जापानमा १०० वर्ष नाघेका महिलाको सङ्ख्या उच्च, लामो आयुको कारण यस्तो

फुकिशिमास्थित आफ्नो कार्यालयमा शृङ्गारपटार गर्दै १०० वर्षे सौन्दर्य परामर्शदाता तोमिको होरिनो

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ मा १०० वर्षे तोमोको होरिनो सर्वाधिक उमेरकी सौन्दर्य परामर्शदाता बनिन्
    • Author, जेसिका रन्ज्ली
    • Role, बीबीसी न्यूज
    • Author, स्टेफनी हेगार्टी
    • Role, जनसङ्ख्या संवाददाता

जापानमा १०० वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरू अहिले सर्वाधिक सङ्ख्यामा भएको सरकारले घोषणा गरेको छ। अहिले त्यहाँ १०० वर्ष पुगेका वृद्धवृद्धा एक लाखको हाराहारीमा छन्।

शतायु व्यक्तिहरूको सङ्ख्यामा जापान ५५ वर्षदेखि निरन्तर अग्रस्थानमा छ। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सेप्टेम्बर महिनासम्म त्यस्ता मानिसको सङ्ख्या ९९,७६३ थियो। तीमध्ये ८८ प्रतिशत महिला छन्।

जापानका स्वास्थ्यमन्त्री ताकामारो फुकोकाले ८७,७८४ शतायु महिला र ११,९७९ शतायु पुरुषलाई दीर्घजीवन प्राप्त गरेकोमा बधाई दिँदै "समाजको विकासमा उनीहरूले लामो समयदेखि पुर्‍याएको योगदानका लागि कृतज्ञता" व्यक्त गरे।

जापानमा विश्वभरिकै लामो औसत आयु छ। केही अध्ययनहरूले विश्वभरि भएका शतायु व्यक्तिहरूको वास्तविक सङ्ख्याबारे भिन्न सङ्ख्या देखाएका छन्। यद्यपि जापानलाई प्रायः सर्वाधिक उमेरका जीवित व्यक्तिको घर मानिन्छ।

जापानलाई तीव्र गतिमा बुढ्यौलीतिर उन्मुख समाज पनि मानिन्छ। जापानीहरू आरोग्यवर्धक आहार गर्छन् तर त्यहाँ जन्मदर निकै न्यून छ।

बढ्दो सङ्ख्या

सबैभन्दा वृद्ध मानिएकी जापानी नागरिक अहिले ११४ वर्षकी भइन्। शिगेको कागावा नामक ती महिला नारा सहरको बाह्य भागमा बस्छिन्। सबैभन्दा वृद्ध पुरुष चाहिँ १११ वर्षीय कोयोताका मिजुनो हुन्। उनी तटीय सहर इवाताका बासिन्दा हुन्।

वृद्धवृद्धासम्बन्धी तथ्याङ्क १५ सेप्टेम्बेरमा जापानमा मनाइने ज्येष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। उक्त दिन जापानमा सार्वजनिक बिदा थियो।

सो अवसरमा जापानी प्रधानमन्त्रीले शतायुमा प्रवेश गरेका वृद्धवृद्धालाई बधाई दिँदै पत्र र चाँदीको कप पठाएका थिए। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष ५२,३१० जना उक्त सम्मानका लागि योग्य थिए।

ज्येष्ठ नागरिक दिवसका अवसरमा एउटा उद्यानमा शारीरिक व्यायाम गर्दै वृद्धवृद्धाहरू

तस्बिर स्रोत, Getty Images

सन् १९६० को दशकमा जी-सेभन राष्ट्रमध्ये जापानको जनसङ्ख्यामा १०० वर्षमाथिका मानिसको अनुपात सबैभन्दा कम थियो। तर त्यसपछिका दशकहरूमा त्यस्तो अनुपातमा ठूलो परिवर्तन आउन थाल्यो।

जापान सरकारले सन् १९६३ मा शतायु सर्वेक्षण थाल्दा १०० वर्ष वा त्यसभन्दा बढी उमेर भएका मानिसको सङ्ख्या केवल १५३ थियो।

सन् १९८१ मा उक्त सङ्ख्या १,००० र सन् १९९८ मा १०,००० पुग्यो।

आयु उच्च हुनुको कारण

जापानमा हृदयरोग एवं स्तन र प्रोस्टेट क्यान्सरबाट निकै कम मानिसको मृत्यु हुने भएकाले त्यहाँ मानिसहरूको आयु उच्च भएको मानिन्छ।

जापानमा मोटोपना हुने समस्या पनि कम छ। जापानीहरूको आहारमा चारखुट्टे जीवको मासु कम तर माछा र सागपात बढी हुने भएकाले त्यहाँ मोटोपनाको समस्या न्यून छ। मोटोपनाका कारण हृदयरोग र क्यान्सर हुने सम्भावना बढ्छ।

जापानी महिलाहरूमा मोटोपनाको समस्याबाट पीडित हुने दर निकै कम छ। जापानी पुरुषभन्दा महिलाहरूको आयु बढी हुनुको कारण त्यो पनि हुन सक्ने ठानिन्छ।

बाँकी विश्वमा चिनी र नुन बढी मात्रामा खाने चलन बढ्दा जापानमा भने मानिसहरूलाई नुन कम मात्रामा सेवन गर्न सन्देश दिइएको थियो।

तर जापानीहरू दीर्घायु हुनुको कारण आहार मात्र सीमित छैन, विहार पनि अर्को मुख्य कारण हो। जापानीहरू बुढेसकाल लागे पनि सक्रिय रहन्छन्। संयुक्त राज्य अमेरिका र युरोपको तुलनामा जापानमा वृद्धवृद्धाहरू हिँडडुल गर्न र सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्न रुचाउँछन्।

सन् १९२८ देखि नै 'रेडिओ ताइसो' भनिने सामूहिक रूपमा गरिने शारीरिक व्यायाम जापानी संस्कृतिको अङ्गजस्तै बनेको छ। सामुदायिक भावना र जनस्वास्थ्यको जगेर्ना गर्न त्यसको थालनी भएको थियो।

दैनिक तीन मिनेट गरिने उक्त अभ्यास टेलिभिजनमा प्रसारण हुन्छ। मानिसहरू देशभरि ससाना समूह बनाएर त्यस्तो व्यायाम गर्छन्।

आशङ्का

यद्यपि केही अध्ययनहरूले विश्वभरि भएका शतायु व्यक्तिहरूको सङ्ख्या देखाइएकोभन्दा कम हुन सक्ने सङ्केत गरेका छन्। ती अध्ययनहरूले तथ्याङ्कगत त्रुटि, अविश्वसनीय सार्वजनिक अभिलेख र जन्मदर्ता प्रमाणपत्र नभएका कारणले १०० वर्ष पुगेका मानिसको सङ्ख्या बढी देखिएको हुन सक्ने निष्कर्ष निकालेका छन्।

जापानमा सन् २०१० मा सरकारले गरेको परिवारसम्बन्धी अभिलेखहरूको समीक्षा गर्दा तिनमा १०० वर्ष वा त्यसभन्दा बढी उमेर पुगेको भनेर सूचीकृत २,३०,००० भन्दा बढी मानिस फेला परेनन्। वास्तवमा तीमध्ये केहीको दशकौँअघि मृत्यु भइसकेको थियो।

अभिलेखमा भएको अपूर्णता र केही परिवारले निवृत्तिभरण लिइराख्न आफ्ना अग्रजहरूको मृत्यु भएको विवरण दर्ता नगरेको हुन सक्ने भएकाले त्यस्तो त्रुटि देखा परेको बताइयो।

टोक्योमा १११ वर्ष पुगेको ठानिएका सोगेन कोतोको ३२ वर्षअघि नै मृत्यु भएको पाइएपछि सरकारले त्यस विषयमा छानबिन पनि गर्‍यो। सन् २०१० मा स्थानीय अधिकारीहरू उनलाई टोक्योको सबैभन्दा पाको व्यक्तिको सम्मान दिन उनको घर पुग्दा त्यहाँ उनको अवशेष फेला परेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।