'आर्टिफिशल इन्टेलिजन्स, एआई, ले ३० करोड रोजगारीहरू विस्थापित गर्न सक्ने'

रोजगारी गुमाएका युवकको प्रतीकात्मक तस्बिर

तस्बिर स्रोत, Getty Images

    • Author, क्रिस भ्यालेन्स
    • Role, प्रविधि रिपोर्टर

एउटा इन्भेस्टभेन्ट ब्याङ्क गोल्डमन स्याक्सले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले कृत्रिम बौद्धिकता पनि भनिने आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिले ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गर्न सक्ने जनाएको छ।

उक्त प्रविधिले अमेरिका र युरोपमा कामका एक चौथाईसम्मका क्रियाकलापलाई विस्थापित गर्न सक्नेछ तर सँगसँगै यसले नयाँ नयाँ रोजगारी सिर्जना गर्नका साथै कामको उत्पादकत्वमा पनि ठूलो वृद्धि गरिदिन सक्छ।

र यसले विश्वव्यापी रूपमा नै वस्तु तथा सेवाहरूको कुल वार्षिक मूल्यमानलाई नै पनि ७% ले बढाइदिन सक्छ।

मानिसले सिर्जना गरेको कामबाट छुट्टै हो भनेर यकिन गर्न नसकिने गरि कन्टेन्टहरू बनाउन सक्षम जेनरेटिभ एआई भनिने प्रविधि ”एउटा ठूलो प्रगति” भएको पनि उक्त प्रतिवदेनमा लेखिएको छ।

रोजगारीको वातावरण

यूके सरकार देशमा एआईको क्षेत्रमा लगानी बढाउन इच्छुक छ। यसबाट “समग्र अर्थतन्त्रमा नै अन्ततः उत्पादकत्व बढ्ने” उसको भनाइ छ। र यसबाट पर्ने सकारात्मक प्रभावका बारे जनतालाई आश्वस्त तुल्याउने प्रयास पनि सरकारले गरेको छ।

द सन पत्रिकासँग कुरा गर्दै प्रविधिमामिला मन्त्री मिशेल डोनलनले भनिन्, “हामी यूकेमा जे जसरी काम गर्ने गर्छौँ त्यसमा एआईले सहयोगी भूमिका खेलोस् भन्ने हामी चाहन्छौँ। त्यसले काममा बाधा पारोस् भन्ने हाम्रो चाहना छैन। यसले हाम्रो कामलाई हामीबाट खोस्ने होइन की अझ राम्रो तुल्याउन योगदान देओस् भन्ने हामी चाहन्छौँ।”

एआईको प्रभाव रोजगारीको क्षेत्र अनुसार भिन्न भिन्न हुने उक्त प्रतिवेदनमा उल्लेख छ। प्रशासनिक क्षेत्रमा ४६ प्रतिशत र कानुन व्यवसायमा ४४ प्रतिशत काम स्वचालित तुल्याउन सकिन्छ तर निर्माण व्यवसायको ६ प्रतिशत अनि मर्मतसम्भार क्षेत्रको ४ प्रतिशत काम मात्र स्वचालित हुन सक्छन्।

बीबीसी न्यूजले यसअघि निर्देशनको आधारमा आवश्यकता अनुसारको तस्बिर तयार पार्न सक्ने एआई इमेज जेनरेटरहरूका कारण आफ्नो रोजगारीको अवसरमा असर पर्न सक्ने चिन्ता केही कलाकारहरूले व्यक्त गरेको लेख प्रकाशित गरेको थियो।

‘न्यून ज्याला’

अक्सफर्ड विश्वविद्यालयको अक्सफर्ड मार्टिन स्कूलमा फ्युचर अफ वर्क विषयका निर्देशक कार्ल बेनेडिक्ट फ्रे भन्छन्, “जेनरेटिभ एआईले के कति कामलाई विस्थापित गर्ला भनेर थाहा पाउन सकिने कुनै उपाय छैन भन्नु नै एक मात्र पक्का गरेर भन्न सकिने कुरा हो।”

“उदाहरणकालागि च्याट जिपिटि ले सामान्य लेखन सिप भएका धेरै मानिसहरूलाई गहन निबन्ध र लेखहरू तयार पर्न सघाउँछ।

”परिणामतः पत्रकारहरूले थप प्रतिस्पर्धाको सामना गर्नु पर्ने हुनसक्छ र तिनीहरूले गर्ने त्यस्ता काममा उल्लेख्य माग बढेको नदेखिएमा त्यसबाट तिनीहरूले पाउँदै आएको तलबमान घटेर जान सक्छ।

“विचार गरौँ जिपिएस प्रविधि र उबर जस्ता माध्यमको प्रभाव कस्तो रह्यो? एकाएक लण्डनका गल्ली र कुनाकुनाका स्थानहरू थाहा हुनेहरू त्यसका आधारमा रोजगारी र जिविका चलाउनेहरूको ज्ञानको मूल्य पहिले भन्दा स्वात्तै घट्न पुग्यो। अनि सवारीचालक पेशामा पाइने तलबमानमा ठूलो गिरावट आयो, हाम्रो अध्ययन अनुसार झण्डै १० प्रतिशतले।

“यसरी नयाँ प्रविधिले ड्राइभरको सङख्या घटाएन कि तिनीहरूले पाउँदै आएको तलबमान घटाइ दियो।

“आगामी केही वर्षमा जेनरेटिभ एआईले सिर्जनात्मक कला क्षेत्रका व्यापक कामहरूमा त्यस्तै प्रकारको असर पार्न सक्ने अनुमान गर्न सकिन्छ।“

सान्दर्भिकता

उक्त प्रतिवेदनले उद्धृत गरेको अनुसन्धानका अनुसार सन् १९४० मा अस्तित्वमा नै नरहेका पेशामा हाल ६० प्रतिशत कामदारहरूले रोजगारी पाएका छन्।

तर अन्य अनुसन्धानका अनुसार सन् १९८० को दशकदेखि प्रविधिको क्षेत्रमा भएका प्रगतिहरूले तिनले सिर्जना गरेका कामभन्दा तीब्र गतिमा कामदारहरूलाई विस्थापित गरेका देखिएको छ।

र उक्त प्रतिवेदनले अन्त्यमा भनेको छ पहिलेका सूचनाप्रविधि क्षेत्रमा भएका प्रगतिहरू जस्तै नै यो पछिल्लो जेनरेटिभ एआई प्रविधि पनि हुने हो भने त्यसले निकट भविष्यमा रोजगारीहरूको सङ्ख्या घटाउन सक्छ।

दिर्घकालीन रूपमा एआईको असर कस्तो हुन्छ भन्ने कुरा चाहिँ एकदमै अनिश्चित रहेको एक थिङ्कट्याङ्क रेजोलुशन फाउन्डेशनका प्रमुख कार्यकारी टोर्स्टन बेलले बीबीसी न्यूजलाई बताएका छन्। उनी भन्छन्, “त्यसैले सबै पूर्वानुमानहरूलाई समय सन्दर्भलाई विचार गरेर मात्रै ग्रहण गर्नुपर्छ।”

उनी भन्छन्, “प्रविधिको विकासले कुन स्वरूप लिन्छ भन्ने कुरा हामीलाई थाहा छैन अथवा कम्पनीहरूले आफूले गर्ने काममा त्यस्तो विकसित प्रविधिलाई कसरी समाहित गर्छन् भन्ने पनि थाहा छैन।”

“तर त्यसको मतलब एआईले हामीले गर्दै आएको काममा कुनै फेरबदल ल्याउँदैन भन्ने चाहिँ होइन। तर हामीले प्रविधिमा आएको परिवर्तनलाई बढी सहजताका साथ ग्रहण गरेका कम्पनी वा अर्थतन्त्रहरूको दाँजोमा आफु पछाडि पर्दा हुने जोखिमका साथसाथै उच्च उत्पादकत्वले ल्याउने मानिसको जीवनस्तरमा हुने प्रगति र सस्तोमा नै संचालन गर्न सकिने सेवाहरूका बारेमा पनि ध्यान दिनु पर्छ।”