सबैतिर एआईको जगजगी, तर मानिसले तत्काल गुमाउने छैनन् यी काम

सुट लगाएको एक रोबट

तस्बिर स्रोत, Getty Images

    • Author, केट मोर्गन
    • Role, बीबीसी वर्कलाइफ

‍औद्योगिक क्रान्ति सुरु भएदेखि नै लुगा बुन्ने यन्त्रदेखि माइक्रोचिपसम्मका नयाँ मशीनका कारण सर्वसाधारण मानिसहरूको रोजगारी गुम्न सक्ने जोखिम देखा परेको हो।

तर समग्रमा यो चुनौतीमा मानिस नै विजयी भइरह्यो। अहिले आएर आर्टिफिशल इन्टेलिजन्स (एआई) भनिने प्रविधिले निकट भविष्यमा मार्न सक्ने ठानिएको फड्कोका कारण त्यस्तो जोखिम पुन: उत्पन्न भएको छ। अब मानिसको हातबाट रोबटहरूले साँच्चिकै केही काम खोस्ने छन्।

गोल्डम्यान स्याक्सले मार्च २०२३ मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा अहिले मानिसहरूले गरेका सम्पूर्ण कामको झन्डै एकचौथाइ भाग सामग्री उत्पादनमा सक्षम एआईले गर्न सक्ने उल्लेख छ। युरोपेली युनियन र अमेरिकामा ३० करोड रोजगारी यसका कारण गुम्न सक्ने त्यसमा जनाइएको छ।

'रुल अफ द रोबट्स: हाउ आर्टिफिशल इन्टेलिजन्स विल ट्रान्सफर्म एभ्रिथिङ' नामक पुस्तकका लेखक मार्टिन फोर्ड त्यसको असर गम्भीर हुन सक्ने ठान्छन्।

"यसको असर केवल व्यक्तिहरूमा मात्र सीमित नभई प्रणालीगत नै हुने छ," उनी भन्छन्।

"यसले धेरै मानिसलाई सम्भवतः अकस्मात् र एकैपटक असर पार्न सक्छ। त्यसले ती व्यक्तिहरूलाई मात्र नभई समग्र अर्थतन्त्रमा प्रभाव पर्छ।"

तत्कालै पूरै प्रभाव पर्ने होइन

तर यो सबै खराब समाचार मात्र होइन।

विज्ञहरूले ससर्त चेतावनी दिएका छन्: अझै पनि एआईले गर्न नसक्ने कैयौँ काम छन्।

ती कामका लागि अनुभूतिजन्य इन्टेलिजन्स तथा नवीन सोचजस्ता विशिष्ट मानवीय गुण चाहिन्छ।

त्यसैले त्यस्ता दक्षता प्रयोग हुने काममा निपूण हुने हो भने भविष्यमा एआईले आफूलाई विस्थापित गर्ला भन्ने त्रास कम गर्न सकिन्छ।

बिरामीसँग चिकित्सक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रोबटले रोगको निदान चाँडै गरेपनि मानिसहरूले अन्य मानिसबाटै त्यसबारे ज्ञान अनि पथ प्रदर्शन चाहन्छन्

"मेरो विचारमा खासगरी तीन वर्गका कामहरू अनुमान गर्न सकिने भविष्यसम्म तुलनात्मक रूपमा सुरक्षित रहन सक्छन्," फोर्डले भने।

"पहिलो वर्गमा साँच्चिकै सिर्जनात्मक कामहरू पर्छन्: कुनै खास शैलीमा आधारित भएर गरिने काम नभईकन नयाँ विचार वा नितान्त नयाँ सिर्जनासँग सम्बन्धित काम।"

त्यसो भन्दैमा सबै सिर्जनात्मक काम सुरक्षित भन्ने अर्थ पनि होइन। वास्तवमा ग्राफिक डिजाइन वा दृश्यात्मक कलासँग जोडिएका भूमिका सबभन्दा पहिला विस्थापित हुनसक्छन्। आधारभूत एल्गोरिदमले बटलाई दशौँ लाख तस्बिरको समीक्षा गराउन सक्छ जसबाट एआईले सौन्दर्यशास्त्रमा तत्काल महारथ हासिल गर्न सक्छ।

तर अन्य किसिमका सिर्जनशीलता केही सुरक्षित हुन सक्ने फोर्ड बताउँछन्। "विज्ञानमा, र औषधिविज्ञान तथा कानुनमा … जहाँ मानिसहरूले नयाँ कानुनी वा व्यापार रणनीति बनाउनुपर्छ। मलाई लाग्छ ती क्षेत्रमा मानिसकै आवश्यकता परिरहन्छ।"

दोस्रो वर्ग भनेको विशिष्ट अन्तरव्यक्ति सम्बन्ध निर्माण आवश्यक पर्ने क्षेत्रका कामहरू हुने उनले बताए। उनले नर्स, व्यापार परामर्शदाता तथा खोज पत्रकारतर्फ औँल्याए।

उनका अनुसार यी काममा, "मानिससम्बन्धी गहिरो ज्ञान आवश्यक पर्छ। सम्बन्ध विकास हुनेगरी अन्तरक्रिया गर्न सक्षम हुन एआईलाई लामो समय लाग्छ।"

रेडलाइन
यो पनि पढ्नुहोस्
रेड लाइन

C-3PO को जस्तो काम?

फोर्डका अनुसार तेस्रो वर्गको सुरक्षित कामहरू चाहिँ "ती काम हुन् जसका निम्ति अनपेक्षित वातावरणहरूमा धेरै गतिशीलता, बहुक्षमता अनि समस्या समाधानका सीप आवश्यक पर्छ।"

बिजुली बनाउने, प्लमर, वेल्डरजस्ता काम यसमा पर्छन्।

"यी काम गर्दा हरेक पटक नयाँ परिस्थितिको सामना गरिरहनुपर्छ," उनले भने।

"स्वचालित बनाउन सबभन्दा गाह्रो सायद यिनै काम हुन्। यस्ता सेवा स्वचालित बनाउन विशिष्ट वैज्ञानिक क्षमताका रोबट आवश्यक पर्छ। स्टारवार्सको C-3PO जस्तै।"

यी वर्गका काममा मानिसको खाँचो परिरहने भए पनि ती व्यवसाय एआईको उदयबाट सम्पूर्ण रूपमा सुरक्षित भन्न चाहिँ सकिन्न।

अमेरिकाको बफलो यूनिभर्सिटीमा प्राध्यापन गर्ने जोआन सङ् मक्लाफ्लिनका विचारमा अधिकांश प्रकृतिका कामहरूका कुनै न कुनै आयाम प्रविधिले स्वचालित पारिदिने सम्भावना धेरै छ।

प्लमर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अनपेक्षित वातावरणहरूमा धेरै गतिशीलता, बहुक्षमता अनि समस्या समाधानका सीप आवश्यक पर्ने काम एआईको अतिक्रमणबाट केही सुरक्षित हुने ठानिएको छ

"धेरै मामिलामा तत्काल रोजगारमा जोखिम देखिँदैन," उनले भनिन्, "तर कामको प्रकृति परिवर्तन हुने छ।"

सङ् मक्लाफ्लिनका अनुसार मानिसहरू अब अन्तरव्यक्ति क्षमतामा आधारित काममा केन्द्रित हुने छन्। "एआईले मानिसले भन्दा राम्रोसँग क्यान्सर पत्ता लगाउला भनेर अनुमान गर्न सहज छ। भविष्यमा डाक्टरहरूले ती नयाँ प्रविधि प्रयोग गर्ने म ठान्न सक्छु। तर डाक्टरको काम सम्पूर्णरूपमा विस्थापित होला भन्ने मलाई लाग्दैन।"

कुनै रोबटले क्यान्सर निदानमा राम्रो काम गरे पनि अधिकांश मानिसहरू डाक्टरले नै त्यस्ता विषय आफूलाई भनून् भन्ने चाहन्छन्। सबै खालका काममा यो कुरा लागु हुने भएकाले विशिष्ट मानवीय क्षमता विकास गरेमा एआई सँगसँगै मानिसले काम गर्न सक्ने उनले बताइन्।

"मेरो क्षेत्रका कस्ता काम विस्थापित होलान् वा कस्ता काम एआईले झन् राम्ररी गर्देला? अनि मेरो विशिष्ट सीप के हो भन्ने बारे सोच्नु फलदायी हुन्छ।"

नोट गिन्ती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एआईले नोट गिन्ती राम्रोसँग गरे पनि ग्राहकसँग सम्बन्ध जोड्ने सीप उसमा अझै विकसित भएको छैन

विगतमा ब्याङ्कका कर्मचारीले एकदम सही ढङ्गले नोट गन्न आवश्यक भएको कुरा उनी औँल्याउँछिन्।

तर त्यो काम अहिले स्वचालित छ - तापनि ब्याङ्क टेलरको काम भने सुरक्षित नै छ।

"मशीनका कारण हातले नोट गन्ने काम नै हरायो," उनले भनिन्।

"तर अब टेलरहरूको ध्यान ग्राहकसँग सम्बन्ध बढाउने जस्तो विषयमा छ। सामाजिक सीप झन् महत्त्वपूर्ण भएको छ।"

पैसा र प्रमाणपत्रले एआईबाट जोगाउने छैनन्

फोर्ड भन्छन्ः धेरै पढाइ वा धेरै कमाइ हुने पदले एआईको अतिक्रमण थाम्न नसक्ने कुरा बुझ्नु जरुरी छ।

कैयौँ मामिलामा धेरै पढेलेखेका मानिसहरूको रोजगारी कम पढेलेखेका मानिसहरूको रोजगारीभन्दा बढी जोखिममा पर्ने उनी बताउँछन्।

एआईले सजिलै प्रतिवेदन लेखिदिन्छ।

"कुनै होटलको कोठा सफा गर्ने मानिसको कामलाई नै उदाहरणको रूपमा लिऔँ - त्यस्तो काम स्वालित गराउन निकै कठिन हुन्छ।"

छोटकरीमा भन्दा चलायमान वातावरणमा अनपेक्षित कामहरू सामना गर्नुपर्ने भूमिका रोजेमा एआईबाट जोगिन सकिएला।

कम्तीमा आउँदो केही समयका निम्ति।