च्याटजीपीटीलाई चुनौती दिने चिनियाँ कम्पनी अलिबाबाको तयारी

तस्बिर स्रोत, Reuters
- Author, पिटर हस्किन्स
- Role, बीबीसी संवाददाता
चीनको ठूलो प्रविधि कम्पनी अलिबाबाले च्याटजीपीटीजस्तै आर्टिफिशल इन्टेलिजन्समा आधारित ‘तङ्यी चियाङ्वेन’ सुरु गर्ने योजना सार्वजनिक गरेको छ।
अलिबाबाको कम्यूटिङ विभागले आफ्नो व्यवसायमा निकट भविष्यमै च्याटबट समावेश गर्ने बताए पनि विस्तृत समयतालिका खुलाएको छैन।
पछिल्ला केही महिनायता विश्वभरिका प्रविधि कम्पनीहरूले आफ्नै एआई च्याटबट सार्वजनिक गरिरहेका छन्।
यो वर्षको आरम्भतिर पनि अलिबाबाले च्याटजीपीटीको प्रतिस्पर्धी प्रविधिमा काम गरिरहेको खुलासा गरेको थियो।
तङ्यी चियाङ्वेनको अर्थ “हजार प्रश्न सोधेर उत्तर खोज्ने” हुन्छ। अलिबाबाले यसको अङ्ग्रेजी नाम भने अहिलेसम्म दिएको छैन।
“हामी जेनरेटिभ एआई र क्लाउड कम्यूटिङबाट सञ्चालित हुने प्राविधिक विकासको फड्को मार्ने चरणमा छौँ,” अलिबाबाका अध्यक्ष तथा प्रमुख कार्यकारी ड्यान्यल चाङले यसको घोषणा गर्दै भने।
तङ्यी चियाङ्वेनले के गर्न सक्छ?

तस्बिर स्रोत, Reuters
कम्पनीका अनुसार तङ्यी चियाङ्वेनले अङ्ग्रेजी र चिनियाँ दुवै भाषामा काम गर्न सक्छ र प्रारम्भिक चरणमा यसलाई अलिबाबाले कार्यस्थलहरूमा सन्देश आदानप्रदानका लागि बनाएको एप डिङ्टकमा राखिने छ।
यसले बैठकमा भएका कुराकानीहरूको लिखित नोट बनाउने, इमेल लेख्ने, व्यावसायिक प्रस्तावहरूको मस्यौदा तयार गर्ने लगायत कैयौँ काम गर्न सक्ने कम्पनीले बताएको छ।
अलिबाबाले एमजनको एलेक्सा भोइस असिस्टन्ट स्मार्ट स्पीकरले जसरी काम गर्ने 'टमल जिनी'मा पनि यसलाई समाविष्ट गरिने जनाएको छ।
माइक्रोसफ्टले सहयोग गरेको ओपन एआईले नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक गरेयता जेनरेटिभ एआईमा रुचि ह्वात्तै बढेको छ।
जेनरेटिभ एआईले विगतको तथ्याङ्कबाट सिकेर मानिसले गरेको कामसँग फरक छुट्याउन नसकिनेगरी सामग्रीहरू तयार गर्छ।
च्याटजीपीटीले सन् २०२१ सम्मको इन्टरनेट डेटाबेसको आधारमा प्रश्नहरूको उत्तर मानिसहरूले प्रयोग गर्ने जस्तै सामान्य भाषामा दिन्छ र अरूको लेखनशैलीको नक्कल पनि गर्न सक्छ।
वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकमा पनि एआई

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
माइक्रोसफ्ट यो प्रविधिका लागि अर्बौँ डलर खर्च गरिसकेको छ र यसलाई गत फेब्रुअरीबाट उसको सर्च इन्जिन 'बिङ'मा प्रयोग गरिएको छ।
अमेरिकास्थित उक्त अग्रणी सफ्टवेअर कम्पनीले च्याटजीपीटीको एउटा संस्करण माइक्रोसफ्ट अफिसका वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकका एपमा पनि राख्ने बताएको छ।
अल्फाबेटको गुगल र चिनियाँ प्रविधि समूह बाइडूले पनि आफ्नै एआई मोडल घोषणा गरेर उस्तैखाले च्याटबटहरू सार्वजनिक गरिसकेका छन्।
मङ्गलवार चीनको साइवरस्पेस नियामक जेनरेटिभ एआईको व्यवस्थापनका लागि उपायहरूको मस्यौदा सार्वजनिक गरेको थियो।
प्रस्तावित नियमले एआई प्रविधिलाई सिकाउन प्रयोग गरिएका तथ्याङ्कहरूको आधिकारिकताबारे सम्बन्धित कम्पनीहरूकै जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको चीनको साइबरस्पेस प्रशासनले जनाएको छ।
यस्तो प्रस्तावबारे सुझाव दिन सर्वसाधारणहरूलाई मे १० सम्मको समय दिइएको छ।
चुनौतीबारे चिन्ता
गत महिना प्रविधि कम्पनीहरूका उच्चपदस्थ व्यक्तिहरूको एउटा समूहले मानवतामा चुनौती दिएको भन्दै शक्तिशाली एआई प्रणालीलाई सिकाउने कार्य स्थगित गर्न माग गरेका थिए।
ट्विटरका प्रमुख कार्यकारी इलोन मस्क र एपलका सहसंस्थापक स्टीभ ओस्नियाक लगायतले एउटा खुला पत्र लेख्दै यसले निम्त्याउन सक्ने जोखिमबारे सचेत गराएका थिए।
उनीहरूले एआई प्रणाली विकास गर्ने प्रतिस्पर्धा अनियन्त्रित हुन थालेको बताए।
यसैबीच लगानीसम्बन्धी ब्याङ्क गोल्डमन स्याक्सले हालै सार्वजनिक गरेको एउटा रिपोर्टले एआईका कारण झन्डै ३० करोड मानिसको जागिर गुम्न सक्ने आकलन गरेको छ।
तथ्याङ्क सुरक्षामा चिन्ता व्यक्त गर्दै आफ्नो देशमा च्याटजीपीटीलाई प्रतिबन्ध गर्ने इटली पहिलो पश्चिमा राष्ट्र बनेको छ।








