुत्वका तरङ्गहरू पत्ता लगाएकाले
  • २०१६: डेभिड थोलेस, डन्कन होल्डेन र माइकल कोस्टरलिट्सलाई पदार्थका दुर्लभ चरणबारे गरिएको अनुसन्धानका लागि
  • २०१५: ताकाकी काजिता र आर्थर मक्डोनल्डलाई न्यूट्रिनोमा हुने कम्पन पत्ता लगाएकाले
  • २०१४ - इसामु आकासाकी, हिरोशी आमानो र शुजि नाकामुरालाई नीलो प्रकाश उत्सर्जन गर्ने प्रभावशाली डायोड आविष्कार गरेकाले
  • २०१३ - फ्रास्वाँ एङ्लर्ट र पीटर हिग्सलाई सब्एटमिक कणको द्रव्यमान उत्पत्ति बुझ्न सघाउने विधि आविष्कार गरेकाले

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।